बाल कथा : सुनको सुली गर्ने चरा

~उमाशङ्कर द्विवेदी~

पर्वतीय प्रदेशमा एउटा ठूलो रूख थियो । त्यस रूखमाथि सिन्धुक नामक एउटा चरा बस्दथ्यो । त्यस चराको सुली सुनको हुन्थ्यो । एक दिन एउटा ब्याधा शिकार गर्नका लागि त्यसै प्रदेशमा गयो । चराले ब्याधाको सामुन्ने सुली गर्‍यो । तत्काल त्यसको सुली सुनमा परिवर्तन भयो । त्यो घटनाले ब्याधा छक्क पर्‍यो । उसले मनमनै सोच्यो–हरे, चरालाई पासोमा हाल्ने गरेको यतिका दिन बित्यो तर मैले आजसम्म यस्तो घटना देखेको थिइनँ । कुनै पनि चराको सुली सुन भएको मैले देखेको थिइनँ ।

यस चरालाई जसरी पनि समात्नै पर्छ । यति सोचेर उसले त्यो चरा बस्ने रूखमाथि पासो थाप्यो । त्यो चरा मूर्खतापूर्वक पासो थापिएको हाँगामा गएर बस्यो । न भन्दै चरा पासोमा पर्‍यो । ब्याधाले चरालाई सजिलै समातेर पिजडामा हालेर घर फक्र्यो । घरमा आएपछि ब्याधाले सोच्यो–यस आपद्युक्त चरालाई मैले के गर्ने ? यदि कसैले यो चरालाई देखेर यसको बानी थाहा पायो भने गएर राजालाई भनिदिनेछ । राजाले यो कुरा थाहा पाएपछि ममाथि ठूलो सड्ढट आइपर्नेछ । अत: मैले आफैंले लगेर राजालाई यो चरा टक्र्याउनु बेस हुनेछ । यति सोचेर ब्याधा आफैं त्यो चरा लिएर गई राजालाइ टक्र्याइदियो ।

त्यस्तो विचित्र चरा पाएर राजा अत्यन्त खुशी भए । उनले आफ्ना सेवकहरूलाइ सम्बोधित गर्दै भने–रक्षकहरू हो, यस चरालाई यत्नपूर्वक पाल । यसले चाहेको जति दाना र पानी दिने गर । राजाको आदेश सुनेर मन्त्रीले भने–सरकार, अविश्वस्त ब्याधाको कुरा सुनेर यस चरालाई पिजडामा थुनेर के लाभ छ ? के कुनै चराले सुनको सुली गरेको छ र ? यस्तो न कहिले सुनिएको छ, न देखिएको छ । अत: यस चरालाई मुक्त गरिदिनु नै बेस हुनेछ । मन्त्रीको यस प्रकारको कुरा सुनेर राजाले चरालाई मुक्त गर्ने आदेश दिए ।

चरा मुक्त भयो । चरा मुक्त भएपछि राजदरबारको मुख्यद्वारको तोरणमा गएर बस्यो तथा त्यही सुली गर्‍यो । त्यसको सुली तत्काल सुनमा परिणत भयो । चराले राजालाई भन्यो–

पूर्वन्तादहं मूर्खो द्वितिय: पाशबन्धक: ।
ततो राजा च मन्त्री च सर्व वै मुर्खमण्डलम् ।।    

अर्थात् पहिले त म मूर्ख थिएँ, त्यस पछिको मूर्ख यो ब्याधा हो, त्यस पछि सल्लाह दिने मन्त्री मूर्ख हुन् र सबभन्दा मूर्ख कुराको परीक्षण नगरी मलाई मुक्त गर्ने तिमी राजा हौ । यहाँ मूर्खमण्डली मात्र फेला पर्‍यो । यति भनेर चरा त्यहाँबाट उडेर गयो । राजा, मन्त्री तथा ब्याधा जिल्ल परे ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *