कथा : शानदार प्रयास

~कुमार काफ्ले~kumar-kafle

त्यो बेला अहिलेको जस्तो समय थिएन।पाँच कक्षा पास भएपछि हाइस्कूल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो।हात्तीछाप चप्पल लगाएर स्कूल जाँदा लोती छिनेर हैरान पार्थ्यो।दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ।अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त सेकेन्ड डिभिजनमा एसएलसी पास भएको फूर्ति लाउन पाएँ मैले पनि।गाउँमा क्याम्पस खुलेका थिएनन् त्यसैले सातुसामल पोको पारेर एकदिन पैदल एकदिन गाडीमा चढेर काठमाडौं खाल्डो छिरेँ म।गाउँमा भन्दा सबथोक नौलो र फरक देखेँ मैले ।देखेँ बसगाडीका ताँती,अपरिचित मान्छेहरूको भीडभाड र व्यस्तता।

शहरमा दिनहरू बित्दै गए।घरबाट ल्याएको खर्चपात सकिनै लागेको थियोे।एसएलसी पासको सर्टिफिकेटले खानलाउन नदिएपछि फुलेको नाक सुक्दै जान थाल्यो र यसको प्रयोग काँ गर्न मिल्छ भनेर गम्न थालेँ म।किशोरावस्थाको सोचाइले काम गर्ला जस्तो भयो।सर्टिफिकेट बोकेर म ठूलाठूला अफिस,पसल र घरहरूमा गएर काम सोध्न,खोज्न थालेँ तर धेरै दिन धाउँदा पनि कसैले टेरपुच्छार लाउँदैनन् बा!म छक्क परेँ।थकित भएर कोठामा पल्टिरहेको मलाई मेरै मनले आदेश दियो “हेर जंगे,यसरी यस्तो उमेरमा यसरी हार मानेर हुन्छ?तेरो उमेरमा जंगबहादुरले कस्ताकस्ता साहसिक काम गर्थ्यो!तँ भने यसरी हरेस खाँदैछस्,जुरुक्क उठ् र लाग् आफ्नो कामतिर।
कामतिर लाग् त भन्यो तर कामै के थियो र!काम खोज्ने काम थियो मेरो।जे होस् काम खोज्ने व्यक्तिहरूको खोजी भयो भनेचाँहि म अरुभन्दा अगाडि नै आउँथे जस्तो लाग्यो मलाई।

अब मैले काम खोज्न ठूला महल र अफिसहरू धाउँन छोडें।धाउँदाधाउँदा एसएलसी दिनेबेलामा किनेको गोल्डस्टार जुत्ता फाटिसकेका थिए र त्यसको स्थान फेरि हात्तीछाप चप्पलले ग्रहण गरिसकेको थियो।कोसँग कसरी बोल्ने,कस्तो ठाउँमा कसरी जानेजस्ता सामान्य शिष्टाचार र ईमानदारिताजस्ता गुणहरू मैले आमाबा र गुरुहरूसँग धेरथोर सिकिसकेको थिएँ।ठूला महल र अफिसमा छिर्न राम्रा लुगा र जुत्ता आवश्यक पर्दथ्यो भने ईमानदार बन्न भोको पेट बाधक बन्दै थियोे।गाउँमा शोषकहरूको जगजगी,शहरमा गरीबलाई कुकुरभन्दा तल्लो दर्जाको ठान्ने मानसिकता!सबैतिर अन्याय,अत्याचार,शोषण,उत्पीडन र वर्गविभेद व्याप्त थियोे भलै त्यसको रुप किन फरक नहोस्।देशमा चलिरहेको वर्गसंघर्ष र जनयुद्धमा होमिन मन लाग्यो तर खै कसरी त्यो महान संघर्षमा जानबाट रोकिएँ म!मलाई नै राम्रोसँग याद छैन।

मैले इमानदारिताको सुक्ष्म सीमारेखा कोरेँ।कतिसम्म बेइमान बन्ने?कति झुट बोल्ने?आदि विषयमा धेरैबेर घोत्लिएँ र निस्कें फेरि शहरका गल्ली र चोकहरूमा।साना पसल र सानै घरहरूमा छिरें,होटल र रेष्टुरेन्टहरूमा पसें।एउटा होटलको अगाडि गएर निकैबेर उभिएँ,कसैले बोलाएन,भित्रै गएँ।गजधुम्म परेकी मोटी महिलाले मेरो सोधीखोजी गरिन्।मैले जिन्दगीमा पहिलोपटक झुट बोलें मिलाएर।त्यो दिन मेरा दिन खुले!सेकेन्ड डिभिजनवाला सर्टिफिकेटले मान्यता पायो।

काम छोडेर बीचमै नभागोस् भनेर होटलवालाले सर्टिफिकेट बन्धकी राखे, म काममा दलिएँ।रित्तो खल्ती र काम नपाएको झोकमा जस्तो पाएनि काम गर्छु भन्ने मानसिकता तयार गरेकाले दिनमा पन्ध्र घण्टा काममा जोतिँदा पनि म काममा रमाएकै थिएँ।खान टन्न पाईन्थ्यो,कैयौं दिनदेखि धित मरुञ्जेल नखाएकाले मलाई काम गार्‍हो भएपनि ठीकै लाग्यो।घरमा पनि म काममा लागेँ भनेर दुई रुपैयाँको टिकट टाँसेर चिठी पठाएँ,मन ढुक्क भयो।

केही वर्ष बिते मेरा होटल,रेष्टुरेन्टमा र राम्रो कामको खोजी गर्दागर्दै।काम गर्दागर्दै मैले प्राइभेटतर्फबाट प्रवीणता प्रमाणपत्र र स्नातक गरें।सरकारी,अर्धसरकारी संघसंस्था,संस्थान्,लोकसेवा,एनजीओ आइएनजिओ सबैतिर प्रयास गरें,भिडेँ तर भाग्य खुलेन।विदेश जाने विचार गरेँ,पासपोर्ट बनाएर म्यानपावरतिर धाँए।कमाउ मुलुकमा जान पाइएन,खाडीमुलुक र मलेसिया जान मन लागेन,डिभि भरेको परेन।किताब खुब पढेँ,बरु त्यतै मन रमायो।आफू पनि कथा कविता कोर्न थालें।मनमा अनेक खालका सोचहरू आउथें,बहस, झगडा गर्थे मिलापत्र गर्थे र जान्थे।

जीवनले अर्कै मोड लियो।उमेरले चौबीस काट्यो,बिहे भयो,गाउँकै स्कुलमा जागिर खान थालियो।दिनहरू फेरिन थाले,गाउँको जग्गा बेचेर शहरमा घडेरी किनें।केही वर्षपछि जागिरको पैसा,सञ्चयकोष र ऋणपान गरेर घर बनाएँ।

शनिबारको दिन,अफिस विदा,बिहान ढिलो‌सम्म सुतिएछ।जहिल्यै बिहान सबेरै उठ्ने म त्यो दिन अबेरसम्म सुतेको देखेर श्रीमतीले जिस्काउँदै व्यङ्ग्य हानिन् “अब हजुरलाई नि बुढेसकालले छोएछ।” आँखा खोल्दा चिया टेबलमा राखेर उनी ओझेल परिसकेकी थिईन्।

उठें,मुख नधोइ चिया पिएँ।भित्तामा झुन्ड्याईएको ऐनातिर मुन्टो सोझ्याएँ,झुस्स दारी पलाएछन्।श्रीमतीले ठीकै भनिछिन्,अब म साँच्चै बूढो भएछु,सम्झेँ।बूढो हुनुको प्रमाण कतैकतै देखिएका फूलेका दारीले पनि दिईरहेका थिए।यी सबुत प्रमाणहरू सुरक्षित राखिरहन मन लागेन,सेभिङ क्रिम सदाभन्दा बाक्लै लगाएँ र मजाले सेभिङ गरें,अनुहार धोएँ,पुछपाछ गरें र फेरि जवान देखिने प्रयास गरें।श्रीमतीले तपाईं त कस्तो जवान पो हुनुभएछ भन्छिन् कि भन्ने आशाले छेवैमा गएँ तर त्यता कुरै लगिनन्।निराश भएर फर्कें।बाथरुम गएँ,नुहाइधुवाइ गरें,पर्फ्युम छर्केर कोठामा आएर पल्टें।

अतीतको वहीखाता पल्टाएँ।गाउँले जंगे म,कामको लागि कताकता चहारिनँ!केके गरिनँ!शहरका गल्ली र चोकहरूमा नापेका पाइलाहरू सम्झें।खाली पेट र रित्तो खल्ती सम्झेर कहिलेकाहीँ अचेल पनि झसङ्ग हुन्छु।
अहिले शहरको घरमा आनन्दसँग बसिरहेको थिएँ तर सोचाइको सागरमा डुब्दै गइरहेको थिएँ।मेरो अतीत सजीव भएर म सामु उपस्थित भएको थियोे।भान्साबाट आवाज आयो “ए बूढा,भान्सा तयार भयो छिटो हात धोएर आउनू।” पहिलापहिला श्रीमतीले ए बूढा भन्दा माया गरेर बोलाएको जस्तो लाग्थ्यो तर आज साँच्चिकै बूढो भएछु क्यारे!सोचेर खिन्न भएँ।

खाना खाएर एकछिन सुस्ताएपछि श्रीमतीले फिल्म हेर्न जाने प्रस्ताव राखिन्,मन नलागीनलागी सहमति जनाएँ।हिँड्ने बेलामा यसो उनीतिर नजर लगाएँ,सोह्रश्रृङ्गार गरेर स्निग्ध र धपक्कै बलेकी!हात समातेर चुम्न मन लाग्यो तर संभावित अनपेक्षित व्यङ्ग्यवाणको डरले मन थामें।

छोराछोरीलाई होस्टेलमा राखिदिएका थियौं।साँझको खानापछि सुत्ने तरखरमा लागियो।थाकेर होला श्रीमती त भुसुक्कै निदाईहालिन् तर मलाई भने निन्द्रा परेको थिएन।मनमा अनेक कुरा खेल्न थाले।कहिले दिउँसो हेरेका फिल्मका दृश्यहरू आँखाअगाडि आएर नाच्न थाल्थे।नायक नायिका बीचको मायाप्रीति,प्रेमलीला सम्झदैं सँगै मस्त निदाईरहेकी श्रीमतीलाई हेरें।गर्मीले होला ओढ्ने ओढेकी थिईनन्,नाइट ड्रेस घुँडाभन्दा माथि सरेको थियोे।निकैबेर नियालें,नितम्ब उठेर कम्मर छिनेको थियोे,निन्द्रामै मुस्कान छोडिरहेकी थिईन्।समग्रमा चलचित्रको नायिका भन्दा कम लागेन मलाई मेरी श्रीमती।ममा सुस्तरी पुरुषत्व जाग्न थाल्यो तर बिहानै अब हजुर बूढो हुनुभएछ भनेको सम्झें र सेलाएँ।

के म साँच्चै बूढो भएको हुँ त?म महान दार्शनिक झैं घोत्लिएँ।चिउँडामा हात लगाएर बसें।बूढो हुँदाका आधार प्रमाणहरू तयार गर्न थालें।मैले गरेका काम र कामका लागि गरेका प्रयासहरू एकएक गरि सम्झें।

आत्महत्या!हो आत्महत्या, मैले गाँठी कुरो फेला पारेझैं उत्साह र अदबका साथ दोहोर्‍याएर सम्झेँ।जिन्दगीमा धेरै काममा प्रयास गरियो तर यो आत्महत्या गर्ने प्रयास चाँहि अहिलेसम्म गरेको रहेनछु!कहालीलाग्दा दुःख र चुनौतीका दिनहरू आए,गए।उस्तै कायर र नामर्द भए उहिल्यै आत्महत्या गरिसक्थे भन्ने मेरो सर्वसम्मत ठम्याइ रह्यो।हुन त आत्महत्या कायरहरूको साहसिक कदम हो पनि भन्छन् मान्छेहरू तर मेरो ठम्याइमा कमजोर मुटु र सानोतिनो हिम्मतले यो काम सफल हुन्छ जस्तो लागेन र मैले आँट गर्ने अठोट गरें अहिलेसम्म कहिल्यै नगरेको साहसिक काम गर्न।

फेरि आत्महत्या गर्नका लागि आवश्यक आधार र प्रक्रियाहरू पूरा भएनभएको एकिन गर्न मन लाग्यो।एउटा मान्छे भएर जन्मेपछि गर्नुपर्ने काम,कर्तव्य र जिम्मेवारी मैले पूरा गरिसकेको थिएँ।श्रीमतीले पनि बूढो भएको जनाउ दिईसकेकी थिईन् भने भगवान् ब्रह्माले मान्छेलाई दिएको आयु चालीस कटेर एकचालीसमा हिड्दैं थिएँ।यो थपिएको आयु गोरुको हो क्यारे!

हैट!गोरुको आयु पनि कोही जिउँछ?म जुरुक्क उठें र आत्महत्या गर्ने उपयुक्त तरिका सोच्न थालें।झुन्डिने,मेटासिट/मुसा मार्ने अौषधी सेवन गर्ने,मट्टीतेल छर्केर आगो लगाउने,छतबाट हाम फाल्ने लगायतका धेरै तरिका दिमागमा आए।दिउँसो हेरेको फिल्ममा नायिका घाँटीमा पासो लाएर झुन्डिएकी थिईन्।यति राति डोरी कता खोज्नु!फेरि पशुलाई बाँध्न बनाईएको डोरी के मान्छेको घाँटीमा बाँध्नु!मैले झस्केर आफ्नै घाँटी समाएँ।यो तरिकाले मर्नु ठीक लागेन मलाई।छतबाट हाम फाल्न भनेर माथि चढेँ।यहाँबाट हाम फाल्दा कथिनकाल बाँचियो र हातखुट्टा मात्रै भाँचियो भने के हालत होला!मेरो आङ सिरिङ्ङ गर्यो।कोठामा झरेर कतै मेटासिट,मुसाको विष छ कि भनेर दराज खोलें,घर्रा उघारें अहँ काहीं फेला पारिनँ।सम्झेँ,म सर्वश्रेष्ठ प्राणी पो त!मुसा,जुम्रा,उपियाँ,उडुस मरेझैं के मर्नु?भेटिए पनि खान्नँ त्यो त।नमर्नु मरेपछि शानदार तरिकाले मर्नुपर्छ र म मरेको समाचार पत्रिकाको हेडलाईन बन्नुपर्छ,रेडियो टिभीमा मै छाउनुपर्छ।साहसिक मान्छेहरूले मेरै तरिका अनुशरण गर्ने गरि मैले आत्महत्याको मानक स्थापित गरेर मर्नुपर्छ।

श्रीमतीतिर हेरेँ।मस्त निदाईरहेकी थिईन् तर पातलो लुगा अघिको भन्दा अझ माथि सरेको थियो।छेवैमा गएर ढल्किएँ।सुस्तरी मेरा हात उनको शरीरमा सलबलाउन थाले।केही छिनमा उनी पनि ब्युँझिईन्।मैले बेस्सरी आफूतिर कसें।उनले पनि साथ दिन थालिन्।हामी दुई एक भयौं,निकैबेर एकअर्काको अँगालोमा बाँधियौं।उनले मादक स्वरमा भनिन् “मेरो प्यारो बूढा कहिल्यै बूढो नहुने हुनु भो,सधैं पच्चीस वर्षे जस्तो लाग्छ।”मान्छेको मन न हो,खुशी भएर आयो।यो जीवन फेरि सुन्दर लाग्न थाल्यो।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *