अनूदित कविता : मैले थाह नपाएका मलाई मनपर्ने चिजहरू

~नाजिम हिकमत~
अनुवाद : सुमन पोखरेल

आज उन्नाइस सय बैसठ्ठी मार्च अठ्ठाइस
प्राग-बर्लिन रेलको झ्यालमा बसेर हेरिरहेछु म ।
साँझ ढल्दैछ ।

हुस्सुले भिजेको फाँटमा
कुनै थकित चरो जसरी रात पर्दै गएको मलाई मनपर्दोरहेछ
मलाई थाह थिएन ।
साँझ पर्नुलाई एउटा थकित चरोसँग तुलना गर्नु
ठीक लागेन मलाई ।

म धर्तीलाई मनपराउँदो रहेछु, मलाई थाह थिएन
के यस धरालाई नचलाएको कसैले उसलाई माया गर्छ?
कहिल्यै जमीन खनेको छुइनँ मैले
मेरो यो माया पक्कै वासनारहित हुनुपर्छ ।
र मैले नदीलाई सधैँ माया गरेको छु
यस्तै गतिहीन हुँदा पनि र मर्किँदै पहाडलाई बेरेर झर्दा पनि,
चाहे ती भव्य महलहरूको श्रीपेच लगाएर उभिएका यूरोपेली चुचुरा हुन्‌
वा
मदेसको लम्बाइभरि आँखाले भ्याउनेजति परसम्म लमतन्न तन्किएका पहाड ।
मलाई थाह छ, उही नदीमा दोहोर्‍याएर केही पनि पखाल्न सक्दैनौँ हामी ।
थाह छ, हामीले कहिल्यै नदेखेको उज्यालो ल्याउनेछ नदीले
थाह छ, हामी घोडाभन्दा अलि बढी बाँच्छौँ तर काग जति धेरै बाँच्दैनौ
थाह छ, यसले उहिलेदेखिका मान्छेलाई पिरोलेकोछ, र पछिकालाई पनि सताइरहनेछ ।
थाह छ, यी सबै कुरा हजारौँपल्ट भनिसकिएका छन्,
र फेरि कयौँपल्ट भनिने छन् ।

म आकाश मन पराउँदोरहेछु, मलाई थाह थिएन ।
चाहे त्यो बादलले छोपेको होस् वा नाङ्गै ।
कालकोठरीको आन्द्रेले बोरिदिनोमा छउन्जेल उसका पिठ्यूँमा पढ्यो
जेलमा छँदा युद्ध र शान्तिका दुबै भाग तुर्कीमा अनुवाद गरेँ मैले ।
मैले स्वरहरू सुनेँ
कालकोठरीबाट हैन, आँगनबाट आएको स्वर
फेरि कसैलाई चुट्दै थिए गार्डहरू ।

म रूखहरू मन पराउँदोरहेँछु भन्ने मलाई थाह थिएन ।
हिउँदमा मलाई भेट्न आउँदा शिष्ट र मृदुल भएर आउँछन्
मास्कोछेउ पेरेडेल्किनोका हाडेबदामका नाङ्गा रूखहरू ।
हाडेबदाम रसियन हुन्‌, पपलरहरू तुर्की भए जसरी ।
“इज्मिरका बुट्टाहरू
आफ्ना पात झारिरहेछन्…
तिनीहरू मलाई चक्कु भन्छन्…
हुर्केका रूखजस्ता प्रेमीहरू…
विशाल भवनहरूलाई आकाशमा पुग्ने गरी हुत्याउँछु म ।“
उन्नाईस सय बीसमा आफ्नो बुट्टे रुमाल मैले
इल्गाजको जङ्गलको एउटा सल्लाको रुखमा बाँधेर हिँडेको थिएँ,
भाग्य सुध्रेला भनेर ।

म बाटाहरू मन पराउँदोरहेछु भन्ने मलाई कहिल्यै थाह थिएन,
पिच बाटाहरू समेत ।
बिर चक्काको पछाडिपट्टि छ,
हामी मास्कोबाट क्रिमिया कोकतेबेल जाँदैछौँ ।
तुर्कीमा भन्नु पर्दा पहिलेको “गोक्तेपे इली ।
एउटा बन्द बाकसभित्र छौँ हामी दुई
यसअधि जीवनमै कसैसँग यति धेर नजीक भएको थिइनँ म ।
म अठार वर्षको छँदा
रातो बाटोमा पर्ने बोलु र गेरेदेका बीच मलाई डाकाहरूले रोकेथे ।
त्यस घोडागाडामा तिनीहरूले लान सक्ने मबाहेक अरू केही थिएन,
र उसै पनि अठार वर्षको उमेरमा हामीलाई जीवन नै सबैभन्दा कम महत्वको लाग्दछ ।
मैले यो पहिले नै कतै लेखिसकेको छु ।
रमजानको एक रात
अँध्यारो हिले बाटामा छ्यापछ्याप गर्दै
जाँदैछु म अँध्यारो खेल्न,
एउटा कागजे लालटिन बाटो देखाइरहेछ ।
त्यस्तो त्यसअघि कहिल्यै नभएको हुनसक्छ,
इस्टनबुलमा रमजानको कुनै रात
आफ्ना हजुरबाको हात समातेर एउटा आठ बर्षे बालक
अँध्यारो खेल्न गएको,
मैले कतै पढेको हुन सक्छ ।
उसका हजुरबाले फेजटोपी र
झम्के कल्लर भएको भुवादार कोट लगाएका हुन्छन्‌
र म खुसीले आफूलाई थाम्न सकिरहेको हुन्नँ ।

खै किन हो फूलहरूको सम्झना आउँछ
पप्पीहरू, सिउँडीहरू, सयपत्रीहरू ।
इस्टनबुलको खादिखोयमा सयपत्रीको बगैँचामा
मारिकालाई किस गरेको थिएँ मैले,
उनको निश्वासमा ताजा अल्मोन्ड थियो ।
म सत्र वर्षको थिएँ
मेरो हृदयले पिङ खेल्दै आकाश छोएथ्यो ।
मलाई थाह थिएन,
म फूल मन पराउँदोरहेछु ।
जेलमा छँदा तीनवटा थुङ्गेफूल पठाइदिएका थिए
साथीहरूले मलाई ।

अहिले भर्खरै मैले ताराहरूलाई सम्झेँ
म तारा पनि मनपराउँछु ।
तिनलाई भुइँमा सुतेर हेर्दा पनि
र तिनीहरू कै छेउछेउमा उडिरहेको बेला पनि ।
मलाई अन्तरिक्षयात्रीहरूसँग केही कुरा सोध्नु थियो-
के ताराहरू यहाँबाट हेर्दाका भन्दा निक्कै ठूला देखिन्छन्‌?
के कालो मखमलमा विशाल गहनाहरू राखेजस्ता देखिन्छन्‌ ती?
कि हलुवाबेतजस्ता सुन्तले रङ्गका?
के तपाईँलाई ताराहरूको नजीक पुग्दा ज्यादै गर्व लागेथ्यो?

मैले ओगोनेक पत्रिकामा तारामण्डलको रङ्गीन फोटो देखेथेँ ।
निराश नहुनुस्‌ कामरेड,
तर हामीले तिनलाई अस्पष्ट वा नबुझिने भन्नैपर्छ ।
हो, तीमध्ये केही भने
स्पष्ट र बुझिने भन्न सकिने चित्रजस्ता देखिन्थे ।

तिनीहरूलाई हेर्दा मेरो मुटु मुखसम्म आइपुगेको थियो ।
हरेक चिजमा आधिपत्य जमाउन चाहने हाम्रा अनन्त रहर हुन्‌ तिनीहरू
मैले त तिनीहरूलाई हेरेर मृत्युका बारेमा समेत सोचेँ,
तर एकरत्ति पनि निराश भइनँ ।
मलाई थाहै थिएन, म तारामण्डल मनपराउँदो रहेछु ।

हिउँ मेरा आँखैका अगाडि चम्किन्छ
दुबै खाले
गर्‍हौँ, रसिलो भई जमेको हिउँ पनि,
र भुमरी परेको सुख्खा पनि
मलाई थाह थिएन,
म हिउँ मनपराउँदोरहेछु ।
मलाई थाह थिएन, म घाम मनपराउँदो रहेछु,
अहिले अस्ताउँदै गर्दाजस्तै चेरीझैँ रातो हुँदाको समेत ।
इस्टनबुलमा पनि कहिलेकाहीँ यो पोस्टकार्डको रङ्मा अस्ताउने गर्छ
तर त्यसलाई त्यसै गरी रङग्याउन खोजेको भने हैन ।

मलाई थाह थिएन म समुद्र मनपराउँदोरहेछु
एजोभ सागर बाहेक सबै ।

म बादल कति बिघ्न मनपराउँदो रहेछु भन्ने मलाई थाहै थिएन
आफू तीभन्दा तल हुँदा पनि र तिनको माथिमाथि उड्दा पनि,
तिनीहरू भयङ्कर ठूला हुँदा पनि र भुवाझैँ पातला हुँदा पनि ।

सर्वाधिक कृत्रिम, सर्वाधिक अल्छि बोर्जुवा जूनको किरणले
मलाई कतै भित्रैदेखि छुन्छ ,
म जूनको उज्यालो मनपराउँछु ।

मलाई थाह थिएन, म पानी परेको मनपराउँदोरहेछु ।
जालीझैँ मिहिनसँगले सिमसिम पर्दा पनि
र शिशामाथि दर्किँदा पनि ।
मेरो मनले मलाई
कि त जालीमा अल्झाइदिन्छ
कि थोपाभित्र थुनिदिन्छ ।
र नभएका देशतिर डुलाइहिँड्छ ।

मलाई थाह थिएन, म बर्सात्‌ मनपराउँदोरहेछु ।
तर यी सबै मोहहरू बारे मैले आज एक्कासी
यो प्राग-बर्लिन रेलको झ्यालमा बसेर कसरी पत्तो पाएँ?
किनभने मैले छैटौँ चुरोट सल्काइसकेको छु
एउटै मात्रले पनि मेरो प्राण लिन सक्छ ।
किनभने
म मास्कोमा भएको कसैलाई सम्झिरहेर आधा मरेको छु
जसका पराले रङ्कका खैरा केश र नीला परेला छन्‌ ।

रेल अलकत्राजस्तो कालो रातको बीचैबीच हुँइकिरहेको छ
मलाई थाह थिएन, म अलकत्रे कालो रात मनपराउँदोरहेछु ।
इन्जिनबाट झिल्काहरू उड्दैछन्‌
म आगाका झिल्का मनपराउँछु भन्ने मलाई थाह थिएन ।

म यतिका धेरै चिज मनपराउँछु भन्ने मलाई कहिल्यै थाह थिएन,
र यति थाह पाउनका लागि
मैले साठी वर्षको हुन्जेल पर्खनुपर्नेछ
र कहिल्यै नफर्कने यात्रामा हिँडेको जस्तो
दुनियाँ विलिन हुँदै गएको हेर्दै
यो प्राग-बर्लिन रेलको झ्यालमा बस्नुपर्नेछ भन्ने
मलाई कहिल्यै थाह थिएन ।

-नाजिम हिकमत (टर्की)

(मूल तुर्कीबाट मुत्लु कोनुक र र्‍यान्डी ब्लासिङले गरेको अङ्ग्रेजी अनुवादबाट नेपालीमा सुमन पोखरेलद्वारा अनुवाद)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *