छन्द कविता : गाड़ी पुरानो भयो…

~कनकधारा स्वामी स्वदेशानन्द~kanakdhara-swami-swadeshanand

छन्द : शार्दूलविक्रीडित

ऐना हेर्दछ बार बार मुखमा देखिन्छु राम्रो भनी,
गाला खुम्चिसके फुल्यो शिर सबै कालो दले तापनि।
पोता दागहरू मुहारभरि छन् काका र जीबा भयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।01।

फोटा हेर्छ अतीतका रहरले पन्ना निकालीकन,
ऐलेको अनुहार छैन रसिलो कालो बनायो मन।
बोल्दैनन् घरका सदस्य मजले हेलाँ सबैको भयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।02।।

खाऊँ लाग्छ मकै चपिन्न मजले दन्तावली नक्कली,
कोदो फापर उम्रदैन घरमा शिक्षा भयो सक्कली!
मोही खान भनी हुरुक्क छ सधैं खोकी र मर्की भयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।03।।

भेटौं हुन्छ समस्त भाइ बहिनी नाती पनाती पनि,
कल्ले लान्छ र भेट हुन्छ मनुवा मिल्दैन चाँजो पनि ।
एक्लैबाट अनेक सिर्जन गरी फर्केर एक्लै भयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।04।।।

मीठो खाइसक्यो चिया घर बसी खाँदैछ खल्लो कति,
तर्कारी नुनतेल धेर हुनगो मिल्दैन भान्सा रति।
खाऊँ भन्दछ देह एकथरिको झर्को र फर्को भयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।05।।

हेरौं भन्छ समस्त विश्वभरिको ती राजधानी जति,
पैसा भैकन मात्र हुन्न सजिलो बाधाहरू छन् कति।
आफ्नै अङ्ग विरुद्धमा हुनगए एक्लो र टाढो भयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।06।।

छोरी छन् परबाट सोधिरहने छोराहरू झर्किने,
आमा बाबुहरू परे बिलखमा को छन् र माया दिने।
यस्तै काल दशा छ भोगिरहने पालो सबैको छ यो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।07।।

खाऊँ लाउँ फिरौं डुलौं छ जहिल्यै रोकिन्न क्यारे मन,
काया जीर्ण भई धराप हुनगो मान्दैन लोभी मन।
अर्काका घरमा गएर निजको सर्वस्व भन्नेभयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।08।।

साठी काटिसक्यो असीतिर पुगी ताक्दैछ नब्बेतिर,
आँखा कान र दाँत नाक सबले दायित्व छोड़े तर।
भोग्ने चाह छ वृद्ध हुन्न कहिल्यै यो देह ढल्नेभयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।09।।

पुर्जा सम्म खिया परे वदनका जोड़ेर बोल्टू-नट,
हाली तेल चलाउ सुस्त गतिले चल्दैन चाँड़ो तर।
पड्की टायर फुट्छ मार्गतिर नै पल्टे विपद् भैगयो,
तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।10।।

विनीत –
कनकधारा स्वामी स्वदेशानन्द
मिति:07 अक्टूबर 2017
समय:दिउँसो 12 :15 बजे
सिलगड़ी(हाल भारत )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *