व्यङ्ग्य निबन्ध : जुँगा

~हृदयचन्द्रसिँह प्रधान~

मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देखेर मलाई लोभ भएको थियो । अर्को कुरा ईष्र्याको कारण पनि मैले जुँगालाई चाहेको थिएँ । मेरो पिताज्यू मलाई ज्यादै प्रेम गर्नुहुन्थ्यो । उस बेला उहाँको काखमा म एक्लै थिएँ, त्यसैले पनि उहाँको हृदयमा भएभरको रस म एक्लैमा मात्र पोखिन्थ्यो । फुर्सद पायो कि उहाँ मेरा दुवै गालामा म्वाइँमात्र खाइरहनुहुन्थ्यो, यो पनि मनभरी–भरी । उहाँको म्वाइँ मलाई मीठो त खूब लाग्थ्यो, तर उहाँको मुठे जुँगाले साथसाथै घोच्ने पनि भएको हुनाले उहाँको म्वाइँदेखि म अलि तर्सन्थे पनि ।

मेरा पिताज्यूका जुँगाबाट बराबर घोचाइ खाइरहन परेकाले मेरा पिताज्यूलाई पनि बराबर म्वाइँ खाएर जुँगाले घोच्याउनलाई म जुँगाको कामना गरेर ईष्र्या गरिरहन्थेँ ।

मानिसहरू पनि गजबका जीव छन्, सितिमिति जेकुरा पनि नपत्याउने । अरूअरूका कुरा नपत्याए पनि खाँचैसिति भनुँला, तर मेरो यो कुरा नपत्याउने मानिसहरूदेखि त रिस पनि उठेछ । मेरो रिसले कसैलाई पनि केही ननाप्ने भएको हुनाले कहिलेकाहीँ मलाई बहुला हुन मन लागेर आउँछ । मेरो सुर छ बहुला हुन आए पनि म बहुलाही हुरी उठेको बेला मेरो यो कुरा नपत्याउने मानिसहरूलाई हुत्याएर पठाइदिऊँ ।

मेरो कुराको विरोधमा मानिसहरूको वकालत छ कि पहिले बामे सरिरहेको बेला पनि सोच्न र सम्झनै सकिँदैन, अर्को कुरा सोच्न सम्झन त्यसबेला सके पनि अहिले भन्न सकिँदैन । भर्सेला परोस् यस्तो वकालत । मेरो जोरदार जिद्दी छ, स्मरणशक्ति खूब तीखो हुनुपर्छ, यो कुरामा केही पनि असम्भवता छैन । मैले एकचोटि सुनेको थिएँ, सुनेको मात्र होइन, विश्वस्त सूत्रबाट थाहा पाएको कुरा । श्री नायब बडागुरुज्यू हेमराज पण्डितज्यू, उपनाम श्री माहिला गुरुज्यूलाई आफ्नो पास्नीमा निमन्त्रितहरूले भात ख्वाएको कुरा राम्रै थाहा थियो रे । नेपालका प्रसिद्ध कवि र नाटककार श्री मे. क. बालकृष्णशमशेर जङ्गबहादुर राणालाई पनि, त्यस अवस्थामा, जब कि बोल्नै सकिन्नथ्यो, आफ्नी धाईले आफ्नो शरीरमा दुखाईदिएको कुरा राम्रै याद रहेछ । यो कुरा श्री बालकृष्ण कविजीकै मुखबाट सुनेको थिएँ ।

आ… विनासित्तिकै टन्टा । कोही पत्याए पत्याऊन्, नपत्याए नपत्याउन्, खास कुरा हो बामे सर्न लागेदेखि नै म आफ्नो ओठमाथि जुँगा भएको चाहन्थेँ । ८,९ वर्ष भएदेखि त म जुँगालाई झन् चाहने भएँ । त्यसबेला मैले जुँगालाई खूब चाहेको कारण पनि यो हो कि जति बढ्ता ओठमाथि मुठे जुँगा हुन्छ, उति बढ्ता उसकी स्वास्नी ऊदेखि डराउँछे र दासी हुन्छे रे । धेरै जनाका मुखबाट मैले यो कुरा सुनेको थिएँ । अर्को कुरा जुँगाबाट यो पनि फाइदा हुन्छ रे जुँगे देखेर जो पनि डराउँछन् ।

स्वास्नीलाई दासी गराएर डराउने गराइराख्न र जसलाई पनि आफूदेखि डराउने गराउन मलाई केटाकेटीदेखी नै खूब सोख थियो । त्यस बेला मेरो यो पनि विचार थियो कि संसारमा मोज मार्नलाई भयङ्करै हुनुपर्छ, भयङकरताको आफूमा हतियार भएपछि पलेँटी मारीमारीकन राम्रो र मीठाको भोगी हुन पाइन्छ । केटाकेटीदेखि नै मेरो जोरदार भावना थियो, सिन्को पनि नउठाईकन अरूलाई पहाड बोकाएर सुख लिने, त्यो पहाड बोक्ने चाहे स्वास्नी नै होस् चाहे अरू । यो मेरो इच्छालाई टोसाउने हातहतियारमा जुँगालाई मैंले एउटा ठूलो प्राकृतिक हतियार सम्झेको थिएँ । स्वास्नीमानिसको जुँगा नभईकन लोग्नेमानिसको मात्र जुँगा हुनाको कारण पनि मैले यही सम्झेको थिएँ कि स्वास्नीमानिसमाथि निरङ्कुश शासन गर्ने, स्वास्नीमानिसबाट जे पनि सेवा लिने लोग्नेमानिसको सरासर हक छ । यही अधिकारको एकमात्र प्रमाण हो जुँगा । त्यसैले पनि मलाई चाँडै नै १६/१७ वर्षको उमेरमा पुग्ने रहर खूब भइरहेको थियो । मेरो ओठमाथि जुँगाको रेखा आएपछि साह्रै मान पाउँला भन्ने मेरो ठूलो कल्पना थियो ।

आफ्नो ओठबाट जुँगाको रेखा पाउनलाई म दिनदिनै ऐना हेर्थे । औताउँदा–औताउँदा १८ वर्षको अवस्थामा बल्ल जुँगाको रेखा देखा पर्न थाल्यो । जुँगाको रेखा निस्केदेखि कति दिनसम्म त म रङ्ग न ढङ्गसँग त्यसै त्यसै बुर्लुक्क उफ्रेर हिँड्थेँ । चाँडै नै मुठे जुँगा तुल्याउनलाई म नाना रङ्गका तेल र औषधी लगाएर हिँड्थेँ । जोसँग पनि त्यसको चर्चा गरी उपाय ढुँढ्नमा नै मेरो दिन बित्दथ्यो ।

मेरो कोसिस पुृगेअनुसार मेरो ओठमाथि जुँगा पनि बक्लिँदै आयो । अनि मेरो फुर्ती पनि दिनदिनै खँदिलो हुँदै आयो । दिनदिनै भड्किलो हुँदै आइरहेको मेरो धाक–रवाफले पनि जहाँजहीँ पस्न र घस्न सुर गर्न थाल्यो । मेरो जुँगा मुठिँदै आएदेखि मेरो बडप्पन पनि उत्ताउलो हुँदै आयो । मेरो देब्रे हात सधैँ जुँगामा ताउ दिन पुगिरहन्थ्यो । जुँगाले देब्रे हातको ताउ पायो कि संसारलाई त्यसै डढाइहाल्लाजस्तो ममा आँच आउँथ्यो । त्यस बेला म आफूलाई सबभन्दा ठूलो सम्झन्थेँ ।

मेरो जुँगा देखेर धेरैजसो मानिस म देखि डराउँथे पनि । मेरो मातहतका मानिसहरू त मैले जुँगामा ताउ दिई आँखा तरेर हेरेपछि थुर–थुर काँप्थे । जुँगामा ताउ दिइरहँदा र जुँगा मुसारिरहँदा अनुहारमा बडप्पनको र रिसाएका्े जस्तो भाव आउँदो रहेछ कि कुन्नि । म भने सधैँ जुँगामा ताउ दिइरहन्थेँ, उठ्दा, बस्दा, पल्टँदा सधैँ जुँगा मुसारिरहन्थेँ । मेरी स्वास्नी, भाइबहिनीहरू अनि मेरा भरपर्ने मानिसहरू सधैँ डराइरहने कारण पनि त्यही हो कि स्याबासी पाउने रामै्र कुरा पनि उनीहरू मसँग गर्न डराउँथे ।

जुँगाको कारण मदेखि डराएको साथसाथै जुँगैको कारण मलाई देख्यो कि मलाई छलीछलीकन मानिसहरू प्रायः हाँस्थे पनि । एक दिन एउटा कुरामा म साह्रै खुसी भइरहेको मौका छोपी डराइ–डराईकन मेरी स्वास्नी ले भनी – तपाईंलाई जुँगा साहै्र सुहाउँदैन । कति लामो जुँगा बढाईराख्नु भएको ! खौरिदिनुभए पनि त हुन्छ । आजकल चलन पनि भइसकेकै छ । हर्षमा डुविरहेको बेला भएको हुनाले उसको कुरा सुनेर म एकचोटी मुसुक्क हाँसे । म मुसुक्क हाँसिदिएकोले उसलाई गजब पनि लाग्यो होला । उसले सम्झेकी थिई होली, जुँगामा ताउ दिएर म रिसाउँला, किनभने उसको चेहरामा डरको भाव स्पष्टै देखिएको थियो अनि मैले हाँस्दै भनेँ–‘मर्दले पनि जुँगा खौरन्छ ? यो त मर्दको सौभाग्य हो । तिमीलाई जुँगाको सोख भएर पनि पाइन्छ ? मर्दले जुँगा नराख्नु त नामर्दीपन हो ।’

वास्तवमा स्वास्नीलाई जुँगा मर्दानापनको चिहन हो भन्ने जवफ दिएर उसको मुख टाल्न सकेर पनि उसको त्यो कुरा सुनेदेखि आफ्नो जुँगा देखेर मलाई केही खट्का नै हाल्यो । मैले बराबर ऐना हेर्न थालें । साँच्ची नै मलाई जुँगा साह्रै नसुहाउने रहेछ । मेरो पुड्को र डल्ले शरीरमा त्यो लामो मुठे जुँगाले साह्रै नै अस्वाभाविकताको प्रदर्शन गरिरहेको थियो । आफूभन्दा पनि जुँगा लामो भन्ने मलाई डर भएर आयो । अर्को कुरा, मेरो जुँगा पञ्चरङ्गी थिए । कुनै सिङ्गै कालो, मुनै आधा कालो, कुनै आधा खैरो, कुनै सिङ्गै खैरो, कुनै कस्तो, कुनै कस्तो भएर टाटेपाटे थिए । मैले विचार गरेँ, यस्तै जुँगा पालि नै रहे दुनियाँको अगाडि म एउटा बहुला भएर केटाकेटीहरूको निम्ति प्रदर्शनी हुन आउँला ।

बस्, त्यस बेलादेखि मलाइए जुँगा मन परेन । तर एउटा कुराले फेरि फसादै पा¥यो, बाबुआमाको अनन्य भक्त थिएँ र छु, यसैले “बाबु–आमा हनेले जुँगा खौरन हुन्न” भन्ने कुरामा मलाई पनि श्रद्धा छ । अब सोख र श्रद्धाको द्वन्द्वले मलाई दिन दिनै आपत खेलाउन थाल्यो । जुँगा मलाई यति मन मलागेर आयो कि तुरुन्तै उखेलेर पठाउन मन लाग्यो । जुँगाको बारेमा मैले खुब बिचार–विमर्श गरें । शास्त्रीय अध्ययन गरें, वैज्ञानिक र मनोवैज्ञानिक विचार गरें । तर जुँगामा मैले त्यतिको महत्व देखिँन । जुँगा आमा–बाबुप्रतिको भक्तिको निशाना हो भन्ने कुरामा पनि मैले अन्धविश्वास देख्न थालेँ ।

एक दिन ठूलो भक्ति र शिष्टतासाथ विनीत भएर आमा–बाबुछेउ मैले बिन्ती गरेँ – “मेरो जुँगा साह्रै नसुहाउँदोसँग बढेर लामो भईसकेको छ, फेरि नाना रङ्को भएर टाटेपाटे पनि छ, आजकाल सबै जुँगा खौरन्छन् पनि, म पनि खौरन सक्छु ?” वात्सल्य भावमा मेरो पिताज्यूले भन्नुभयो –“म तिम्रो मुख होइन, हृदय चाहन्छु । तिम्रो हृदयमा भक्ति छ भने तिम्रो मुखको बाजा चाहिंदैन । लामो–लामो जुँगा पालि पितृभक्तिको विज्ञापन गरेर भित्र भित्रै लात हान्ने छोरा–छोरा होइन, यसकारण म तिम्रो जुँगामा लट्केर होइन, तिम्रो हृदयमा बस्न चाहन्छु ।”

मेरो पनि पिताज्यूको भनाइमा मैले ठूलो सत्यता देखेँ । मैले ठानेको थिइनँ, उहाँजस्ता पुराना युगका मानिसले पनि यस्तो आधुनिक भावको विचार गर्नुहोला । पेटको कीराि मारिदिनुहोला भन्ने मलाई डर भएको थियो । अरू के चाहियो ? लालमोहर मैले पाइहालेँ । हर्षले उफ्रेर मैले तुरुन्तै जुँगालाई सफाचट गरिहालेँ ।

जुँगालाई उडाईसकेपछि आफूलाई मैले अर्कै देखेँ । अनुहारमा पनि अर्कै भाव परिणत भएको देखेँ । मानो भूतबाट द्यौता भएको जसतो आफूलाई ठानेँ मैले– त्यसरी मेरो मुख शान्त र सुन्दर देखियो । अनि मैले खूब ऐना हेर्न थालेँ । दिनदिनै ऐना हेर्ने बानी बढ्दै गयो । मलाई बडो गजब लाग्यो, जुँगा नराखेदेखि दिनदिनै जसो बढ्ता मात्रामा मेरो चहेरामा शान्त भाव र विचारको रेखा अङ्कित हुन लागेको देखे अनि मेरो हृदय पनि नम्रता र शान्तितिर विशेष झुक्दै जान लागेको देखेँ । मेरो जुँगा नभएको चेहरा देखेर अघि मदेखि डराउने र थुरथुर काम्ने मेरो तालुकका मानिसहरू पनि सोझो कुरा गर्ने र सल्लाह दिन नडराउने भएर आए । जुँगालाई खौरेर मैले गजबको शान्तिमय परिवर्तन पाएँ । आफ्नो प्रकृति र प्रवृत्ति शान्तिमय बातावरणमा झुक्न लागेकोले जग र जीवन मलाई झन्–झन् सुन्दर लाग्दै आयो ।

मैले दिनदिनै जुँगा खौरन थाले । शौच–स्नानलाई जस्तै मैले जुँगा खौरनु पनि सफाइसम्बन्धी दिनचर्यामध्ये एउटा मुख्य ठान्न लागे । उठ्नासाथै पहिलो कर्तब्य जुँगा खौरनु नै ठानेँ । उठ्नासाथै खौरने गरेर मेरो प्रवृत्ति शान्तितिर झुकेको कारण मैले यो पनि पत्ता लाएँ कि उठ्नासाथै मैले पहिले आफ्नै अनुहार दर्शन गर्ने अवसर पाएँ । त्यसबाट यो फाइदा भयो कि मैले आफ्नो चेहरामा प्रसन्नता, शिष्टता, शान्तिमयता र नम्रताको भाव देख्न चाहन थालेँ, कहिलेकाहीं यिनैको विपरीत भाव देखा परेपछि सर्माउन र पछुताउन परेर पनि मैने शील र सौन्दर्यको जगत्मा जान पाइरहेँ । जुँगालाई पालिराख्ने गर्दाखेरि ऐना हेर्ने अवसर कम भएकाले पनि शील र सौन्दर्यको जगत्बाट टाढा भइरहेको हुँला । वास्तवका जुँगा खौरने गरेकोले ऐना हेर्ने अवसर पनि मैले ज्यादा पाएकाले मलाई बडो हर्ष लागिरहेछ, मैले पत्ता लगाएँ कि ऐना हेर्ने गर्नाले हाम्रो हृदय भित्रका ‘कु’ र ‘सु’ भाव अनुहारमा प्रतिविम्वित हुने हुनाले ‘कु’ भावदेखि सर्माएर ‘सु’ भावको झुकानमा हाम्रो चेष्टा जाँदो रहेछ ।

‘जुँगामा ताउ लाउँदा फुर्ती आउँछ, विचार बढ्दछ’ भन्ने कुरा पनि यथार्थमा सत्य नै भन्न सकिँदैन । तमाखु खानेहरू पनि तमाखुको महिमा त्यस्तै गाउँछन् । वास्तवमा त्यो एउटा बानीसिवाय केही पनि होइन । आँखा चिम्लँदा मलाई फुर्ती आउँछ, विचार बढ्दछ । मेरो यो आफ्नो बानीलाई लिएर कोही आँखा चिम्लेर हिँडिदियो भने उसले लौट्ने मात्र काम गर्नु हो ।

कोहीकोही भन्दछन्, जुँगा खौरनु स्वास्नीमानिस बन्नु हो, नामर्द बन्नु हो, जोइटिङ्ग्रे बन्नु हो । मलाई बडो गजब लाग्यो, स्वास्नीमानिसलाई किन त्यस्तो हेय सम्झेका होलान्, शील र सौन्दर्य स्वास्नीमानिसका मैले प्रशस्त देखिरहेको छु । उनीहरूको स्वभावमा जति शिष्टता, भद्रता, विनय, सुशीलता र अहिंसात्मकता छ, उनीहरूको व्यवहरमा जति शान्तिमया वातावरण छ तथा सरलता छ, त्यति गुण लोग्नेमानिसहरूका स्वभाव र व्यवहारमा छैन । हामी वास्तवमा सुख चाहन्छौँ, शान्ति चाहन्छौँ, आनन्द चाहन्छौँ । यसैको वातावरण हो, वास्तवमा मानवता पनि । हाम्रो व्यवहार हाम्रो वातावरण शान्तिमया भए हामीलाई तरबार बन्दुक तोप बमहरू नभए पनि हुन्छ । हामी शान्तिस्थापनाको निम्ति तरबारलाई लिएर अशान्तिलाइए आह्वान गरिरहन्छौँ । तर हामी यसलाई भूल भन्न चाहन्नौँ । हाम्रो शीलमा सौन्दर्य भए, हाम्रो बोलीमा मिठास भए, हाम्रो व्यवहारमा विनय भए पाइला–पाइलामा हामीले स्वर्ग कुल्चन पाउँछौँ, जीवनका क्षणक्षणमा हामीले सम्बन्धी र परिचित मानिसहरूका हृदय–स्रोतले आनन्दित हुन पाउँछौँ । यी गुणहरू हामीमा भन्दा विशेषमात्रामा स्वास्नीमानिसहरूमा छन् । यदि हामी सम्प्रदायी नभईकन गुणग्राही छौँ भने गुणको निम्ति हामीले स्वास्नीमानिसका मात्र के पशुपक्षीहरूको ‘पन’ को पनि अनुकरण गर्नुपर्छ ।

वास्तवका जुँगा, धाक र फूर्ती बढाउने नै साधन रहेछ । स्वास्नीमानिसमा जुँगा नभएकोले नै अर्कालाई दबाउने र होच्याउने धाक र फुर्ती पनि नभएको होला । पशुपक्षीमा पनि प्रायः जुँगे भलो जात मापाका र भयङ्कर नै हुँदा रहेछन् । लोग्नेमानिसहरू पनि जुँगा नउम्रुन्जेल उनको स्वभाव शान्त र सुन्दर छ । जसै ओठमाथि जुँगाको रेखा निस्कन थाल्छ, उच्छृङखलताको पनि उपमा विस्तारै उदय हुन हाल्छ । किंवदन्ती छ– आइमाई पनि जुँगा भएका हुन्छन् रे । ती आइमाई कर्कशा पनि हुन्छन् रे । देवताहरूमा नि जुँगा नभएका शान्त प्रकृतिका छन्, जुँगा हुने रिसाहा र भयङ्कर, विष्णु, नारायण, राम, कृष्ण बुद्ध आदि जुँगा नभएकोले होला शान्त प्रकृतिका छन्, सृष्टिको संरक्षण र सौन्दर्य उनीहरू खूब चाहन्छन् । जुँगे भएकाले होला महादेवजी रिसाहा छन्, संहार उनको स्वभाव छ ।

साँच्ची भनूँ भने जुँगा नभएको अनुहार, सुन्दर, सुकुमार, सुशील र नम्र देखिन्छ । सङ्घर्षको विरक्तिले पनि मानिसहरू शान्तिको छहारी ढुँढ्न थाल्छन् । युगानयुगको संस्कार भएर संघर्षको छूत रोगले मानिसहरूलाई पिछा गरिरहेको छ तापनि मानिसहरू संरक्षणको उपाय सुझाउन जान्ने भइरहेका छन् । स्वास्नीमानिसमा सङ्घर्षप्रवृत्ति कम भएर शील–वृत्ति बढेको उदाहरण लिएर नै आजकल लोग्नेमानिसहरूले जुँगा–दाही्र खौरेर स्वास्नीमानिसको अनुकरण गर्न खोजेका होलान् । हामी युरोपियनजस्ता संहारकारी बैज्ञानिक भई मनोवृत्ति बिग्रन नपाइरहेको हुनाले हामीले जुँगा खौरेर स्वास्नीमानिसपनको अनुकरण गरे अनुसार हामीले उनीहरूको जस्तो राम्रो शील चाँडै पाउँलाऊँ पनि । मेरो विचारमा लोग्नेमानिसहरूले जुँगा खौरने चलन गरेको मानवताको परिमापमा पुग्नलाई सभ्यताले मौन आदेश दिएकोहोला ।

मर्दानाको अर्थ अवश्य यो होइन, कसैलाई दबाउन र गिराउनलाई धाक–फुर्ती गर्नु । यदि मर्दानाको अर्थ यही हो भने मलाई त यस्तो मर्दानापनदेखि घृणा छ । जुँगा यही अर्थको प्रेरक छ भने म सम्झन्छु लोग्नेमानिस हुनु अभिशाप हो । यदि पुरुषत्वका अर्थ आत्माभिमान, स्वाभिमान, गौरब इत्यादि हुन् भने स्त्रीत्व पुरुषत्वभन्दा कत्ति कम मूलयको छैन । यथार्थमा स्त्रीत्वको अर्थ पनि त्यही हो ।

जुँगा खौरेपछि जोइटिङ्ग्रे हुने भए सहर्ष स्वागत गरेर जोइटिङ्ग्रे हुनु धेरै बेस छ, किनभने स्वास्नीलाई कुकुर सम्झेर दिनदिनै लात दिइरहनुभन्दा सुखमय जीवनको नीतिसमान भावको अर्थ राख्ने जोइटिङ्ग्रे हुनु धेरै बेस छ । व्यवहारमा प्रायः जोइले पोइटिङ्ग्रे हुनाको आदर्श राख्न खोजेपछि पोइले पनि जोइटिङ्ग्रेको आदर्श राख्न खोज्नु शिष्टता नै हो ।

मैले एउटा दन्त्यकथा सुनको थिएँ, कहाँसम्म सत्य हो, म भन्न सक्तिनँ । उहिले–उहिले चोरी, डकैती, बदमासी इत्यादि कुभावना हुने लोग्ने मानिसहरूको जुँगा हुँदैन रे, त्यसैले लोग्नेमानिसहरूले जुँगालाई गौरव मानेर आएका हुन् रे ।

वास्तवमा मलाई जुँगा फुहड लागेकाले पनि मन पर्दैन । सास लिनुपर्ने मुखैनिर भएको र धूलोकसिङ्गर इत्यादि फुहड लागिरहने भएकोले पनि मलाई घिन लाग्छ ।

कसै–कसैको भनाई छ जुँगा नाकको पाले हो । त्यसैले नाकमा धूलो जान दिँदैन । यस्तो कुरा गर्नु त हामीले ईश्वरलाई अन्यायी वा पक्षपाती सम्झेर पाप गर्नु हो, किनभने स्वास्नी मानिसहरूको त कहिल्यै पनि जुँगा हुँदैन, के उसको नाकलाई मात्र पाले चाहिँदैन । के उसले मात्र नाकबाट धूलो जान बचाएर स्वस्थ हुन र बाँच्न पर्दैैन । लोग्नेमानिसको पनि त जन्मैदेखि जुँगा हुने होइन । नाकको पाले हुनलायकको जुँगा हुनलाई घटी नै १५ वर्ष पुग्नुपर्छ, त्यतिन्जेल नाकबाट धूलो गएर लोग्नेमानिस पनि सँधै बिरामी भइरहनुपर्ने हो । मेरो विचारमा त जुँगा अरू केही पनि होइन हाम्रो बुढ्याइँको चिह्न मात्र हो । जति बढ्ता उमेर हाम्रो बूढो अर्थात् पुरानो हुन्छ, उत्ति नै हाम्रो जुँगा पनि लामो भएर मुट्ठा पर्छ । मुठे जुँगा देखिनाले बुढ्याइँलाई देखेर हामीले मृत्यु नजिक आइरहेको देख्छौँ । यसैले म त बूढापाको चिह्न जुँगालाई सफाचट गरेर जवानीलाई आह्वान गरेर दीर्घायु गराउने योग र साधन सम्झन्छु ।

(स्रोत : ‘जुँगा’ निबन्धसङ्ग्रहबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *