कविता : नदी र सडक

~कमल कुमार~kamal-kumar

पहिले यहाँ नदी थियो
एउटा लामो
निकै लामो
जीवनजस्तै लामो नदी,
बगिरहने नदी
बजिरहने नदी ।

अहिले नदी छेउ छेउ
नदीको लम्बाइलाई
नदीको बगाइलाई
नदीको ‌बेगलाई
चुनौती दिँदै
सडक सुतेको छ ।
घीनलाग्दो सडक
सुन्दर नदी छेउ
मुर्दा जस्तै सुतेको छ,

सडक न त
नदी जस्तै लामो-लामो छ
न त नदीजस्तै बग्छ
न त नदीजस्तै बज्छ !

नदीमा त केवल
मरेका मान्छेहरु मात्र बग्थे

सडकले त जिउँदा मान्छेहरु बगायो,
बलिया पाखुरा
र बलिया घोडाहरु बगायो,
परबाट घन्टी बजाउँदै
लोमान्थाङबाट घोडा चढेर आउने
दारा गुरुङका इष्टमित्र बगायो,
कति सम्बन्ध बगायो,
नदी छेउका कति देउता,
ढुङ्गै सही:
त्यो पनि बगायो,

नदी त
आफू धेरै बग्थ्यो
अरुलाई कम बगाउँथ्यो
तर यो सडक
आफू बग्दै बग्दैन
र अरुलाई बगाइरहन्छ ।

अक्टोबर २०१२, मुस्ताङ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *