कथा : खरानी गाउँ

~दिल साहनी~dil-sahani

माओवादी इलाकामा पर्ने त्यस गाउँको नाम भूगोलको किताबमा, नापी विभागको फिल्ड बुकमा, जनगणनाको बही, चुनाव आयोगको फाइल अथवा श्री ५ को सरकारको अभिलेख खातापत्र आदिमा क ख ग जे पनि हुन्छ सक्दछ । तर मान्छेहरू यतिबेला त्यस गाउँलाई खरानी गाउँ भनेर चिन्न थालेका छन् र मैले मेरो यस कथाको प्रयोजनका निम्ति त्यही नामलाई नै प्रयोगमा ल्याएको बेहोरा सार्वजनिक गर्दछु । यसपछि सबैले मैले चर्चा गरेको गाउँ अरू कुनै गाउँ नभएर खरानी गाउँ नै हो भन्ने बुझ्नु पर्दछ । यदि मैले चर्चा गरेको खरानी गाउँको

कथासित अर्को कुनै गाउँको कथा पनि हुबहु मिल्न गएछ भने त्यसलाई हामीले एउटा संयोग नै मान्नु पर्दछ ।

खरानी गाउँ नेपालकै इतिहासमा सबभन्दा पिछडिएको गाउँ हो । सबभन्दा उपेक्षित रहेको गाउँ हो । त्यही भएर होला जुनसुकै राजनीति पुगे पनि त्यसले त्यहाँ सजिलै गाँस र बास पाउने गरेको छ । अरू सबै कारणले यो गाउँ जति पिछडिएको रहे पनि राजनीतिक जागरण वा सचेतताको कारणले भने यो गाउँ खासै त्यति पछिछ भन्नु पर्दैन । बरू के कुरा पनि दाबीका साथमा भन्न सकिन्छ भने राजनीतिक हिसाबकिताबले नेपालका अरू कुनै पनि गाउँभन्दा यो गाउँ अति अघि बढेको छ । सहर बजारभन्दा पनि अघि । वास्तवमा नेपालको वर्तमान मात्र होइन भविष्यसमेत यही र यस्तै अरू गाउँको सफलता असफलतामाथि नै आधारित रहन गएको छ । हो, अहिले हामीले नेपाल कहाँ छ भनेर जान्न बुटवल, पोखरा, विराटनगर वा राजधानीमाथि नै आँखा लाउनु पर्ने कुनै कारण छैन । हाम्रो देशको राजनीतिको सर्वोच्च शिखर नै खरानी गाउँ हो । सगरमाथा नै खरानी गाउँ हो । यही खरानी गाउँ अहिले एउटा दुईवटा देशमा मात्र होइन सारा विश्वमा नै चर्चा र परिचर्चाको विषय बनेको छ । मानव अधिकार वर्षग्रन्थमा नै खरानी गाउँको इतिहास लेखिएको देखिन्छ । इन्टरनेटमा पनि खरानी गाउँकै व्यथाकथा कोरिएको देखिन्छ । यस हिसाबकिताबले हेर्दा खरानी गाउँ जति पिछडिएको भए पनि अति धेरै अघि बढेको गाउँ हो भन्न सकिन्छ ।

खरानी गाउँ त्यसै खरानी भएको होइन । खरानी गाउँले खरानी गाउँ हुनलाई ठूलो सङ्कट झेलेको छ । चर्को सङ्घर्ष बेहोरेको छ । असङ्ख्य घाउ चोटहरू बोकेको छ । असीम पीडा र व्यथा खपेको छ ।

त्यो त्यही खरानी गाउँ हो जहाँका गाउँलेहरूले केही वर्षअघि त्यहाँका जाली फटाहा र शोषक सामन्तहरूको युगौँ युगौँदेखिको चर्को थिचोमिचो र अमानवीय शोषणका विरूद्धमा मसिनो आवाज उठाउन खोज्दा उनीहरूमाथि सरकार कति बर्बर बनेको थियो । उनीहरूलाई कति षड्यन्त्रपूर्ण ढङ्गले गिरफ्तार गरेको थियो । झुठा मुद्दा खेप्न अथवा जेल जान बाध्य पारेको थियो । उसले कतिलाई त जङ्गलमा पु¥याई रूखमा झुन्ड्याएर गोली ठोकी मारेको पनि थियो । यही भएर पनि खरानी गाउँ एक्लै होइन, सङ्गठित भएर खाली हात होइन, बन्दुक बोकेर सङ्घर्ष गर्ने सङ्कल्प गरी युद्धभूमिमा उत्रेको थियो । मुक्तियुद्धको बिगुल फुकेको थियो ।

मुलुकका अरू गाउँसितै खरानी गाउँले आफ्नो मुक्तिका निम्ति बन्दुक बोकेपछि र जनयुद्धको बिगुल फुकेपछि स्थानीय प्रहरी प्रशासन उनीहरूमाथि अझ बर्बर बनेर चर्को दमनमा उत्रेको थियो । खरानी गाउँमा बन्दुक बोकेर हिँड्नु, गाउँलेहरूका खसी, बोका, कुखुरा, परेवा लुटेर लैजानु, चेलीबेटीहरूमाथि हातपात गर्नु, उनीहरूको अस्मितामाथि धावा बोल्नु, बुढाबुढीहरूलाई लछारपछार पार्नु, केटाकेटीहरूलाई बन्दुकको कुन्दाले घोच्नु, फलानो कहाँ छ भन्ने प्रश्नको सन्तोषजनक जवाफ नपाउँदा बम भएर पड्किनु प्रहरी प्रशासनको दैनिक कार्य नै भएको थियो । गाउँमा अघोषित कफ्र्यु लागेजस्तो देखिन्थ्यो । भनौँ कफ्र्यु लागेकै थियो । चौबीसे घण्टा बाह्रै महिना कफ्र्यु ।

खरानी गाउँका प्रायः सबै युवायुवतीहरू छापामार बनेर जनयुद्धमा होमिएका छन् भन्ने प्रहरी प्रशासनको ठहर थियो र उनीहरूलाई कसरी हुन्छ ठीक पार्ने उनीहरूको लक्ष्य रहेको थियो । माथिको आदेश नै यस्तो थियो ।

जनयुद्ध सुरू भएकै केही समयपछि प्रहरीले खरानी गाउँमा एकजना वृद्ध बामपन्थी नेतालाई घरबाट थुतेर जङ्गलमा पु¥याई गोली हानी मारेको थियो र सरकारी तथा केही गैरसरकारी समाचार पत्रहरूमा खबर फैलाएका थिए – प्रहरीसितको मुठभेडमा एकजना खुङ्खार माओवादी नेताको मृत्यु भयो । स्मरण रहोस्, दोहोरो भिडन्त प्रमाणित गर्न प्रहरीले मृत बृद्ध बाम नेताको हातमा एउटा भरूवा बन्दुक थमाइदिएका थिए ।

केही वर्षअघि यही खरानी गाउँमा प्रहरीहरूले एकजना चेलीलाई सामूहिक बलात्कारपछि दुवै आँखा फुटाली जिउँदै आगोमा हालेर जलाएका थिए । उनको कोमल शरीरका साथसाथै उनको आवाज पनि आगोमा जलेर खरानी – खरानी भएको थियो ।

केही समयअघिको कुरा हो, यसै खरानी गाउँमा प्रहरीहरूले एकजना भर्खर सुत्केरी भएकी महिलालाई बलात्कारपछि हत्या गरेर खोल्सामा फालेका थिए ।

खरानी गाउँमा मान्छेहरूको निम्ति प्रहरी भन्नु नै यमराजको अर्को नाम हुन गएको थियो । गाउँलेहरू टाढै कतै प्रहरीहरूलाई बन्दुक बोकेर हिँडेको देख्नासाथ यताउता भागाभाग गर्न थाल्दथे । कोही कतै कुनाकप्चेरामा लुक्दथे भने कोही सिधैँ जङ्गलतिर लाग्दथे ।

केही महिनाअघि खरानी गाउँको नजिकै रहेको एउटा प्रहरी चौकीमा माओवादी छापामारहरूले आक्रमण गरेर ध्वस्त पारिदिएका थिए । माओवादी छापामारहरूको आक्रमणमा परेर एकजना स.ई. समेत दसजना प्रहरीहरूको ज्यान नै गएको थियो र बाँकी अरू आत्मसमर्पण गरेका घाइते प्रहरीहरूलाई उनीहरूसँगै आएको चिकित्सकहरूको टोलीले प्राथमिक उपचार गरेपछि स – सम्मान छोडिदिएका थिए । यस चौकीलाई कब्जा गरेपछि माओवादी छापामारहरूले ठूलो सङ्ख्यामा हात, हतियार र गोली बारूद हात पारेका थिए ।

खरानी गाउँको नजिकमा रहेको चौकी ध्वस्त भएको लगत्तैपछि माओवादीहरूले थापेको एम्बुसमा परी सातजना प्रहरीहरूको मृत्यु भएको थियो र दसजनाजति प्रहरीहरू घाइते भएका थिए । मुख्यतः यी दुई घटनापछि सरकारले माओवादीहरूमाथि एउटा निकै ठूलो अपरेसन चलाएको थियो । सरकार माओवादीहरूको नाम निसान नै मेटाइदिने हिसाबकिताबले अघि बढिरहेको थियो । त्यतिबेला नै केही सुराकीहरूले माओवादीहरू खरानी गाउँमा नै लुकेका छन् भन्ने खबर दिएपछि माथिको आदेशअनुसार नै प्रहरीहरूले चारैतिरबाट घेरा हालेर आक्रमण गरी माओवादीहरूलाई एउटै चिहान बनाउने लक्ष्य लिएका थिए । भनौँ खरानी गाउँलाई खरानी – खरानी बनाउने अठोट गरेका थिए ।

प्रहरीहरूले खरानी गाउँलाई चारैतिरबाट घेरेर माओवादीहरूमाथि आक्रमण गर्न थालेका छन् भन्ने सुइँको पाउनासाथ गाउँका जनतामा ठूलो खैलाबैला मच्चियो । भागाभाग मच्चियो । प्रहरीहरूले दुईवटा खुट्टाले उभिएको कुनै पनि मानव आकृतिलाई माओवादी नै देख्ने हुनाले सारा गाउँका जनता आफू घोर माओवादी विरोधी भए पनि माओवादी नै भएको अझ खुङ्खार माओवादी भएको अनुभव गर्दथे । राजनीतिक रूपले उनीहरू काङ्ग्रेस भए पनि आपूmलाई माओवादी नै भएको ठान्दथे । एमाले भए पनि माओवादी नै भएको ठान्दथे । मसाल अथवा राप्रपा भए पनि उनीहरू आफूलाई माओवादी नै भएको देख्न थाल्दथे । प्रहरीहरूले माओवादी क्षेत्रमा रहेका जुनसुकै मान्छेलाई पनि माओवादी नै देख्ने स्थितिमा उनीहरूले पनि आफूलाई खुङ्खार माओवादी देख्नु एकदम स्वाभाविक कुरो थियो । कुरो यस्तो हुँदाहुँदै पनि कुनै – कुनै मान्छे आफूलाई यो वा त्यो कारणले सुरक्षित जसले ठानेर होस् अथवा माओवादीका नाममा मारिने डरले गाउँ नै छाडेर भाग्नु आफ्नो ठूलो कायरता हुने ठानेर होस् अथवा आफूमा पछि पनि नफर्केर भाग्न सक्ने तागत नभएर होस् त्यहीँ नै अडिएर बसेका थिए ।

खरानी गाउँलाई घेरी माओवादीहरूको एउटा बिउ पनि बाँकी नराख्ने हिसाब किताबले पश्चिम दिशातर्फबाट अघि बढेको स्ट्राइकिङ फोर्सको कमान्डर थियो – इन्सपेक्टर दीपक । लामा – लामा जुँगा पालेको अग्लो मोटोघाटो हेर्दै उस्तै मान्छेको सातो समेत जाने जस्तो अनुहार भएको इन्सपेक्टर दीपक । क्रोधित भएर प्रहरीतर्फ फर्केर गज्र्यो भने काँचै खाला जस्तो देखिने इन्सपेक्टर दीपक, सायद उसको यस्तो डरलाग्दो शरीर र रूप भएको हुनाले सरकारले उसलाई माओवादी इलाकामा पठाएको थियो ।

“केटा हो, – इन्सपेक्टर दीपकले गज्रिँदै भन्यो – “हाम्रा अरू टोलीले उत्तर, दक्षिण र पूर्वबाट खरानी गाउँलाई घेरा हालिसकेका छन् । हामीहरू पश्चिमतिरबाट घेरा हाल्दै छौँ । तिमीहरूलाई थाहा नै छ खरानी गाउँ भनेको माओवादीहरूको गाउँ हो । माओवादीहरूको बोलवाला भएको गाउँ हो । यस खरानी गाउँमा मान्छेहरू मात्र होइन, रूखविरूवा, झारपात, किरा, फट्याङ्ग्रा, पशुपङ्क्षी आदि मात्र होइन, ढुङ्गा माटासमेत माओवादी भइसकेका छन् । खुङ्खार माओवादी भइसकेका छन् । यसैले हामीले बाटाघाटा, खोलाखोल्सा, पाखापखेरो, डाँडाकाँडा जुनसुकै ठाउँमा जुनसुकै मान्छे, रूखविरूवा, झारपात, किरा फट्याङ्ग्रा, पशुपङ्क्षी आदिलाई देख्नासाथ गोली हानेर सिधैँ स्वर्ग पठाइदिनु पर्दछ । घर – घरमा आगो ठोकिदिनु पर्दछ । हामीले सारा सारा माओवादी जन्माउने, पाल्ने तथा हुर्काउने घरहरूलाई आगो ठोकेर उनीहरूकै चिता बनाई दिनुपर्दछ । हामीले यस गाउँमा यति धेरै आतङ्क मच्चाइ दिनुपर्दछ कि यस्तो आतङ्कको कथा सुन्ने गर्भवती महिलालाई गर्भसमेत तुहोस् ।”

इन्सपेक्टर दीपकको उर्दी सुनिरहेको पहरी जवान रतनलाई आफ्नो अफिसरको यस्तो क्रूर कुरा पटक्कै मन परेको थिएन । यसैले उसले प्रहरी जवानलाई अफिसरको उर्दीको विरूद्धमा एक शब्द पनि प्रकट गर्न नपाइने परम्परा हुँदाहुँदै पनि मसिनो स्वरमा अलिकति गुनासो गर्दा कुन ठूलो अपराध होला र भन्ने सोचेर मुख खोल्यो – “साहब ! जे कसुर भए पनि माओवादीकै होला । तर गाउँ …”

रतनले के मुख खोलेको थियो इन्सपेक्टर दीपकको क्रोधको पारा चढेर निकै माथि पुग्यो । उसले पिस्तोल सोजाएर हानी नजिकैको रूखमा बसेको ढुकुरलाई भुइँमा खसाल्दै भन्यो – “माथिको उर्दी नसुन्ने जवानको यस्तै गति हुन्छ ।”

तल भुइँमा रगताम्मै भई उफ्रिदै गरेको ढुकुरतिर हेर्दै रतनले आफ्नो जिब्रोमा लगाम लगायो । इन्सपेक्टर दीपकको आक्रोश देखेर स्ट्राइकिङ फोर्सको रतनकै जस्तै विचार राख्ने अरू प्रहरी जवानहरू समेत थरथर काँपे । उनीहरूले टाउको झुकाएर दयाको भीख मागेको भावाकृतिमा आफूलाई आफ्नो कमान्डरको सामुन्ने पेस गरे ।

त्यति नै बेला एउटा लुते कुकुर खुरखुर गर्दै परबाट प्रहरीहरू उभिएको बाटोतिर आउँदै गएको देखियो । प्रहरीहरूको जमात देखेर ऊ तस्र्यो र फरक्क फर्केर आफू आएकै बाटोतिर दगर्नु थाल्यो । इन्सपेक्टर दीपकले गर्जिदै भन्यो – “रतन । ठोक साले कुकुरलाई ।”

निर्दोष कुकुरप्रति मनमा जे जति दया जागे पनि क्रूर इन्सपेक्टर दीपकको आदेशलाई अवहेलना गर्नु भनेको आफूले पनि गोली खानुसम्मको अपराध गर्नु हो भन्ने सोचेर रतनले आफ्नो बन्दुक सोझ्याई गोली छोड्यो – ड्याङ्ग ।

गोली लागेको कुकुर एकछिन बाटामा छट्पटाएपछि चल्न चल्बलाउन छोड्यो । केही पर पुगेपछि इन्सपेक्टर दीपकको कमान्डमा अघि बढिरहेको सशस्त्र प्रहरी टोली एउटा घरनेर पुगेर टक्क अडियो । इन्सपेक्टर दीपकले गर्जिदै भन्यो – “जवानहरू यस घरमा माओवादी लुकेर बसेका हुन सक्छन् । आगो ठोक । यो घरसितै भए भरका माओवादीहरू जलेर खरानी बनून् ।”

अफिसरको अर्डर पाउनासाथ प्रहरीहरूले दियो सलाई कोरेर घरको छाना सल्काइदिए । हेर्दाहेर्दै घर आगोको एउटा विशाल ज्वालामा परिणत भयो । आगोको लप्काले घरलाई जलाउन थालेपछि एउटा बिरालो झ्यालबाट फुत्त तल फँगाल्यो ।

‘ठोक् ! यो पनि माओवादी नै हो ।’ भन्दै इन्सपेक्टर गज्र्यो ।

अफिसरको आदेश पाउनसाथ पाँचछजना प्रहरीहरूले एकैसाथ बन्दुक चलाएर बिरालोको नाम निसान नै मेटाइदिए ।

घर जलिरहेकै थियो । घरभित्र रहेका अन्न, लुगाफाटा, भाँडाकुँडा, ठेका, भकारी, डोका, नाम्ला, थुन्से, स्याउ, मादल, खैँजडी, कागजपत्र, लालपूर्जा, नागरिकताका प्रमाणपत्र, जन्मकुण्डली, बच्चा हल्लाउने कोक्रा आदि सबै जलेर खरानी भए । खरानीको एउटा सानो – सानो थुप्रो भए । भनौँ एउटा सानो – सानो पहाड नै भए ।

घरदेखि गोठ केही पर भएकोले होला दनदन दन्किरहेको आगोको लप्कोले त्यसलाई टिप्न सकिरहेको थिएन । तर अगोको लप्काले नटिप्नुको अर्थ यो कदापि होइन कि त्यसलाई आगोको रापले पनि कुनै असर पारिरहेको थिएन । वास्तवमा आगोको रापले अत्तालिएर नै गोठमा बाँधिएका गाई, भैँसीहरू किल्ला उखेल्लान् कि झैँ गरी उफ्रिरहेको थिए । दाम्ला छिनाल्लान् कि झैँ गरी उफ्रिरहेका थिए । उनीहरू बाच्चाबाच्छी र पाडापाडीसितै बाँबाँ र आइँआर्इँ गर्दै कराइरहेका थिए । चिच्चाइरहेका थिए ।

गाई, भैँसीलाई पनि माओवादी नै देख्ने इन्सपेक्टर दीपकले गोठतिर आक्रोशित आँखाहरू तेर्साउँदै भन्यो – “जवान हो ! जाओ ! गोठमा आगो ठोक ! गोठमा बसेका साराका सारा माओवादीहरू गोठसितै जलेर खरानी बनून् ।”

अफिसरको आदेश पाउनासाथ बढीभन्दा बढी बफादार बन्न आतुर केही प्रहरीहरू अगुल्टा समात्दै गोठतिर बढे । उनीहरूले तँछाडमँछाड गर्दै गोठमा आगो झोसे । नल, पोस्कर र पराल थुप्रिएको गोठमा आगो दन्किँदा आकाशमा एकैचोटि दसवटा सूर्य झुल्के जस्तै झलल उज्यालो देखिन्थ्यो । हेदाहेर्दै आगोको लप्काले गाई, भैँसीहरूलाई पनि समात्यो । बाच्छाबाच्छी र पाडापाडीलाई पनि समात्यो ।

कालु गाई ब्याएको महिना दिन पनि पुगेको थिएन । निर्दयी आगोको तप्काले गोठको एक छेउमा बाँधिएको र कचौडाभरि दूध बनाएर पग्रिएको लैनो कालु गाईलाई पनि समात्यो । निर्दयी आगोको तप्कोले उसकै छेउमा बाँधिएको र पग्रिरहेको कचौडाको दूध चुस्न मुख मिठाउँदै तानिएको बाच्छोलाई पनि समात्यो । यसमा ठूलो सौभाग्य वा खुसीको कुरो के थियो भने आफूले सानैदेखि हुर्काएको र प्रत्येक वर्षको तिहारमा जस्तै यस वर्षको तिहारमा पनि लक्ष्मी भनेर कालु गाईलाई विशेष श्रद्धासहित पुज्ने गोपाल प्रहरीहरूको आक्रमणबाट बच्न जङ्गल पसेकोले उसले त्यस्तो हृदयविदारक दृश्य देख्न परेन । उसकी कामधेनू वा लक्ष्मी मातालाई दाम्लोमा नै डढेर खरानी बनेको दर्दनाक दृश्य हेर्न परेन ।

इन्सेपेक्टर दीपकको कमान्डमा रहेको प्रहरीहरूको स्ट्राइकिङ फोर्स ठाउँ – ठाउँमा बन्दुक पड्काउँदै, कुकुर, बिराला, कुखुरा, परेवा, ढुकुर, खसी, बोका, किरा, फट्याङ्ग्रा जे – जे भेटिन्छन् तिनलाई गोलीले उडाउँदै र घरगोठहरूमा आगो ठोक्दै अघि बढिरहेको थियो । निरन्तर अघि बढिरहेको थियो । खरानी गाउँमा उत्तर दक्षिण र पूर्वतिरबाट घेराउ हाल्दै अघि बढिरहेका स्ट्राइकिङ फोर्सका प्रहरीहरू पनि त्यसरी नै बाटामा भेटेका कुकुर बिराला, कुखुरा, परेवा, ढुकुर, खसी, बोका, किरा, फट्याङग्रा जे – जे भेटिन्छन् तिनलाई गोलीले उडाउँदै र घर गोठहरूमा आगो ठोक्दै अघि बढिरहेका थिए । हेर्दाहेर्दै खरानी गाउँलाई चारैतिरबाट फैलिएको आगोको लपेटोले नराम्ररी गँजेट्यो । सारा गाउँ आगोको ज्वालामा डढेर खरानी बन्दै थियो । आगाको ज्वालाबाट निस्केको धुँवाको मुस्लोले सारा आकाश ढाकेको थियो । टाढा – टाढा मान्छेहरू जलेर खरानी भएको गाउँलाई आतङ्कित हुँदै हेरिरहेका थिए । उनीहरूलाई लागिरहेको थियो यस्तो आगलागी त प्रथम विश्वयुद्धमा पनि भएन होला । द्वितीय विश्वयुद्धमा पनि भएन होला । हिरोसिमा र नागासाकीमा खसेको बमले पनि कुनै ठाउँ वा गाउँलाई यति डरलाग्दो रूपमा ध्वंशविध्वंश पारेन होला । वास्तवमा खरानी गाउँको डरलाग्दो आगलागीले रोम जलिरहेको आभास दिन्थ्यो र शान्ति सुरक्षाको ठेक्का लिएको आधुनिक निरो बाँसुरी बजाएर बसेको झलक ।

प्रहरीहरूको आक्रमणबाट बाँच्न आफ्ना वरिपरिका सबै छिमेकीहरू काखमा नानी च्यापेर जङ्गलतिर लागे पनि सुत्केरी हुने अवस्थामा पुगिनसकेकी पुतली पछि नै छुटेकी थिई । ऊ प्रहरीहरू घरघरमा आगो ठोक्दै र बन्दुक पड्काउँदै अघि बढिरहेको देखेर सकीनसकी घस्रिदै खोल्सातिर लागिरहेका बेलामा क्रोधले बाघ बनेको प्रहरी इन्पेक्टरका आँखामा परी । उसले चोर औँलाले घस्रिँदै गरेकी दोजिया पुतलीतिर सङ्केत गर्दै भन्यो – जाओ ! रण्डीलाई एक – एक गरी बलात्कार गरेर गोली हानी यसरी मारेर फाल कि अब नेपालका कुनै आइमाई माओवादी बन्ने हिम्मत नै गर्न नसकून् । माओवादीहरूलाई गाँस र बास दिने साहस नै गर्न नसकून् । यी गाउँमा अब कुनै माओवादी पनि पाइला टेक्ने साहस नै गर्न नसकून् ।

इन्सपेक्टर दीपकको आदेश पाउनासाथ एक हुल प्रहरीहरू बहुला कुकुरजस्तै पुतलीमाथि झम्टिन पुगे । हेदाहेर्दै उनीहरूले उसलाई स्याल र गिद्धले सिनो लुछेजस्तै लुछ्न थाले । उनीहरूले सामूहिक लुछाइमा परेकी दोजिया पुतलीको प्राण पहिले नै निस्किसकेको भए पनि उनीहरूले इन्सपेक्टर दीपकको आदेशअनुसार गोलीमाथि गोली हानेर तारो हान्ने मानव आकृतिमा फेरिएको उसको छिया – छिया परेको शरीरलाई घिसार्दै तल खोल्सातिर मिल्काइदिए ।

आदेशअनुसारको काम पूरा गरेर आफ्नोअघि नतमस्तक भई उभिएका प्रहरी जवानलाई सम्बोधन गर्दै इन्सपेक्टर दीपक गज्र्यो – “स्याबास जवान हो ! माओवादी इलाकामा आइमाई सामु हामीले प्रस्तुत गर्ने व्यवहार यस्तै हुनुपर्दछ । म तिमीहरूको काम कर्तव्यबाट अत्यन्त प्रसन्न छु र तिमीहरूको सामूहिक पदोन्नतिको निम्ति माथि साहबलाई सिफारिस गर्नेछु ।”

“हस हजुर ।” भन्दै दोजिया पुतलीको हत्याबलात्कारमा संलग्न भएका प्रहरी जवानहरू छाती तत्काएर इन्सपेक्टर दीपकका अगाडि खडा रहे ।

प्रहरी जवान रतनलाई आफ्नै साथीहरूको अमानवीय व्यवहारप्रति घृणा लागेको थियो । आक्रोशित पनि बनेको थियो ऊ उनीहरूप्रति । तर केही अरू प्रहरी जवानसहित ऊ पनि इन्सपेक्टर दीपकको गर्जनको अघि मौन थियो । शान्त थियो । मानौँ कि त्यहाँ त्यस्तो कुनै दुर्घटना नै भएको थिएन ।

रूखबिरूवा देखे रूखविरूवातिर, किरा फट्याङ्ग्रा देखे किरा फट्याङ्ग्रातिर, चराचुरूङ्गी देखे चराचुरूङ्गीतिर, कुकुर बिराला देखे कुकुरबिरालातिर, भेडाबाख्रा देखे भेडा बाख्रातिर, मान्छे देखे मान्छेतिर बन्दुक सोजाउँदै चारैतिर हत्याको श्रृङ्खला खडा गर्दै तथा घर – घरमा आगो ठोक्दै अघि बढिरहेको इन्सपेक्टर दीपकको कमान्डमा रहेको प्रहरी टोली वडाअध्यक्ष शङ्करको घरमा पुगेर टक्क अडियो ।

खरानी गाउँका साराका सारा मान्छेहरू हस्याङ्गफस्याङ्ग गर्दै जङ्गलतिर भागे पनि वडाअध्यक्ष शङ्कर र उसका केही छिमेकीहरू यस कारणले त्यहाँ अडिएर बसेका थिए कि उनीहरू मध्ये कोही काङ्ग्रेसकै टिकटमा लडेका थिए भने कोही काङ्ग्रेसी नभए पनि उसका मतदाता हुन पुगेको थिए । जुनसुकै कारणले भए पनि उनीहरू काङ्गे्रसी सरकारलाई आफ्नै सरकार ठान्दथे । मुलुकमा आफ्नै सरकार भएको अवस्थामा उनीहरूलाई अरू गाउँलेलाई जस्तै आफ्नो ज्यान बचाउन जङ्गल पस्नु ठीक कुरो लागेन । जे होस्, उनीहरूले सबै कुरा बुझेर पनि के कुरा बुझ्न सकेनन् भने प्रहरीहरूका आँखामा खरानी गाउँका मान्छेका त के कुरा किराफट्याङ्ग्रा ढुङ्गामाटा समेत माओवादी हुन पुगेका थिए । घरगोठहरू पनि माओवादी हुन पुगेका थिए । भक्तजनले जता हेरे पनि रामैराम देखेजस्तै माओवादीहरूलाई खत्तम पार्न खरानी गाउँमा पुगेको प्रहरीहरूका निम्ति त्यस गाउँको हुरीबतास पनि माओवादी देखिनु स्वाभाविक थियो । भनौँ खुदै खरानी गाउँ खुङ्खार माओवादी बनेर प्रहरीहरूलाई चुनौती दिँदै खडा भएको थियो ।

इन्सपेक्टर दीपकको आदेश पाउनासाथ बन्दुकधारी प्रहरीहरूले वडाअध्यक्ष शङ्करको घरमा घेरा हाले । घेरामा परेको दुब्लो, पातलो, झुस्स दाह्री पालेको, दौरा, सुरवाल र कोट लगाएको वडाअध्यक्ष शङ्कर घरबाट निस्केर थरथर काँप्दै जम्लेहात गरी प्रहरीहरूका अगाडि खडा भयो । शङ्करका पछि – पछि उसका घरमा बसेका आतङ्कित अरू चारजना गाउँलेहरू पनि घरबाट लुरू – लुरू निस्केर जम्ले हात गर्दै प्रहरीहरूका अगाडि उभिए ।

एक छेउ जुँगा मुसार्दै उभिएको इन्सपेक्टरले गर्जिदैँ भन्यो – “बल्ल भेटिए माओवादी खसीबोकाहरू (प्रहरीलाई आदेश दिँदै) खडा गर यिनीहरूलाई लाइन लगाएर । क्या मजा आउँछ यी आतङ्कवादीहरूलाई एक – एक गर्दै गोलीले भुट्न । यिनीहरू दुस्मन हुन् दुस्मन, हाम्रा एक नम्बरका दुस्मन । यस्तालाई गोलीले उडाउन सके सरकार पनि खुब खुसी हुन्छ । हामीले पनि नाम कमाउन सक्दछौँ । दाम पनि कमाउन सक्दछौँ । हाम्रो प्रमोसन हुने कुरा त छँदैछ ।

इन्सपेक्टरको आदेश पाउना साथ प्रहरीले बन्दुकको कुन्दाले घुचेट्दै शङ्करका साथमा उभिएका मान्छेहरूलाई एक लाइनमा खडा गरे ।

गोली हानी मार्नलाई लाइनमा खडा गरिएको शङ्करले नजिकै आँखा नचाउँदै उभिएको इन्सपेक्टरतिर हेरी जम्लेहात गर्दै भन्यो – “साहब ! म नेपाली काङ्ग्रेसको टिकटबाट चुनाव लडी वडाअध्यक्ष चुनिएको मान्छु हुँ । म त तपाईंहरू जत्तिकै सरकारकै मान्छु हुँ । म माओवादी हुने कुरै भएन । मेरो के कसुर छ र तपाईंरू मलाई गोली हानी मार्दै हुनुहुन्छ । म बिन्ती गर्दछु । हजुरले मलाई केही नगर्नुहोस् । मेरो ज्यान बचाइदिनुहोस् ।

शङ्करका कुरापट्टि खासै ध्यान नदिई गर्जिदै इन्सपेक्टर दीपकले भन्यो – “साला वडाअध्यक्ष ! तैँले आफूलाई काङ्ग्रेस भनेर कसले पत्याउँछ । तँ माओवादी नै होस्, एक नम्बर माओवादी । काङ्ग्रेस भनेर बाँच्न खोजेको होलास् । हामी खरानी गाउँमा बस्ने काङ्ग्रेसलाई पनि बाँकी राख्दैनौँ । हामी यहाँ जसलाई पनि काङ्ग्रेस, माले, एमाले वा मसाल होइन कि माओवादी नै देख्ने गर्दछौँ । खुङ्खार माओवादी । तँ काङ्ग्रेसको पार्टी कार्यालयमा काङ्ग्रेस होलास् । सरकारको आँखामा पनि काङ्ग्रेस नै होलास् । तर हाम्रा आँखामा माओवादी नै होस् । प्रहरीका आँखामा माओवादी नै होस् । खुङ्खार माओवादी ।

शङ्करले केही झुकेर फेरि इन्सपेक्टर दीपकसामु बिन्ती चढायो – “हाम्रा इन्सपेक्टर साहेब । मेरा छोराछोरी साना छन् । मेरो थाप्लामा ठूलो बोझ छ । मलाई नमार्नुहोस् । मेरो ज्यान जोगाइदिनुहोस् ।

शङ्करको कुरा सुनेर झन आक्रोशित बनेको दीपकले प्रहरी जवान रतनलाई आदेश दियो – ठोक गोली !

रतनले नचाहीनचाही पनि अफिसरको आदेशलाई पालना गर्दै फूलजस्तो कोमल हृदयलाई पत्थरजस्तो कठोर बनाई शङ्करतिर ताकेर गोली चलायो । खुट्टामा गोली लागेको शङ्कर ढल्फलिँदै इन्सपेक्टर दीपकका खुट्टा समात्न पुग्यो । इन्सपेक्टर दीपक झन क्रोधित भयो । उसले पिस्तोल निकालेर शङ्कका कन्चटमा दुई तिन गोली हानेर ठहरै पा¥यो ।

इन्सपेक्टर दीपकको आक्रोशपूर्ण आकृतिलाई देखेर लाइनमा राखिएका अरू चारजना गाउँलेहरू मात्र होइन स्वयम् स्ट्राइकिङ्ग फोर्समा सामेल भएका प्रहरी जवानहरू समेत थरर काँपे ।

“भरत ! इन्सपेक्टर दीपकले गर्जिदै भन्यो – “सुरो मुटु चाहिन्छ माओवादीहरूलाई गोलीले उडाउन । तैँले रतनले जस्तै खुट्टामा ताकेर होइन कन्चटमा ताकेर गोली हान्नेछस् । कन्चटमा ।

शङ्कर पछि लाइनमा उभिएको युवक थियो विजय । विजयको विवाह भएको दुई महिना पनि पुगेको थिएन । उसलाई आफू माओवादीको आरोपमा गोली खाएर मर्नुभन्दा पनि ठूलो पीर के कुरामा थियो भने उसकी नवविवाहित पत्नी कल्पना अब बेसहारा हुने भई । बिचल्लीमा पर्ने भई । विजयलाई आफू मर्ने पीरभन्दा पनि उसकी नवविवाहित पत्नी कल्पना बितारा पर्ने पीर अझ ठूलो र चर्को भए तापनि उसकै आडमा लाइनको तेस्रो स्थानमा खडा भएको बाबु लक्ष्मणलाई भने आफू मर्ने पीरभन्दा पनि आफूभन्दा पहिले भर्खर विवाह भएको छोरा विजय मर्नु पर्ने पीर अझ ठूलो र चर्को हुन गएको थियो ।

“इन्सपेक्टर साहब !” आँखाबाट बरर आँसु झार्दै जम्ले हात गरी लक्ष्मणले भन्यो – “मार्नु नै हुन्छ भने बरू मलाई जसरी इच्छा लाग्छ त्यसरी मार्नुहोस् । तर बिन्ती छ, तपाईंले भर्खर विवाह गरेको यो मेरो छोरोलाई नमारिदिनु होस् । दया गरेर उसलाई जिउँदै छाडिदिनुहोस् ।

“चुप !”, गज्रिदै भन्यो इन्सपेक्टरले “खरानी गाउँको एउटा मान्छेलाई पनि म जिउँदै छोड्नेवाला छैन । यहाँको माखोलाई समेत गोली हानेर उडाउने आदेश छ माथिको । (लक्ष्मणतिर सङ्केत गर्दै) गोलीले भुट ! बिचमा बोल्ने यो साला खुङ्खार माओवादीलाई ।”

इन्सपेक्टर दीपकको आदेश पाउनासाथ प्रहरी जवान भरतले लक्ष्मणका छाती र कन्चटमा ताकेर गोली हान्यो । टाउको काटेको बोकोजस्तो छट्पटिदै लक्ष्मण भुइँमा ढल्यो । हेर्दाहेर्दै उसको निर्जीव शरीर आफ्नै रगतको आहालमा डुब्न पुग्यो ।

आफ्नो बुबाको मृत्यु आफ्नै आँखाले देखेको युवक विजयलाई आफू कहिल्यै माओवादी नभएको र सामान्यतः काङ्ग्रेसकै मतदाता रहेको स्थिति भए पनि कुन्नि कसरी उसमा एक्कासी आफू माओवादी बनेको आभास हुन थाल्यो । कुन्नि किन ऊ माओवादी हुँदै नभए पनि आफू पक्का माओवादी नै हुँ भन्ने अनुभूति गर्न थाल्यो । अघि भर्खर आफ्नै नवविवाहित पत्नीको भविष्यको सवाललाई लिएर जति चिन्तित भए पनि आफ्नै आँखाअगाडि आफ्नो बाबुले गोली खाएर मर्नु परेको घटनाले कुन्नि कसरी ऊभित्र एकजना माओवादी छापामारले जन्म लियो र ऊ निश्चिन्त र निर्भीक भएर प्रहरी इन्सपेक्टर दीपकका आँखासित आफ्ना आँखा जुधाउँदै दह्रो खुट्टा बनाएर खडा भयो । इन्सपेक्टर दीपकका गोलीका अघि थर्कमान बनेर होइन एउटा ठूलो चुनौती नै भएर अविचल खडा भयो । यस्तो चुनौती जो झुक्न पनि जान्दैन र प्राणको भीख पनि माग्दैन ।

मृत्युको मुखमा विजयले प्रदर्शित गरेका साहस तथा निर्भीकताले आफ्नो बन्दुकको बलले धर्ती पनि हल्लाउँछु र आकाश पनि झुकाउँछु भन्ने धारणा राखेको इन्सपेक्टर दीपकलाई झन् आक्रेािशत पा¥यो । झन् क्रोधित पा¥यो । उसले तुरून्त पिस्तोल निकालेर विजयका कन्चटमा ड्याङ्गड्याङ्ग गोली हान्यो । इन्सपेक्टरका गोलीले मासुको एक डल्लो भई भुइँमा पल्टेको विजयका आक्रोशित मृतआँखाले अझ पनि आफ्नो बैरीलाई टल्टल्ली हेरेको देखिन्थ्यो । मानौँ कि ती आक्रोशित मृतआँखाहरू हत्याको बदला लिन दृढ सङ्कल्पित छन् ।

युवक विजयलाई आफ्नै पिस्तोलका लगभग सबै गोली खाली गरेर हत्या गरिसकेपछि इन्सपेक्टर दीपक यति धेरै क्रोधित हुन पुगेको थियो कि बाँकी दुई जनालाई गोलीले उडाउन अर्को कुनै प्रहरी जवानलाई खटाउने आवश्यकता देखेन । आदेश दिने धैर्य राख्न सकेन । प्रहरी जवानका बन्दुक खोसेर बाँकी दुई जनामाथि पनि ड्याङ्गड्याङ्ग गोली हान्न थाल्यो । लाइनको चौथौ स्थानमा उभिएको अर्धवैँसे गाउँलेलाई इन्सपेक्टर दीपकले एक्कासी गोली हानेर ढाल्ने बेलासम्म पाँचौँ स्थानमा उभिएको लगभग वृद्ध अवस्थामा पाइला टेकिसकेको गाउँले यति धेरै आतङ्कित हुन पुग्यो कि उसको मुखबाट कुनै आवाज पनि निस्किन सकेन । थरथर काँप्दाकाँप्दै उसले दिसापिसाब गरेको पनि चाल पाएन । इन्सपेक्टर दीपकले पाँचौँ स्थानमा उभिएको त्यस गाउँलेलाई गोली बर्षाएर ढालेपछि उसको दिसापिसाब पनि रगत मुछिएर रातै भएको कुरा अरूले नदेखे पनि रतनले त स्पष्ट देखेको थियो । यसरी पाँचजना गाउँलेहरूलाई एक लाइनमा खडा गरी गोली हानेर मारेपछि इन्सपेक्टर दीपकका साथसाथै केही प्रहरीहरू ठूलो विजय प्राप्त गरेको अनुभूतिले निकै गद्गद् भए पनि प्रहरी जवान रतनको हृदय त भित्रभित्रै छिया – छिया भइसकेको थियो । उसले आफ्नो प्रहरीको नोकरीलाई मात्र होइन सिङ्गो जीवनलाई समेत धिक्कारेको थियो ।

वडाअध्यक्ष शङ्करको आँगनमा पाँचजना गाउँलेलाई लाइनलाइन गोली हानी हत्या गरेर घरगोठमा आगो लगाउँदै अघि बढेको इन्सपेक्टर दीपकको कमान्डमा रहेको स्ट्राइङ्गि फोर्सले लगभग एक किलोमिटर बाटो पार गरेपछि त्यहाँका एक प्रहरी जवानले एकजना गाउँले युवकलाई दूधे बालक च्यापेर ढुङ्गाहरूको कोप्चेरोमा लुकेर बसेको देख्यो । उसले चोर औँलाले देखाउँदै बडो फुर्तिसाथ भन्यो – “हेर्नुस् साहेब ! एउटा माओवादी काखमा बच्चा च्यापी ढुङ्गाको कोप्चेरामा लुकेर बसेको छ ।”

इन्सपेक्टरले तत्कालै आदेश थियो – ठोक साले माओवादीलाई ।

इन्सपेक्टरको आदेश पाउना साथ एक हुल प्रहरीहरू गाउँले युवक लुकेको ठाउँतिर बढे । उनीहरूले एक साथ ऊतिर बन्दु सोझ्याए ।

ढुङ्गाको कोप्चेरोबाट हातमा ६ महिनाको दूधे बालक च्यापेर निस्केको युवक गणेशले बल्ल – बल्ल अलिकति हात जोर्दै भन्यो – साहेब ! म माओवादी होइन । म त कुटो कोदालो गरेर र भारी बोकेर पेट पाल्ने मान्छे हुँ । (बच्चालाई देखाउँदै) यसकी आमालाई तपाईंहरूकै मान्छेले वनमा दाउरा घाँस गर्न गएको बेलामा माओवादी भनेर मारेको चार महिना पनि भएको छैन । अहिले मैले यसलाई फाँडो खुवाएर पालेको छु । मलाई मारे यसलाई कसले पाल्ने ? कसले हुर्काउने ? ममाथि दया गर्नुहोस् । मेरो ज्यान नलिनुहोस् ।”

गाउँले युवकको रोदन क्रन्दन सुनेर केही हच्केका प्रहरीलाई फेरि आदेश दिँदै इन्सपेक्टर गर्जियो – “ठोक गोली साला माओवादीलाई । के तमासा हेरका छौँ ?”

इन्सपेक्टरको फेरि आदेश पाउनासाथ प्रहरीहरूले गाउँले युवक गणेशलाई एकै साथ उडाउन बन्दुका नालहरू उसका कन्चटतिर सोझ्याए । गणेशलाई अब ऊ कालको मुखमा पुगिसकेको कुरा सोच्न कुनै समय लाग्ने कुरै थिएन । उनले मृत्युको मुखमा पुगिसकेको स्थितिमा डरले खुट्टा कपाउनुको पनि कुनै अर्थ देखेन । बरू मर्नु परे खुट्टा तन्काएर नै मर्ने अठोट ग¥यो । प्रहरीका सामु घुँडा टेकेर होइन छाती थापेर नै मर्ने निर्णय ग¥यो । ऊ कहिले माओवादी नबनेको भए पनि उसले आफूलाई देश र जनताको मुक्तिको निम्ति सङ्घर्ष गरिरहेको माओवादी कार्यकर्ता नै ठान्यो । छापामार योद्धा नै ठान्यो । अझ छापामार योद्धाको पनि कमान्डर नै ठान्यो । उसले मनमनै अठोट ग¥यो ऊ अब कुनै राजनीतिमा नलागेको व्यक्ति होइन । पक्का माओवादी नै भएर मर्नेछ । उसलाई अब साह्रै दुःख के कुराको मात्र रहन गएको थियो भने ऊ आफू माओवादी बनेर मरेको कुरा कुनै पनि माओवादीले चाल पाउने भएनन् । कुनै माओवादी समर्थक जनताले पनि चाल पाउने भएनन् । उसले यति कुरा सोच्दानसोच्दै प्रहरीले चलाएको एउटा गोली उसको कन्चटलाई स्पर्श गर्दै पर ढुङ्गामा ठोक्किन पुग्यो । असिनासरी वर्षेको प्रहरीको अर्को गोलीले उसको एउटा कान उडाउँदा नउडाउँदै उसका मुखबाट आवाज निस्क्यो – माओवादी जिन्दावाद ! प्रहरीको अर्को गोली टाउकोमा लागेर ढल्दानढल्दै उसको मुखबाट अर्को आवाज निस्क्यो – जनयुद्ध जिन्दावाद ! ऊ भुइँमा ढलेर टाउको छिनेको बोकोजस्तो उफ्रिँदाउपिँ्रmदै प्रहरीहरूले अरू एक दर्जन जति गोलीहरू उसको रगतले लत्पलिएको शरीरभरि रोपे ।

गाउँले युवक गणेशलाई निर्मम तरिकाले हत्या गरेकामा केही खिन्न बन्नु परे पनि आफ्नो अफिसरको आदेशलाई आँखा चिम्लेर पालना गरेकोमा अतिप्रसन्न हुन पुगेका प्रहरीहरूले गर्वले छाती फुलाउँदै इन्सपेक्टर दीपकतिर हेरे । उनीहरूले देखे उनीहरूको अफिसर दीपक हर्षले गद्गद थियो । सायद ऊ सोचिरहेको थियो माओवादीहरूलाई यसरी मारेको कथा माथिसम्म पु¥याउन सके उसको कुममा अझ एउटा फुली थपिने र छातीमा अझ एउटा तक्मा झुन्डिने छ ।

उसले जुँगा मुसार्दै प्रहरी जवानलाई आदेश दियो – “अघि बढ । आज हामीले खरानी गाउँलाई खरानी खरानी पार्नु छ ।”

इन्सपेक्टर दीपकको कमान्डमा रहेका प्रहरीहरू फेरि बन्दुक पड्काउँदै तथा घर गोठमा आगो लगाउँदै अघि बढे ।

कन्चटमा गोली लागेर ढल्दा गणेशका हातबाट फुत्केर भुइँमा पछारिन पुगी अर्ध मुर्छितजस्तै भएको ६ महिनाको दूधे बालक च्याँच्याँ गर्दै रोइरहेको आवाज कसैले सुन्दैन । जसले सुन्न सक्दथे उनीहरूका कान बहिरा भइसकेका थिए । जसका कान बहिरा भएका थिएनन् तिनीहरू च्याँच्याँ गर्दै रोइरहेको शिशुदेखि धेरै टाढा थिए । यति टाढा जहाँ त्यो आवाज पुग्न सक्दैनथ्यो ।

कसैले शिशु रोएको आवाज सुनून् वा नसुनून् अबोध शिशु त्यस निर्जन ठाउँमा आफ्नो मृत पिताको लास नजिकै एकोहोरो रोइरहेथ्यो – च्याँ … च्याँ … च्याँ … ।

हेर्दाहेर्दै चारैतिरबाट सल्किँदै आएको आगोको लपेटो एक ठाउँमा आएर मिसियो । आखिर खरानी गाउँ जलेर खरानीखरानी भयो । खरानी गाउँमा सबै चिज खरानी भइसकेर पनि अझै पनि खरानी भइसकेको कुनै चिज बाँकी थियो भने त्यो थियो एउटा दूधे बालकको करूण चित्कार – च्याँ … च्याँ … च्या … ।

(२००२)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *