कविता : झरी

~रेखा पन्त~

जाडो महिनाको तातो घाम
चियाको चुस्कीमा मकै बदाम
घरको आँगन
या
कौशी
परालले बुनेका
सुकिला
न्याना
चकटी गुन्द्री बिछ्याएर
बसिन्थ्यो घेरा लगाएर
खाइन्थ्यो
हरियो डल्ले खुर्सानीमा
नुन
जिरा
लसुन
मिसाई लसलस पिसेर
निबुवा या भोगटे साँधेर !!

राफिलो घामले नतातेको शरीर
आगो जस्तै बन्थ्यो तातो
हुम्लाको स्याउ झैँ रातो
पिरोकै बहानामा
पिईन्थ्यो
घटघटी
एक अम्खोरा
स्वच्छ मुलको चिसो पानी
गाग्री बाट सारेर
तँछाडमछाड गरी !!

दुध बडा
रंग कडामा बनाएको तातो चिया
चियाको चुस्कीमा
चियाकै साथी
जुनेलो झैँ उठेका
आमाले भुटेका
मकैका सेता फुल
मकैको अन्तिम घान पछि भुटिएको तातो भटमासले
बन्यो मकैको सुहाउँदो जोडी !!

मंसीरको महिना
खुशीको महिना
प्रेमीहरुको प्रेम गाँठो कस्ने
लगनको महिना
जताततै बिहेको कुरो
टेलिभिजनमा पन्चेबाजाको गित
रेडियोमा नव बिबाहित जोडीको अन्तर्वार्ता
संगै हास्ने खेल्ने वालसखा
चमेलीको बिहे
अर्को हप्ता तय भएको चम्पाको बिहे
यस्तै,यस्तै !!

जब जब मध्यान्हमा
काला काला बादलुको घुम्टोले
छोपिदिन्छ
सुर्यको न्यानो किरण

चल्छ
सिरसिर चिसो सिरेटो
सुगन्धित रंगी बिरंगी फूलका सुवासले
स्पर्श गर्दा स्वयं भुलेर आफैंलाइ
अंग प्रत्यंग चुमेर जाने त्यो पवनले
आभास गराउँछ
प्रेमिल मिठा मिठा बात गर्दै
अंगालोमा बाधिएका जोडी
सुहागरातमा छताछुल्ल पोखिएका
केहि थान प्रेम !!

झ्यालबाट छिरेको
जूनको मन्द प्रकाश
चराको चिरिबिरी धुन
कोठा भित्रको शुन्यता
बाहिर परिरहेको झरी
छानो भिजेर चुहिने बलेनी
तन भिजेर चुहिने प्रेमको आँकुरा
बेरेर राख्न
सहायता लिनै पर्छ
कसिलो अंगालोमा
निर्जिव सिरानी
कोहि कसैको सम्झना गरेर
आफ्नै दिलको राजा ठानेर
हो जब पर्न थाल्छ यसै गरी झरी
बस्न मान्दैन यो मन वशमा
तसर्थ भन्छु म
ए झरी
नझरी देउ यसरी !!

-रेखा पन्त, गोरखा
हाल:ईजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *