छन्दाबद्ध गजल : आवास छैन खाना छैन त्यो

~जीवराज बुढाथोकी~

छन्द: कोशी

भूकम्प आयो विनाश गर्यो, आवास छैन खाना छैन त्यो ।
नांगो छ छाती जतापनि यो, ढाकेर हिड्न नाना छैन त्यो ।

ध्वस्तै भयो सव् थियो जति जे, सम्पत्ति माल पत्तो नै नभै,
आकाश हेर्दै विसंगतिमा, सुत्नै पर्यो नि छाना छैन त्यो ।

आयो किसानी गरेर सबै, टार्ने उपाय त्यही मात्र एक्,
बिघ्नै भयो सव् कहाँ छ र खैे, मल्खाद बीउ माना छैन त्यो ।

मौका विपद्को उठाइ भयो, कालोबजारी खाद्य बस्तुमा,
बाँडे अखाद्य नजायज ती, सद्दे त एक दाना छैन त्यो ।

खायो कसैले त्रिपालहरु, जस्ता अनेक घोटाला भयो,
कानून राज्य छ रे तर खै, आवाज सुन्न थाना छैन त्यो ।

छन्द: कोशी (स्वनिर्मित)
सूत्रः SSI, SSI, SII, SSS, ISI, SSS, I S
गणः त त भ म ज म ल गु
संरचना २० वर्ण १०।१० मा विश्राम

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।१३

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.