कथा : मुखुण्डो

~सन्तोष चिमरिया~santosh-chimoriya

काठमाडौ मेरा निम्ति पुनः एक पटक नयाँ शहर भएको छ । शहरसंग अभ्यस्त नभई मलाई निन्द्रा पर्दैन । घडीले १:२० हान्यो तर निन्द्रा टाढा सम्म छैन । मन अति सक्रिय ,चंचल र अतितमुखी भएको छ । आफ्ना चारै भाइ मरेपछि युधिस्ठिरलाई सोधिएका यक्षका प्रश्नहरु मध्ये  एउटा मनको द्रुतता र चंचलतासंग संबंधित छ । संसारमा सबैभन्दा तीब्र के छ भनेर यक्षको प्रश्नमा युधिष्ठिरले मन भनेका छ्न । यसरी सबै प्रश्नको ठिक ठिक उत्तर दिएर युधिश्ठिरले आफ्ना चारै भाईलाई यमलोकबाट फिर्ता पनि ल्याएका छ्न । तर यहाँ प्रसंग पांण्डप र यक्षको हैन मनको हो । क्षणभरमा हजारौं पात्र खडा गर्न सक्ने मन । ती माथी परिकल्पित कथाहरू थोपर्न सक्ने मन । आफू अनुकुल तिनको आत्माकथा र चरीत्र चित्रण नै बदल्न सक्ने मन । कुनै पनि परिभाषा र ब्याख्याहरुले समेट्न नसकिने मन ।

मन………….

मनका निम्ति समय र भूगोलको अस्तित्व नै छैन । नैतिकता र मर्यादाका  पर्खालहरु छैनन् । मनलाई लाज लाग्दैन बडो निर्लज्ज छ यो मन । पाप र पुन्यको हिसाबबाट पर सधैं र सधैब निर्वाण अबस्थामा छ मन । न समाजका न कानुनका आंखाहरुले यसलाई चिहाउन सक्छ्न । न यसको कुनैपनी अपराधमा कुनैपनि अदालतले दोषी ठहर गर्न सक्छ । आकाशको बिशालताले कैद गर्न नसक्ने मन कति स्वच्छन्द र स्वतन्त्र छ । तर त्यही मनको मालिक शरीर कति निरीह र तुच्छ छ ।
शरीर आफ्ना हजारौं अतृप्त रहरहरु सुटुक्क मनलाई भन्छ । अनि मन शरीरका निम्ति शिकारमा निस्किन्छ । मन जस्तो मिल्ने साथी र आज्ञाकारी नोकर संसारमा अर्को भेटिदैन ।
अनि त्यही मनले सिकार गरेर ल्याईदिएको सिकार खादै शरीर क्षणिक र भ्रामक सन्तुष्टिमा मुख मिठ्याउछ ।

गए रात स्वपनादोषले स्खलीत भएको त्यो किशोरको मनले कस्तो कस्तो सिकार गर्यो होला ! कस्ले परिकल्पना गर्न सक्छ त्यो दुब्लो पातलो किशोर मनले बयस्क भइ सकेको छ । त्यो जति लजालु र सोझो देखिन्छ , त्यसको मन उतिनै निर्लज्ज र उत्ताउलो छ । मान्छेहरुले त्यसका आँखामा देख्ने गरेको लाज र संकोच सब झुठो हो । अभिनय गर्छ वास्तविक जिबनमा किशोर । त्यसको मनको संसार चिहाएर हेर्न सक्ने हो भने उ यो समाजको निम्ति एउटा खतरा हो । असुरक्षा हो । आफ्नो नोकर मनको साहरा लिएर त्यसले कतिका बन्द कोठा चिहाएको छ । कतिलाई बलात्कार गरेको छ । कतिलाई सुटुक्क लिएर दुईचार दिन हनिमुनमा हिडेको छ । कतिलाई मारेको छ र उसकी बिधुवासंग राशलिला रचाएको छ ।

कसलाई के थाहा ! उसलाई सरिता मिस छेउमा आउँदा उनले छोडेको सुगन्ध  कति मन पर्थ्यो भनेर । स्वयं सरिता मिसले पनि कहिले थाहा पाईनन । तर के वास्तवम सरिता मिस सुगन्ध छोड्थिन त ? जिबनका थुप्रै रहस्यमय पर्दाहरु छिचोलेर सत्यको नजिक पुगेको उ अब आफ्ना अनुभवहरु साक्षी राखेर सजिलै भन्न सक्छ ।  अहं मिसले सुगन्ध छोड्दिन थिईन । बस उसको मनको नाक मात्रै सुँघ्ने सामर्थ्य राख्थ्यो । जब सरिता मिस सुगन्ध छर्दै उसको नजिक आई पुग्थिन शरीर र चर्मचक्षु कक्षा कोठा मै रहेपनी उसको मन सरिता मिसलाई लिएर अघि नै अज्ञात स्थलतिर गई सकेको हुन्थ्यो । उ मिसलाई नङ्याउथ्यो । उनलाई रहर पुगिन्जेल हेर्थ्यो । सबैतिर र सबै कोणहरुबाट हेर्थ्यो । मिस उसको मनकी शिकार थिईन । कुनै प्रश्न र प्रतिरोध बिना उसको रहर र जिज्ञासाहरु सान्त पार्दिन्थिन । उसको इसारामा बस्थिन । सुति दिन्थिन । एउटा तिघ्रामाथी अर्को चडाएर उसको कौतुहलतालाई अरु तिब्रसंग उद्गेलित बनाई दिन्थिन । आफ्ना ठुला बक्षस्थल उसको अनुहार भरी दलि दिन्थिन । अनि उ निर्लज्ज तिनलाई गिजोली रहन्थ्यो ।

             मन हो । मनलाई सबैथोक गर्न छुट छ । सबैका मनलाई सबथोक माफ छ । त्यसैले किशोर एक्लो अपराधी हैन । एकल चरीत्रहिन हैन । एक्लो ,अनौठो, बिशेश र बिचित्रको त हुँदै हैन । उ मन हुनेहरूको प्रतिनिधि पात्र मात्रै हो । यदी मनको अपराधमा दण्डित हुनु पर्ने भएको भए उसलाई दण्डित गर्ने एक्लो महापुरुष धर्तीमा उपलब्ध थिएन । सबै न्यायाधीशहरु स्वयं  सजायबाट बच्ने थिएनन् ।

         फेरि मन बडो बुझी नसक्नुको पनि छ । कुनै अमुर्त चित्रकला जस्तो । छिनमै बद्लिरहने बादलका आकृति जस्तो छ मन। यसमा कुनैपनि चित्र स्थिर रहदैन । यसका कुनै मान्यताहरु कहिले पनि स्थिर रहेनन । यसका सौर्न्दर्य चेतनाहरु बद्ली रहे । हिजो आफै परिभाषित गरेर स्वीकार गरेका तथ्यहरु आज मनलाई पटक्कै स्वीकार्य छैन । तरपनि मन त मनै हो । संसारमा सबै लत र संगतहरु त्याग्न सकिन्छ तर मन संगको संबन्ध आजीबन छ । फेरि पनि एकपटक उनै सरिता मिस, सुनिता, सरला र मन  ……..

           भनी हाले, मनको क्यानभासमा कोरिएको कुनैपनी चित्र स्थाई हुँदैन । सरिता मिस पनि एउटी अस्थिर चित्र थिईन। हम्बर्ट हम्बर्टहरु मात्रै लोलिताप्रती आकर्षित हुदैनन। लोलीताको उमेरको त्यो किशोर पनि हम्बर्टको उमेरकी सरिता मिसप्रती उतिनै आशक्त थियो । फरक कति हो भने हम्बर्टले आजिबन लोलितालाई बलात्कार गरिरयो । तर किशोरले युवक हुने बित्तिकै सरिता मिसलाई मुक्त गरिदियो । सायद अर्को किशोरले उनलाई नाङ्गो बनायो होला । बलात्कार गर्यो होला ।

        तर उसको मनको क्यानभासमा कोरिएको सरिता मिसको तस्वीर उमेर संगै बद्लिदै जान थालेको थियो । सबैभन्दा पहिले सरिता मिसको उकल्दो बैँस एकाएक थामियो र उनी अदबैशे आईमाईबाट आफ्नै उमेरकि युवती जस्ती देखिईन ।  उनका बडेमानको छाती छरितो र ठिक्कको भयो । उनको कम्मर तीन चौथाई घटेर बारुले भयो । अनि उनका भिमकाय नितम्बमाथी मनको कुची चलेर त्यो सुडौल र ठिक्कको भयो । न धेरै ठुलो न धेरै सानो । अनि एकाएक तस्वीरबाट सरिता मिस अलप भइन । र सुनिता दृष्टिगोचर भई ।

        हो , हिजोआज उसको मनले गर्ने शिकार बद्लिएको थियो । उ अब बिजया मिसको घुडा माथीको थोरै भाग हेर्ने लालचमा उनले कपडा धोईरहेको बाटो भएर बेकाममा कयौं पटक हिड्दैन्थ्यो । उनका छातीको रस्वाद गर्न उनिसंगै राती राती किर्तन धाउदैनथ्यो ।

     बस हिजोआज उसको मनले सरिता मिसलाई आफ्नो कैदबाट मुक्त गरेको थियो र सुनितालाई बन्दक बनाएर राखेको थियो । सुनिता हिजोआज दिनहुँ जसो बलत्कृत हुन्थी । कहिले आफै उ भएको ठाउँमा आउथी । कहिले होटलका कोठाहरुमा त कहिले सुनसान जंगलमा मनले उसका निम्ति सुनिताको शिकार गरेर ल्याईदिन्थ्यो । अनि उ सुनितालाई आवश्यकता अनुसार प्रयोगमा ल्याउथ्यो ।

            कलेजका तीन बर्ष उसले मनको सहारा लिएर सुनिताको बलात्कार गर्यो । सुनितालाई लिएर कयौं रात झापाको गर्मीबाट पशुपतिनगर उक्लिन्थ्यो र उतै रात बिताउथ्यो । अब उसलाई बिजया मिसको कुनै आवश्यकता थिएन । अब सुनिताहरुको शिकार उसलाई मन पर्थ्यो । अब सपनाहरूमा उसलाई स्खलित गराउन सरिता मिस हैन सुनिताहरु आउथे ।

          तर सधैं मन र परिकल्पनाको तहमा उसका शरिरका रहरहरु सन्तुष्ट रहनेवाला थिएनन् । त्यसैले उ हिजोआज मन विरुद्ध बिद्रोहमा उत्रिएका थियो । शरीरका आकाट्य सत्यहरु अब सत्यकै सामना गर्न लालायित थिए । अब शरीरले शरीर खोजेको थियो । परिकल्पनाका पात्रहरूबाट उसको शरीरको भोक अरु तिब्र हुन्थ्यो । अब मनले सृजना गरेको कल्पनाको संसार शरीरलाई पर्याप्त थिएन । त्यसैले उसले मन र त्यसका परिकल्पित पात्र विरुद्ध बिद्रोह गर्ने निश्चय गरेको थियो । अब उ मनको संसारबाट वास्तविक संसारमा आउने निश्चित थियो ।

              चौकमै थियो गोमा भाउजूको घर । गोमा अर्थात मन विरुद्ध बिद्रोह गरेर बाहिर निस्केपछि वास्तविक संसारमा उसले भेट्टाएको पहिलो वास्तविक पात्र – तीन सन्तानकि आमा गोमा ! दुई छोराहरू स्कुल जान्थे काखकी छोरी सानै थिई । चोकैमा घर भएकाले गोमाको एउटा सानो किराना पसल थियो । दाइ केहि बर्षदेखी बाहिर थिए । साउनको झरी सांझै देखी लगातार परेकाले उ  त्यो दिन निकैबेर गोमा भाउजुको दोकानमा अड्कियो । उसले चुरोट सल्कायो । आश्चर्य ! भाउजुले पनि पल्याक पुल्लुक हेरेर अर्को चुरोट सल्काईन ।
” कसैलाई नभन्नु है बाबू ! दाजु गएपछि चुरोट पिउने बानी नै भएको छ ।”
उसले हस भनेको थियो तर आवाज राम्रोसँग बाहिर आएन । सुकेको घाँटीबाट संघर्ष गर्दै निस्किएको आवाज काँपी रहेका ओठबाट बाहिर निस्कन नपाउदै मौन भैसकेको थियो । त्यसैले टाउको हल्लाएर हस भन्यो । सागुरो पसल भित्र दुखले दुईजना अटाएका थिए । कुनै अज्ञात प्रेरणाले दुबै निकैबेर देखि उठेका थिएनन् । बाहिर झरी परेको थियो । साउनको साँझ सुनसान थियो । त्यो सागुरो पसल भित्रको स्वभाविक सहजता गायब थियो । असहज अझ भनौं रोमान्चक असहजताका बीच दुबै कुनै अब्यक्त कारणले त्यहाँ कैद थिए । झरी उस्तो थिएन उ भिज्दै भएपनि दुई मिनेटमा घर पुग्थ्यो । गोमा पनि बाहिर निस्किएर फराकिलो बरन्डामा सहजताका साथ बस्न सक्थी । तर दुबैलाई त्यो असहजता त्याग्नै नसक्ने गरि प्रिय थियो ।
गोमा भाउजुले निलेको धुवाँ उनको सम्पुर्ण भित्र छोएर बाहिर निस्किएपछी त्यो उसको अनुहारभरी छोएर उडथ्यो । एकाअर्काको भौतिक देहको सामिप्यता  दुबैले त्याग्न सकिएरहेका थिएनन् । बस पहिलो पहलको अपेक्षा एकाअर्कासंग दुबै गरिरहेका थिए । यसैबीच उसले मन विरुद्ध बिद्रोह गरिसकेको रहेछ । स्वचालित उसका हातहरु गोमाका शरीरमा पत्तै नपाई पुगिसकेका रहेछ्न । उ झस्कनु अगाडि नै गोमाले ती हातहरुलाई स्विकार्दै स्वागत गरिसकेकी थिई ।

                यसरी सुरु भएको उसको बिद्रोह अघिल्ला तीन महिना उसका निम्ति बेचैनी र रोमान्चक अनुभुतीको घामछाँयामा भएर बित्यो । उसले धेरै सिक्यो र उसले धेरै सिकाई । मनले परिकल्पना गरेका  तस्वीरहरु भत्किए । एउटा नाङ्गो, घिनलाग्दो र कुरुप सत्यसंग उसको साक्षत्कार भयो । तर त्यो कुरुपतामा त्यो घिनमा एउटा भयानक आकर्षण थियो । त्यो दलदलमा एक प्रकारको चुम्बकीय गुण थियो । जसले उसलाई मौका मिल्न साथ तन्ने गर्थ्यो । अनि उ तीब्र आकर्षणले तानिएर गोमाको ओछ्यानमा पुग्थ्यो र डर, ग्लानी र पश्चतापले शून्य भएर आफ्नो ओछ्यानमा आएर ढल्थ्यो । मनले बलात्कार गर्न पनि कति सजिलो थियो । तर अहिले बन्द कोठा भित्र सहमतिमा नाग्ङिन पनि उसलाई कठिन हुँदै जान थालेको छ । उ भित्रको उम्लदो उर्जाको क्षणिक ब्याबस्थापनको आबेग बाहेक अब उसलाई उत्प्रेरित गर्ने अरु कारणहरु पनि क्रमश स्खलित र शिथिल हुँदै जान थालेका थिए ।

          यसैबीच उ बिश्वबिधालय भर्ना भएर किर्तिपुर डेरा बस्न आई पुगेको थियो र त्यहीँ उसको जीबनमा सरला आएकी थिई । सुरुमा  उसलाई गोमा संगको सम्बन्धबाट समाजले थाहा नपाई मुक्त भएकोमा केही दिन त राहत जस्तो अनुभव भएको थियो । केहि पछुतो जस्तो पनि लागेको थियो । तर दिन बित्तै जान थालेपछि भित्रको उर्जाले निकास माग्न बिद्रोह सुरु गरेको थियो । कलेज र बिश्वबिधालय बिचका ती तीन महिना फेरि उसका आँखामा झल्लली नाच्न थालेको थियो । अनि फेरि उसले गोमासंग फोनमा पुराना यादहरु साट्न सुरु गरेको थियो । तर संगै डेरा बस्ने सरलाले सहजै गोमालाई प्रतिस्थापन गरेकी थिई र उ गाउँकि गोमाबाट शहरकि सरलामा उक्लेको थियो ।

              सरला उसका लागि वास्तवमा गोमाकि सहजै उपलब्ध प्रतिस्थापन थिई ।  सायद गोमाकै निम्ति उपलब्ध भएजस्तै उ पनि सरलाको निम्ति अर्को सहज उपलब्धता बाहेक अरु केहि थिएन । ती दुबैको जिन्दगीमा एउटा लोग्नेमान्छे पुर्ण वा आंशिक रुपमा अनुपस्थित थियो । त्यसैले उ आफै पनि तिनैको क्षणिक पूर्तिमा उभिएको अस्थायी प्रतिस्थापन मात्रै थियो ।

       कोल्टे फेर्छु । पुराना स्मृतिहरुको चाँङमा भएका यी कथा र पात्रहरू यसै आएका होइनन् । अस्ति गाउँमा गोमा भाउजु र हिजो शहरमा सरला आन्टीलाई देखेको थिए । तिनलाई दिपक दाइ र प्रेम अंकलकै साथमा भेटेको थिए । नमस्कार आदानप्रदान गरेको थिए । हरेक मान्छे मुखुण्डो लगाएर प्रस्तुत हुन्छ । म पनि त्यसरी नै भए । सोच्छु मुखुण्डो नहुदो हो त मन्छे , आजको जस्तो सभ्य, नैतिकवान र धार्मिक जस्तो कदापि देखिदैन्थ्यो ।

       तर मुखुण्डो लगाएको लेखक भद्दा हुने रहेछ । आज मलाई एक्छिन मुखुण्डो उतारेर  कलम चलाउन मन लागेको छ ।  त्यो भद्दा मुखुण्डो उतार्नुको परिणामस्वरूप नै यो नाँङो जस्तो सत्य लिपिबद्द हुन सकेको छ  । हुन त  वास्तवमा यी कथा र पात्रहरू अलि शृगारिक, आदर्शबादी र प्रेमकथा जस्तो पनि हुन सक्थ्यो । हामी सुदुर पुर्बका लेखकहरू अलि बढी नै आदर्शबादी र ढोंगी हुन्छौं । यौनलाई शरीरसंग जोडेर सरल ब्याख्या गर्ने हिम्मत जुटाउदैनौ । शब्द प्रंपन्च गरेर प्रेमकथा कोर्ने बेइमानी गर्छौ । तर आज मलाई छेउमा सुतेकी श्रीमतीलाई उठाएर भन्न मन लागेको छ , प्रिय मुखुण्डोहरुबाट साबधान बस । दुईवटा शरीर जोडेर संगै सुतियो भन्दैमा मुखुण्डोहरु भरोसायोग्य हुदैन ।  प्रेम र यौनका करोडौं मानिसका करोडौं कथाहरु मुखुण्डो भित्र चुपचाप दफन भएका हुन्छन् ।मनको  संवाद साच्चै सुने जसरी श्रीमती चल्मलाउछे । म झसङ्ग हुन्छु । हत्तपत्त आफ्नो मुखुण्डो छाम्छु । मेरो वास्तविक अनुहार लुकाएर मुखुण्डो उसैगरी मुस्कुराइ रहेको रहेछ । म फेरि निस्फिक्री हुन्छु ।अनि निस्फिक्री भएको मन पात्र र परिकल्पना छोडेर अलिकति रोमान्चित हुन्छ । तर फेरि हेर्छु  उ निदाई सकिछ । मलाई स्मृति र यथार्थ दुबै तिरबाट निकालेर उ फुसफुसी निदाउन थाल्छे । म आफू भित्रको सन्ताप एक ग्लास पानी पिएर सान्त पार्छु । अनि डराउदै घडी हेर्छु । अल्छी घडी २:०५ मात्रै भएको छ ।

(स्रोत : Kantipath.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *