कथा : लाहुर गएको देश

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

बिहानले बिस्तारा नछोड्दै हामी बसपार्क पुगिसकेका हुन्छौं। बिहानी चिसो बतासले जाडो मौसम आउँदै गरेको सङ्केत दिन्छ। सिद्धबाबाको गल्छेडोबाट हुर्रिएर आइरहेको ताजा हावाले फोक्सो भर्दै हामी बुटवल छोड्ने तरखरमा हुन्छौं। दशैंको टिकाको अर्कोदिन बसमा खासै मान्छे भरिइसकेका छैनन्। हामीजस्तै गाउँ जानेहरूलाई बोकेर बुटवल बसपार्कबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जाने बस गुड्न सुरु गर्छ।

म झ्यालनेर बसेको छु। तीव्र गतिमा गुडिरहेको बसको झ्यालबाट देखिने दृश्यहरू नियालिरहेछु। लामो पुलमनि बगिरहेको तिनाउलाई छोड्दै बस कुदिरहन्छ। ठाउँ–ठाउँमा रोकिंदै मान्छे चढाउँदै गर्दा बस भरिन थाल्छ। सिटभरि मान्छे। गल्लीभरि मान्छे। कोचाकोच। बसभित्र दशैं महकिन थाल्छ। बुढाबुढी। केटाकेटी। महिला। पुरुष। सबै–सबैलाई कोचेर पनि बसको कण्डक्टर भन्न छोड्दैन– ‘आउनुस् आउनुस्। सिट खाली छ।’ र, ढोकामा समेत मान्छे झुण्डिएको देखिरहेका यात्रु चढ्न छोड्दैनन् किनभने बाध्यता छ। हो त, बाध्यता छ। दशैंको समय हो, हरेक बसको स्थिति यस्तै हो। यसमा नचढे अर्कोमा उभिने ठाउँ पनि पाउन मुश्किल छ। पछिल्लो स्टेशनबाट चढेका मान्छेहरू अघिल्लो स्टेशनमा चढ्नेहरूको आलोचना गर्छन् मान्छेभरि देख्दादेख्दै पनि चढेकोमा। अर्को स्टेशनमा पुग्दा अघिल्लो स्टेशनका पछिल्लावाला भइसकेका हुन्छन् र ती पनि त्यही गन्थन दोहोर्‍याउन थाल्छन्। मान्छेहरूको गनगनले बस गञ्जायमान हुनथाल्छ। हामी सिटमा बसेका छौं। कोचिएर उभिएका मान्छेहरूलाई देख्दा अपराध गरिरहेछौं कि जस्तो लाग्छ। ती बारम्बार हामीलाई सोध्छन्– ‘तपाईंहरू कहाँ ओर्लने?’ प्रश्नको पछाडि आशय छ। छिटो ओर्लिए सिट पाउँला भन्ने स्वार्थ। हामी बीचबाटोमै ओर्लिने थाहा पाएपछि एक युवती हाम्रो सिटनेरै धर्ना कसेर उभिन्छिन्। पछाडि जानुस् भन्ने कण्डक्टरको आदेशको ठाडो उल्लङ्घन गर्दै। अर्की एक वयस्क महिला त्यहींनेर थ्याच्च बस्छिन् हातमा समातेको प्लास्टिकको थैलोमा बान्ता गर्दै। उनी पनि हामी बसेको सिट कब्जा गर्ने उद्देश्यमा तल्लिन छिन्। हामी बसेको सिट खाली नहुँदै कब्जा भइसक्छ।

यो कुनै नयाँ दृश्य होइन। जहिलेदेखि देखेको बुझ्ने चेतनाशक्ति विकास भयो त्यतिबेलादेखि नै यस्तै दृश्य हेर्दै, भोग्दै हुर्किएको हुँ म। यत्ति हो कतिबेला उभिने ठाउँमा भइयो कतिबेला बस्ने सिटमा। सार्वजनिक यातायातमा हिंड्ने सबैको अनुभव यस्तै हो। कहिले सुधि्रने होला यो अवस्था? छेवैमा बसेको दाजु मलाई प्रश्न गर्छ। ऊ अघिदेखि उभिएकाहरूको झोला समात्दा समात्दै हैरान छ। कसैको फुट्ने सामान छ। कसैको माइती लिएर हिंडेको कोसेली। पाहुर नबिग्रियोस् भनेर चिन्तितहरू आफू उभिएरै भएपनि सिटमा बसेकालाई काखमा जतनले राखिदिन आग्रह गर्छन्। प्रायः आग्रह अस्विकृत हुँदैनन्। किनभने सिटमा बसेकालाई थाहा छ अर्को बस चढ्दा आफू उभिनेवाला हुने सम्भावना बढी छ। दाजुको प्रश्नले खासै पोल्दैन मलाई। म चिन्तित छु फर्किंदा कसरी फर्किने होला? बीचबाटोबाट सिट पाउने सम्भावना चन्द्रमामा मानवबस्ती बसाएजत्तिकै सम्भव छ।

भिडभाड। कोचाकोच। गनगन। दुखेसो। कण्डक्टरको अलि पर सर्नुस् भन्ने एकोहोरो आदेश। पहाडको घुमाउरो बाटो। बान्ताको असह्य गन्ध। यी सबै सित गन्तव्यमा आइपुग्दा महाभारतको युद्ध जितेजस्तै लाग्छ। पाण्डवहरू के नै खुशी भए होलान् र?

……… ……….. ………….

वाह मेरो गाउँ।

करिब १८ सय मिटर उचाईंमा महाभारत शृङ्खलाको काखमा बसेको मेरो सुन्दर गाउँ।

हरियो पहाडहरूको वरिपरि त्यस्तै पहाडको टापुमा शिरमा लगाइएको टोपीजस्तै थपक्क बसेको मेरो गाउँ।

बुटवल बसपार्कबाट पश्चिमतर्फ हिंडेको बस कपिलवस्तुको गोरुसिंगे आइपुगेपछि उत्तर मोडिन्छ। अनि ३७ किलोमिटर जति उकालो चढेपछि जहाँ आइपुगिन्छ नि हो त्यहि हो मेरो गाउँ। ठाडा यसको नाम। तपाईं जे सुकै भन्नुस सुन्दर लाग्छ मलाई। सुन्दर छ मेरो गाउँ। औधी सुन्दर। यहीं त छ अर्घाखाँचीकै प्रसिद्ध पोखरी कमलपोखरी। यहीं त छ पुरानो मन्दिर माइकाथान। अनि दशैंको टीकाको पर्सिपल्ट द्वाद्वशीको दिन सरायँ हेर्न भनेर तपार्इं जहाँ आउनुहुन्छ नि त्यही त हो मेरो गाउँ।

हो, यहीं सरायँ खेल्ने दिन हामी आइपुगेका छौं गाउँमा। सरायँको दिन वरिपरिका अरु गाउँका मान्छे पनि आउँछन्। राम हेर्ने भनिन्छ यसलाई गाउँले भाषामा। तपाईं अर्घाखाँचीको उत्तरी भेकमा जानुस बाघलाई किरा भनिन्छ। किराले मान्छे खान्छ त्यहाँ। रातभर सुत्न नसके निन लागेन भनिन्छ। काठमाडौं खाल्डोमा बनाएको बृहत् शब्दकोश पल्टाएर गाउँले जिस्काउने काम नगर्नुहोला कृपया। हरेक गाउँको आफ्नै शब्दकोश हुनेगर्छ।

अँ त, सबैले ठाडा दह भन्ने कमलपोखरीको छेवैमा आँपका बोटहरूको छहारीमा छाती फुलाएर बसेको चौरमा आजकै दिन तराईबाट आएका व्यापारीहरूले अनेकथरी सामानको पसल थाप्छन्। त्यही जेरी पकाउँछन्। प्लास्टिकका खेलौना बेच्छन्। पटका र आलुको चस्मा। हिरो हिरोइनको फोटो। रङ्गचङ्गी कपडा लगाएका मान्छेलाई देखेपछि मनभरि स्मृतिको लहर दौडिन्छ। नस्टाल्जियाले चपक्क समात्छ र विगत समयकुण्डमा झ्वाम्म फालिदिन्छ।

स्कूले केटाकेटी थियौं हामी। दशैं हर्ष, बिदा, नयाँ कपडा, टिकासँगै पैसा लिएर आउँथ्यो। अनि हतार हुन्थ्यो हामीलाई सरायँ खेल्ने दिनको हतार। टीकाको दिन र द्वाद्वशीको बीचमा पर्ने एकादशी हामीलाई भिलेनजस्तै लाग्थ्यो। मिल्नेभए घडीको सुई बटारेर टीकापछि एकैपटक द्वाद्वशी ल्याइदिन्थ्यौं। अनि किन्थ्यौं प्लास्टिकको आलुघडी जसमा सँधै हामीले चाहेजत्ति बज्थ्यो। किन्थ्यौं प्लास्टिकको कालोचस्मा त्यही लगाएर हामी राजेश हमालको डाइलग दोहोराउँथ्यौं। हातमा पटका भरेर पड्काउने पिस्तोल समातेपछि हामी पनि सञ्जय दत्तभन्दा के कम?

आलु चस्मा लगाएर दूध बोक्दासम्म बाटोमा खाल्डो देखेर पोखिएको सम्भि्कंदै हाँस्छन् साथीहरू।

“हामी त अर्कोदिन बिहानै उठेर राम हुने चौरमा जान्थ्यौं अघिल्लोदिन मान्छेले गल्तीले छोडेका पैसा र सामान खोज्न”, सम्भि्कंदै भन्छ भाई सुमन। हामी हाँसिदिन्छौं मज्जाले।

आज पनि बाटोभरि त्यस्तै उल्लासले हिंडेका छन् केटाकेटीहरू। अनि कैर्शोयको पहिलो बतास लागेका तन्नेरीहरूको जवानीको घोडा कुँदिरहेछ उसैगरी। सोच्छु म बितेका दिनहरू। कुनै दिन हामी हिंड्थ्यौं यसैगरी। अहिले हिंडिरहेछन् अरु कोही।

“समय बिते पनि उल्लास नमर्दोरैछ हगि हेर त यी मान्छे”, टिप्पणी गर्छु म, “मान्छेमात्रै फेरिंदा रैछन् उमङ्ग त उस्तै हुँदोरैछ।” समर्थनको आवाज दिन्छन् साथीहरू।

“मान्छे फेरिए नि वैंश त उस्तै है?” केटाहरू नयाँ फेसनमा ठाँटिएका जवानहरूलाई सङ्केत गर्छन्।

मोटरबाटो छेउको घरको पिंढीमा बसेर राम हेर्न हिंडेका मान्छेहरूको कमेन्ट गरिरहेछौं हामी। यहींबाट देखिन्छ दशैंको बदलिंदो स्वरुप। ताजा उमङ्ग र उस्तै उल्लास। अनि गाउँमा भर्खरै भित्रिएको फेसन र स्टाइलको अनुहार हेर्ने पनि यहींबाट त हो।

केटीहरूको कपाल स्ट्रेट हुनथालेछ। आँखीभौं सबैका एकैनासका हुनथालेछन्। हामीले पढ्दा पाइन्ट लगाउने कमै हुन्थे अहिले क्वार्टर पाइन्ट, मिनिर्स्कट, हाफ पाइन्ट र वन पिसले साम्राज्य जमाउन थालेछन्। केटाहरू पनि के कम। जुत्तैहेरे स्टाइल थाहा हुन्छ। पाइन्ट त हजुरबाको सुरुवालजस्तै साँघुरिएछ। सबैका हातमा मोबाइल। कपालको स्टाइल नानाभाँती।

“होइन केटा हो रत्नपार्कका मान्छे जत्ति यतै ओइरेचन् क्या हो?” मजाकको तालमा भन्छु म।

“गाउँ र शहरको दुरी साँघुरिंदै छ”, टिप्पणी गर्दै बोल्छ मेरो दाजु। मानवशास्त्रको जेहेनदार विद्यार्थी हो ऊ। भन्छ, “सेवा, सुविधाको हिसाबमा गाउँ र सहरको खाडल बढ्दै गएपनि उपभोगमा गाउँ सहरभन्दा केही कम छैन भन्ने स्पष्ट उदाहरण हुन् यी दृश्यहरू। गाउँ–गाउँमा ओइरिएको रेमिट्यान्स। रेमिट्यान्सले तानेको बिजुलीको तार। नभए सोलार प्लेट। त्यसैले चल्ने टेलिभिजनमा देखिने दृश्यहरू। अनि छोराछोरी पढाउन भनी शहर पसेका भाउजुहरू र भाइबहिनीहरूले सिकेका उपभोगका नयाँ–नयाँ तस्विरहरूले गाउँको आवरण सहरजत्तिकै भइसकेको छ।”

“अनि गुदीमा?”, कोट्याउँछ रमेश।

“गुदीमा खोक्रो”, तितो टिप्पणी गर्छ दाजु।

“रेमिट्यान्सको मोहजालमा फसेर युवाहरू विदेश पसेका छन्। सहरको झिलिमिलीले तानेर युवतीहरू उतै भासिएका छन्। गाउँमा को छन्? केही गर्न नसक्ने बुढाबुढी। गाउँको उत्पादन अब शून्यप्रायः हुँदैछ। खोइ यो गाउँको उत्पादन? निर्वाहमुखी कृषितन्त्रले उकालो लाग्नुको साटो खेत, बारीहरू बाँझो भएका छन्। हिजो कम्तीमा स्थानीय कोदोको रक्सी बन्थ्यो। आज त्यसैमा पनि उता भारतबाट आउने खुदीको भर पर्नुपरेको छ। चाडवाडमा उल्लास हुने गाउा अरु बेला मसानघाट बन्छ। यो झिलिमिली, यो रङ्गीचङ्गी विना जगमा उभिएको महल जस्तै त हो। सानो रेक्टरको भुकम्पले पनि भत्किजान्छ।” दाजुले टिप्पणी प्रस्ट पार्छ। एउटा सन्नाटा हामीमाझ थपक्क आएर बसिदिन्छ।

“ओहो”, आश्चर्यको आवाजले सन्नाटामा हङ्गामा ओइरिन्छ। एउटा मोटो ज्यानको समवयी सामुन्नेमा मुस्काउँदै हुन्छ।

“प्रदिप”, म अनुहार ठम्याउँदै भन्छु।

“बिर्सेका त रैनछौ”, ऊ टिप्पणी गर्छ।

“कहाँ बिसने यार साथीलाई पनि बिर्सिइन्छ?”, प्रतिप्रश्न।

“कत्तिपछि भेट भइयो त है?”, ऊ कुरामा कुरा जोड्छ।

“एसएलसी दिएपछि बल्ल त हो”, म थप्छु।

“कति वर्ष भयो?” ऊ हिसाब गर्न खोज्छ।

“खोइ यार मार्कसिट हेर्नुपर्छ”, मेरो मजाकले एक लहर हाँसो फैलिन्छ।

“अनि कता छौ यार?”, दाजु सोध्छ।

“कतारको लाहुरे हो के यो त”, टुप्लुक्क आइपुगेको अर्को समवयीले दिन्छ जवाफ।

“अरुण” ठम्याउँदै भन्छु म। उ पनि त्यति नै पछि भेट भयो।

“भेट हुने दिन त आजै रैछ”, टिप्पणी गर्छ दाजुले।

“तिमी कता नी?” सोध्छु म।

“पहिले अरब थिएँ यार अचेल यत्तिकै हल्लिंदै छु।”, जवाफ दिन्छ उसले।

“उ आयो कोरियन लाहुरे”, अस्ति भर्खर एक महिने छुट्टीमा आइपुगेको भाइलाई औंल्याउँदै कमेन्ट गर्छ रमेश।

“साँच्ची साथीहरू कता–कता छन्?” दाजु कोट्याउन थाल्छ।

“नारायण र कमल कोरिया, अमिताभ दुबई, राम अबुधाबी, गणेश मलेसिया….”

साथीहरू हिसाब गर्न थाल्छन्। मेरो मनमा भने एउटै कुरा खेल्न थाल्छ। देश मलेसिया गएछ। अरब गएछ। गएछ कतार। कोरिया गएछ। बेलायत गएछ। जापान गएछ। हैन कुन देश बाँकी हँ? लौ सिङ्गो देशै लाहुर गएछ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *