बाल कथा : साहसी सोनाम

~ललिता ‘दोषी’~lalita-doshi

बुटवल तिनाउ नदीको किनार भन्दा केही पर सडकको छेउमा जस्ताले छाएको एकतले घर छ । आँगन नजिकै केही केराका बोटहरू छन् । मूलढोका नजिकै ठोकिएको किल्लाहरूमा एउटामा माछा मार्ने जाली र अर्काेमा पेरुङ्गो झुण्ड्याइएको छ ।

त्यही घरको ढोका उघार्दै दस-एघार वर्ष जतिको दुब्लो पातलो सोनाम खुसीले चिच्चायो – ‘बा ए बा … ।’ बोल्दाबोल्दै सोनाम रोक्कियो ।

काठको खटियामा सुतिरहेको कनैयाले सोनामतिर हेर्दै भने, ‘मलाई थाहा छ, तँ छ कक्षाको परीक्षामा पनि पहिला नै भइस् होइन त ?’

सोनामले बाबु नजिकै गई निधार छाम्दै भन्यो- ‘ला …! तिमीलाई त ज्वरो पो आएछ । ओठ पनि सुकेको छ, पानी खान्छौ ?’

कनैयाले उत्तर दिए- ‘भैगो मेरो पीर नगर् । बरु भन् तँ प्रथम भइस् होइन ?’

‘हो बा, म प्रथम नै भएँ । म धेरै पढ्छु । धेरै पैसा कमाउँछु अनि तिमीलाई सुख दिन्छु ।’

कनैयाले हर्षको आँसु झार्दै भने- ‘तेरी आमा बिरामी पर्दा त्यसै भन्थी । म नरहे पनि सोनामले तिमीलाई सुख दिन्छ । तँलाई भोक पनि लाग्यो होला घरमा खानेकुरा केही पनि छैन । झवेन्द्रको होटेलमा गई पैसा माग् । त्यो पैसाले तँलाई खाजा र मलाई ज्वरोको औषधि लेराइज ।’

बाबुको कुरा सुनेर सोनाम सरासर झवेन्द्रको होटलमा गयो । मोटो शरीर, ठूलो भुँडी र गोलो अनुहार भएको झवेन्द्र ग्राहकहरूसँग पैसा लिँदै थियो । सोनामलाई देख्नेबित्तिकै हकार्दै भन्यो- ‘ए फुच्चे, खै माछा ल्याएको ? तेरो बाबु कता हरायो ?’

सोनामले डराउँदै भन्यो- ‘बाबु बिरामी छन् । बाबुले पैसा माग्न …… ।’

सोनामको कुरा टुङ्िगन नपाउँदै झवेन्द्र झोक्कियो – ‘छैन पैसासैसा, यहाँबाट खुरुक्क भाग् । तेरो बाबुले सधैं झैं माछा लिएर आउँछ भनी पर्खेर बसेको त …..। बिहानै भन्न सक्दैन थिइस् ? म अरूसँँग माछा लिई हाल्थेँ नि । अबदेखि तेरो बाबुसँग म ठेक्कामा माछा लिन्न ।’

साहूको कुराले दुःखी भएका सोनाम सरासर घर आयो । बाबुले थाहा नपाउने गरि झुण्ड्याएको पेरुङ्गो झिकी कम्मरमा बाँध्यो र जाल हातमा समाइ तिनाउ खोलामा पुग्यो ।

वषर्ाद्को समय आकाशबाट सिमसिम पानी परिरहेको थियो । तिनाउ खोलामा बाढी आइरहेको थियो । कहिल्यै जाल नहालेको सोनाम कसरी जाल हाल्ने भनी एकछिन त अलमल्ल पर्‍यो । बाबुले जस्तै गरी जाल हाल्छु भन्दा पानीको वेगले जाल उसको हातबाट फुत्कियो । एउटा मात्र जाल थियो । त्यो पनि बगाउँदा सोनामलाई साह्रै पीर पर्‍यो । जाल कहीँ अड्किन्छ कि भनी ऊ किनारैकिनार दौडियो । केही समयसम्म जाल देखिए पनि पछि जाल देखिन छाड्यो ।

जालको पीरले भोक, प्यास, जाडो आदिको सोनामलाई पत्तै भएन । त्यसमाथि बिरामी बाबुलाई सम्झँदा उसको आँखा रसायो । जाल खोज्दै ऊ धेरै तल पुग्यो । तल पुगेपछि ढलिरहेको रूखको हाँगामा आˆनो जाल अड्किरहेको देखेर साह्रै खुसी भयो । रूखको नजिकै गई हात तन्काएर हाँगालाई आफूतिर तानी जाल भिक्यो ।

सोनाम बडो होशियारीका साथ जाल ˆयाँक्दै गयो । एक दुईपल्ट त जालमा एउटै माछा परेन तर पनि सोनामले जाल ˆयाँक्न छोडेन । जाल ˆयाँक्दै जाँदा पछि सोनामको जालमा एक दुईवटा गरी माछा पर्न थालेपछि ऊ झन् खुसी हुँदै जाल हाल्न थाल्यो । माछा झिकेर पेरुङ्गोमा हाल्न खोज्दा पेरुङ्गो नदेखेपछि कमीज फुकालेर त्यसमा हाल्यो । साँझसम्म सोनामले माछा मार्‍यो । करिब आधा किलोभन्दा पनि बढी माछा भएपछि सोनाम खुसी हुँदै त्यसलाई बेच्न बजार जाँदै थियो । कसैको आवाज सुनेर उनी टक्क अडियो ।

छिमेकी विमलाले भनिन््, ‘सोनाम, यो पानीमा नाङ्गै-बुङ्गै हातमा जाल लिएर कहाँ गएर आउँदै छस् ?’

सोनामले बाबु बिरामी भएकोले औषधिको लागि माछा मार्न गएको कुरा बतायो ।

सोनामको कुरा सुनेर खुसी हुँदै विमलाले भनिन्- ‘हुने बिरुवाको चिल्लो पात’ भनेको यही हो, ल ले म नै तेरो माछा किनिदिन्छु ।’

सोनामले खुसी हुँदै माछा विमलाको प्लास्टिकको झोलामा हालिदियो । विमलाले एक सय रुपियाँ सोनामलाई दिँदै भनिन्- ‘पढ्न पनि नछोडेस् है सोनाम, दुःख सुख भनेको त परिरहन्छ । तँ जस्तो साहसी बच्चालाई मैले के सम्झाउनु ?’ भन्दै उनी बाटो लागिन् ।

पाएको पैसाले औषधि र दूध, बिस्कुट किनी सोनाम घर फर्कियो ।

छोरा अबेरसम्म घर नफर्किएको पीरले कनैया छट्पटाइरहेका थिए । सोनाम हँसिलो अनुहारमा नाङ्गै, सानो झोला बोकी भित्र पसेको देखेर कनैयाले छक्क पर्दै भने- ‘हैन तँ यो के गति लिएर आएको हँ ? किन नाङ्गै छस् ?’

सोनामले कपडा फेर्दै एक-एक गरी सबै कुरा बतायो । उनले अलि रिसाएको स्वरमा भन्यो- ‘तिमीले जाल हाल्न सिकाइदिएको भए मैले आज धेरै दुःख पाउँदिनथेँ ।’

कनैयाले लामो सास फेर्दै भने- ‘म तेरो हातमा जाल होइन सधैं कलम देख्नचाहन्थेँ, छोरा !’

सोनामले बाबुलाई सम्झाउँदै भन्यो- ‘पढ्न पनि पढिहाल्छु नि, पीर नै नगर तर दुःख पर्दा अर्कासँग पैसा माग्नभन्दा आफैँले मिहिनेत गरी पैसा कमाउनु राम्रो हो, बुझ्यौ ? छोराको कुरा सुनेर कनैयाले भने- ‘हो बाबु, तैँले ठीक भनिस् । अब म तँलाई पानीमा जाल हाल्न मात्र होइन जाल बुन्न पनि सिकाउँछु ।’

सोनाम मुसुक्क हाँस्यो । कनैया पनि छोराको ओठमा हाँसो देखेर खुसी भए । छोराको साहस देखेर उनले छोरालाई अंकमाल गरे ।

(स्रोत : मुना २०६६ बैशाख)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *