लघुकथा : बोर्डिङ्गे माष्टर

~नन्दलाल आचार्य~Nandalal Acharya_1

अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् ।

‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए ।

‘कथी भेलौ बौवा !’ (के भयो, बाबु !) त्यत्तिखेरै डेरा मालिक्नीले लेघ्रो पसारिन् ।

‘के हुनु र आमा ! स्कूलमा मरेर काम गर्छु, यहाँ पनि स्कूलकै काम गर्नुपर्छ । गरेको देख्ने कोही होइन । काम पछि माम भेट्नुपर्ने हो तर यहाँ बाँच्नसम्म पाइन्न । भोकै र तिर्खै खटिरहनुपर्छ । यसो केही भन्न खोज्यो कि तलब दिएकै छ नि त भनिन्छ ।’ उनले दुखेसोका साथ स्पष्टीकरण दिए ।

‘ओ तोहोर बात भेलै । महिना लागले हमरा कोठाभाडा ला न !’ (त्यो तिम्रो कुरा भयो । महिना लाग्यो मलाई कोठाभाडा देऊ ।) डेरा मालिक्नीको कर्कस बोली फेरि गुञ्जियो । उनी तर्सिए ।

‘दिन्छु आमा ! दिन्छु । पेट काटेर भए पनि दिन्छु । टिउसन पढाएर भए पनि जोहो गरेको छु । स्कूलले दिएको तलवले मुखमा माड लगाउन त धौधौ हुन्छ । घरभाडा पुर्याउन त उही हो ।’ उनको तर्क सुनेर मालिक्नी गम खान थालिन् ।

‘हँ, हमर पोतों पढैछे । स्कूलों हमरा सभक मारमे पारै छै । तूँ सभ टिउसनके नाम पर हमरा सभक खर्चा बढाबै छी ।’ (हँ, मेरो नाति पनि पढ्छ । स्कूल पनि हामीलाई मारमा पार्छ । तिमीहरू पनि टिउसनको नाममा हाम्रो खर्च बढाउँछौ ।)

‘ए बाबा ! दान मागेको छैन । लुटेको पनि होइन । मानसिक श्रम गरेर दुई पैसा कमाएको त हो नि । बोर्डिङ्गे माष्टर भए पछि तलवकै भरमा बाँच्ने कुरा आएन । टिउसन पनि नपढाए त भाग्नुको विकल्प रहन्न ।’ सुनिल सरले पनि मुखभरिको जवाफ फर्काए ।

आमै चुपचाप मुण्टो हल्लाउँदी भइन् ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
पत्राचार – लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *