कविता : बादलको तस्विर

~दिनेश अधिकारी~Dinesh Adhikari

होइन भन्नै सक्तिनँ
अबिरको फागु खेल्दै
सडकमा उत्रिएर मैले पनि
अरुले जस्तै
विजयोत्सव मनाएको हँु
जिन्दावाद गाएको हुँ
एउटा सफा तस्विर थियो आँखाअघिल्तिर-त्यतिखेर
रङ्ग भएर तस्विरमा मेरो रहर बिउँझएको थियो
रेखाहरुमा मेरो गन्तब्य प्रस्टिएको थियो
त्यहाँ धूलो थिएन
त्यहाँ हिलो थिएन
त्यहाँ चारबाटो र दुलो पनि थिएन
घर थियो
घरजस्तै सफा र पवित्र देखिन्थ्यो
मैले देखेको तस्विरमा
सुक्खाग्रस्त तन
र उच्चाटलाग्दो मन थिएन
ज्योतिले बत्तीलाई बिर्सनेपन थिएन
अविश्वासी कुरा थिएन
अन्धविश्वासी पूजा थिएन
मैले देखेको तस्विरमा
हिमाल थियो
र, हिमालसँग चहक थियो
गुराँस थियो
र, गुराँसभरि महक थियो
देश थियो
तर, अहिलेजस्तो
पालैपालो एकपछि अर्काले
निर्ममतापूवक चुटेको अवस्थामा बेहोस थिएन
निर्लज्जतापूर्वक प्रयोग गरिएको कोपराको रुपमा दुर्गन्धित थिएन
हिउँद थियो
तर, पातको जिन्दगी थिएन
आँखा थिए
तर आँसुको नियति थिएन
खै, के भयो !
सपनाजति पनि टिक्न सकेन मेरो विश्वास
बाटोले हिँड्ने ठाउँ दिएन
आस्थाले आस्थाको स्थान लिएन

आफैँलाई विश्वास गर्न नसकेपछि
अहिले-यतिखेर
म, तपाईसँग सोध्न आइपुगेको छु महाशय !
कहीँ हामीले देखेको तस्विर
बादलको त थिएन?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *