पौराणिक बाल कथा : वदनाम वधूको कथा

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा वीरवर नामक एकजना सिकर्मी बस्दथ्यो । उसको स्त्रीको नाम कामदमनी थियो । कामदमनी व्यभिचारिणी स्वभाव भएकी सार्‍है बदनाम आईमाई थिई । आफ्नी पत्नीबारे छिमेकीहरूको कान खाने कुरा सुनेर वीरवर सधैं दिक्दार रहन्थ्यो । एक दिन उसले आफ्नी पत्नीको चरित्र जाँच गरूँ भन्ने अठोट गर्‍यो । मनमा यस प्रकारको अठोट गरेर पत्नीलाई भन्यो – प्रिय, मलाई आवश्यक कामको सिलसिलामा भोलि बिहानै टाढाको गाउँ जानुछ । त्यहाँ मलाई केही दिन लाग्न सक्दछ अत: तिमीले मेरा लागि केही खाने कुरा बनाइदेऊ जसलाइ साथमा लिएर म जान सकूँ । लोग्नेको कुरा सुनेर उसकी स्वास्नी मनमनै निकै प्रसन्न भई । घरको अन्य धन्दा छाडेर घीउ र चिनीबाट राम्रो–राम्रो पकवान बनाउन थाली ।

अर्को दिन एकाबिहानै उठेर वीरवर नाम गरेको सिकर्मी घरबाट टाढाको गाउँ जान भनेर हिडयो । पति बाहिर गइसकेको ठानेर उसले शृ·ार गरेर येनकेन प्रकारेण दिन बिताई । बेलुका भएपछि उसले पूर्व परिचित जार पतिकहाँ गई र जारपतिसित भनी–मेरो दुष्ट पति कुनै कामविशेषले अन्यत्र टाढाको गाउँ गएको छ । आज ऊ घर फर्केर आउँदैन । अत: रातिको समयमा जम्मैजना सुतिसकेपछि मेरो घरमा आउनू ।

वीरवर नामक सिकर्मी वनमा गएर दिउँसभरि बसेर समय बितायो तथा रात परेपछि घर आएर कसैले चाल नपाउनेगरी झ्यालबाट आफ्नो सुत्ने कोठामा सुटुक्क छिरेर खाटमुनि लुकेर बस्यो । केही समयपश्चात् कामदमनीले बोलाएको देवदत्त नाम गरेको जारपति खाटमाथि आएर बस्यो । उसलाई देख्ने बित्तिकै वीरवर क्रोधले अभिभूत भएर मनमा सोच्न थाल्यो–यसलाई अहिले नै मारिदिऊँ अथवा यी दुईजना साथै सुते पछि दुवैजनालाई एकै साथ छप्काइदिऊँ । तर हतारो गरिहाल्नु हुँदैन, हेरूँ यिनीहरू के गर्दा रहेछन् ? दुवै आपसमा के–के कुरा गर्दछन् त्यो पनि सुनिहालूँ । अनि जस्तो उचित हुन्छ त्यस्तो गरूँला । वीरवर मनमा यस्तै तर्कनाहरू गर्दै थियो त्यतिकैमा उसकी स्त्री कोठाभित्र छिरेर आग्लो लगाई र त्यसै खाटमाथि बस्न पुगी । खाटमाथि बस्न लाग्दा संयोगले उसको खुट्टा खाटमुनि लुकेर बसिरहेको पोइको जिउमा छुन पुग्यो । खुट्टा छुने बित्तिकै उसले खाटमुन्तिर पोई ढुकेर बसेको चाल पाइहाली । अत: उसले मनमनै सोच्न थाली–ए, यो मोरा मेरो जाँच लिनको लागि खाटमुन्तिर ढुकेर बसेको पो रहेछ । ल: अब यो मोरालाई पनि केही त्रियाचरित्र देखाइ दिहालूँ ।

उसले यति सोची मात्र रहेकी थिई यतिकैमा जारपतिले अँगालो हाल्न हाथ बढायो । जार पतिले अँगालो हाल्न हाथ बढाइरहेको देखेर उसले हाथ जोडेर भनी–महानुभाव, तपाईंले मेरो शरीरको स्पर्श नगर्नुस्, किनकि म अत्यन्त साध्वी, पतिव्रता तथा महासती नारी हुँ । यदि तपाईंले मैले भनेको कुरा मान्नुभएन भने म तपाईंलाई श्राप दिएर भस्म पारिदिनेछु ।

कामदमनीको कुरा सुनेर देवदत्त नामक जार पति छक्क पर्‍यो । उसले रिसाउँदै भन्यो–यदि तिमी यस्ती सती नारी हौ भने मलाई किन डाकिपठाएकी ? मैले त खै तिम्रो कुरै बुझ्न सकिनँ ।

कामदमनीले भनी–ध्यानपूर्वक मेरो कुरा सुन्नुस्, मैले तपाईंलाई किन डाकेकी हुँ । आज बिहान चण्डिका माताको मन्दिरमा म दर्शन गर्न गएकी थिएँ । म त्यहाँ पुग्नेबित्तिकै एउटा आकाशवाणी भयो –पुत्री, म तिमीलाई कसरी भनूँ, तर साँचो कुरा त भन्नु नै पर्दछ, तिमी मेरी भक्त हौ, त्यसैले म तिमीलाई भन्दछु । पुत्री, दुर्भाग्यले तिमी आजको छ महिना भित्रैमा विधवा हुनेछौ ।

उक्त आकाशवाणी सुनेर मैले देवीसित सोधेकी थिएँ– हे माता भगवती, जसरी तपाईंले ममाथि आउने आपत्तिबारे पहिलेदेखि नै थाहा पाउनुभएको छ त्यस्तै त्यस आपत्तिको प्रतिकारबारे पनि तपाईंलाई थाहा होला । प्रतिकारका लागि कुनै यस्तो उपाय भए मलाई बताउने कृपा गर्नुस्, जसले गर्दा म आफ्नो पतिलाई शतायु हुने पार्न सकूँ । मेरो यस प्रकारको प्रार्थना सुनेर देवीले भनिन्–पुत्री, आपत्तिको प्रतिकार भएर पनि छैन, किनकि तिम्रो आपत्तिको प्रतिकार पनि तिमीसितै छ । भगवतीको उक्त कुरा सुनेर मैले पुन: निवेदन गरें– मात:, यदि त्यो उपाय मेरो प्राण त्यागले पनि सम्भव छ भने कृपा गरेर मलाई अवश्य बताउनुहोस्, जसलाई म शीघ्र पूरा गर्न सकूँ । मेरो प्रार्थना सुनेर देवीले भनिन्–यदि तिमी कुनै अन्य मानिसको साथ एउटै ओछ्यानम सँगै सुतेर उसलाई अड्ढमाल गरेर सुरत व्यापार गर्‍यौ भने तिम्रा पतिका लागि नियत रहेको अपमृत्यु त्यस पुरुषमा सरेर जानेछ तथा तिम्रो पतिले सय वर्षको आयु पाउनेछन् । त्यसै कारणले मैले तपाईंलाई डाकी पठाएकी थिएँ । अत: तपाईं मेरो साथमा इच्छा लागेको कुरा गर्न सक्नुहुन्छ तर यो कुरा निश्चित छ कि देवीले भनेको कुरा असत्य हुन सक्दैन ।

कामदमनीको यस प्रकारको कुरा सुनेर उसको जार पति देवदत्त मुसुक्क मुस्काएर प्रसन्न मनले ऊसित सुरत व्यापारमा प्रवृत्त भयो ।

वीरवर नाम गरेको त्यो मूर्ख सिकर्मी आफ्नी स्त्रीको कुरा सुनेर धेरै खुशी भयो । आनन्दले उसको शरीर पुलकित हुन पुग्यो । खाटमुनिबाट निस्केर उसले आफ्नी स्वास्नीसित भन्यो –हे पतिव्रते, हे कुलनन्दिनि, दुष्ट छिमेकीहरूको कुरामा लागेर मेरो ह्दयमा तिमीप्रति सन्देह उत्पन्न भएको थियो । तिम्रो जाँच लिनको लागि परदेश जाने निहुमा घरबाट बाहिर गएको देखाई तिम्रो आँखा छली †यालबाट कोठामा छिरेर खाटमुनि लुकेर बसेको थिएँ । तिमीहरूको कुरा सुनेर तथा कर्म देखेर मेरो ह्दयको जम्मै कल्मष सफा भयो । आऊ मेरो गला लाग । तिमी पतिभक्त नारीहरूमा सर्वश्रेष्ठ छयौ । अब मैले बुझें कि मेरो अपमृत्यु टार्नको निम्ति तथा मेरो आयु बढाउनका लागि एउटा पर पुरुषसित सुत्दा पनि तिमीले ठूलो संयमको पालना गर्‍यौ, यति भनेर उसले स्वास्नीलाई अड्ढमाल गर्‍यो ।

स्वास्नीलाई काखमा लिएर उसले देवदत्तलाइ भन्यो–महानुभाव, मेरो पूर्वपुण्यको कारणले नै तपाईं यहाँ पाल्नुभई यस्तो शुभकाम गर्नुभयो । तपाईंकै कृपाले मैले सय वर्षको आयु पाएँ । अत: तपाईंले मलाई अड्ढमाल गर्नुस् र मेरो बुई चढ्नुहोस् । यति भनेर देवदत्तले नचाहँदा चाहँदै पनि वीरवरले उसलाई अड्ढमाल गर्न थाल्यो तथा बलजफ्ती उसलाई आफ्नो बुई चढाएर नाच्न थाल्यो । त्यसै अवस्थामा ऊ आफ्ना सम्पूर्ण आफन्तहरूको घरमा गई आफ्नी स्वास्नीको उक्त कर्मको प्रशंसा गर्दै नाच्न थाल्यो ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in पौराणिक कथा, बाल कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *