कविता : महाकवि देवकोटाप्रति

~निर्मोही व्यास~Nirmohi Vyas

कविकुलगुरु हाम्रा ! आज तिम्रो जयन्ती
सबतिर छ फुलेको कीर्तिको वैजयन्ती
प्रिय ! उदित अमा* मा हौ शशी, चन्द्रिकाले
जगमग जग पार्‍यौ दिव्य सोह्रै कलाले

चिरिबिरि ध्वनि तिम्रो, भाव-सङ्गीत दिव्य
हृदयभरि चुल्याई मक्ख पर्दै छु नित्य
जतिजति म नुहाऊँ काव्यको निर्झरीमा
उतिउति भुलिराखूँ लाग्छ त्यै माधुरीमा

प्रमिथससरि मेरो चेतनामाझ छायौ
युगयुग सुतुवा यो चित्तलाई जगायौ
ढकमक सयपत्री आँगनीको डिलैमा
झकमक उसरी नै छौ तिमी यो दिलैमा

छलछल सुनकोसी छल्कियो सम्झनाको
मनभरि छ चलेको भेल नै भावनाको
प्रणत छु कवि ! तिम्रो अंश सानो म पाऊँ
पलपल म जुनीका सिर्जनामा चढाऊँ

———————————————————–
*अमा= औंसी

(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ १००)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *