कविता : नयाँ बस्तीको पुरानो छाप्रो

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

केही थान मानव आकृति लुकाएर
ब्रह्मबोधी सन्त झैँ सदा शान्त हुन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

उषाकालीन भानु-रश्मिले
बाँसका भाटाहरू चहकिला हुन्थे
खरको छानो उज्यालो हुन्थ्यो
पुराना काठका मूढाहरू मुस्कुराउँथे
कुखुराको खोरबाट कुखुरी काँ को जीवन्त ध्वनि टाढा टाढासम्म फैलिन्थ्यो
अनि चीसो बतासको स्पर्शमा पुलकित बन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

केवल पानीको एउटा गाग्रो सीधा हुन्थ्यो
बाँकी कमसल धातुका
दुईचारवटा मैला, थोत्रा र रित्ता भाँडाकुँडाहरू
शवासनमा लडेका योगीहरू झैँ ढलेका हुन्थे
तर पनि
प्रकृतिको थोरै मद तानेर
सुखद् भविष्यको कल्पनामा
सदा मुस्कुराइरहेको हुन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

छोरालाई कालापानी पठाएर
बुहारीलाई बिग्रिएको पुरानो सिलाइ मेसिन मर्मत गरिदिएर
नाति नातिनालाई बोर्डिग स्कूल पठाउँने
जग्गाको लालपूर्जा निकाल्ने

ढुक्कले गिटी कुट्ने
केवल पाँच थान स्थिर सपना सजाएर
आशावादी बन्थ्यो
नयाँबस्तीको पुरानो छाप्रो ।

छोरो कालापानी गयो
तर फर्किएन
बुहारीको सिलाइ मेसिन फेरि बिग्रियो र पुनः बनेन
नातिनातिना बोर्डिंगबाट निकालिए
लालपूर्जाको लागि कागजात पुगेन
‘यस्तै त हो’
जीवनबोधको करुण दर्शन तरङ्गित भयो
तर पनि अँध्यारो भएन
नयाँबस्तीको पुरानो छाप्रो ।

मन्द हावा उही
कलकल गर्ने पानी उही
उदय र अस्त हुने घाम र जून उही
असीमित आकाश र धर्ती उही
रङ्गीन फूल र पातहरू उही
सबै सबै कुरा उही
बिस्तारै न्यानो घाम छेलियो
शीतल जून छेलियो
खुल्ला आकाश छेलियो
सिरसिर चल्ने बतास छेलियो
हेर्दाहेर्दै
नयाँ बस्तीको ढल र बर्खाको भलमात्र होइन
कानुन पस्यो
जराजीर्ण, स्तब्ध र निरुपाय त्यस छाप्रामा

पानीले छानाको खर कुहियो
डाँडाभाटा मक्किए
कानुनको धक्काले दलीन खस्यो
अहिले कतै पनि देखिन्न
नयाँबस्तीको पुरानो छाप्रो ।

-नरेन्द्र पराशर
रतुवामाई -४, मोरंग ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.