कथा : सागरमणि दाइ फर्किनुभयो

~विश्वराज अधिकारी~

नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर पन्द्र दिनदेखिका जम्मा भएका मेल (चिठ्ठी पत्र) हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्द्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने छुटयाउन र तिनलाई च्यात्न एक दिन नै लाग्न सक्छ । काम लाग्नेहरूलाई पढ्न अर्को थप समय लाग्ने त कुरै नगरौं । होइन, मेलहरू पनि कति आउन सकेका ? अमेरिकामा दिनका दिन मेल न पढेर थुपार्ने हो, काम नलाग्ने नच्यात्ने हो भने एक महिनाको मेलले एक जनालाई छोप्न पुग्ने जति कागत जम्मा हुन सक्छ । क्रेडिट कार्डका अफरहरूले त धुरुक्कै पार्छन् । अनि प्रचारका कागजहरूको त झन् के कुरा गर्नु र ?

मैले अहिले यहाँ उल्लेख गर्न खोजेको भने नित्यानन्द अंकलले पठाउनुभएको चिठ्ठी हो । चारपाँच पानाको चिठ्ठी भएकोले तपाईंलाई पढ्न अल्छी लाग्ला, म नै पढिदिन्छु । हुँदैन ?

प्रिय सुचित्र,

म सजिलैगरी अमेरिकाबाट नेपाल आइपुगें । इस्तान्बुलमा पाँचछ घण्टा ट्रान्जिटमा बस्नुपरेकोले यो चिठ्ठी इस्तान्बुल एयरपोर्टमा कुर्दा नै लेख्न भ्याएँ । अमेरिकाको ह्युस्टनबाट राति आठ बजेतिर उडेको प्लेन टर्कीको स्थानीय समय अनुसार इस्तान्बुल दिउँसो चार बजेतिर पुगेको थियो । ह्युस्टनबाट इस्तान्बुल पुग्न बार्‍ह घण्टा केही मिनेट लागेको थियो। इस्तान्बुलबाट त्यहाँको स्थानीय समय अनुसार रातिको करिब दस बजेतिर उडेको प्लेन नेपालको स्थानीय समय अनुसार बिहानको सवा सात बजे काठमाडौ पुगेको थियो । इस्तान्बुलबाट काठमाडौं पुग्न लगभग सात घण्टा लागेको थियो । म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा कात्तिक महिना चलिरहेकोले न जाडो न गर्मी अति सुन्दर मौसम थियो । नेपाल फर्केपछि, इस्तान्बुलमा लेख्दालेख्दै अपूरो चिठ्ठीमा दुईचार पङ्क्ति थपें । अनि त्यो चिठ्ठी स्टीलवाटर जाने कुशल शर्माको हात तिमीले, त्यहाँ पाउने गरी, अमेरिका पठाएँ ।

आफ्नो देशको भूमिमा टेक्ने बित्तिकै मेरो मन अति नै हर्षित भयो । तिमीलाई नढाँटी भन्ने हो भने मलाई विदेशको बसाइँ कहिले पनि राम्रो लागेन । जतिसम्म म विदेश बसें मन कल्पाएर बसें । विदेशका सुविधाहरूले मलाई कहिले पनि आकर्षित गर्न सकेन । आफ्नो जन्मस्थान, जहाँ हुर्कें, खेलें, छाडेर विदेशमा कसरी बस्न सक्छन्, मान्छेहरू ? यो प्रश्न मैले आप्रवासमा जहिले पनि सोधिरहें आफूसँग, तर चित्तबुझ्दो जवाफ भने कहिले पनि पाउन सकिनँ । कहिलेकाहीं कस्तो लाग्थ्यो भने विदेशमा सबै खुशी छन्, सुखी छन् । म मात्रै किन दु:खी भएको हुँला । मलाई मात्रै, कुकुरलाई घ्यु नपचेजस्तो किन भयो होला ? बोकोको मुखमा कुभिण्डो नअटाएजस्तो किन भएको होला ।

बुढेसकालमा काठमाडौंमा, सके दिनहुँ पशुपतिनाथको दर्शन गरेर बसौं, र जीवनको अन्तिम समयमा, प्राण त्याग्दा पनि, अनि खरानी बन्दा पनि, पशुपतिनाथको काखमा, ब्रह्मनालमा, प्राण त्याग गरौ, खरानी बनौ भन्ने ठूलो धोको थियो मेरो । त्यो धोको अब पूरा होला जस्तो लाग्दैछ मलाई, किनभने म अब नेपालबाट फर्केर जानेवाला छैन, विदेश । छोराछोरी, नातागोता, साथी सम्बन्धीहरूले जतिसुकै आग्रह गरे पनि, करकापमा पार्न खोजे तापनि म अब स्वदेश छाड्दिनँ । यी चिनीका रस हुन्, झिँगालाईझैं लटपट्याएर राख्छन् । तर मैलै भने कुनै झिँगाले खुट्टा झारेर भागेझैं गरें, भागें, रस छाडेर । तर स्वदेश फर्कन भने मैले सानोतिनो सङ्घर्ष हो र, युद्ध नै गर्नुपर्‍यो । महाभारतभन्दा पनि ठूलो युद्ध । बूढीले मलाई घुर्काइन पनि, तपाईंलाई केही भयो भने म छोराछोरी, नातिनातिना छाडेर काठमाडौ आउन सक्दिनँ, अनि बस्नु एक्लै, ओछयानमा खोकेर । छोराछोरीहरूले पनि हामी कोही पनि तपाईंसँग काठमाडौ बस्न आउँदैनौं भनी तर्साए । सुख्खा जमिन छाडेर हिलोमा किन भासिन खोजेको भनी
कराए । तर के गर्नू ? म त्यहाँ, विदेशमा, आफ्नो समाजविहीन, एक्लो र नीरस जीवनबाट थाकिसकेको थिएँ ।

मेरी वाइफ नेपाल आउलिन् भन्ने मलाई न उहिले विश्वास थियो, न अहिले छ । उनी मलाई त्याग्न सक्छिन्, विदेशको सुविधासम्पन्न बसाइँ त्याग्न सक्दिनन् । यो उमेरमा पनि आइब्रो मिलाउन, नेल्स र पेडिकेयर गर्न मलतिर धाउँछिन् । घरको स्वस्थ खानाभन्दा स्ट्रीटको जंक फूड मन पर्छ उनलाई । बाहिर खान रमाउँछिन् । फेसबूक उनको चियाजस्तो अम्मल भएको छ । मोडर्न टेक्नोलोजीसँग जहिले पनि अपडेट रहन्छिन् । लैपटप उनको लागि दोस्रो प्राथमिकता हो, पहिलो टेबलेट हो । फोन पनि साधारण होइन, स्मार्ट फोन राखेकी छन् । एप्पल फाइभ यस, भर्खर बजारमा आएको एक महिना पनि भएको छैन । कार पनि साधारण होइन, लेक्सस छ, उनीसँग । समाजप्रति दायित्व हामीले पूरा गर्नुपर्छ भन्दा मलाई झम्टिन खोज्छिन् । उनलाई चिन्ता छ भने केवल आफ्नो मात्र, बाँकी भर्सेलै परून् ।

मेरी वाइफले उचालेर नै मलाई अमेरिका पुर्‍याएकी हो, आफ्नो इच्छाले म त्यहाँ पुगेको होइन । अरूको प्रगति र धन सम्पत्ति देखेर कहिले इष्र्या भएन, मलाई, मेरी वाइफलाई जस्तो । आफ्नो पनि अति नै धन सम्पत्ति होस् भनी कहिले पनि मलाई डाहा र छटपटी भएन । मलाई त दु:खसुख जस्तो आओस्, आफ्नै माटो मन परेको थियो । आफ्नै हावा र आकाश मन परेको थियो । साग र सिस्नु खाएको बेस आनन्दी मनले, मन परेको थियो । जसरी पनि, नेपाल फर्कने निर्णय गर्न मलाई बीस वर्ष लाग्यो । र गएको बीस वर्षमा ठूलो मनोवैज्ञानिक पीडा मैले सहिरहें ।

सुचित्र, अब म प्रस· परिवर्तन गर्छु, है १ तिमीलाई एउटा कुरा सुनाउनु छ र त्यो सुनाउन म आतुर छु । त्यो कुरा मलाई अमेरिकाको, ओक्लहोमा स्टेटको, ओक्लहोमा सिटीमा बस्दा सधैं अचम्म लागिरहयो, सागरमणि दाइको अलि फरक व्यवहार । र त्यो व्यवहार भनेको विदेशमा पनि रमाएर बस्न सक्ने वहाँको लालसा, चाहना, धैर्य, इच्छा वा यी सबै कुराको सम्मिश्रण । साठी–पैंसठ्ठी वर्षको उमेरमा पनि विदेशमा रमाएर बस्नुभएको छ, बिना कुनै गुनासो । बिना कुनै छटपट, पच्चीस वर्षदेखि ।

सागरमणि दाइको बसाइँ पनि म बस्ने शहर, ओक्लहोमा सिटीमा नै भएकोले वहाँसँग भेट भइ नै रहन्थ्यो । म र सागरमणि दाइ, नेपालीहरूले आयोजना गरेको प्राय: सबै पार्टीमा हुन्थ्यौं । बोलाउनेहरूले हामी दुवैजनाको परिवारलाई नछुटाई बोलाउँथे। पार्टीमा जान मलाई निकै रमाइलो लाग्थ्यो, यस हुनाले पनि, किनभने त्यहाँ समय बिताउन सजिलो हुन्थ्यो । छोटै समयका लागि भए पनि एक्लो र नीरस जीवनबाट मुक्ति पाइन्थ्यो । धेरैजनासँग भेटघाट, गफगाफ गरेर, सजिलै समय कट्थ्यो । पार्टीहरूमा धेरैजनालाई भेटेर गफ गर्दा नेपाल पुगेझैं लाग्थ्यो । त्यसैले कसैले मलाई पार्टीमा बोलायो कि पुगी हाल्थें । छेउछाउका शहरहरू– नोरमेन, मोर, एडमन्ड, स्टीलवाटर मात्र हो, केही परका लटन, मस्कोगी, टल्सासम्म पुगेको छु, पार्टीहरूमा सामेल हुन । त्यति मात्र हो, एडमोर, ग्यान्सभिल, फोर्टवर्थ, डालससम्म पुगेको छु । दुईचारपटक त ह्युस्टन, अस्टिन, सान आन्टोनियो,केही परका शहर पनि पुगें । तर आफू कार चलाउन नजान्ने भएकोले जहिले पनि अरूलाई गुहार्नुपथ्र्यो । जे होस् धेरैले राइड दिए, झर्को नमानेर । सबैभन्दा बढी राइड भने मुकेशले दिए । मलाई वालमार्ट पुर्‍याउने त एक किसिमले भन्ने हो भने उनले जिम्मा नै लिएका थिए । वालमार्ट पनि म समय बिताउन जान्थें । कहिलेकाहीं ग्रेहाउन्डको बस पनि चढें, परपरका शहर जान । आफू हप्तामा दुई दिन मात्र काम गर्ने भएको हुनाले यताउता हिंड्न सजिलो थियो ।

ओक्लहोमा सिटी र यस वरपरका शहरहरूमा हुने पार्टीहरूमा जहिले पनि सागरमणि दाइसँग मेरो भेटघाट हुन्थ्यो । वहाँलाई देखेर मलाई आफूमाथि कहिले रिस उठ्थ्यो भने कहिले ग्लानि हुन्थ्यो । सागरमणि दाइजस्तो आनन्द मानेर परदेशमा म किन नबस्न सकेको होला भन्ने लाग्थ्यो । तर सागरमणि दाइसँग भने कुरा गर्न मन लाग्दैनथ्यो किनभने प्रत्येकपटक वहाँले मलाई सोध्ने प्रश्न एउटै थियो– नेपाल फर्कने विचार कायम छ कि बदलिनुभयो, नित्यानन्दजी ? मेरो उत्तर पनि एउटै हुन्थ्यो– म त फकर्ने निधोमा पुग्न–पुग्न आँटेको छु, सागर दाइ १ कहिले फकर्ने हो, आउँदो एक, दुई वा दश वर्षपछि, त्यो भने टु·ो लाग्न सकेको छैन । मेरो उत्तरमा वहाँको प्रतिक्रिया पनि एउटै हुन्थ्यो– किन जानुहुन्छ नेपाल, यहाँको सजिलो जीवन छाडेर, दु:ख खान । चारैतिर अस्तव्यस्तता, बन्द–हडताल, नाराजुलुस, दाउपेंचले भरिएको ठाउँमा, दिन दहाडै हत्या हुने ठाउँमा । खानेपानी, बिजुली, सवारी, सडक आदिको सुविधा नभएको ठाउँमा । वहाँसँग कुरा गर्‍यो कि नेपालको अस्तव्यस्तता, नेपाली अस्थिर राजनीति अनि नेताहरूको आलोचनमा भरमार शब्दवर्षा शुरु हुन्थ्यो, वहाँको मुखबाट । एकपटक असह्य भएर मैले भनें पनि–आफ्नै देशको आलोचना कति गर्नुभएको, सागर दाइ ?

सागरमणि दाइसँग नौलो कुरा केही हुन्थेन विदेशको सुविधासम्पन्न बसाइँ र वहाँका छोराछोरीहरूले गरेका प्रगतिबाहेक । वहाँ भन्ने गर्नुहुन्थ्यो– नित्यानन्दजी, यहाँ सबैभन्दा कम आम्दानी गर्नेले पनि, एक महिनाको तलबले, चारपाँचजनाको खान बस्न लाग्ने खर्च काटेर, केही जोगाउँछ । कसरी छाक टारौं र कसरी चाडबाड मनाउँ भन्ने पीर हुँदैन, उसलाई । गरिब परिवारले पनि एउटा कार किन्न सक्छ । न कहिले बन्द, न हडताल नै । हिंड्नका लागि चाक्लाचाक्ला सडक । एउटाले अर्कोको चियोचर्चा गर्दैन । काम सानोठूलो भन्ने छैन । जस्तोसुकै काम गरे पनि इज्जत दिने गरिन्छ । अनेक किसिमका सामाजिक बन्धन छैन । न कसैले के भन्ला भन्ने पीर नै छ । यस्तो सजिलो परिवेशमा बस्न तपाईंलाई मन नलाग्नु त एक किसिमको अचम्म नै हो । हेर्नुस् म त एकदम रमाएर बसेको छु, यहाँ, बिना कुनै मानसिक पीडा, तपाईंलाई जस्तो मानसिक पीडा छैन मलाई । कति आनन्द छ, मलाई । दिनभरि घरमा बस्छु, टिभी हेर्छु । इन्टरनेटमा गीतहरू सुन्छु, फिल्महरू हेर्छु, आफ्ना जमानाका, खासगरी हिन्दी फिल्महरू हेछुर् । मन लागे कतै घुम्न जान्छु । हप्तामा एकदुईचोटी मल जान्छु । कामसाम गर्नुपरेको छैन । छोराबुहारी, छोरीज्वाइँ सबैले बेला बेलामा पैसा दिन्छन्, त्यसैले मनग्य पुग्छ । त्यसो त हामी दुईजना, हस्बेन्डवाइफलाई खान–बस्न मेरो रिटाएरमेन्टको पैसाले नै पुग्छ । घरको मोडगेज तिर्नुपर्दैन, सबै भुक्तान गरिसकेको छु । जेहोस् बडो आनन्दमा जीवन कटिरहेको छ । आनन्द नै आनन्द छ ।

हुनत मेरो स्थिति पनि सागरमणि दाइजस्तो नै थियो, लगभग । मेरो त झन् वाइफको पनि जागिर थियो, मलको एउटा ज्वेलरी पसलमा, अहिले पनि त्यही काम गर्छिन् । मलाई पनि खानबस्नको पीर थिएन । लुगाफाटो, फनिर्चर, फोन, लैपटप छोराछोरीले नै किनिदिन्थे । आफूले कहिले केही किन्नुपरेन । लुगाहरू यति बढी हुन्थे कि डोनेसन दिनुपथ्र्यो राख्ने ठाउँ नभएर । छोराछोरीले बेलाबेलामा एयर टिकट पनि
पठाइदिन्थे । न्युयोर्क, शिकागो, सनफ्रान्सिस्को, लस एन्जलस, लस भेगास सबैतिर पुगेर, घुमफिर गरिसकेको छु । रोम, पेरिस, लन्दनजस्ता ठाउँहरू पनि बाँकी छैनन् ।

सुचित्र, अब म तिमीलाई एउटा अचम्म लाग्ने कुरा सुनाउँदै छु । मलाई त निकै अचम्म लाग्यो, तिमीलाई पनि लाग्नेछ । त्यो अचम्म के हो भने जब म अस्ति नेपाल फर्किंदा काठमाडौ एयरपोर्ट आइपुगें, बिहानको समय थियो । एयरपोर्टमा भिडभाड नहोला भनेको त झन् ज्यादै भीडको सामना गर्नुपर्‍यो । अनि अर्को समस्या पनि पर्‍यो, आफ्नो बैगेज खोज्न । धन्य हराएन, बैगेज भेटियो । तर खोज्न निकै समय खर्च गर्नुपर्‍यो । त्यही बैगेज खोज्ने धुनमा एकजना अमेरिकाबाट फर्केका नेपालीलाई भेटें । ती पनि मजस्तै अब नेपालमैं सधैं बस्ने गरी अमेरिकाबाट फर्केका रहेछन् । कुराकानीको क्रममा उनले भनेपछि थाहा भयो, अब उनी पनि सम्पूर्ण परिवार उतै छाडेर, एक्लै नेपालमैं बस्ने रे । मैले एक्लै बस्न सक्नुहुन्छ त नेपालमा भनी सोध्दा उनले भने– एक्लै बस्छु भन्ने निर्णय गरेर आएको छु, बस्नु त पर्‍यो नि, बस्छु । थाहा छ सुचित्र, मैले एयरपोर्टमा भेटेका ती व्यक्ति ओक्लहोमा सिटीमैं बसेका व्यक्ति हुन् । अनि तिमी उनको नाम थाहा पाउन उत्सुक होलाऊ, हैन ? मैले काठमाडौ एयरपोर्टमा भेटेका ती व्यक्ति हुन् सागरमणि दाइ । साँच्चै, सागरमणि दाइ सधैं नेपाल बस्ने गरी फर्केका हुन् । उनले खुद मलाई भनेको हो, यो कुरा । उनको त्यो स्थितिप्रति निर्कै आश्चर्य लागेर नै मैले तिमीलाई यो पत्र लेखेको हुँ ।

अरू सबै कुरा राम्रो नै होला त्यता । नेपाल आएको बेला मलाई अवश्य भेट्नू । अहिलेलाई यत्ति ।

नित्यानन्द भट्टराई
बुद्धनगर, काठमाडौ ।
बिहीवार, २०७० पुस २५

br2063_adhikari@yahoo.com

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *