संस्मरण : पैसा भेट्टाउने तरिका

~किशोर दहाल~

आज घर छेउमै एउटा छेपारोलाई ढुङ्गा हानेर मारिदिएँ । मरिसकेको छेपारो जब उत्तानो पल्टियो । मेरो स्मृति पनि त्यसैगरि पल्टियो । छेपारोको सेतो काया जस्तै ‘ब्ल्याक एण्ड ह्वाइट’ भएर ।

* * *

एउटा साथीले भन्यो– आज पैसा भेट्टाएँ ।

उसले थप्यो– बिहानै एउटा छेपारो मार्दिएको थिएँ, फाइदा पो भो ।

यो म चार–पाँच कक्षातिर पढ्दाको कुरा हो । अर्थात, ५५–५६ सालतिरको कुरा हो । त्यतीबेला साथीभाई कसैसँग पनि गोजीमा पैसा हुँदैनथ्यो । दशैं तथा छिमेकीका पूजाश्राद्ध बाहेक आम्दानीको अन्य बाटो पनि हुँदैनथ्यो । घर व्यवहार चलाउनै अप्ठ्यारो भोगीरहेका अभिभावकले अनाबश्यक पैसा दिन सक्दैनथेँ । स्कुलमा खाजा खान भनेर पैसा दिने चलन पनि थिएन । खाने चलन पनि थिएन । स्कुल जाँदा गोजीमा पैसा हुने भनेको कि परीक्षाको मुखमा, कि सरस्वती पूजाको मुखमा मात्रै थियो । स्कुल पुगेपछि त्यो पनि अर्कैको गोजीमा सथ्र्यो । त्यसकारण साथीभाईमध्ये कोहीसँग पैसा छ भने त्यो चर्चाकै बिषय बन्थ्यो ।

* * *
पैसा कमाउने गज्जबको आइडिया फुरिहाल्यो साथीभाईमाझ– छेपारो मार्ने । त्यसपछि बाटोमा, स्कुलमा, चौतारोमा, घर वरपर जहाँसुकै छेपारो देख्यो कि, मार्ने अभियान सुरु भयो । छेपारो देखेपछि हात सकसक गर्न थाल्यो । तर, जति छेपारो मारे पनि पैसा भेटिएन । पैसा नभेटिएको कुरा सुनाउने बित्तिकै पहिलो साथी भन्थ्यो– तँलाई श्राद्धमा टिको लगाएर पैसा दे’को हो र ? मार्ने बित्तिकै भेट्नलाई ? मार्न अलि धेरै ! कतिवटा छेपारो मार्दा पैसा भेटिन्छ भन्ने टुङ्गो थिएन । तर, छेपारो मारेपछि पैसा भेटिन्छ भन्ने बिश्वास डगमगाएको थिएन । पैसा कमाउने तरिका यही एउटामात्रै भएकोले पनि बिश्वासमा शंका गर्नु उचित थिएन ।

स्कुलमा टिफिन भन्दा पछाडी प्रायः पढाइ हुन्थेन । त्यसकारण चाँडै घर फर्किन पाइन्थ्यो । छेपारो खोज्न र मार्नको लागि प्रशस्त समय थियो ।

एकदिन स्कुलबाट फर्किदै गर्दा बाटैमा एउटा छेपारो हामीलाई नै हेरेर टाउको हल्लाउँदै रहेछ । सुरुमा त्यही पैसा भेट्टाउने साथी चिच्यायो । पैसा नै भेटेभन्दा बढि खुसीयाली छायो । अबस्था यस्तो थियो मानौ, छेपारोको पेटभरि पैसैपैसा छ, त्यसलाई मारेर पैसा निकाल्नु छ । अलि खुला ठाउँ भएकोले छेपारो दौडिहाल्यो । सबैजना मिलेर लखेट्दै ढुङ्गा हानियो । पहिलो साथी अलि उत्साहित हुँदै ‘तिमीहरुलाई मार्नै नआउँदो रै’छ , यसरी मार्नुपर्छ’ भन्दै अलि ठूलो ढुङ्गाले हान्यो । छेपारो बीच शरीरमा लागेछ । पड्केजस्तो आवाजका साथ छेपारो छ्यालब्याल भयो ।

घर पुगेर किताब राख्नै नपाई त्यही साथी देखाप¥यो । उसले भन्न थाल्यो– ‘यी पैसा भेटें । यता आउँदै गर्दा ।’ उसले हातमा एक रुपैयाँको ठूलो सिक्का देखायो । अब नयाँ सिद्धान्त प्रतिपादन भयो– छेपारोलाई पड्काएर मार्नु पर्ने रहेछ । छेपारो मारेर पैसा भेट्टाउने नसाले यति छोएको थियो कि दिमागमा छेपारो बाहेक अरु केही थिएन ।

अब छेपारोलाई निशाना मिलाउँदै पड्काएर मार्ने उपक्रम सुरु भयो । तर, नपड्कीकनै धेरै छेपाराहरु शहीद भइसकेका थिए । छेपारो पनि अहिले चर्चामा रहेको पाटेबाघ जस्तै दुर्लभ हुन थालिसकेका थिए । संयोगबश भेटिएका छेपारोका चर्चा चल्न थाले । साथीहरु भन्थेः

– साला ! आज एउटा दामी छेपारो भेटेको थें । मार्नै सकिनँ ।

– पाँच दिन भइसक्यो छेपारोका मुख नदेखेको । अनुहार नै बिर्सिने बेला भो ।

– एउटा छेपारोलाई ढुङ्गा हानेको, मर्न त म¥यो, तर पड्किएन । के पैसा भेटिएला र खै !

* * *

करिब १६–१७ बर्षपछि मैले ढुङ्गा हानेको छेपारो मर्न त मरेको छ । तर, पड्किएन । दिमागमा उहीबेलाको ह्याङओभर फर्कियो– के पैसा भेटिएला र !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *