लोक कथा : कसरी छुटे पिल्मोस् र नाम्लुवास

~सङ्कलक : केडी रेम्नीसीङ~

धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने चालचलन भने कायम नै थियो । यो किराती वंशको समुदायभित्र पनि वंशजीय रुपले फरक फरक वंशका समूह थियो । ती समूहहरुमध्ये खप्दुलुका सन्तानहरु हालको बुङको पिल्मो गाउँमा फैलिएर रहन थाले ।

खप्दुलुका श्रीमती साम्पाङ गाउँकी साम्पाङ थरकी थिइन् । साम्पाङ थरकी श्रीमतीबाट तीन छोराहरुको जन्म भयो । जेठा छोराको नाम ताप्तीमुर, माइलो नारिजन र कान्छा छाम्पानाम् रहेको थियो । ती तीन सन्तान सानै हुँदा बुवा खप्दुलुको देहान्त भएकोले उनकी श्रीमती तीन छोरा साथमा लिई माइतमै बस्न रहन थालिन् । केही समयपछि उमेर छदैँ उनीहरुका आमाले पनि संसार छेडिन् । तीनजना टुहुराहरु हजूरआमाको हेरविचारमा रहन थाले ।

साम्पाङ गाउँमा हुर्कीरहेका तीन दाजुभाईहरु ठूला भएपछि मामाहरुसँगै सिकारमा हिँड्न थाले । कान्छा छाम्पानाम भने सानै भएकोले घरमै बस्ने गर्दथ्यो जेठा र माइला मात्र शिकारमा जान्थे । शिकारमा जाँदा भाञ्जाहरुले हानेको तीरले शिकार मर्ने र मामाहरुले हानेको तीर नलाग्ने हुन थालेपछि मामाहरु चकित भए । भाञ्जाहरुको कारणले गर्दा मामाको तीर नलाग्ने भएपछि मामाहरुमा ईश्र्याको भाव जाग्नु स्वाभाविक नै थियो ।

मामाहरुको मनमा भाञ्जाहरुलाई सिध्याउने सोँच आयो । भाञ्जाहरुलाई डुङ्गामा चढाई अरुण खोला तार्ने र बीच नदीमा पुगेपछि डुङ्गा पल्टाई दिने र भाञ्जाहरुको लीला अन्त गरिदिने गोप्य योजना तयार भयो । सतीघाट भन्ने स्थानमा लगेर तीन जना भाञ्जालाई मार्ने त्यो गोप्य योजना संयोगवश उनीहरुको हजूर आमाले संकेत पाइन् । हजुर आमाले कान्छा छाम्पानाम लाई चिण्डो तल्लो भागबाट प्वाल पारी धारा पठाइन् । पानीले चिण्डो भरेपछि मात्र घर फर्किन आदेश दिएर पठाको हुनाले दिनभरी भर्दा पनि चिण्डो पानीले भर्दै भरिएन । प्वाल पारिएको चिण्डो भरिदैँन भन्ने ज्ञान पनि नभएकोले ऊ वेलुकी मात्र खाली चिण्डो लिएर घर फर्किए ।

यसरी छाम्पानाम् मामाहरुको षड्यन्त्रबाट बच्न सफल भए तर दाईहरु ताप्तीमुर र नारीजनले सतीघाट निरै ज्यान गुमाए । बचेका छाम्पानामलाई उनका हजूर आमाले लुकाई छिपाई हुर्काइन् । छाम्पानाम हुर्कि बढेपछि उनका हजूर आमाले उनलाई उसको आफ्नो पैतृक थाकथलो र पैतृक घर सम्पत्ति खोज्न पुर्खाको थाकथलो पठाइन् । छाम्पानाम हालको महाकुलुङको गुदेल आइपुगेपछि त्यहीँ एक ओढारमा आफ्नो पुख्यौली थलो खोज्दै धेरै समय बसे । सो ओढारलाई हाल छाम्पानाम ओढार नामले चिनिन्छ ।

छाम्पानाम ओढारबाट निस्केर हिँडेपछि खप्री भन्ने ठाउँमा गई बस्न थाले त्यतै रहँदा बस्दा त्यतै भेटिएकी खप्दुछेइम नामकी एक नारीसँग उनको प्रेम हुन गयो । यो थाहा पाएपछि खप्दुछेइमका माइतिहरुले उनीहरुलाई त्यहाँबाट धपाइदिए । दुईजना हालको पिल्मो भन्ने गाउँमा गएर बसोवास गर्न थाले ।

छाम्पानाम र खप्दुछेइमको कोखबाट पाँच भाई छोराको जायजन्म भयो । सो मध्ये जेठा छोराको नाम होनित्ती, माइला लोवात्ती, साईँला सुर्वा, काईँला मोरोमुल र कान्छा गोक्तुलुस भए । यतिकैमा खप्दुछेइमको देहान्त भयो । खप्दुछेइमको मृत्युपछि छाम्पानामले राखा भन्ने गाउँबाट अर्को विहे गरेर ल्याए । सो दोस्री श्रीमतीबाट अर्को छोराको पनि जन्म भयो, जसको नाम थोप रहन गयो । बढ्दै जाँदा जेठी पट्टीका सन्तानहरु मृत्यु संस्कार जान्ने र कान्छी पट्टीका छोरा तोस् पुँज्ने नोक्छो (भुमे पुँज्ने धामी) भए ।

केही वर्षको पिल्मो बसाईँपछि थोपका सन्तानहरु सात्दी र देनाम गाउँतिर गएर बसोवास गर्न थाले । सात्दि र देनाम अहिले बुङ गाविसमा पर्दछ । सात्दी गाउँमा मरण भएमा पिल्मोबाट मृत्यु संस्कार गर्ने मान्छे लिएर आउनुपथ्र्यो र पिल्मोमा तोष गर्नुपरेमा सात्दीबाट नोक्छो बोलाउनुपथ्र्यो । यसरी नै चालचलन चलि आएको थियो ।

आवधिक खेतीप्रणालीमा आधारित समाज भएकोले सात्दी गाउँबाट थोपका सन्तानहरु नयाँ जग्गा र शिकार पाउने आशामा कसैको वस्ती नबसी सकेको पारी गाउँ गएर बस्न चाहन्थे । सोही अनुसार उनीहरु हुँगा खोलाभन्दा पारी पट्टी रहेको गाउँमा बसाईँ सरे । सो स्थानलाई हाल नाम्लु भनेर चिनिन्छ, नाम्लु गाउँ गुदेल गाविसमा पर्दछ । हुँगा खोला ठूलो भएतापनि जंगल र झाडी भएका कारण वारी र पारीपट्टीका झाडी हुँदै तर्न सकिने किसिमको थियो । थोपका सन्तानहरु सात्दीबाट नाम्लु जाँदा हुँगा खोलामाथि झाँगिएको ठोट्नेको झाङमाथिबाट तरेर गएका थिए । यसरी वारी पिल्मो र पारी नाम्लु टाडा हुँदा पनि मृत्यु संस्कार र तोषमा एकअर्कामा सहयोग आदान प्रदान भई नै रहेको थियो ।

समय परिवर्तन हुँदै गयो, जनसंख्या वृद्धि हुँदै गयो, खेती प्रणाली विकसित हुँदै गयो । खोलामा भएका जंगल र झाडी हराउँदै गए । एकपल्टको वर्षाको बाढीमा हुँगा खोलाको किनारा यति बढेर गयो कि वारीका मान्छे वारी पारीका मान्छे पारी रहन बाध्य भए । त्यतिखेर साँगो थाप्ने बुद्धि कसैसँग पनि थिएन । यसकारण पारीको मृत्यु संस्कार बुझाउने लाछोछा पिल्मोमा नै रहे भने तोष गर्ने नोक्छो नाम्लुमा नै रहे ।

यसरी एकअर्कामा नोक्छो र लाछोछाको साटासाट गर्न असम्भव भयो । एकदिन खोलाको दुई किनारमा दुवै पट्टिका दाजुभाईहरु जम्मा भए र एक सहमती गरे । सो सहमती अनुसार नाम्लु बस्नेले तोष गर्ने र पिल्मो बस्नेले मृत्यु संस्कार गर्नुपर्ने भयो । यसरी पिल्मोहरुले तोष गर्न छोडे भने नाम्लु बस्नेले मृत्यु संस्कार गर्न छाडे । नाम्लुमा बसेका थोपका सन्तानहरुमध्ये केही सन्तान चोचोलु गाउँसम्म फैलिन पुगे । चोचोलु हाल गुदेल गाविसमा पर्दछ ।

– सोलुखुम्बु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लोक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *