बाल कथा : साँच्चैको हिरो

~कार्तिकेय घिमिरे~kartikeya ghimire

बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन ।

हात फैलाउँदै केटो मेरो नजिक आइपुग्यो । मैले ट्वाल्ल परेर उसको अनुहारमा हेरिरहेँ । एकछिन त ऊ मसँग डरायो पनि । मैले मुसुक्क हाँसेर उसको हातमा पचास रुपियाँको नोट राखिदिएँ । केटोले मलाई क्वारक्वार्ती हेर्न थाल्यो । मैले सानो स्वरमा भनेँ – “बाबु ! यो पैसा मैले तिमीलाई नै दिएको हुँ, लैजाऊ । एउटा कुरा भने नबिर्सनु । यो पैसा मैले दुःख गरेर कमाएको हुँ । यसको खर्च सही काममा गर्नु ।”

पचासको नोट पाएपछि केटो दौडँदै पार्कबाहिर निस्कियो । म पनि उसले चाल नपाउने गरी उसको पछि-पछि लागेँ ।

केटो हस्याङ्फस्याङ गर्दै एउटा औषधि पसलभित्र छिर्‍यो । म पनि त्यही छेउमा लुकेर बसे । एकछिनपछि ऊ औषधिको एउटा सिसी बोकेर निस्कियो । अब उसको हातमा पचासको नोटको ठाउँमा दसको नोट मात्र बाँकी थियो ।

म फेरि उसको पछि लागेँ । एउटा पुरानो पहिलो तला प्रायः भत्किसकेको घरको छिँडीको कोठाभित्र ऊ फुत्त छिर्‍यो । वरिपरि अँध्यारो भएकाले उसले मलाई देख्न सकेन । एकछिनपछि एकजना बूढी आमै ख्वाङ्ख्वाङ् खोक्दै उठिन् । केटो बडो उत्साहसाथ करायो- “आमै, मैले तिम्रो लागि खोकीको औषधि ल्याएँ नि ! ल उठ अब औषधि खाऊ ।”

बूढी आमैले सकीनसकी उठेर बत्ती बालिन् । सिसीमा सलेदो हालेर मट्टतिेलबाट बल्ने त्यो टुकीले दिउँसो बाह्र बजे पनि अँध्यारो हुने त्यस कोठामा उज्यालो छर्‍यो ।

टुकीको उज्यालोमा कोठाभित्रकोे अवस्था प्रस्ट देख्न सकिन्थ्यो । बूढी आमैको छेउमा एउटा सिलबरे बटुको थियो । त्यसमा उनले थुकेको रगत मिसिएको खकार थियो । अर्को कुनामा एउटा पुरानो स्टोभ, सिल्भरे डेक्ची र कराही थिए । एउटा थालमा मकै भुटेर राखिएको थियो । आमैको उमेर साठी वर्षको जति थियो ।

“बाबै मकै खान्छस् ?” आमैको प्रश्नसँगै त्यो बालक अलि खुसी भयो । उसले आमैलाई दुई चम्चा औषधि मुखमा हालिदियो । आमैलाई औषधि खुवाउन पाउँदा ऊ असाध्यै खुसी देखिन्थ्यो । उसको अनुहारमा अचम्मको चमक थियो ।

औषधि खाएर ओछ्यानमा पल्टेकी आमालाई हेर्दै त्यो केटो उठ्यो र भन्यो- “आमै ! तिमी मकै खान सक्दिनौँ । म पाउरोटी किनेर ल्याउँछु । अनि तिमी र म सँगै बसेर मकै र पाउरोटी खाउँला है !” यति भनेर केटो फेरि चोकतिर दौडियो ।

यस्तै पाँच मिनेटपछि केटो फर्कियो । उसको हातमा पाउरोटीको पोको थियो । भित्र पस्नेबित्तिकै उसले आफ्नी आमालाई विस्तारै उठायो र भित्तामा अडेस लगाएर बसायो । अनि विस्तारै पाउरोटी खुवाउन थाल्यो । पाउरोटीसँगै ऊ आफ्नी आमालाई पानी पनि खुवाउँदै जान्थ्यो । यसरी एकजना बालकको आमाप्रतिको माया देखी मेरो आँखाभरि आँसु भरियो ।

आमाले पाउरोटी खाएर सुतेपछि केटो अब आफैँ मकै खान थालेको थियो । यतिबेला मैले आफू आएको जानकारी उसलाई दिनु उचित ठानेँ । ‘ओहो भाइ ! म त तिम्रोमा आएँ नि है !’ भन्दै म उसको कोठाभित्र छिरेँ ।

“तपाईं अघि पोखरीमा मलाई पचास रुपियाँ दिने दाइ होइन ?” केटोले खुसी हुँदै मसँग प्रश्न गर्‍यो । मैले ‘हो’ भनेर टाउको हल्लाएँ । उसले आमालाई घचघचाउँदै करायो- “आमै, हेर त तिमीलाई औषधि किन्न पैसा दिने दाइ यिनै हुन् ।”

आमैले आफ्नो बिरामी अनुहारमा चमक ल्याउँदै मलाई पुलुक्क हेरिन् । मैले दुई हात जोडेर नमस्ते गरेँ ।

यसरी मैले चिनेको केटो कृष्णबहादुर अहिले काठमाडौंको सडक र गल्लीमा पत्रिका बेच्दै हिँड्छ । दिनको सय-डेढसय रुपियाँ कमाउँछ । ऊ हकर बाल क्लबको सदस्य पनि छ । बेलुका-बेलुका विद्यालयमा पनि पढ्न जाने गर्छ । उसको नयाँ कोठामा म अस्ति भर्खर पुगेको थिएँ । अहिले त आमैको रोग पनि निको भएछ । उनी पनि काम गरेर दिनको एकसय रुपियाँ कमाउँदिरैछिन् ।

अहिलेको कृष्णबहादुरको कोठाको अनुहार पनि फेरिएको रहेछ । यसरी यति सानै उमेरमा आफ्नो बाबु र नातागोताबाट टाढा रहेर पनि आफ्नी आमालाई नयाँ जीवन दिई आफू पनि उज्यालो भविष्यतिर हिँडेको कृष्णलाई भेटेपछि म सधैँ आफ्नो छोरोलाई भन्ने गर्छु – “बाबु, आज मैले साँच्चिकै हिरोलाई भेटेर आएँ ।”

मेरो छोरो ‘को बाबा, राजेश हमाल ?’ भनेर मलाई प्रश्न गर्ने गर्छ । म भन्छु – “होइन छोरा, कृष्णबहादुर । ऊ चलचित्रको होइन, वास्तविक जीवनको हिरो हो ।”

(स्रोत : मुना २०६६ मंसिर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *