कथा : जुजुमानको अन्तरकथा

~ध्रुब सापकोटा~

छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए।

‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका थिएनन्। त्यो चोट निको हुनुको सट्टा पश्चात्ताममा उक्लिएको थियो। यो कष्ट भोग्ने ऊमात्र थियो। उसको कष्ट कसैले देखेको थिएन। गल्ती थियो। निर्णय लियो, अबदेखि म कुनै पनि हालतमा गल्ती गर्दिनँ, यही समयमा दुर्घटनाको खबर आयो।

डा. भास्कर दुर्धटनामा परेका थिए। नराम्रोसँग जीवनमृत्युको सन्मुख हात जोडिरहेका थिए। डा. भास्करको तत्काल नै शल्यक्रिया गरिएको थियो। उनको दुर्घटनाबाट क्षति भएको ठाउँमा अर्कोतिरको मासु काटेर भरिएको थियो।

दुर्घटनाको खबर उसले अखवार र टेलिभिजनबाट प्राप्त गरेको थियो। डा. भास्कर सामान्य डाक्टर थिएनन् – उनी यस देशका प्रख्यात डाक्टर थिए। हर हप्तामा उनको सफलताको कथाले अखबारमा ठाउँ पाउँथ्यो। मान्छेहरूको राय थियो – उनी साँच्चै भास्कर हुन्। ऊ कुरा सुन्थ्यो। बीचमा नै कुराकानीलाई रोकेर भन्थ्यो – ‘भास्कर मेरो छोरो हो।’

‘तपाईँको छोरो ?’ मान्छेको प्रश्न थियो। थाहा पाउन गाह्रो थिएन, तिनीहरूलाई पत्याउन गाह्रो परिरहेको थियो।

‘जुजुमान मेरे साडदाजु। डा. भास्कर जुजुमानको छोरा।’ उसको जबाफमा गर्वोक्ति झल्कन्थ्यो।

‘जुजुमानको घर कहाँ हो ?’ कसैले प्रश्न गर्थ्यो। प्रश्नका पछाडि शङ्का जोडिएको थियो।

‘जुजुमान त गाउँका एक सामान्य व्यापारी।’ उसले जानकारीलाई फराकिलो बनायो।

‘सामान्य व्यापारीका छोरा यति ठूला मान्छे ?’ मान्छेहरू प्रश्न गर्थे। यसमा आश्चर्य मान्नुपर्ने कारण थिएन। यो देशमा सामान्य मान्छेको चोरा ठूलो हुन कठिन थियो।

‘जुजुमान अहिले पनि गाउँमा व्यापारै गरेर बसेका छन् त ?’ मान्छेहरूको प्रश्न सकिएको थिएन।

‘अहिले त उनी सहरमा आएका छन्। छोरासँग बसेका छन्।’ उसके आफ्नो जानकारीलाई फराकिलो बनाउन छोडेन।

‘हुन त हो। अहिलेको परिस्थितिमा गाउँमा काम गरेर खाने अवस्था छैन।’ मान्छेहरूको कुरा राजनीतितिर मोडिन लागेको थियो। त्यस ठाउँका लागि उसले आफूलाई अनुपयुक्त ठान्थ्यो।

ऊ घरमा आइपुगेको थियो। श्रीमतिले चिया बनाएर ल्याइकी थिइन्। चियामा चिनी र दूध नहाली खाने बानी उसको थियो। कोठामा श्रीमती र ऊमात्र थिए। श्रीमतीको हातमा पनि चियाको कप थियो।

‘थाकेको देखिनुहुन्छ नि ?’ श्रीमतीको फ्रश्न थियो।

‘आज धेरै हिँडेँ।’ उसले जबाफ दियो।

‘बिहानै हिँड्नुहुन्छ। बेलुका हिँड़्नुहुन्छ।’ श्रीमतीको भनाइ थियो।

‘घरमा कति बस्नु, काम नै छैन।’ उसको भनाइ थियो।

‘कहाँ पुग्नुभयो त ?’ श्रीमतीको जिज्ञासा थियो।

‘पशुपति, गुज्जेश्वरी।’ उसले भन्यो।

‘भोक लागेको छ ?’ श्रीमतीको प्रश्न थियो।

‘छैन।’ उसले भन्यो।

‘डा. भास्करलाई हेर्न जानुपर्‍यो कि ?’ उसले भन्यो।

‘त्यहाँ घुम्न छोडेर उतै गएको भए हुन्थ्यो। अब त आइसक्नुभयो। ठीकै छ, जानू नि ! जुजुमान दाइ पनि त खुसी हुनुहुन्छ।’ श्रीमतीले भनिन्।

‘जुजुमान दाइलाई गाउँभन्दा सहर फापेजस्तो छ।’ उसले भन्यो।

‘धेरै कमाइसक्नुभयो कि क्या हो ?’ श्रीमतीको जिज्ञासा थियो।

‘मैले थाहा पाउँदा नै सात घर बेचेका छन्। घर किन्छन् सस्तोमा। केही दिन, केही महिना पर्खन्छन्। पर्याप्त आएपछि बेच्छन्। जानेका हुन्। पक्का व्यापारी।’ उसले भन्यो।

‘रिस गरेर हुँदैन। बुद्धि लगाउन जान्नुपर्छ।’ श्रीमतीले भनिन्।

‘आफूले गर्दा सचिव दलालीमा लागेछ भन्छन्।’ उसले भन्यो।

‘तस्करी गर्नु हुन्न। अरू काम गर्दा त के फरक पर्छ र !’ श्रीमती ले भनिन्।

‘म अब जीवनमा केही नगरी बस्ने।’ उसले भन्यो।

‘तपाईँको इच्छा। जाने भए छिटै जानू नि !’ श्रीमतीले भनिन्।

‘एक्लै जान अल्छी लागेर आयो।’ उसले भन्यो।

‘अब अहिले को साथी पाइन्छ र ?’ श्रीमतीको प्रश्न थियो।

‘भाइ अहिले आउँछ। उसलाई भन्छु।’ उसले भन्यो।

‘डा. भास्करको नाम कति चलेको। त्यस्तो मामुली घरको मान्छे। गाउँमै पढेको मान्छे। प्रतिभा भनेको बेग्लै कुरा रहेछ। हाम्रा छोराहरूलाई पनि डाक्टर हुन केले छेकेको थियो र? सचिवका छोरा भनेर नाक फुलाएमात्र मान्छे ठूलो हुने होइन रहेछ।’ श्रीमतीले दुखेसो पोखिन्।

‘अब उनीहरू पनि कम छैनन्। अमेरिकामा घरजम गरेर बसेका छन्। त्यसमा खुसी हुनुपर्छ।’ उसले भन्यो।

‘यो त एउटा सान्त्वना लिने कुरा भयो। डा. भास्कर भनेपछि यो देशमा सबले देउता मान्छन्। हाम्रा छोराहरूलाई कसले चिन्छ ? मुसाले समेत यो देशमा चिन्दैन।’ श्रीमतीले भनिन्।

तिनीहरू कहिल्यै नसकिने बहसमा अल्झेका थिए। उसले अवकाश पाएको धेरै भएको थियो। यस्तै ससाना घरेलु बहसमा समय कटाइरहेका थिए।

उसको भाइ आयो। आफैँले गरे हुने काम थियो यो। काम साधारण थियो। घरको कर तिर्ने काम। उसलाई जान मन लागेन। भाइले त्यसको कर तिरेर ल्याएको थियो। भाइ व्यस्त थियो। दाजुको कुरा उल्लङ्घन गरेन। भाइलाई डाक्टर भेट्न जाने प्रस्ताव राख्यो।

‘त्यसले कहिल्यै चिनेजस्तो गर्दैन। म जान्नँ।’ भाइले सोझै भन्यो।

भाइलाई जोड गर्ने कुरा थिएन। जुजुमान उसका नजिकका नाता थिए। दुवैजना घरबाट सँगै निस्किए। भाइ घरतिर लाग्यो। ऊ अस्पताल जान बसमा चढ्यो। अस्पतालको छेउमा ओर्लियो। काउन्टरमा सोधपुछ गर्‍यो। क्याबिनको सामुन्ने केही मान्छे बसिरहेका थिए। तिनीहरू गफ गरिरहेका थिए-

‘के यो संविधानमा होला ?’

‘मलाई त शङ्का नै लाग्छ।’

‘के वाइसीएल नै बाधा हो त ?’

‘तराई आन्दोलन पनि छ नि !’

‘यो देशलाई निश्चित कानुनी राजमा पुग्न कति गाह्रो भएको ?’

‘संसारको सामुन्नेमा शिर ठाडो गर्ने ठाउँ नै रहेन।’

तिनीहरू बहसमा अल्झेका थिए। कसैले पनि उसलाई ध्यान दिएन। कसैले पनि उसको वास्ता गरेन। यस्ता कुरा उसले होटलमा चिया खाने ठाउँमा सुन्ने गरेको थियो। पार्कमा पिकनिक गएका मान्छेहरू समूह बनाएर गफ गरिरहेका हुन्थे। ऊ भित्र क्याबिनमा गयो। डा. ओछ्यानमा पल्टेका थिए। उसले नमस्कार गर्‍यो। काइदाले डाक्टरले उसलाई नमस्कार गर्नुपर्थ्यो। नाताले ऊ सानुबाबु थियो।

‘जुजुमान दाइ ! नमस्कार !’ उसले भन्यो। ओछ्याननजिकको सोफामा जुजुमान बसेका थिए। जुजुमानसँगै सोफामा ऊ बस्यो।

‘कस्तो छ ?’ उसले डाक्टरलाई प्रश्न गर्‍यो।

‘भोलि थाहा हुन्छ।’ जुजुमानले जबाफ दिए।

‘के ठूलै चोट छ ?’ उसले डाक्टरलाई प्रश्न गर्‍यो।

‘ठूलै छ।’ जुजुमानले जबाफ दिए।

‘आजकल सडकले थाम्न नसक्ने मोटरहरू छन्।’ उसले भन्यो।

‘यो दुर्घटना कुन समयमा भएको हो ?’ उसले डाक्टरलाई प्रश्न गर्‍यो।

‘राति।’ डाक्टर बोल्यो।

श्रीमतीले हातमा फूलको गुच्छा लिएकी थिई। महँगो फूलको गुच्छा। श्रीमान् पछिपछि थियो। श्रीमतीले त्यो विशाल फूलको गुच्छा डाक्टरको शरीरमा छुवाई। लाग्दथ्यो, डाक्टरको शरीरको घाउ त्यो फूलको गुच्छामा सार्ने काम गरेकी छे। त्यो फूलको गुच्छा डाक्टरको सिरानीतलको भुइँमा राखी। त्यो पूलको गुच्छाले उसलाई धेरै कुरा बतायो।

‘मैले गल्ती गरेँ।’ उसको मनले भन्यो।

‘के मैले अपसोच मान्नुपर्ने गल्ती गरेकै हो ?’ उसको मनले भन्यो।

बसबाट ओर्लेपछि उसले सोचेको थियो – ‘फूलको गुच्छा त लिएर जानुपर्ला।’ फूलको पसल नजिक उभियो। फूलको किनबेच राम्रै भएको थियो। ‘फूल त औपचारिकता हो। म उसको सानुबाबु हुँ। बाबुले छोरालाई फूलको सौगात ? यो अलि कृत्रिम त देखिँदैन ? सबभन्दा ठूलो कुरा त भेटघाट हो। जुजुमान पुरानो मान्छे। जुजुमानसँग संस्कार छ। त्यो संस्कार त छोरामा सरेको हुनुपर्छ। नजिकको नाताले यति बढी औपचारिक हुनु ठीक होइन। मैले फूलको गुच्छा भेट गर्दा सानुबाबु हुने, भेट नगर्दा नहुने त होइन। फूल दिए पनि म सानुबाबु, फूल नदिए पनि म सानुबाबु।’ निष्कर्षमा पुग्यो, फूलको गुच्छा भेट गर्ने औपचारिकता पूरा गर्न आवश्यक छैन। यो निष्कर्षमा पगेर ऊ रित्तो हात नै क्याबिनमा प्रवेश गरेको थियो। अहिले ती महिला र त्यो पुरुष उभिएका थिए। तिनीहरूका लागि के उसले ठाउँ छोड्नुपर्ने हो ? जुजुमान उठ्नासाथ उठ्ने। जुजुमान उठेनन्। ऊ उठेन।

त्यो समय उसले सम्झियो। नवआगन्तुक दम्पतीसित ऊ परिचित छ। सचिव थियो। भोजभतेरमा गइरहनुपर्थ्यो। त्यस्ता ठूला भोजमा तिनका लोग्नेसँग भेट हुन्थ्यो। तिनका लोग्ने यो देशका प्रतिष्ठित डाक्टर। विशेष व्यक्तिले सम्झने। राजपरिवारका विशेष डाक्टर। नाम र दाम दुवै कमाएका।

‘उहाँलाई सञ्चो छैन। तर पनि तपाइँको दुर्घटनाको खबरले हामी दुवै मर्माहत भयौँ। श्रीमतीले भनिन्।

‘के भएको ?’ डा. भास्करको प्रश्न थियो।

‘उहाँको दाँत दुखेको छ। रातभर सुत्नुभएको छैन।’ श्रीमतीले भनिन्।

‘अनि यो दुर्घटना कसरी भयो ?’ दाँत दुखेका डाक्टरको प्रश्न थियो।

‘म आफ्नो कामबाट फर्केको थिएँ। बेलुका नौ बजेको थियो। त्यो मान्छे गलत दिशाबाट आएको थियो।’ डा. भास्करले लामो व्याख्या गरे।

‘तपाईँ प्रख्यात हुनुहुन्छ। तत्काल तपाईँलाई तिनीहरूले अस्पताल ल्याए। तपाईँहामीले कमाएको पुँजी भनेकै यही हो।’ ती डाक्टरले भने।

‘त्यो अभियुक्तलाई के भयो त ?’ महिलाले प्रश्न गरिन्।

‘मलाई थाहा छैन।’ डा. भास्करको जबाफ थियो।

‘कस्तो डरलाग्दो समय आयो !’ डाक्टरले भने।

‘तपाईँ आफैँले हाँकेको थियो ?’ महिलाको प्रश्न थियो।

‘हो ! म आफैँले हाँकेको थिएँ।’ डाक्टर भास्करको जबाफ थियो।

‘डा. भास्कर ! तपाईँजस्तो प्रतिभाशाली डाक्टरको यो देशलाई खाँचो छ। म त तपाईँलाई पाएर गर्वको अनुभव गर्छु।’ डाक्टरले भन्यो।

‘म त शरीरले दिएसम्म काम गर्छु। मेरो लक्ष त्यही छ।’ डा. भास्करले भने।

‘डा. भास्कर ! तपाईँ केही खान चाहनुहुन्छ ? म ल्याऊँ ?’ ती महिलाले भनिन्।

‘पर्दैन। धन्यवाद ! मेरो घरबाट आउँछ।’ डा. भास्करले भने।

दुवै विदा भए। मैले सोध्ने सबै प्रश्न ती नामी डाक्टरले सोधेका थिए। म छुटेका कुरा सोध्न सोचिरहेको थिएँ। डा. भास्कर ओछ्यानबाट उठ्न खोजे। जुजुमान सहयोगका लागि हतारिए। बाबुको सहयोग डाक्टरले लिएनन्। एक्लै बाथरुमतिर लागे।

बाहिर बरन्डामा बसेका मानिसहरू यथावत् नै थिए। तिनीहरूको वार्तालाप क्याबिनमा प्रस्ट सुनिन्थ्यो।

‘हिजो धेरै मान्छे भेट्न आए।’

‘प्रधानमन्त्री आएको धेरैले थाहा पाए। त्यसैले पनि मान्छेको चाप बढेको हो।’

‘प्रधानमन्त्री आउँदा म यही बरन्डामा थिएँ। डाक्टरसाहेबसँग भएको कुराकानी सब सुनियो।’

‘प्रधानमन्त्रीले के भने ?’

‘मलाई दुःख लाग्यो। तपाईँ यो देशको गहना हो। तपाईँले यो देशका मान्छेको जटिल उपचार गर्नुभएको छ। तपाईँ छिट्टै ठीक हुनोस् र हामीले सेवा पाउन सकौँ। यो देश तपाईँप्रति ऋणी छ।’ यो भनाइ प्रधानमन्त्रीको थियो।

‘प्रधानमन्त्री साँच्चै महान् हुन् !’

‘उनले भने, मैले केही सहयोग गर्नुपर्छ।’

‘कति समय बसे त प्रधानमन्त्री ?’

‘आधा घन्टा।’

‘डा. भास्कर बाथरुमबाट फर्किए। उनी आफ्नो ओछ्यानमा आएनन्। बरन्डामा गए। बरन्डामा भएको वार्तालाप बाथरुममै उनले सुनेका थिए। वार्तालापमा मिसिए।

‘राजाका सचिव पनि आए होइन ?’

‘हिजो आएका थिए।’ अर्कोले भन्यो।

‘कस्ता रहेछन् ?’

‘सारै भलाद्मी।’ अर्काको जबाफ थियो।

‘के कुरा भयो ?’ एउटाले प्रश्न गर्‍यो।

‘राजाको शुभकामना दिन आएको।’ अर्कोले भन्यो।

‘अरू केही ?’ एउटाले सोध्यो।

‘राजाको तर्फबाट सहयोग गर्न चाहन्थे। मैले स्वीकार गरिनँ।’ डा. भास्करले भने।

डा. भास्करलाई भेट्न आएका महत्त्वपूर्ण व्यक्तिहरूको बारेमा कुरा भैरहेको थियो। डा. भास्कर तिनीहरूसँग मिसिएर वार्तालापको आनन्द लिइरहेका थिए। उनकै वरिपरि कुरा घुमिरहेको थियो।

कुनै समय थियो। उनी सचिव थिए। उनको घरमा हुने उत्सवहरूमा मन्त्री, सचिव र समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति हुने गर्थ्यो। मन्त्रीहरू उनको इज्जत गर्थे। आफू आउन नसकेको अवस्थामा प्रतिनिधिको रूपमा उपस्थिति जनाउन आफ्नी छोरी पठाउँथे। उनको घरमा मन्त्रीको छोरीको सम्मान मन्त्रीकै सरह गरिन्थ्यो। सचिव पद सकियो। छोराहरू अमेरिका लागे। उहीँ नै विवाह गरे। त्यहीँकै नागरिकता लिए।

डाक्टर ओछ्यानमा फर्केका छैनन्। उनी अस्वस्थ छन्। साथीहरूसँग, ती आगन्तुकसँग वार्तामा संलग्न छन्। एउटी महिला त्यही समूहमा छिन्। तिनी डा. भास्करकी पत्‍नी हुन्। तिनी नेवारी चलन अनुसार उसलाई भाग्य गर्न आएकी छैनन्। तिनी लोग्नेको र ती आगन्तुकहरूको बीचमा छिन्। बेलाबखत तिनको आँखाले उनलाई हेरेका छन्। ती आँखाले के भनेका छन् ? जुजुमान र ऊमात्र सोफामा बसेका छन्। जुजुमान उठ्छन्। त्यही हूलमा जान्छन्। जुजुमान छोरालाई केही कुरा भन्छन्। डा. भास्कर टाउको हल्लाउँछन्। जुजुमान त्यहीँबाट बाहिरिन्छन्। अब ऊ सोफामा एक्लै छ। ऊसँग कुरा गर्ने मान्छे कोही छैन।

डा. भास्करलाई भेट्न एउटा मान्छे आएको छ। उसको हातमा फूल छ। डा. भास्कर बरन्डामाबाट ओछ्यानमा आएका छन्। डा. भास्करको विनम्रता त्यहाँ प्रदर्शन भएको उसले देख्‍ने मौका पाएको छ। ती आगन्तुक छिट्टै बाहिरिन्छन्। कुनै समय थियो यो देशका गण्यमान्य व्यक्ति उसबाट अपरिचित कोही पनि थिएनन्। अब परिचित व्यक्ति कम भैसकेका छन्। मान्छेहरूले उसलाई बिर्सिसकेका छन्। डा. भास्कर त्यो व्यक्तिको बहिर्गमनपछि पुनः बरन्डामा पुगेका छन्।

ऊ जुजुमानलाई पर्खेर बसेको छ। बरन्डामा जाँदैन। जाने आँट आउँदैन। जुजुमानसँग विदा नभै कसरी जाने ? शिष्टाचारवश ऊ बसिरहेको छ। बीस मिनेट बितिसकेको छ। उसलाई उकुसमुकुस भएको छ। कोठामा पङ्खा चलिरहेको छ। यस्तो पनि भएको छ।

आत्मसम्मान। यो शब्द उसको मनमा उब्जियो। यो शब्द उसको मनमा एक्कासि उब्जिएको थियो। यो शब्दले उसलाई खेलाउन थाल्यो। यो शब्दले उसलाई भकुन्डो बनायो। स्वाभिमान, मान, अपमान, तिरस्कार आदिले उसलाई हिर्काउन थाले। उसलाई चारैतिरबाट लात्तले हान्न थाले। भकुन्डोमा ऊ परिणत भैसकेको थियो। चारैतिरबाट लातहरू बर्सिरहेका छन्। ती लातहरूबाट चोटले ऊ घाइते भएको छ। अस्पतालमा बिरामी हेर्न आएको मान्छे अस्पतालको ओछ्यानमा पुर्‍याउनुपर्ने अवस्थामा पुगेको छ।

जुजुमान आएका छैनन्। धैर्यले साथ छोडेको छ। उसलाई उसलाई सन्तुलन मिलाउन गाह्रो परिरहेको छ। यो के भएको ? यहाँ यसरी बसिरहनु अस्वाभाविक देख्‍न थालेको छ। उसले टेकेको भूमि पर हटेको छ। तालहरू बर्सिरहेका छन्। उसले देखेको आकाश, आकाश रहेन। के भएको यो ?

उसको खल्तीमा मोबाइल छ। घन्टी बजिरहेको छ। ऊ बाहिर गएको बखत श्रीमतीको फोन गर्ने बानी छ। तिनलाई चिन्ता छ, बूढो मान्छे, जुलुसको बीचमा परेर प्रहरीको लाठीबाट घाइते त भएनन् ! कतै बूढालाई कसैले अपहरण गरे ? ड्रग एडिक्टले पिटेर जङ्गलमा फालेका छन् कि ?

ऊ मोबाइलको स्वीच बन्द गर्छ। जुरुक्क उठ्छ। क्याबिनबाट बाहिरिन्छ। ऊ कसैसँग बिदा माग्ने आवश्यकता देख्तैन। तपाईँ जान लाग्नुभयो, कसैले उसलाई भन्दैन। अघि पैसा बचाउन ऊ सार्वजानिक यातायातबाट आएको थियो। अहिले ऊ लात खाएर घाइते बएको छ। ट्याक्सी चढ्छ।

‘धेरै ढिलो गर्नुभयो। म त आत्तिएकी।’ श्रीमतीको प्रश्न छ।

‘तिमी मप्रति अनावश्यक चिन्ता लिन्छ्यौ।’ उसले भन्यो।

‘चिने ?’ तिनको प्रश्न छ।

‘थाहा छैन।’ ऊ भन्छ।

‘त्यस्तो पनि हुन्छ ?’ श्रीमतीको प्रश्न छ।

‘त्यस्तै भयो।’ ऊ भन्छ।

‘एउटा कर्तव्य पूरा गर्‍यौँ। अरू कुरा गौण छन्।’ श्रीमतीले भन्छिन्।

ऊ मैदानमा नै थियो। भकुन्डोबाट मान्छे भैसकेको थिएन। खेल चलिरहेको थियो। दर्शकविनाको खेल। जितविनाको खेल। हारको खेल। श्रीमतीलाई यो खेलको दर्शक बनाउन सकिन्छ ? प्रश्न अनुत्तरित थियो।

(स्रोत : गरिमा पूर्णाङ्क ३००)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *