कविता : उज्यालो विहान बोकेकी सुन्दरी केटी

~सबिना सिन्धु~

झिस्मिसे हुने अगावै उठेकी तरुनी केटी
स्वयम् निस्सासिएर घैलाहरूसँगै
नदीले हुत्याउन खोजेका रहरलाग्दा छालहरूमा
बुनिरहन्छे पसिनाका नीला सपनाहरू,
बाटोभरि निमोठिएर जूनका कृत्रिम
आँखाहरूबाट,
यज्ञको रापिलो अग्निकुण्डमा
चिरकालदेखि होमिएकी
बलिरहेकी शरीरका शून्य मुस्कान बोकेर ।

उज्यालो बिहान बोकेकी सुन्दरी केटी
आफैलाई बलीमा झुण्ड्याएर
उभ्याउन चाहन्छे सभ्यताको सुन्दर विहान
सिंगै गोलो पृथ्वी भएर घुम्न चाहन्छे
शताब्दीको पीडा पन्छाउन
एकलास अन्धकारमा बारुद झैं पड्कन्छे र्
इश्वरको आराधनामा चिरकालसम्म
समर्पित गर्छे आफूलाई
स्वार्थको साँघुरो परिधिभन्दा धेरै टाढा
रगत बगाउँछे, लड्छे आगोका लप्काहरूसँग
आखिर खरानी बन्छे
नयाँ सभ्यताको खातिर
नयाँ कालखण्डको खातिर ।

जब फूलहरू फुल्छन्
ऊ निदाइसकेकी हुन्छे
निख्रिसकेकी हुन्छे
सुन्दर कविताहरू धरहरा भएर उक्लन्छन्
इतिहासले कोल्टे फेर्छ
पखेटा फट्फटाउँदै चराहरू उड्छन्
सधैं यस्तै हुने गरेको छ
उज्यालो बिहान आउनु अगावै
हराउने गरेकी छे, बिलाउने गरेकी छे
उज्यालो बिहान बोकेकी सुन्दरी केटी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *