कविता : स्वीकारोक्ती

~रुमानी राई~rumani-rai

रातभरीको अनिदो
अंगालोमा च्यापेर संगै सुतेको समय
कतिखेर हो
उठेर कुलेलम ठोकीसकेछ
ब्युँझ्दा त
म मात्रै पो ओछ्यानमा ।

आँखामाथी एकसुर
नाचीरहेछ एक्लैएक्लै सिलिङ्फेन
चुमीरहेछ आलस्य हावाले मेरो मुलायम अनुहार
चुपचाप छन् भित्ताहरु
र, चिहाइरहेछन् उज्यालो झ्यालका कापहरुबाट
मानौं म एउटा बुख्याँचा हुँ ।

सधैं कोकोहोलो मच्चाउने अलार्म
मलाई निद्रा मै छोडेर नेटो काटीसक्दा पनि समयले
आज किन चिच्याएन ?
किन उठाएन मलाई ?
कि,अलार्म पनि मसंगै भुसुक्कै भयो ?
हेर्छु, सिरानीमा अझै मस्त सुतिरहेछ अलार्म ।

प्रायः
समयसंगै सुतेर
चर्को अलार्मसंगै उठ्ने रोबोट म
अचानक मलायाक्रम भङ्ग भएको छ आज
खङ्ग्रङ्ग भएको छ यो हृदय
र,समयले निकै टाढा छोडीसकेको छ मलाई
मानौँ बाटो बिराएको यात्री हुँ म ।

भोकले भुँडी कोक्याइरहँदा
भोक कै निहुँमा
एकपेट अन्नपानीको माग तेर्स्याएर
आन्दोलित छन् आन्द्राहरु
जाँगर लुथ्रुक्क छ ।

बाहिर,
छ्याङ्ग छ आकास
टन्टलापुर घाम लागेको छ
ओतिएर झाडी र रुखहरुमा
चिरबिरचिरबिर गीत गाइरहेछन् चराहरु
तर,मन अमिलो छ
जस्तो कि, बाटामा कुच्रीरहेछन्
युनिफर्म या साविक झै कपडाहरु ।

ए समय !
तिमीले मलाई छोडेर गएपछी
बिचरा अलार्म सुतेकोसत्यै छ अझै
आज शक्तिशाली गजलहरु सुन्नु थियो
त्यही गजलहरुमा निश्चल परदेशीलाई छाम्नु थियो
गाउँले, गोठाले, जन्तरे र श्री माहौलमा भित्रिनु थियो
र,केहीबेर मन खोलेर ईत्रीनु थियो
अपसोच !
आज म आफ्नै वचनसंग हारें
फेरि पनि समयसँग हारें ।

[ ३१ अगष्ट २०१४,मलेसिया ]

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *