कविता : हिमाल र नौलाख पुत्रको सभ्यता

~भूपाल राई~

एउटै शिखर
एउटै हिमाल
र, एउटै चुचुरो
कसैले सगरमाथा चढे
कसैले माउन्ट एभरेष्ट
कसैले थर्ड पोल चढे
कसैले पिक फिप्टिन
चढ्नेहरुले
एउटै हिमालको यतिविध्न नाम चढे
यतिविध्न नाम
तर हिमाल एउटै चढे

तेञ्जिङहरु जन्मे
हिलारीहरु जन्मे
सहस्र सुन्दरे, आप्पा
ल्हामु र तावेईहरु जन्मे
एउटै चुलीमा
किर्तीमानहरु अनेक बनिए
किर्तीमानहरु अनेक तोडिए
तर जसले जे गरे
या त आचार्य बाबुरामकै
संङ्क्रामक भाषा चढे
या त जर्ज एभरेष्टकै
साम्राज्यवादी पैताला नापे

एउटै हिमाल
तर कहिल्यै कसैले
एकपटक पनि चोमोलुङ्मा चढेनन्
धनुकाणको त्यो आदिम झन्डा
कसैले पनि गाडेनन्
हिमाल र त्यो नौलाख पुत्रको सभ्यतालाई
कसैले बुझ्नै चाहेनन्।

भक्तपुर, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.