युद्ध संस्मरण : खारा मोर्चामा मेरो अभिभारा

~सुभेच्छा शाही~

प्रथम पटक हारिएको मोर्चामा पुनः दोश्रो पटक दुश्मनसंग युद्ध मोचार्मा जादाँको क्षण वास्तवमै अवस्मरणीय रहेको थियो । पहिलो पटकको हारले दोस्रो पटक थप शसक्त ढंग तथा अत्याधिक तयरीका साथ हाम्रो टोली सल्यानबाट रूकुम खाराको लागि हिंडेको थियो ।

पराजयभित्रको बिजय, हारभित्रको जीत, अँध्यारो भित्रको उज्यालो, ऑशुभित्रको हाँसो यिनै बैज्ञानिक सच्चाईलाई सिरोपर गर्दै प्रथम पटक हारिएको मोर्चामा जीत र बिजयको सपना देखी पुनः दोश्रो पटक

 रुकुमको खारा क्याम्पमाथि बिजय प्राप्त गर्न दोस्रो खारा मोर्चाको तयारी भयो। सोही योजना अन्तर्गत कारबाही केन्द्रित बिभिन्न तयारी उप–तयारीहरु पश्चिम केन्द्रीय कमाण्ड अन्तर्गत भैरहेका थिए। पार्टी केन्द्रकै निर्देशनमा हामी जनमुक्ति सेनाका लालसिपाहीहरु भौतिक, मानसिक, बैचारिक तथा प्राविधिक तयारी गरि रहेका थियौं।

पश्चिम केन्द्रीय कमाण्ड अन्तर्गत सेति महाकाली क्षेत्रबाट हाम्रो बिग्रेटको तयारी तथा अभ्यासहरु भैरहेका थिए। प्रथमतः हारिएको अघिल्लो मोर्चाको मनोबैज्ञानिक असरलाई प्रष्टिकरण नगरी अर्को मोर्चा जीतको आशाबाद सबैको मष्तिस्कमा आउदैनथ्यो । त्यो पराजयको बिशेष कारणबारे बिभिन्न तहगत प्रशिक्षण, स्कूलिङ तथा कोचिङहरु भए। तत्पश्चात सम्पूर्ण रुपमा बिजयको सपनाहरु मनमस्तिष्कमा सजाएर सेति महाकाली बाट ०६१ चैत्र ५ गतेबाट रक्तिम पाइलाहरु शाहासी मुटुका साथ बहादुरी कदमहरु बिरत्व भाब र अनवरत गन्तव्यमा पुग्न पदचाप पाइलाहरु चालिए।

एक चिम्टी सातु र पानीका भारमा एक महिना लामो खारा यात्रा

उकाली ओराली पहाड, छहरा,भन्याङ्ग,चौतारी,गाउँ टोल, नदीनाला,बनजंगलले र रात दिन गर्दै लाभा लस्करसहित कॉधमा हतियार तथा पिठ्यूँमा गरुङ्गो झोला बोकेर एक चिम्टी सातु र एक घुट्का पानीको साहारामा मुक्ति यात्रा चालिरयौं । करिब एक महिना समय बित्यो। रणसंग्रामको मैदानमा पैदल यात्राको यस बिचमा धेरै ठाँउहरुमा धेरै पटक प्रत्यक्ष अप्रत्यक्ष दुश्मनसॅग जम्काभेट भए। कतिपय स्थानमा दुश्मनले हामीलाई देखेर पनि नदेखेझै गरी आफ्नो बाटो हानिए त कतिपयय ठाउँमा निहुँ खोजी खोजी हामीमाथि खनिन्थे ।

यस अघिका हरेक भिडन्तमा दुश्मनहरुसॅग प्रतिबाद गर्दै गन्तव्यको निकट पुग्यौं र फेरि सल्यानतिर फर्कियौं। योजनाको ब्रिफिङका लागि पश्चिम डिभिजनको संयुक्त कोचिङ भयो।

खारा मोर्चाको अन्तिम–अन्तिम तयारीमा पुगेपछी खाली हात, खाली पिठ्यू, खाली मान्छे कोही थिएन। एक हातमा हतियार अर्को हातमा माईन, पिठ्युँमा झोला साथै स्टेचर, काटेको डोको लामो–लामो बॉसमा बाधिएका माइनहरु, बमबारुद, गोलीगठ्ठा आदी युद्ध सामाग्री बोकेर निश्चित गन्तब्यको अभिष्ट चुम्न अन्तिम यात्रा थाल्यौ।

गन्तव्यमा पुगेपछि – कायर र गद्दार भई श्वास लिएर बाँच्नुभन्दा मृत्यु नै स्विकार्य

०६१ चैत्र २५ गतेका दिन हामी तोकिएको गन्तव्यमा पुग्यौ। त्यसै दिन हामी अन्तिम सेल्टर बाट दिउँसो एक बजेबाट रणसंग्रामको मोर्चाको लागि अन्तिम यात्रा सुरु गर्यौं। बिचबाटोमा हिड्दै गर्दा हरेक साथी हरेक कुराहरु गरिरहन्थे। कति बेला हॉसो ठट्टा गरेर हाँसोको लहर छुट्थ्यो भने कति बेला परि आउने तिता क्षणहरुको यादले भाबुक तथा गम्भीर बनाउथ्यो। कतिपय साथिहरुले भोलि म यहि डोकोमा आउनेछु भन्थे भने कोहीले म त स्टेचरमा आउँछु त कसैले बलिदानको कोठामा पर्नेछु भन्दै हिन्थ्यौं।

युद्ध मोर्चाका लागि हिँडेका हामी लालसिपाही न घाईते हुन पछि पर्यौ न उ बलिदानका लागि डराउथ्यौं। मैले पनि मन मनै सोचिरहेकी थिए कायर र गद्दार भई श्वास लिएर बाँच्नुभन्दा मृत्यु नै भागमा किन नपरोस् मलाई त्यसमा कत्ति आपत्ति छैन भन्ने लागि रहेको थियो ।

फोकल प्लान्टको अन्तिम विन्दुको निकट पुग्दैछौ सुर्यको किरणहरु बिस्तारै–बिस्तारै हराउँदै छन् । गोधुली साँझले अंकमाल गर्न खोज्दैछ तर रातले मिठो निन्द्रा खोजिरहेको छैन। सान्दार बिजय र सफलता खोजिरहेको छ । त्यसैले हाम्रो लाल युद्धको फर्मेशनले दुष्टको स्वायत अण्डालाई खरानी बनाउन हतार गरि रहेको थियो । म पनि एक सहयात्री साक्षी सच्चा सिपाही थिए। जब–जब अँधेरी साँझले घुम्टो हाल्दै थियो तब–तब हामी अन्तिम गन्तव्यमा नजिकिँदै थियौं । दुश्मनको खुनि क्याम्प माथि हामी नबर्सिदै दुस्मनले पहिलो आफैबाट ८१ एम एमको फायरिङ खोल्यो । हाम्रो योजना त तीन दिन अगाडि नै दुश्मनले पत्तो पाएर उ एलर्टमा बसेको रहेछ र हाम्रो घेरालाई आफ्नो घेरामा पार्ने एन्टी प्लान तयार पारेको रहेछ ।

जब दुवैतर्फबाट फायरिङ सुरू भयो

हाम्रो तर्फबाट पनि फायरिङ सुरु भयो। दोहोरो गोलि, बम, माईन, ट्रुन्चमोटर रकेट लन्चर हाना हान् भयो। कालोरात रणमोर्चामा बदलियो र दिन उज्यालो भयो। भुकम्पको झट्का जस्तै कडा कम्पन, चन्द्रमाको प्रकाशभन्दा उज्यालो, बाढी पहिरोभन्दा गड्गडाहट अनि एकाएक कोलाहाल मच्चियो। हामी दुश्मनलाई सिध्याउन अगाडि–अगाडि काँडेतार पन्छाएर बढ्दै छौ, उ हामीलाई सखाप पार्न झन–झन तम्सिदै छ। काँडेतार र पर्खाल छिचोल्दै भित्र पस्यौ अनि आर्टलरी हतियारका भिषण बमबाईरिङ गर्न थाल्दछ र हामी पनि उसको बम बाईरिङ निश्प्रवाह गरि अगाडि बढ्यौ ।

हाम्रो बिर्गेटको फष्ट एसाल्ट, दोस्रो एसाल्ट, तेस्रो एसाल्ट र चौथो एसाल्ट मिलाईएको थियो त्यहिभित्र पनि बिएन- बिएन,कम्पनी-कम्पनी,पिएल-पिएलमा पनि एसाल्ट मिलाएको थियो र बिएनको हकमा हाम्रो कम्पनी दोस्रो एसाल्टमा थियो। त्यही आधारमा अगाडि बढ्दै गर्दा आधाले आगाडि लड्दै गर्थ्यो भने आधाले दुश्मनको कृत्रिम फोट्टिफिकेशन तोड्नको लागि हामीले खनेर माटो बोरामा भरेर उसकोभन्दा डबल हाई पोष्ट बनाउँदै थियौ र मजबुत बङ्कर ट्यानेल निर्माण गरेर मोर्चाबन्दी युद्ध लड्ने तयारी गर्दै थियो त्येसैले हामी आधा खन्नतिर ब्यस्त थियौ भने आधा जोडतोडले लडिरहेका थियौ। बिभिन्न तरिकाले आर्क निर्माण गर्दै अगाडि बढ्दै गर्यौ।

सयौं घेरामा रहेको काँडेतार क्रस गर्दै आफ्नो ज्यानको कुनै प्रबाह नगरी बाघ झै सिधासिधै जाईलाग्न र झम्टिन थाल्यौ । दुश्मन आत्तिएर ब्याक सरेर लुकि–लुकि फायरिङ गर्थ्यो। पुनः दुश्मनले आर्क फेरिफेरि झन–झन गोलाबारी बर्साउथ्यो।

दुश्मन जति चर्किन्थ्यो हामीपनि शाहस, धैर्यता र बिबेक नगुमाई मृत्यु जितेर अगाडि–अगाडि बढ्थ्यौ। आफ्नै आर्क र कबरको वरिपरि धेरै साथी ढले धेरै घाइते भए सकेसम्म एचपि ग्रुपसम्म ओसार्दै आफ्नो आर्कलाई झन सशक्त पार्यौ । जता फाइरिङ हुन्छ त्यहि निशाना गरी बर्साउथ्यो। त्यसैले धेरै साथीहरु घाईते तथा सहादत भए। रात ढल्किरहेको छ युद्ध झन–झन चर्कीरहेको छ।

यो लडाईंमा हाम्रो तयारीमा उ परिरहेको छैन कि उसको तयारीमा हामी परिरहेको जस्तो भईरहेको थियो । किनकी उ हार्ने र हतियार बुझाउने मनस्थितिमा थिएन। राती दुई ढाई बजेतिर कालो आकाशमा नाईट भिजज फनफन्ति चक्कर मार्न थाल्यो।

एचएमजीले माथिबाट पनि गोला बाईरिङ गर्न थाल्यो। आफ्नै अगाडि पछाडि वरीपरि ट्रुन्चमोटार र ८१ एमएमका सेलहरु खसेर धर्ति नै भुकम्प आएजसरी कम्पाएमान हुन्थ्यो। तर यति हो मृत्यु जितेपछि जस्तो सुकै खतरा पनि सामान्य नै लाग्दो रहेछ।

आफ्नै हातले दुश्मनका बंकरहरु फोड्दाको समय क्रान्तिकारी गीतको स्मरण

आँखाभरी जित र बिजयका क्षणहरु उर्लिदा रहेछन् । दोहोरो फाइरिङ, बम बाईरिङ, गोलि हानाहान, हतियार तानातान सम्मका दृष्यहरु आँखै अगाडि आईरहे र आफै पात्र भएर प्रस्तुत भईरहेकी थिए त्यसमा म ।

आफ्नै हातले सयौ गोली छोडियो दुश्मनका बंकरहरु फोडियो । तर शाहस र बिबेक एक कदम रक्तिभर धर्मराएन, रात ढल्किएर उज्यालोका किरणहरु धर्तिमा ओर्लिदैछन् तर, हामो लडाई अस्ताएको छैन।

अगाडि–अगाडि बढिरहेने कमाण्डरको कासनको लागि कानहरु चङ्ख गराएर ठाडो पारिराखेका थियौ। दुश्मनको आक्रामक प्रस्तुतिले हाम्रो आर्क खाली–खाली होला जस्तो हुन थाल्यो। तर, हामी बाँचेकाहरुमा लड्ने शाहास मरेको छैन।

उज्यालोको बिहानीसॅगै खुनि अण्डा खरानी भएर बिजयको सन्देश बोकि ल्याएको खबर सुन्न यिनै दुश्मनबाट पिडीत वरपरका स्थानीय जनसमुदाय व्यग्र प्रतिक्षारत थिए तर, हाम्रो लडाई टुंगिने छाटमा थिएन।झन–झन लम्बिरहेको थियो हामी पनि पूर्व कोचिङ अनुसार दिनभरी लड्ने मानसिकतामा अघि बढिरहेका थियौं।

यतिबेला जनकलाकार कुलामान बुढाद्धारा रचित गितको स्मरण भईरहेको थियो ।
बीर जनसेना हो न झुक्नु है
युद्ध जितिन्छ शाहस गर्नु है ।
बमको धुवाले ऑखा छोप्दा
युद्ध मैदानमा गोली लाग्दा……

जब परिस्थिति प्रतिकूल भएको कासन आयो

आफू मरे पनि युद्ध जितेको र बिजयको सन्देश लिएर फर्किने आशमा गुज्रिएका हामी लालसिपाही लडिरहने प्रण गर्थ्यौं। बिहान पाँच बजेतिर हाम्रो ग्रुपलाई डिटिट हुने कासन आयो। कासनहरु सांकेतिक भाषामा हुन्थ्यो शब्द अर्कै बुझाई एउटा बुझ्नु पर्ने हुन्थ्यो। नचाहँदा नचाहाँदै अनुशासनको सिरोधर गर्दै हामी रिटर्न भयौ। दोस्रो एसाल्ट अगाडि बढ्यो हामी बाहिर निक्लिएर एउटा डॉडा कब्जा गरेर बस्यौं बाहिर आएको दुश्मनलाई सखाप पार्न हाम्रो नयाँ जिम्मेवारी दिइएको थियो। त्यसै अनुरुप हामी बाह्य दुश्मनको पिछा गरिरह्यौं।

आकासमा चारपाँच वटा हेलिकप्टर फनफन्ति घुमेर गोलाबारी गरिरहेको थिए। रूकूमको सदरमुकाम मुसिकोटबाट दुश्मनको अर्को टोली खटाएको खबर आयो। हामी त्यो टोलीलाई रोक्न अगाडि बढिरहेका थियौ। दुश्मनको उपस्थिति, प्रस्तुति, र लडिरहने मनोविज्ञानलाई हेर्दै हाम्रो लडाईको बिश्लेषण गरियो, परिस्थिति प्रतिकूल भएको र फेरिएको कासन आयो। लडाईको मोर्चामा क्षण–क्षणमा परिस्थिति बदलिन्थ्यो। त्यसलाई आत्मसात गर्दै अगाडि बढ्नु हाम्रो अर्को उत्तरदायित्व थियो।

रातभरी लडेर थाकेको जिउ भोकले खाली भएको पेट हतियार चलाउँदा–चलाउदा थकित हात र पाखुरा उठबस गर्दा घिस्रिएर लडेको ज्यानले दुश्मनको आक्रमणलाई प्रतिरोध गर्दै सुरक्षित स्थानतिर फर्किदै थियौ। युद्ध मैदानमा जादै गर्दा उर्लिएको उत्साह तर लडाई हारेर फर्किदा त्यहि अबस्थामा थिएन। सबैको अनुहारले गम्भिरता, पीडा र असहज अनुभूति भईरहेको थियो। त्यसैपनि आफुसॅग गएको साथी फर्किदा गुमाएर टुहूरो जस्तो भएको क्षण कति पिडादायी थियो शव्दमा व्यक्त गर्न सकिंदैन।

आशाको केन्द्र आफ्नै सहयोद्धा गुमाउँदाको पीडा

बिभिन्न बिर्गेट, बटालियन, कम्पनी र प्लाटुनबाट कति क्षति भयो कती घाईते भए घरी–घरी खबर आईरहन्थ्यो। त्यसले झनै अमिलो र तितो महशुस भईन्थ्यो। त्यसमा पनि हाम्रै बिर्गेटबाट हाम्रै सहयात्री पूर्व जनकलाकार प्रतिभाका खानी शाहसी योद्धा कमरेड प्रमोद र कमरेड पहाड घाईते भएर भित्रै काँडेतार मै छुटेको खबरले झनै मर्माहत, भाबबिभोर र दुखित बनायो।

थामिन खोज्दा खोज्दै एकजोडा आँखाले आँशुका भेलहरुलाई रोक्न सकेनन् र मुखै खोलेर रोए। आफ्नै सहयोद्धा गुमाउँदाको क्षणले भोक, प्यास, अनिदो, थकाई र दुखाई सबै हरायो हरायो सिर्फ उनकै यादहरुले मन अचेत भईरह्यो। यहि अघिल्लो खारा मोर्चाले मेरो मनको टुक्रा, सपना र आशाको केन्द्र प्रिय प्रेमी अखिललाई गुमाएको थियो। यहि बदला भाब बोकेर कि मुक्ति कि मृत्युको कसम लिएर खारा मोर्चामा मेरो अभिभारा पुरा गरेरै छाड्ने प्रण गरेकी थिए । बिजयको लागि हिडेका पाइलाहरु पराजयको तितो अनुभूति संगालेर टिम जसरी फर्कियो त्यसरी नै फर्किनु पर्दा अझ बढी पीडा भैरहेको थियो ।

बिजयको झण्डा फहराएर फर्किएको भए आफ्नै भाग्यमा बलिदान किन नपरोस मलाई फिक्री थिएन। सिंगो मोर्चा जित्न सबैको ईच्छा निराशामा फेरिएको थियो। तर, हामी द्धन्द्धबादीहरु पराजयमा बिजय, हारमा जित, ऑशुमा हाँसो, बलिदानमा किर्तिमान देख्ने भएकाले यस हारले अर्को सफल बिजयको ढोका उघार्ने छ भन्ने आशा बोकेर फर्कियौ । दुश्मनको बढेको मनोबललाई नराम्ररी हारैहारको चक्मा दिएर यो हारलाई अर्को बिजयको मन्जिल चुम्न यो लडाईको समिक्षा गर्दै पुनः लडिरहने संकल्प र प्रतिबद्धताका साथ मुक्ति, स्वतन्त्रता, जनअधिकार र जनसत्ताको लाल झण्डा केन्द्रीय सत्तामा फहराएईने छ। खारा मोर्चामा मिलेको जिम्मेवारीलाई मेरो अभिभारा ठानी बहन गरेकी छु पूर्ण मुक्ति र बिजयको लागि यात्रारत छु।

(स्रोत : जनमञ्च डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *