कविता : मृत्युपछिको मीठो सपना

~निर्मोही व्यास~Nirmohi Vyas

हाँसूँ खितिखिती भन्दा पर्ने भक्कानिँदै रुन
मर्नुपर्ने ‘जिऊँ’ भन्दा कठै ! कस्तो विडम्बना ?
जन्म जीवनको आदि, मृत्यु जीवन–अन्त्य हो
मृत्युउप्रान्त के हुन्छ ? अनुत्तरित प्रश्न यो।

मान्छन् कोही पुनर्जन्म र कोही ‘हुन्न’ भन्दछन्
ठानिन्छ – “कीर्तिवान् मान्छे–हरू ‘अमर’ बन्दछन्”
के होला, के नहोला खै, नेत्र यी चिम्लिएपछि ?
जे भए पनि के भो र ? स्वयं आफू मरेपछि।

होला नै आयुको सीमा कृतिको, कीर्तिको पनि
टुङ्गिएला जहाँ पुग्दा तिनको पनि जीवनी
किन आशा–निराशामा डुबूँ ? पीर गरूँ किन ?
कुनै भुलभुलैयाको व्यर्थै पछि परूँ किन ?

मैले जीवनमा भोगेँ–सँगालेँ अनुभूति जे
प्रत्यक्ष सत्य त्यै यौटै, अरू बाँकी त कुन्नि के ?
मलाई यत्ति थाहा छ –आजको भोलि हुन्न म
र गएपछि फर्केर य‚तै आउन सक्तिन।

लासमा रेसमी कात्रो ओढाए पनि हुन्छ के ?
मुर्दा त‚बीरमा माला चढाए पनि हुन्छ के ?
वर्षैपिच्छे जयन्ती नै मनाए पनि गर्नु के ?
लाभ के मूर्ति थापेरै ? फुटाले पनि हानि के ?

पुर‚कार, तिर‚कार बर्साए पनि जे जति
सरोकारै हुने छैन चलोस् निन्दा कि सं‚तुति ?
आउने छैन त्यो देख्न, उदासिन र गर्वित
शून्यमा नै बिलाएको बिलाएकै हुनेछु म।

मलाई भोक–तिर्खाले चिन्ता–मानापमानले
सक्ने छैन छुनै कैल्यै कुनै विधि–विधानले
हर्ष–बि‚मातले, लोभ, व्यग्रता र विषादले
न त कैल्यै पिरोल्ने छ मलाई अवसादले ।

त्यसैले आज जे गर्छु, गर्छु जीवन निम्ति म
म मृत्युपछिको मीठो सपना साँच्न सक्तिनँ
जति बाँच्नु छ बाँचे म शान–मान–सुनामले
मलाई कहिल्यै कत्ति नछोओस् अभिमानले।

घरको शान्ति चाहन्छु म चाहन्न मसानको
कामना गर्छु मान्छेको विद्वेष–अवसानको
प्यार अर्पिन चाहन्छु, चाहन्छु प्यार पाउन
कसैले नपरोस् कैल्यै अश्रुधारा बगाउन।

परितृप्त र सन्तुष्ट छु आफ्नो जिन्दगीसित
बरू चाहन्छु – होस् मेरो मृत्यु पक्कै सुवासित
सम्मान सबको गर्दै जोगाईकन आबरू
अनुभूतिहरू मीठा सँगाली तृप्तिले मरूँ।

(स्रोत : मधुपर्क २०७० कात्तिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *