कविता : पहिलो प्रेमोत्कर्ष र सम्बन्धबिक्षेद्

~सुरेस खनाल~

प्रेमोत्कर्ष-

तिमीले ढोका खोल्यौ,
म थाहा नपाईकन भित्र पसेछु!
संघारमा एकछिन,
अल्मलिएको त अवश्य हो
तर खै, अनायाशै,
पाइला भित्रतिर बढेछन्!
सुन्थेँ कतै,
भित्र निस्पट्ट अन्धकार छ!
कतै सुन्थेँ,
भित्र आँखा खाने ज्योती छ!
एकछिन, केवल एकछिन,
शान्ती छायो, यो उम्लिएको मनमा।
भित्र हरियो थियो!
भित्र वन थियो!
भित्र पानी थियो!
भित्र आकाश थियो!!
त्यो पल रोक्ने दुस्साहस,
नगरेको हैन मैले।
त्यो रस पिउने धृष्टता,
नगरेको हैन मैले!
मातको खात खोज्दा खोज्दै,
एकछिन मै, म त बाहिरिएछु!!
पुन: त्यो ढोका नियाल्दैछु म!
पुन: त्यो संघार काट्न खोज्दैछु म!!

सम्बन्धविच्छेद (?)-

घोप्टिएको कलशलाई अपलक,
केवल हेरिदिन्छु,
छिटा छिटा पोखिएको जलमा
कुनै रसिलो बिगत खोज्दै।
संघारमा अल्झिएका
कयौँ बाटोका धुलोहरु,
तुवाँलो तुवाँलो बनिदिन्छन्
भित्र र बाहिर बिच!
तिमीलाई याद होला,
कयौँ भुतहरुमा हामि थियौँ
औँशिमा चन्द्रमा उदाउँदै,
अहोरात्र भविश्य खेति गरिरहेका!!
आज-
दोभानका दुई दैत्य नदीहरु,
मध्य भदौमा सिँगौरी खेल्दैछन
आफ्नो बर्चस्वको!!
उफ!
एउटा पग्लिएको हिमाल!
अर्को चुहुँदो झरि!!

-यु एस् ए
October 24, 2006

(स्रोत : साझा डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.