संस्मरण : भैंसीको दोहनः लोकतन्त्रको चिन्तन

~कृष्ण वस्ती~Krishna Wasti_1

कुरो २०३२ सालको हो ।मेरो अनन्य मित्र केशव पहाडीकी बहिनीको बिहे धरानबाट हुने भएकाले केशवका बा-आमा धरान आउनुभयो ।अब सात दिनसम्म केशब र मैले धनकुटामा उसको घर कुर्नुपर्ने भयो ।तसर्थ घर कुर्न हामी दुईभाइ चाहिं धनकुटा गयौं ।भान्सामा दाल-चामल नुन-तेल थियो ।बारीमा तर्कारी प्रशस्त थियो ।सुत्नलाई गतिला ओछ्यान थियो ।एक अर्कामा मन मिल्ने साथी भएपछि के चाहियो र ! तर समस्या एउटा पर्यो ।केशवको भैंसी आमाबाहेक कसैलाई दुहुन नदिने एकहाते रहेछ । घरमा भैंसी छ ,तर दूध-दहीविनाको भान्सा मलाई ठीक लागेन ।साँढेको टाँङमुनि बसेर दुहुन खोज्नु जति मूर्खता हो त्यति नै मूर्खता लैंनो भैसी दुहेर खान नसक्नु पनि हो । किशोरावस्था भएपनि छाउरो त आखिर मान्छेकै परें ,उपाय नखोज्ने कुरै भएन ।

मेरो पालो बिहान उज्यालो नखस्दै र बेलुका अनुहार नचिनिने अँध्यारो भएपछि आमाका गुनिउँ-चोलो लगाएर भैसी दुहुन गएँ ।गुनिउँ-चोलो आमाकै थियो र भैसीले आमा नै हो कि होइन भनी यकिन गर्न नाकले सुँघ्यो ।आखिर गुनिउँ-चोलो आमाको भएपछि गन्धपनि आमाकै आउने नै भयो ।अन्ततः मलाई आमा ठानेर भैंसीले दूध दियो र आमा-बा नफर्किएसम्म भैसी दुहेर टन्नै दूध-दही खाइयो ।एकहाते भैसी नदुहेको कारणले बिग्रियो होला भनी चिन्तामा पर्नु भएकी आमा एकातिर भैंसी नबिग्रिएकोमा खुसी हुनुभयो भने त्यस्तो जुक्ति अपनाएको कारणले म हाँसो ठट्टा र निकटताको पात्र बनें ।भैंसीलाई मूर्ख बनाएवापत आफ्नो चातुर्यप्रति भित्रभित्रै फुलेर बेलुन झैं हुने नै भएँ ।

धेरैजसो कुराहरु आफूलाई परेपछि चेत खुल्ने कुराको अपवाद म पनि भइँन ।पहिलो र दोस्रो जनआन्दोलनपूर्व नेपाली जनताकै बीचबाट हेर्दा राजनैतिक दलहरुको आवरणमा नेपाल आमाकै गुनिउँ-चोलो देखें मैले ।र दलका कुरालाई सुँघ्दा वासना पनि नेपाली लोकतन्त्रकै आयो ।त्यसैले मबाट जे हुनसक्थ्यो त्यो साथ-सहयोगको दूध दिएका दलहरुको अभीष्टमा लोकतन्त्र र राष्ट्रप्रेम नभई जनदोहन र सत्तागमनमात्र रहेछ भन्ने प्रमाणित भएपछि स्वयंलाई भैसी बनाइएको थाहा पाएँ ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *