कथा : पर्खाइ

~महेन्द्र महक~

‘तिमीले धोका दियौ भने म दुनियाँकी कुनै पनि आइमाईलाई विश्वास गर्न सक्ने छैन ।’

आज पनि मलाई सम्झना छ– उसको भावविह्वल बोली । उसका अतृप्त ओठहरु, जुन ओठहरुले उसले मेरो निधार चुमेको थियो । यो बिछोड मुटु चुडिएझैं भएको थियो मलाई । प्रेमी पतिको बिछोडमा विह्वल भएकी थिएँ । उसलाई अँगालो बाँधेर धेरैबेर रोएकी थिएँ म । उसको रौंले छोपेको छातीमा मुख लुकाएर भक्कानिएकी थिएँ म ।

दिउँसभरि ऊ साथीहरुसँग थियो । उनीहरुसँग बिदा माग्दै थियो । उनीहरुसँग मलेसियामा भएका साथीहरुको फोन नम्बर माग्दै थियो । कति साथीहरुको घरबाट सामान पनि लिएर जाँदै थियो । साथीहरुलाई फेसबुकमा आइरहनका लागि भन्दै थियो ।

त्यति नै बेला घरमा म उसको लगेज प्याक गर्दै थिएँ ।

उसका कपडा– उसलाई मन पर्ने गजलकारका केही पुस्तकहरु– उसलाई मन पर्ने खुर्मा– सबै थोक मिलाएर राखिदिएकी थिएँ मैले उसको लगेजमा ।

उसले मलाई लेखेका केही चिठीहरु अनि विवाहपूर्वका हाम्रा केही फोटोहरु– विवाहका तस्बिरहरु पनि राखिदिएँ लगेजको सेफ पकेटमा ।

ऊ गएको तीन वर्षसम्म मैले उसलाई पर्खिरहें । चौथो वर्षदेखि उसले मलाई पर्खिन थाल्यो ।

ऊ मेरो श्रीमान्– रवि ।

म तीन वर्षसम्म उसकी श्रीमती थिएँ, परदेश गएको आफ्नो श्रीमान्लाई पर्खिदै थिएँ म । चौथो वर्ष उसले श्रीमतीबाट छुटकारा चाहन्थ्यो । म उसको घरबाट र अन्ततः जिन्दगीबाट निस्केर गएको खबर सुन्न ऊ मलेसियामा पर्खेर बसेको थियो ।

यसरी हामी पर्खिदै थियौं तर अन्योन्याश्रित भएर । उसको पर्खाइमा मेरो असफल पर्खाइ थियो । मैले पर्खेसम्म ऊ फर्किन सक्दैनथ्यो र मैले पर्खिन छोडेको दिन उसको पर्खाइ स्वतः पूरा हुन्थ्यो ।

एकदिन मैले उसको पर्खाइ सकाइदिएँ । उसलाई लाग्यो होला– ऊ जित्यो ।

तर मलाई थाहा छ– जीत उसको भएको छैन । जीत मेरो पनि भएन । पर्खाइको त्यो युद्धमा हामी दुबै हारेका छौं ।

***

‘कहाँ छौ तिमी हिजो आज ? बिहेपछि त मलाई चटक्कै बिर्सियौ ! भोलि दुई बजे शहीद गेटनेर भेट्न आऊ न ।’

‘साह्रै माया लागेको छ तिम्रो । जसरी भए नि भेट्न आऊ है !’

मेरो मोबाइलको मेसेज बक्समा रहेका यी दुइटा मेसेज देखाएर मेरो ससुराले मलाई बेसरी हप्काउनुभएको थियो । मलाई चेतावनी दिनुभएको थियो कि मेरो श्रीमान् परदेशमा छन् र यस्ता मेसेजहरु मेरो मोबाइलमा आउनु भनेको खतरनाक शंकाका बिउ हुन् ।

पहिलो पटक मेरो चरित्रमाथि प्रश्न उठाइएको थियो ।

र पनि म उसलाई भेट्न गएँ ।

आइतबारको ठिक दुई बजे शहीद गेटनेरको लीला डेरीमा ।

श्रीमान् परदेशमा भएको बेलामा घरमा रहेकी श्रीमतीले के गर्नुपर्छ र के गर्नुहुँदैन– यसको आचारसंहिता कसैले बनाएको छैन ।

उसले मलाई माया गर्थी ।

र म पनि ऊ भने पनि हुरुक्कै हुन्थें ।

किरण मेरो सानैदेखिको साथी हो । विवाह बन्धनमा बाँधिएकै कारणले मैले एउटा आत्मीय साथीलाई पनि भेट्न नपाउनु ?

ससुरालाई भन्न खोजें, उहाँलाई रुँदै बताउन खोजें कि किरण कुनै केटामान्छे नभएर मेरो साथी हो, मेरो साह्रै मिल्ने केटी साथी जो त्यो बेला धनगढीमा टेलरिङ सप चलाएर बसेकी थिई ।

हामी दुबैले सँगसँगै सिलाइ कटाइको बेसिक कोर्स गरेका थियौं । उसले यो सीपले अझ बढी परिमार्जित गर्दै गई र म विवाह बन्धनमा बाँधिएँ ।

दुई वर्षपछि उसलाई भेट्न जाँदा ममाथि शंकाहरु उब्जिए । र, ससुराका मनमा उब्जिएको त्यो शंकाको मैले कहिल्यै निवारन गर्न सकिनँ ।

किरण धनगढीबाट मेरो शहरमै आएकी थिई । एउटा योजनासहित, एउटा अपेक्षासहित ।

ऊ टेलरिङ सप मेरै शहरमा खोल्न चाहन्थी । यसका लागि उसलाई मेरो साथ चाहिएको थियो । मलाई उसको सहयोगी भइदिनु थियो ।

‘हेर प्रिया ! तैंले काम पनि सिक्छेस्, पैसा पनि कमाउँछेस् ।’

उसको यस्तो कुराको ममाथि कुनै प्रभाव पर्ने थिएन । तर प¥यो– उसको मायाको, उसको विश्वासको ।

म साना–साना कुरामा परिवारप्रति आश्रित हुन चाहन्नथें ।

म आफ्नो खुट्टामा उभिन चाहन्थें । रविलाई देखाउन चाहन्थें– हेर तिम्रो अनुपस्थितिमा मैले एउटा इलम सिकें । यो इलमले हामी सुखसाथ आफ्नै माटोमा जिउन सक्छौं ।

यो मेरो आफ्नै एकान्तबास र एकालापबाट मुक्ति पनि थियो ।

एउटा एस्केप ।

तर कसलाई पो थाहा थियो यो एस्केपले हाम्रो सम्बन्धलाई सदाका लागि चुडाल्नेछ भनेर ।

मलाई थाहा थिएन कि समाजले वास्तवमा नै महिलालाई आर्थिक रुपमा सबल हुन दिन चाहन्न । उसको पितृसत्ता र महिलामाथिको अधिकार यसैको आधारमा टिकेको कुरा मलाई धेरैपछि मात्र ज्ञान भयो ।

किरणसँग काम गर्नका लागि मैले रविलाई सोधिनँ ।

यो एउटा भूल थियो मेरो ।

मैले बताउनुभन्दा पहिला नै रविले यो कुरा आफ्नो बाउबाट थाहा पाइसकेको थियो । तर अधूरो र खतरनाक कुरा थाहा पाएको थियो उसले । मैले रविलाई सबै कुरा बताउनुप¥यो, किरण को हो भनी याद दिलाउनुप¥यो ।

यसपछिका दिनमा म बजारमा हुन्थें । ‘दिदीबहिनी टेलरिङ सप’ मा । त्यहाँ म इलम सिक्दै थिएँ, आफ्ना खुट्टामा उभिदै थिएँ म ।

घरमा सासुससुरा र परिवारका अरु सदस्यहरुले मेरो विषयमा के कस्ता चर्चा परिचर्चा गर्छन् ? मैले त्यस्ता कुरामा कहिलै चासो राखिनँ ।

बुहारीले कमाउनु हुँदैन अथवा उद्योग गर्नुहुँदैन ? मैले समाज पढ्न सकिनँ ।

रविको ठूलाबाउको छोराको बिहेपछि एक दिन दाइजोको प्रसङ्ग उठ्यो । साँच्चै सर्मिला ठूलो दाइजोसहित आएकी थिई ।

र म– रविले त्यस घरमा मलाई मात्र भित्र्याएको थियो ।

मैले र मेरो दाजु दुबैले आमाबाबाको माया पाएनौं । म मामाघरमा हुर्किएँ । मामाले नै थोरबहुत पढाउनुभयो ।

दाइले कान्छो बुबाको घरमा बसेर साह्रै दुःख कष्टका साथ पढ्नुभयो ।

मेरोे परिवारमा दाइ मात्र हुनुहुन्थ्यो । दाइ छ वर्षको छँदा बुबा बित्नुभयो र आमा मलाई दुई वर्षकी छँदा छोडेर कहाँ जानुभयो, कसैलाई थाहा छैन ।

मेरो यो इतिहासले रविको परिवारलाई धेरै पटक दुखाएको थियो । उनीहरुको अहम्मा चोट लाग्ने विषय थियो यो ।

सायद म अनचाही बुहारी थिएँ । रविका बाबु आमाको सपनामा म जस्ती बुहारीको आकाङ्क्षा थिएन ।

घरमा नपुग्दो थिएन । एउटा छोराका लागि जीवनयापन गर्न चाहिने सम्पत्ति ससुराले जोडेकै थिए । तर रविसँग न त कुनै सीप थियो, न त कुनै डिग्री । न त उसमा जाँगर थियो ।

उसले बिहेअघि बाबुको सम्पत्ति खर्च गथ्र्यो । विवाहपछि पनि बाबुकै सम्पत्तिमा रजाइँ गरिरह्यो । तर सधैं यस्तो सम्भव थिएन । उसले कहिल्यै कमाएन केवल खर्च ग¥यो । उसका साथीहरु कोही मलेसिया, कोही कतार त कोही साउदी जान थालेपछि उसलाई पनि मलेसिया जाने जाँगर लाग्यो । तर यतिबेला पनि ऊ सिरियस थिएन, उसमा कुनै व्यावहारिकता थिएन ।

यसरी ऊ मलेसिया छिरेको थियो ।

उसको आवारापन र नालायकीपनले मलाई चोट दिएको थियो । त्यसैले मेरो मनको कुनै कुनामा आफै केही गर्ने उत्कण्ठ अभिलाषा थियो ।

किरण अविवाहित थिई तर ऊ कसैको प्रेममा थिई । उसको दिदीको भाञ्जा नाता पर्ने केटा जो साइन्स पढ्दै थियो, बेला बेला उसलाई भेट्न आइरहन्थ्यो । किरण आफ्नो कमाइको केही हिस्सा उसलाई दिन्थी । उनीहरुबीच प्रेम थियो– विश्वास थियो ।

(कुनै समयमा म र रविबीच पनि त्यत्तिकै गहिरो प्रेम थियो त्यत्तिकै अथाह विश्वास थियो ।)

किरणको प्रेमी उसलाई भेट्न आउनु म र रविबीच आशंकाको नदीमा बाढी ल्याउनु थियो । शंकाहरु बढ्दै गए । यद्यपि ती निराधार थिए ।

प्रश्न उठ्यो– ऊ किन बारम्बार पसलमा आउँछ ?

खबर हावामा उड्छन् अचेल । यस्ता थुप्रै खबर उडेर मेरो घरमा पनि पुगेछन् ।

दाइले फोन गरेर मलाई सम्झाउन खोज्नुभयो ।

दिनदिनै फोन गर्ने रविको फोन पातलिदै गयो । भावुक भएर प्रेमका कुरा गर्ने, आवेगका कुरा गर्ने रविले बिस्तारै हालखबर मात्र सोध्न थाल्यो । पछि–पछि त्यही पनि पातलिदै गयो ।

***

किरण व्यापारको सिलसिलामा बाहिर–बाहिर रहन थाली । टेलरिङ सप अब ठूलो क्लोथ स्टोर बन्दै गयो । ग्राहकले कपडा रोजेर हामीलाई नै सिलाउन पनि दिन्थे । मेरो सीप बढ्यो । आँट पलायो । कामदार बढे । लगानी बढ्यो । अब किरणले मसँग बढी समयको माग गरी ।

त्यसपछि हो म घरमा अबेर आउन थालेको ।

एउटी जवान बुहारी जसको श्रीमान् परदेशमा छ– ऊ घरमा अबेर आउन थाली ।

मप्रति गुनासाहरु धेरै थिए ।

–बुहारीले खाना पकाउँदिन ।

–बुहारीले कपडा धुँदिन ।

–बुहारीले सासुआमाका गोडा मिच्दिन ।

–बुहारीले के कति पैसा कमाउँछे ? कहाँ राख्छे ? कसरी र कुन प्रयोजनका लागि खर्च गर्छे ? यस विषयमा छलफल गर्दिन ।
(म घरमा समय कम्ति दिन्थें । अनि परम्परागत बुहारीको जिम्मेवारी सम्हाल्न सकिनँ । पैसाको मामिलामा घरमा पैसाका कहिल्यै अप्ठ्यारो परेन ।)
घरमा एउटा आगो दन्कियो ।

मैले सबथोक छोडें । म घरमा नै बस्न थालें । राम्री बुहारी बन्ने प्रयासका साथ । र पनि सम्बन्ध सुध्रिएन ।

मेरो बाआमा नहुनुको पीडा उनीहरुलाई दुखाउँथ्यो । मैले दाइजो नल्याएकोमा उनीहरुलाई घाटा भएको थियो ।

***

मैले किरणसँगको सम्बन्धलाई मित्रतामा मात्र सीमित राख्नुप¥यो । आपूmसँग भएको सीप र क्षमताको बलमा कमाउन नपाउने भएँ म । मलाई आश्रिता नै बन्नुपर्ने भयो ।

मैले अनुभूति गरें– मेरो जीवनमा केही अनपेक्षित दुर्घटना हुँदैछ । रवि पहिलाको जस्तो थिएन अब । मलेसियाबाट फोन गर्दैनथ्यो र फोन गरे पनि उसको बोली रुखो हुन्थ्यो । क्रूर र बिझाउने शब्द बोल्यो ऊ । धेरै छोटो कुरा गथ्र्यो ऊ । घरपरिवारको कठोर व्यवहार र आत्मा मर्माहत बनाउने ती भनाइलाई त मैले कसैगरी पचाएकी थिएँ । तर मलाई अनुभूति हुँदै गयो– केही हुँदैछ जसको चाहना विवाहको समयमा कुनै पनि दम्पत्तिले गरेका हुँदैनन् । जीवनमा यस्तो दुर्घटना कहिलै नहोस् भनी कामना गरेका हुन्छन्, भाकल गरेका हुन्छन्, वाचा कसम खाएका हुन्छन् ।

र पनि त्यही दुर्घटना भइदिन्छ जिन्दगीमा क्रूरताका साथ ।

म पीर र चिन्तामा दुब्लाउँदै गएकी थिएँ । एकदिन अचानक म बेहोस भएर बरण्डाबाट तल सिमेन्टीमा पछारिएँ ।

म बेहोस भएछु । होसमा आउँदा म हस्पिटलमा थिएँ । एक हप्ता हस्पिटलमा बस्नुप¥यो ।

यो बीचमा रविलाई फोन गर्ने प्रयास गरें, कहिल्यै फोन लागेन ।

आउट अफ रीच र स्विच अफ मात्र भनिरहन्थ्यो ।

सायद फोन हराएको हुनुपर्छ । या फेरि ड्युटी आवरमा भएर पनि फोन नउठाएको होला– यस्तै सोचेर मन बुझाउँथे ।

दुर्घटना भएको १५ दिनपछि फोन ग¥यो रवि आपैmले । नयाँ फोन नम्बर थियो । साँझको समय थियो । त्यस दिन दिउँसो म हस्पिटल गएकी थिएँ । टाउकोको घाउबाट ब्लिडिङ भएपछि मलाई अस्पताल दौडिनुपरेको थियो । किरण मसँग थिई त्यस दिन दिउँसो । सासु ससुराले चासो देखाएका थिएनन् । तर ज्यान त जसलाई पनि प्यारो हुन्छ ।

‘आज तिमी हस्पिटल गएकी थियौ रे, हो ?’ उसले मेरो हालखबर सोधेन । प्रिया भनी पनि बोलाएन । उसको बोली रुखो थियो, यो बोलीसँग बिस्तारै म अभ्यस्त भइसकेकी थिएँ ।

‘कसले भन्यो ? तपाइँको फोन त लाग्दैन ।’ मलाई सुन्न मन थियो उसले फोन हराएको वा नयाँ सिमकार्ड लिएको कुरा । उसले नयाँ सिमबाट मलाई नै पहिलो फोन गरेको चाहन्थें म ।

‘तैंले गति छाडिसकिस् भन्दैमा अरुले पनि गति छाडिसके भन्ठान्छेस् कि तँ ?’

‘के गति छाडें मैले ?’

‘के गर्न गएकी थिइस्, हस्पिटल ?’

‘ब्लिडिङ भइरहेको थियो, त्यसैले जानुप¥यो ।’

‘दुनियाँको भुँडी बोक्ने– क्यूरेट गर्ने अनि ब्लिडिङ नभए अरु के हुन्छ ? साली रण्डी !’ म उसबाट कमजोरीका कारणले बेहोस भइ सिमेन्टीमा पछारिएपछि टाउको फुटेको सहानुभूतिको अपेक्षा गर्दै थिएँ र ऊ मलाई रण्डीको विभूषणले विभूषित गर्दै थियो । जिन्दगीको कत्रो विडम्बना भोग्दै थिएँ म त्यो बेला ।

सायद ऊ मात्तिएको थियो । ऊ नसामा थियो । र मैले सजिलै थाहा पाएँ उसले खाएको नसा घरबाट नै कसैले पठाइदिएको थियो ।

उसले सिमकार्ड बदलेको थियो । सिमकार्ड बदले जस्तै उसले यो पुरानो स्वास्नीलाई पनि बदल्न चाहन्थ्यो ।

अर्को दिन त्यही नम्बरमा फोन गर्दा ऊ घुर्राएको थियो, ‘ के चाहन्छेस् तँ रण्डीले ? जबसम्म तँ मेरो जीवनबाट जाँदिनस्, म फर्केर आउँदिन । एउटी रण्डीलाई म आफ्नी स्वास्नी भन्न सक्दिन ।’ उसले यति भनेर फोन डिस्कनेक्ट गरेको थियो ।

फेरि फोन गर्ने आँट आएन ।

उसलाई पिलाइएको विषले मेरो जीवनलाई ध्वस्त बनाउँदै थियो । शंका नामको यस विषको विरुद्ध मसँग कुनै अमृत थिएन ।

उसले सोधेन– कहाँबाट ब्लिडिङ भयो ? किन भयो ?

उसभित्र केवल शंका थियो– शंका मात्र ।

ब्लिडिङ भएर हस्पिटल गएको मेरो स्वीकारोक्ति उसका लागि प्रमाण थियो ।

म उसका लागि रण्डी भइदिएँ ।

संसारभरिकी रण्डीहरुसँग जतिसुकै रोमान्स गरे पनि एउटा पुरुषले आफ्नी स्वास्नी सतिसावित्री नै चाहन्छ ।

उसको मनमा अब मेरो लागि केवल घृणा थियो । म सत्मा भएर पनि चरित्रहीन भएकी थिएँ ।

खै, अचेल उसले अरु आइमाईलाई विश्वास गर्छ कि गर्दैन तर उसले मलाई अविश्वास गरेदेखि मैले आपूmलाई मात्र विश्वास गर्न सिकेकी छु ।

मैले उसलाई प्रेम गरेकी थिएँ । उसले मलाई घृणा दियो । मैले उसलाई विश्वास गरें । उसले मलाई घात गरेको ठान्यो । मैले प्रेमिल बन्धनको कामना गरेकी थिएँ, उसले मबाट छुटकारा चाह्यो ।

अब उसको जिन्दगीमा मेरो लागि कुनै ठाउँ थिएन । त्यसैले मैले उसलाई पर्खिन छोडिदिएँ ।

कानूनी रुपमा हामी विवाह बन्धनमा कहिल्यै बाँधिएनौं । त्यसैले सम्बन्धबिच्छेदको कानूनी प्रक्रिया पनि पूरा गर्नु परेन ।

आखिर सम्बन्ध गाँस्नका लागि कानून चाहिदैन, मन चाहिन्छ । र, मन नै तोडियो भने जस्तोसुकै कानूनले पनि सम्बन्ध जोड्न सक्दैन ।

यसरी उसको र मेरो पर्खाइ सकिएको थियो ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *