लघुकथा : राहत

~रमेश भट्टराई ‘सहृदयी’~

च्याँसेलाई यसपालिको दशैँमा पनि मासुभात मजाले खान पाइएला भन्ने आशा छैन । सात वर्ष अघि नै ऊ सातौँ महिनाको हुँदा आमाको मायालाई दैवले चुँडेपछि उसको बाबु सुर्के माइलाले काममा सँगै लान्थ्यो । एक छेउमा एक्लै खेलेर बस्ने कुरामा च्याँसे अभ्यस्त भइसकेको छ ।

सुर्के माइलो आफू डकर्मी भएर पनि के गर्नु ! एउटा भएको सानो झुप्रो समेत भूकम्पमा लडेर लथालिङ्ग भएको छ । अलिअलि कमिएको पैसा त लत्ताकपडा र भाँडाकुँडा किन्दैमा सकियो । गाईबस्तु बस्ने कटेरोमा आफू बस्न थालेपछि कलौरी गाई र अधियाँ पालेको हरिबहादुर साहुको थोरे पाडो पनि खुल्लै छन्, बारीमा । एउटा राहतमा पाएको पालले बनाएको कटेरोले घामपानीलाई थेग्न छोडिसक्यो । पशु चौपाया अनि परिवारमा दुवैले बाँच्न पाएकोमा च्याँसे सधैँ छेउको जङ्गलमा बसेकी काली देवीथानलाई धन्यवाद दिइरहन्छ ।

“बाउ एसपालिको दशैँ पनि हाम्ले रमाइलोसँग मनाउन नपाउने भयो है ।” च्याँसेले मनको वह पोख्यो । आखिर राहतको पर्खाइमा बस्दा आफैँ निस्क्रीय र आसे बनेको पीडाले अलिकति पोल्यो उसलाई ।

सायद आमा भएकी हुँदी हो त कति गरिबीको पीडा पोख्थ्यो होला, सुर्केले सोच्यो । न आमाको काख न मीठो गाँस साहुको कमाइको अधियाँ कुतबाट बटुलेको अन्न घरैसँग पुरिएपछि छोरालाई केही जवाफ दिन सक्ने अवस्था रहेन । टाउको मुसार्दै भन्यो “हाम्रा नि दिन् आलान् बाबै यी दैव भनाम्दाको आँखा छलिए’छि खालास्, चिन्ता नगर् बा ।”

“बा त्यो सरकारले रा’त दिम्छ रे नि त ?”

अकमक्क नाजावाफ भएपछि च्याँसेले थप्यो “कि हामी गरिब भनेर नद्या हो ?”

आखिर गाउँका महाजनले राहतमा र्याल काढेको भन्न चाहेन उसले ।

“हेर्, तैँले अर्काको आस् नगरेस्, अँझै दुःखी होइम्छ ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *