लघुकथा :वर्तमान

~कात्यायन~dhanwantari-mishra-katyayan

– ठूलीनानीले चटपटे खाईसकेपछि कागजमा लेखिएका केही कविताहरू पढ्छिन् |

स्पर्श :
आँगनको टर्कटीमा बसेर भ्यागुताको टर्र-टर्र सुन्दै थियो ऊ,
टलक्क टल्कने पोशाकको रंगिन सपना बुन्दै थियो ऊ,
श्रीमतिले, भोकले पिल्पिलाएकी नानी काखमा राखिदिइन्,
नानीको कोमल स्पर्शले सपना चिथ्रा-चिथ्रा बनाइदिइन् |

***

अबोध :
उसले, उनको अँजुलिमा फुक्का चिउरा राखिदियो,
उनले आफ्नो नुनिलो आँसुले रुख्खा चिउरा भिजाइदिइन्,
भोकाएकी सानी नानीले स्वाद लिंदै खाइदिइन्,
बबुराले चिउरा किन नरम र स्वादिलो भयो थाहै पाइनन् |

***
देश-प्रेम :
सूचिकारले एक धोक्रा टालाहरू उनलाई दियो,
उनले परिश्रमपूर्वक त्यसमा आफ्नो कला प्रदर्शन गरिन्,
नानी हर्षोल्लासले रंगीन पोशाक पहिरेर बाहिर कुदिन्,
उनले आफ्नो देशको सुन्दर झण्डा बनेको थाहै पाइनन् |
***

– कबिता पढिसके पछि ठूलीनानीले कागजलाई चरा बनाइन् र भूर्रर आकाशतिर उडाइन् |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *