कथा : सानो ध्वाँसे केटो गोफ्लेको सपना

~महेश्वर पन्त~Maheswor Pant

सानो ध्वाँसे केटो ‘गोफ्ले’, आफ्नी आमाको पछिपछि दौडिरहन्छ । आमाको सारीको फूर्को नै आज उसका लागि संसारकै ठूलो वस्तु भएको छ । हुन त उसलाई संसार भनेकै उसको झुपडीबाट भँडारे साहुको घर र तल बेँशीमा भएको पानीघट्टसम्म लाग्छ । आमाको सारीको पूmर्कोले नै त्यस संसार वरपर घुमाइरहन्छ, उसलाई । उसका लागि जहाज, गाडी, गोरेटो, घोडेटो जे भने पनि सबै त्यही नै हो । उसका साथी बाबु, आमा, शिक्षक, शिक्षिका वा भगवान् जे भने पनि उसकी आमा मात्र हो । आफ्नो बाबु को हो ? थाहा छैन, गोफ्लेलाई । उसको कुरा गर्ने साथी आमाबाहेक कोही छैन । सपना एउटै बुनेको छ उसले— “भँडारे साहुजस्तो बन्ने” ।

भँडारे साहुकै घरमा काम गर्छे उसकी आमा दिनभरि । त्यही कामले उनीहरू दुवैजनाको अन्नपानी चलेको छ । गोफ्लेका लागि आमापछि अर्को कोही ठूलो मान्छे छ भने त्यो हो— भँडारे साहु अर्थात् गाउँको महाजन् । गोफ्लेलाई थाहा छैन कति सम्पत्ति छ भँडारेसँग ? उसलाई यतिमात्र थाहा छ कि— उसलाई र उसकी आमालाई खान पुग्ने सम्पत्ति छ भँडारेसँग । उसका लागि त्योभन्दा बढी सम्पत्तिको अर्थ पनि छैन । आङ् ढाक्ने व्यवस्था आमाले जे गरिदिन्छे त्यसैमा चित्त बुझाउँछ, ऊ । आङ् ढाक्ने लुगामा आमासँग कचकच कहिल्यै गर्दैन, चाहे त्यो साहुको फालेको कुर्ता होस्, चाहे त्यो कसैको ठूलो जाँगे । उसको नापोमा कसैले कपडा सिलाएका छैनन् सायद कसैले जरुरी पनि सम्झेनन् । सबैले गोफ्लेलाई पुराना कपडा दिए तर उसलाई मिल्ने कपडा कसैले दिएनन् । भँडारे साहुको घरदेखि पर गोफ्ले र उसकी आमा बस्ने घरजस्तै देखिने खालको छाप्रो छ, घरजस्तै देखिएर घर भनिएको होला ! साहुकै खेतको पल्ला छेउमा हिँड्दा झण्डै एक लर्कन पर्ने बारीको कुनामा छ, त्यो झुपडी । त्यही झुपडीदेखि पर भँडारेको दरबारमा आमाको पछिपछि लागेर दिनहुँजसो जान्छ गोफ्ले ।

उसकी आमा दिनभर साहुको मेलामा काम गर्छे, ऊ आमाको अघिपछि घुमिरहन्छ । ऊ थोरै मात्र अरूसँग बोल्छ, खाली कसैले सोधे भने मात्र उत्तर दिन्छ । कहिलेकाहीँ भँडारे साहुको हप्की खान्छ । “आमाको पुच्छर, गधा !” भन्छन् भँडारे साहुले उसलाई । रातो मुख लाएर आमाको पुठ्ठोमा झन् टाँसिन्छ, गोफ्ले । संरक्षण पाएको महसूस गर्छ त्यहाँ, उसले । अरू को नै छ र यो संसारमा उसको ? गोफ्लेको चाहना र सपनाका बारेमा अनभिज्ञ छ यो संसार । खाली आमालाई मात्र भन्छ, उसले आफ्नो सपना । हुन त उसकी आमाको पनि को छ र यो संसारमा, आफ्नो मनको बह बिसाउने ? उनका बा आमा कोही पनि छैनन् । बा को हुन् ! गोफ्लेलाई जस्तै उसकी आमालाई पनि थाहा छैन । “लोग्ने को हो ?” उनले भन्न मिल्दैन । मनका गुनासा पोख्ने र मनका रहरहरू साट्ने कहीँ ठाउँ छैन गोफ्लेकी आमाको । कैले कामबाट फर्केर बिरक्तिएर रुन्छे— ‘नरी’ अर्थात् गोफ्लेकी आमा ।

गोफ्ले हेरिरहन्छ, आमालाई । के गरोस् र के नै पो गर्न सक्छ र ! एउटा पाँच वर्षको बच्चाले । तै पनि गोफ्ले सोध्छ आमालाई—“किन रोईस् ? आमा !” उसको रुवाई रोकिँदैन, गोफ्ले थप्दै जान्छ— “म ठूलो भए’सी भँडारे साहुबाजस्तै बन्चु, धेरै पैसा कमाउँचु, अनि तँलाई काम अर्न पर्दैन, आमा !” नरी झन् गोफ्लेलाई अँगालो हालेर भक्कानिएर रुन्छे । धेरैबेरको रुवाइपछि नरीले सोध्छे— “बाबु ! तँ कैले ठूलो हुन्चस् ?” गोफ्ले जुरुक्क उठ्दै आफ्नो सानो छाती र शरीर तन्काउँदै भन्छ— “यी हेर् ! म ठूलो भएँ ।” नरीले अर्ती दिन्छे गोफ्लेलाई – “बाबु ! तँ ठूलो मुन्छे हुन त इस्कुल जानुपर्च, धेरै पड्नु पर्च, पढेसी बल्ल पैला हुन्च केरे । अनि पो आमालाई सुख देलास् ।” गोफ्लेले केही सोचेजस्तै गरी आकाशतिर हेर्छ र “हुन्छ” भन्ने सङ्केतमा टाउको हल्लाउँछ ।

सपना बुनिए एकैछिनमा माटोको घरजस्तै, आकाशको फलजस्तै । कैले गोफ्ले ठूलो होला ? कैले नरीले सुःख पाउली ? गोफ्ले लाडिँदै नरीको काखमा बस्छ । नरीले आफ्नो छातीमा टाँस्छे । गोफ्ले च्यापिन्छ । धेरै बेरसम्म च्याप्छे नरीले गोफ्लेलाई । नरी अचम्म पर्छे, आज गोफ्लेले उठेरै मुतेको देखेर । ऊ सधैँ बसेर मुत्ने गथ्र्यो । उसले हकार्छे गोफ्लेलाई— “किन उठेर मुत्चस् ए गोफ्ले ! खुट्टाभरि, लुगाभरि पर्च मुत । तेरो टाउको टुक्रुक्क बसेर मुत्न सिकाइतो हैन तँलाई ?” “भँडारे साहुबाले यसरी नै मूत्चन् का आमा !” गोफ्लेले फेरि थप्यो— “यी…म पनि भँडारे बाजस्तै भएँ अब, मेलामा मैले देखेको, एसरी नै मुतेका थे तिन्ले ।” नरी लाजले भुतुक्क भई । यताउता मान्छे हेरी, कोही देखिन । गोफ्लेलाई आलीको डिलमा बसालेर आफ्नो कामतर्फ लागी, ऊ ।

गोफ्ले भँडारे साहुजस्तै बस्छ, उसलेजस्तै हुक्का तान्छ, उसलेजस्तै बोल्ने, हाँस्ने प्रयास गर्छ र आमालाई देखाउँछ । घरिघरि बोलाउँछ र भन्छ— “हेर् तो आमा ! म कसरी बसेँ, म साहुबाजस्तै हुक्का तान्चु है, गुडगुडगुडगुड ।” बाँसको लौरो हुक्काजस्तै तानेर देखाउँछ । नरी कैले झर्किन्छे भने कैले हाँस्छे, उसको बालापन र उसको सपना देखेर । कैले दिक्क मान्छे उसको भाग्य देखेर, अनि आफ्नो फुटेको कर्म देखेर । यस गाउँबाट भाग्ने प्रयास नगरेकी पनि हैन नरीले, तर गोफ्लेकै कारण भँडारेको आश्रय छोड्न सकेकी छैन । गोफ्ले पेटमा आएपछि भागेको नरीको मान्छे कहिल्यै फर्केन । गाउँमा समाजले बस्न नदिएपछि नरी आफ्नो जन्मथलोभन्दा पर मन लागी नलागी भँडारे साहुको गुलामी गरेर दिन काटेकी छ । गोफ्लेको सपना साकार हुने झिनो आशमा आपूmलाई बेचेकी छ ।

आज नरी भँडारेको घरमा हैन बँेशीमा भएको पानीघट्टमा भँडारे साहुसँगै जानुपर्छ । गोफ्ले पनि खुसी छ आज । पानीघट्टमा गएर फर्कंदा उसले सधैँ आमाका हातमा पैसा देखेको छ र चकलेट पनि खान पाएको छ । उसले घट्ट वरपर केही आपूmजस्तै बच्चा पनि देख्न पाउँछ । घट्टमा जाँदा हुने अमिलो क्षण पनि थाहा छ, गोफ्लेलाई । तर उसको खुशी चकलेट र ऊ जस्तै केही केटाकेटीहरूमा बढी हुन्छ । घरीघरी त्यस ठाउँमा जाँदा भँडारे साहुले उसलाई हप्काएको सम्झेर तर्सिन्छ । भँडारे साहु अघिअघि र नरी पछिपछि सोलीमा घट्टमा पिँध्ने कोदो बोकेर ओर्लँदै छन् । गोफ्ले पनि आमाको फरियाको फुर्को समातेर पछिपछि ओर्लेको छ । दिनभरि नरीले घट्टमा कोदो पिस्छे । भँडारे साहु बेँशीको खेतमा पानी लगाउँछ । गोफ्ले भने घरी घट्टबाहिर खेतमा खेलेका केटाकेटी हेरेर रमाउँछ भने घरी घट्ट घुमेको हेरेर रमाउँछ । घट्टको केही पर कुनामा एउटा गुन्द्री र सानो बिछ्याउना पनि बेरेर राखिएको हुन्छ सधैँ । कोदो पिसिसकेर नरीले घट्टको पानी बन्द गर्छे, बाहिर घट्टमाथि गएर । भँडारे साहु पनि खेतबाट आइपुग्छ घट्टमा । घर फर्किनु अघि सधैँजस्तो गरी भँडारे साहुले— “गोफ्ले ! तँ यहीँ बाहिर बसिराख, मेरो तेरी आमासँग काम छ ।” भन्दै नरीलाई पाखुरा समातेर घट्टभित्र लान्छ । गोफ्ले आफ्नी आमातर्फ हेर्छ । उसकी आमा बाघको अगाडि परेको बाख्रीजस्तै निरीह बन्दै गोफ्लेलाई फर्किएर हेर्दै भित्र जान्छे ।

भँडारेले घट्टको ढोकाको आग्लो लाउँछ भित्रबाट । गोफ्ले सँुक्क सँुक्क गर्दै बाहिर छिँडीमा बस्छ । झमक्क साँझ पर्न लागेको छ, चकमन्न छ, सबैतिर । नजिकै बगेको खोलाको सुसाइले साँझको त्यो चकमन्नतालाई चिर्ने प्रयास गरेको छ । घट्टबाहिर गोफ्लेको सुँक्क सुँक्कको आवाज रोकिएको छैन । घट्टको त्यो सानो घरभित्र के भइरहेको छ, भँडारे साहुको घट्टभित्र उसकी आमासँग के काम छ ? गोफ्लेलाई केही थाहा छैन । यसरी नै चल्दै छ हरेक दिन यिनीहरूको जीवन । केही समयपछि पसिनाले लत्पतिएर निस्केकी नरीले पटुकाको फेरोले गोफ्लेको आँसु पुछिदिन्छे । भँडारे साहुले—“ल ल चुप लाग् अब, नरो, ला…! चकलेट खा !” भन्दै खल्तीबाट मिठाई झिकेर गोफ्लेलाई दिन्छ । नरी फरियाको फुर्काले आफ्नो निधारको पसिना पुछ्दै आफ्नै निधारलाई धिक्कार्छे । मिठाईको गुलियोमा भुलेर फेरि रमाउन थाल्छ, गोफ्ले ।

यी आमाछोरा हरेक दिन यसैगरी नै जिन्दगी बाँचिरहेका छन् । सुखको दिन आउने प्रतिक्षामा हरेक दिन लुछिइरहेकी हुन्छे, नरी । भँडारे साहुजस्तै बन्ने सपनामा उडिरहेको हुन्छ, गोफ्ले । उसलाई थाहा छैन कसरी बनिन्छ र बनेर के हुन्छ ? अनि भँडारे साहुको असली चरित्र के हो ? उसको लागि त सबैभन्दा ठूलो मान्छे कोही हो भने भँडारे साहु नै हो । नरी आफ्नो एकमात्र छोरो गोफ्ले ठूलो मान्छे हैन असल ठूलो मान्छे बनोस् भन्ने चाहन्छे । तर नरीको परिभाषामा असल लोग्नेमान्छे को त ? नरीलाई नै थाहा छैन । जन्माएर कसैलाई पाल्न दिने आफ्नो बाबु, या भँुडी बोकाएर भाग्ने हुनेवाला श्रीमान् ? या “छोरीजस्तै हो” भनी गाउँलेको आँखामा छारो हाली संरक्षण दिएको फाइदा उठाएर सधैँ शिकार गर्ने ब्वाँसो भँडारे साहु ! कसलाई ठूलो मान्छे भन्ने ? नरीसँग यसको जवाफ छैन । गोफ्ले भँडारे साहु बन्ने आकाङ्क्षा बोकेर स्कुल जान थाल्छ । पहिलोपटक उसले आफ्नै लागि नापेको कपडा लगाउँछ । एउटा सानो किताब राख्ने झोला बोक्छ पछाडि । आज पहिलोपटक आमाको साडीको फुर्को छोडेर भँडारेको सेरोफेरोबाट पर गाउँको सरकारी स्कुलमा दाखिला भयो, गोफ्ले ।

आमाबाट टाढा हुनुको खिन्नता हुँदाहुँदै पनि सपनाको क्षितिज भेटाउन लम्केको छ, त्यो सानो धैँसे पुड्को ‘गोफ्ले’ । जाने बेलामा मलिना आँखाले आमालाई हेर्छ । बिलौना र अठोट मिसिएका दुई थोपा आँसुले बिदा माग्छ, गोफ्ले । नरी नजिकैबाट नियाल्छे र धैँसे गोफ्लेलाई सम्झाउने पाराले भन्छे— “गोफ्ले ! स्कुलमा नाम सोध्लान्, ‘गोफ्ले’ नभनेस् ! मेरो नाम ‘धनबहादुर नेपाली’ हो र आमा ‘नरी नेपाली’ भनेस् । बा छैनन् भनेस्, मास्टरले भर्ना अर्चन् तेरो ।” गोफ्ले आफ्नो नाम सुनेर दङ्ग पर्छ । पहिलो पटक आफ्नो नाम सुन्दैछ ऊ । ‘हस्’ भनेर मुन्टो हल्लाउँदै गोफ्ले स्कुल हिँड्छ । नरी परसम्म गोफ्लेलाई हेरिरहन्छे । मनमनै आशीर्वाद दिन्छे, गोफ्लेलाई— “सबैभन्दा असल र ठूलो मान्छे बनेस् तर तेरो सपनाको ‘भँडारे साहु’जस्तो ठूलो हैन ।”

कृतिः मुन्द्री
कथाकारः महेश्वर शर्मा
सम्पादकः रमेश दाहाल
पुस्तक पाइने स्थानः ब्रदर्श बुक प्रकाशन,
धर्मपर्थ, भूगोलपार्क काठमाडौं,
फोनः ४२२८६२५

बोस्टन अमेरिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *