निबन्ध : छेपारो उही स्वभाव उही

~विष्णु विभु घिमिरे~Bishnubibhu Ghimire

जीवन वयको आरोहण जति अगाडि बढ्दै जान्छ, विचार अनुभूतिमा पनि त्यस्तै परविर्तन हुँदै जाँदो रहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदो रहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भारपछि बाध्यतावश जति ठूलो भारी पनि बोक्नै पर्दो रहेछ । कहिलेकाहीँ यसबाट वाक्कदिक्क भएर भाग्न खोज्दा पनि बाटो हराएर फेरि उहीँ फर्कन बाध्य हुँइदो रहेछ । मनभित्र हज्जारौँ कोलाहल बोकेर एकान्त ठाउँमा बस्ने कल्पना गर्दा पनि ठाउँ मात्र एकान्त हुँदो रहेछ, मन त उही भीडभाड र कोलाहलबीच निस्सासिँदो रहेछ । कहिलेकाहीँ भीडमा पनि एकान्त पाइँदो रहेछ र कहिलेकाहीँ एकान्तमा पनि हल्ला, होहल्ला र जुलुसको सामना गरिरहनु पर्दो रहेछ ।

मानिसमा निरन्तर सोचको विकाससँगै अपशोचको मात्रा पनि बढिरहेछ । सुन्दर विचारहरूसँगै त्यत्तिकै व्यभिचार पनि टाँस्सिएर हुर्किरहेछ । सुन्दर फूलहरूसँगै टाँस्सिएर आउने झुसिल्कीराजस्तै अपशोच रोक्न जति सोच राखे पनि सोचसँगसँगै कतै न कतै यो टाँस्सिएर घरिघरि मानिसलाई विवश र निःसहाय ठान्न बाध्य बनाइरहेछ । जब एउटा सिंगो मानिस भएर मान्छे बाँच्ने प्रयासमा लाग्छ, दुनियाँलाई आफ्नै आँखामा हेरेर ऊ निरन्तर मौलिक चिन्तनको प्रक्रिया जब पस्न थाल्छ अनि मात्र उसलाई अनुभव हुन थाल्छ, एकपछि अर्को सत्यको पाइला टेक्न कति गाह्रो छ । विविध मुखुण्डाहरूबीच आफ्नो साँचो अनुहार देखाइराख्न कति अप्ठ्यारो छ । यात्राको प्रारम्भमै सायद ऊ भयभीत एवं आतंकित बन्न पुग्छ र फर्केर साधारण मानिस बाँच्न आफूलाई अभ्यस्त बनाउँछ ।

साधारण मानिस यस अर्थमा जसको निश्चित जाति छ, निश्चित धर्म, संस्कृति एवं परम्परागत मान्यता छन् । जहाँ युग युगदेखि बाँच्ने एउटा निश्चित शैली बनिसकेको छ । यही शैलीगत मान्यताभित्र खुम्चिएर ऊ एउटा मान्छे बाँच्नुको नाउँमा एउटा सम्प्रदाय बाँच्छ र यही सम्प्रदायको सुरक्षा खातिर आफूजस्तै अरू मानिसमाथि कहिले बम फ्याँक्छ, कहिले बारुद छर्छ र आफूलाई महान् विजेताका रूपमा उभ्याउन पुग्छ । अनि भन्छ, हामी वीर जाति हौँ, हाम्रो इतिहास रगतले लेखिएको छ । अहिलेसम्म मैले पढेका सबै इतिहास रगतले नै लेखेको पाएको छु । अहिलेसम्म पढेको कुनै पनि देशको कुनै पनि इतिहासमा कुनै पनि जाति कायर भनेर लेखेको कतै पाइनँ । आफ्नो इतिहास आफैँले लेखे अथवा लेखाएपछि किन आफ्नो सम्प्रदायलाई वीर नभन्ने ? चिडियाखानाको खोरमा बन्द जनावरले त्यही खोरलाई आफ्नो सारा जंगल सम्झेर खुम्चेजस्तै आफ्नो धर्म, संस्कृति र परम्पराभित्र ऊ खुम्चन अभ्यस्त हुन्छ । उसको निश्चित आकाश र धर्ती छ, निश्चित तारा र नक्षत्रहरू छन् । निश्चित पर्व, संस्कार र बाँच्ने निश्चित बहानाहरू छन् । यही निश्चिताभित्र क्रमशः साँघुरँिदै अन्ततः ऊ एउटा आफ्नै स्वार्थलाई जीवनको महान् उद्देश्यका रूपमा मानेर त्यो सपना साकार पार्ने अभ्यासमा जुट्छ । उसको सपना भनेको आफ्नै परविार, परविारभित्र पनि धेरैजसो आफू, लोग्नेस्वास्नी, तिनबाट जन्मेका सन्तानहरूको भविष्य ।

हाम्राे आयु निश्चित छ, समय निश्चित छ । निश्चित यस अर्थमा हरेक जन्मनेहरू एकदिन मर्नुपर्छ । त्यो एकदिन निश्चित छ । जन्मनुअघि केही थाहा नहुँदा जन्मनु अनिश्चितजस्तो लाग्न सक्छ तर मृत्यु भने निश्चित छ । हरेक बाँच्नेहरूका पछिपछि काल पनि सँगसँगै हिँड्छ । तर, बाँच्नेहरूले आफ्नो इच्छा, माया, मोह र तृष्णाले उसलाई देख्तैनन् । भनिन्छ साँपको मुखमा परसिकेको भ्यागुताले पनि आफूअगाडिको कीटपतंक र झिँगाहरू खान्छ । साँपले ननिलुन्जेल भ्यागुता आफूलाई सुरक्षित नै सम्झन्छ ।

अनिश्चित आयु बोकेका मानिसहरूसँग जब थुप्रै लक्ष्यहरू हुन्छन्, ऊ जीवनमा एउटा लक्ष्यमा पनि पुग्दैन । एउटा अनिश्चित समय बाँच्ने मानिसहरूसँग जब धेरै सपनाहरू हुन्छन्, त्यस्तो मान्छेले बाँचुन्जेल एउटा सपना पनि साकार पार्न सक्तैन । एउटा जीवनमा एउटै लक्ष्य, एउटै सपना र एउटै अठोट भए मात्र जीवनको सारा शक्ति, सारा निष्ठा एकै ठाउँ केन्दि्रत हुन्छ । त्यस्तो मान्छे मात्र आफ्नो लक्ष्यको शिखर चुम्न पुग्छ । धेरैवटा डुंगामा खुट्टा राख्नेहरू घरीघरी चिप्लन्छन् । उमेर र शक्ति छउन्जेल ठूलठूला महत्त्वाकांक्षाका सपना देख्छन्, आयु ओरालो लागेपछि व्यर्थ गएको जीवनप्रति चुकचुकाउँछन् र मनमनै कल्पन्छन्, “भगवान् अर्को जन्म पाए अब यस्तो गल्ती गर्दिनँ ।”
समयको घाउ उस्तै छ । बाहिर बाहिर परविर्तनका थुप्रै रंगहरू फेरएि पनि मानिसभित्रको स्वभाव भने उही छ, उस्तै छ । छेपारो उही हो, स्वभाव उही हो, मौका अनुसार रंग मात्र फेरेको छ । महाभारतको युग र आजको युग म उस्तै देख्छु । महाभारतदेखि अहिलेसम्मको मानिसको यात्रामा शताब्दियौँ बितिसक्दा पनि मलाई लाग्छ मान्छे उस्तै छ, उही छ, परविर्तन केवल उसको पहिरनमा, उसको बाँच्ने शैलीमा, उसको अभिव्यक्ति प्रस्तुतिमा मात्र छ । लाग्छ, यो परविर्तन नितान्त बाहिरी परविर्तन मात्र हो । यस्तो परविर्तन कुनै मानिस बालक, जवान र वृद्ध हुनुबीचको एउटा समयको परविर्तन । समयको सर्प एउटै हो, सर्प बदलिएको छैन, काँचुली भने धेरै फेरसिक्यो । हामी त्यही काँचुलीलाई सर्प सम्झेर परविर्तित सन्दर्भको भ्रममा छौँ, नभए महाभारत युग र आजको युगलाई छुट्याउने एउटा स्पष्ट टड्कारो रेखा हामीसँग किन छैन ?
शकुनीहरूको अनुहार मात्र फेरएिको छ, अन्तरघाती स्वभाव उस्तै छ । प्रतिष्ठा, निष्ठा एवं आदर्श मानवसंस्कृतिका लागि लड्नेहरूलाई अहिलेसम्म समयका विभिन्न शकुनीहरूले चोट पुर्याएकै छन् । लिंकन र गान्धीले सम्पूर्ण विश्वलाई नै शोषण, उत्पीडन र यत्रतत्रबाट मुक्त एउटा सुरक्षित बाटोमा डोर्याए तैपनि उनीहरू स्वयं भने असुरक्षाकै सिकार भए । शिखण्डीहरूले ती भीष्महरूलाई पनि छाडेनन् । दुर्योधनहरू अहिले पनि उस्तै ठाँटबाँठ र उस्तै प्रतिष्ठासम्पन्न भई दुनियाँलाई डर, त्रास र शोषणको आडमा शासन गरिरहेछन् । धर्म, आदर्श र निष्ठाका प्रतीक युधिष्ठिरहरू भने अहिलेसम्म समयको जुवा हारिरहेछन् । कर्णको छटपटी यथावत् छ । कुमारीमै आमा बन्ने असंख्य कुन्तीहरू अहिले पनि आफूलाई पीडैपीडाको पहाड सम्झन बाध्य छन् । विदुर र द्रोणाचार्यहरू त्रिकालदर्शी भए पनि आज जे छ, जसको नून खाएको छ, उसैको अत्याचार र अन्यायलाई सदाचार र न्याय भनेर वकालत गर्न बाध्य छन् ।

युद्ध उहिलेदेखि अहिलेसम्म मानिसविरुद्ध मानिसबाटै भएको छ । पृथ्वीमा मानिसबाहेक अरू पनि लाखौँ जीवजन्तु छन्, तीमध्येकै मानिस एउटा जीव हो । ती लाखौँ जीवजन्तुविरुद्ध मानिसले कहिल्यै युद्ध गर्नु परेन र जहिले पनि युद्ध गर्नु पर्यो त मानिसले आफ्नै सजातीय मानिसका विरुद्ध । अहिले पनि महाभारत निरन्तर छ, उहिलेदेखि अहिलेसम्म अठार पर्वभित्रै यो दुनियाँ खुम्चिरहेछ । सायद यो महाभारत नै जीवन हो, जहाँबाट मुक्ति पाउन हामीले जीवनभर छटपटाइ रहनुपर्छ । तैपनि, हामीले खोजेजस्तो आनन्दको आकाश र हामीले रोजेजस्तो विश्वासको धर्ती पाउन सकिरहेका छैनौँ ।

“देशको अवस्था खराब छ भने मिहिनेत, साहस र निरन्तर कर्मले बनाउन सकिन्छ । तर, देश बनाउने जिम्मा बोकेका मानिसहरू नै खराब छन् भने उनीहरूलाई कसले बनाउने ?” कतै कसैले भनेको यी बाक्यहरू अचेल काँडाजस्तो मेरो मनमा बिझाइरहन्छन् । यी यस्तो किन बिझाउँछन्, पटक-पटक मलाई किन चस्का दिइरहन्छन्, यो त मलाईर् पनि थाहा छैन । मेरा वरिपरि, तलमाथि जहाँ पनि देख्छु अविश्वास र अनाचारका बादल मडारिहेको पाउँछु । कस्तो उत्साहक्षीण भएछौँ हामी, कस्तो अविश्वासी संक्रमणमाथि बाँचिरहेछौँ हामी, कस्तो साहसहीन आकाशमुनि उभिइरहेछौँ हामी । हुँदाहुँदा अचेल त सम्पूर्ण राष्ट्रभर िनै यस्ता काँडाहरू बिझिरहेको अनुभूति भइरहेछ । यसबेला यस्तो लाग्छ, भर्खरै हामी सुगौली सन्धिमा हस्ताक्षार गरेर आफ्नो भागमा परेको ठूलो पराजयको पीडा मुटुभर िसँगालेर फर्केका छौँ । आफैँसँग आफैँ पटकपटक विश्वास, सदाचार, नैतिकता आदिमा हारसिकेको मान्छेले जब अरूलाई विजयको सपना देख्न आग्रह गर्छ, त्यसबेला जुन अनुभूति हामीमा उम्रन्छ, सायद त्यही मनस्िथतिमा बाँच्न हामी बाध्य छौँ । बाध्यता र बाँच्नु अलगअलग कुरा हुन्, त्यो सबैलाई थाहा छ तर हाम्रा लागि बाध्यता बाँच्नु र बाँच्नु बाध्यता एउटै भएको छ ।

जीवनमा सिक्नुपर्ने, जान्नुपर्ने, बुझ्नुपर्ने, हेर्नुपर्ने कति कुरा रहेछन् कति ! सधैँ बाँच्नुको यान्त्रिकताभित्र आत्मसमर्पित हामीलाई मनको गहिराइमा डुबेर एकैक्षण पनि नितान्त आफू भएर सोच्न फुर्सद कहाँ छ र ! अरूले सोचिदिएको, अरूले लेखिदिएको र अरूले देखाइदिएको यात्रामै आफूलाई निरन्तर डोर्याइरहने हामीसँग नयाँ बाटो, नयाँ यात्रा र नयाँ अनुभूतिको दृष्टि कहाँबाट आओस् र ! सधैँ आफूबाट भाग्दै, आफँैलाई छल्दै, आफ्नै स्वार्थको महत्त्वाकांक्षामा घोत्लिँदै सेकेन्ड, मिनेट र घन्टाहरू गुजार्ने हामीसँग यो विराट जीवन र जगत्बारे एकछिन उभिएर आँखा घुमाउने समय नै कहाँ उभ्रन्छ र !

देख्नेले पलपल बगिरहेको पानीमा पनि एकपछि अर्को भिन्नता देख्छ । एकएक सेकेन्ड, मिनेट र घन्टामा पनि एक नयाँपनको परविर्तन देख्छ । तर, हामी भने उही पानी देख्छौँ जुन अस्तिजस्तै, हिजोजस्तै आज पनि बगिरहेछ । हातमा कतिवटा घडी फेरइिसके तैपनि समय उही देख्छौँ, उही सेकेन्ड, उही मिनेट र उही घन्टा साँच्चि हामीले एउटा युग बितिसक्दा पनि पत्तो पाएनौँ, त्यो युगभित्र नवीनताहरूले पाउलो हाले ।

बुझीबुझी बुझ पचाउनेहरूसँग, सुनीसुनी बैरो बन्नेहरूसँग, देखीदेखी अन्धो बन्नेहरूसँग, आवाज भइभईकन पनि लाटो बन्नेहरूसँग, चेतना भइभई स्वाभिमान बेच्नेहरूसँग कसको के लाग्छ ? कस्तरी सुकेको भावना, कस्तरी खुम्चिएको अनुभूति, कस्तरी फलाम बनेको करुण स्पन्दन ! न आँसु छ, न त मुस्कान । न फूल छ, न काँडा । विचारमा कुनै तरंग छैन । कल्पनामा कुनै कौतूहल छैन । छैन, केही पनि छैन, जसको सपनामा समेत खुसीको इन्द्रेणी पर्दैन ।

संवदेनाको आरोह-अवरोहमा, विवेकमाथि बारम्बार प्रहार खप्नुपर्ने चोटमा घरीघरी अचेल लाग्छ, म निरक्षर भएकै भए हुन्थ्यो । लाग्छ, यसैमा मेरो सुख, शान्ति र कल्याण हुन्थ्यो । अक्षरहरूको जुलुसमा नपसी पनि नहुने, पसौँ त्यसैत्यसै कहाली लाग्ने । पढ्ने, अब के कति पढ्ने ? बिहानदेखि बेलुकासम्म निस्कने सबै अखबारहरूमा भ्रष्टाचार, हत्या, बलात्कारभन्दा अरू समाचारहरू छापिएका हुँदैनन् । अब पत्रिकाहरू पनि यी समाचारबिना बिक्री हुँदैनन् । अब सामान्यजस्तो लाग्न थाल्यो भ्रष्टाचार, अब साधारणजस्तो लाग्न थाल्यो हत्या र अब स्वाभाविक जस्तो लाग्न थाल्यो बलात्कार । अक्षर नचिनेको भए यस्तो खबर पढ्नु पर्दैनथ्यो, घरीघरी चेतनामा बज्र प्रहार पर्दैनथ्यो । जहिले पनि असुरक्षित मानसिकता बोकेर आजजस्तो यस्तो डराइडराई जिन्दगीको यात्रा आरोहण गर्न पर्दैनथ्यो ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क २६१)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *