कथा : कमरेड अन्जना

~बिना थिङ तामाङ~Bina Theeng Tamang SUNGAVA

धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । सायद यस्तै नौ वर्ष जति भयो कि ? अन्तिमपटक मैले उनलाई डाँडागाउँको पोष्ट सर्चमा जाँदा भेटेको थिएँ । त्यसपछि बेपता भएकी उनलाई अहिले डाँडागाउँ कै आर्मीपोष्टमै भेटेको थिएँ । झन् राम्री पो देखेँ उनलाई । साथमा लगभग सात वर्ष जतिको चञ्चले छोरा पनि थियो । त्यो देख्दा भने मन एकतमासको हुन पुग्यो । कताकता खल्लो महशुस पनि भयो । यतिका वर्षपछि भेट्दा पनि उस्तै रूप, रङ्ग र हिडाइँ देखेर म अचम्मै भएँ । गोरी, अग्ली, लामो कपाल, निलो आँखा सबै उस्तै थियो । फरक थियो त मात्रै उनको शरीर अलिक पैmलिएछ । अलि मोटी भए पनि झन् सुन्दर भइछिन् ।

‘रोहिनी कहिले आयौ ?’ मैले कुराकानीको सुरुवात गरिहालेँ । उनी झस्याङ्ग भइन् किनभने म एक्कासि उनको नजिक पुगेको थिएँ । सायद उनले मलाई यादै गरेकी थिइन क्यारे ! मैले उनलाई उकालोमा छोरा डो¥याउँदै आउँदै गर्दा नै देखेको थिएँ ।

‘आम्मै ! राजु तिमी ? तिमी यही पोष्टमा पो छौ ?’ उनी आश्चर्यचकित भइन् मलाई त्यहाँ देखेर ।

‘हो नि म नगरकोट ब्यारेकबाट यहाँ पोष्टिङ्ग भएका दुई महिना भयोे । अनि तिमी चैँ कहिले आयौ नि नेपालमा ?’ रोहिनीलाई वर्षौंपछि भेट्दा म दङ्ग परेको थिएँ ।

‘काठमाडौँ आएको त त्यस्तै एक महिना जति भयो होला । म तल सहरतिरै बस्छु । आमाकोमा चैँ आज मात्र जान लागेको ।’ उनले भनिन् ।

उनको थकित अनुहार देखेर त्यो उकालो एक घण्टामै उक्लिन् होला भन्ने अनुमान लगाएँ । ‘ए श्याम लौ तीन वटा मेच लेरा त’ मैले भनिहालेँ ।

‘हस सर’ श्यामले भित्रबाट मेच ल्याइपु¥यायो ।

‘बस न रोहिनी, निकै थकित देख्छु तिमीलाई । सायद अब त शरीरले पनि साथ दिएन जस्तो छ । पहिले त पातली थियौ र पो मृगको पाठा जसरी उफ्रँदै हिँड्थ्यौ ।’

उनको मुखबाट हाँसोको फोहोरा फुट्यो । धेरै वर्षपछि सुन्दै थिएँ उनको मीठा हाँसोका गुञ्जनहरू । म पनि उनीसँग हाँस्न थालेँ ।

‘हो नि राजु अब चाँहि यो ज्यानले पनि साथ दिन छाडेछ । हेर न यति एक घण्टाको उकालोले पनि मलाई थकायो । झन् यो छोरो त पाइलैपिच्छे बसौँ भन्दै थियो ।’

‘अनि छोराको बाबु खै त ?’ ममा उनको पतिबारे जान्ने उत्सुकता थियो ।

‘उहाँ त यहाँ हुनुहुन्न । उतै इन्डियातिरै हुनुहुन्छ । हामी फुपूसँग आएका हौँ ।’ सायद रोहिनीले खल्लो महसुस गरिन् ।

‘अनि तिमी एक्लै पो गाउँतिर हिँडेको ?’ मैले कुरा मोड्ने विचारले सोधेँ ।

‘हो त म यहाँबाट भागेर गएपछि यसैपालि नै हो नेपाल फर्किएको । आमालाई भेट्न औधी मन लागेकोले आएकी ।’

‘ए राम्रो नि त्यो त आफ्नो जन्म दिने आमालाई बिर्सनु पनि हुन्न ।’ मैले उनको कुरालाई साथ दिएँ ।

‘त्यो त हो तर म नेपालमा धेरै बस्दिनँ । केही महिनामै फर्किन्छु होला ।’

‘किन र ? नेपालमा बस्ने मन छैन ?’ म उनीसँग विछोडको कल्पनाले डराउँदै थिएँ । उनी पनि दुःखी देखिन्थिन् ।

‘खै के बस्नु ? सधैँको बन्द, हडताल, भ्रष्ट्राचार, सर्बत्र स्वार्थ व्याप्त छ । केही परिवर्तन होला कि भनेर युद्धमा होमियो तर खै के पायौँ र ? जिन्दगी बाँच्नै प¥यो । आदर्शका कुराले पेट नभरिने रहेछ । उतै छ कमाइ खाने बाटो उतै फर्किन्छु ।’ उनले असहमति, दुखेसो र यथार्थता एकैसाथ पोखिन् ।

आहो ! मैले उनको मनोभाव बुझेँ । सायद उनी बितेको द्वन्द्वकालको आफ्नो अतीतमा घोत्लिदैँ थिइन् । उनी उत्सुक थिइन् कुराकानी गर्न यसैले भन्दै गइन्, ‘हाम्रो कश्मिरमा स्याउको बगैँचा छ । त्यही बगैँचामा हातखुट्टा खियायो बस्यो । आम्दानी पनि ठिकै हुन्छ । खाने, लगाउने गरी केही बचत हुन्छ ।’

यसो भनिरहँदा उनको अनुहारमा सन्तुष्टीका भावहरू प्रष्टैसँग पढ्न सकिन्थ्यो । जेहोस कुनै समय मेरो दिलमा सजिएकी उनी आज अर्कैको हुँदा पनि खुसी नै थिइन् । उनलाई खुसी देख्दा म पनि खुसी थिएँ यद्यपि मन भने भारी हुँदै थियो । तर मेरो यो मनोदशा उनको अगाडि देखाउन उचित थिएन त्यसैले म मौन बसेँ ।

उनले नै कुराकानी अगाडि बढाइन् ‘तिम्रो बिहे भयो कि भएन ?’

मलाई अलिक असजिलो लाग्यो तैपनि उत्तर दिन करै लाग्यो ‘भयो नि के गर्ने तिमी पनि टाढा भइहाल्यौ अहिले त सानी छोरी पनि छे, दुई वर्षको ।’

मैले यति भनेर उनको अनुहारतिर आँखा पु¥याएँ, उनको अनुहारमा कताकता नमिठो भाव दौडिएको अनुभव गरेँ । सायद उनी बितेका ती क्षणहरूमा तैरिन लागिन् क्यारे जुन बेला हामी एउटै स्कुलको एउटै कक्षामा अध्ययन गथ्र्यौं ।

हामी दुवैजना नौ कक्षासम्म सँगै पढेका थियौँ । हामी सधैँ झगडा गथ्र्याैं तर त्यो झगडाभित्र हाम्रो लुकेको थियो । हामीबिच आत्मियता थियो । कुनै दिन भेट नहुदाँ र रिसारिस नगर्दा हाम्रो दैनिकी अपुरो भएको महसुुस हुन्थ्यो । उनीसँग झगडा गर्दा निक्कै मज्जा आउँथ्यो । म पछाडि बेन्चमा बसेर उनको कपाल तानिदिन्थेँ । उनी पछाडि फर्केर मेरो हातमा प्याट हान्थी । म त्यो स्पर्शले रोमाञ्चित हुन्थेँ । अनि कानमा खुसुक्क भनिदिन्थेँ, ‘म तिमीलाई माया गर्छु ।’ उनी रिसले नाक फुलाउँदै ठूलाठुला आँखा पार्दै मलाई हेर्थी म भने त्यही हेराइमा माया पाउँथेँ ।

सँगैको दोतरी भएकाले हामी एकअर्कालाई तँ नै सम्बोधन ग¥थ्र्यौं । ‘तँ’ सम्बोधनमा निकटताकोे आभास हुन्थ्यो । मेलापात होस् वा गोठालो जाँदा होस् हामी प्रायः सँगै हुन्थ्यौँ । म जहाँ जाँदा पनि उनलाई जिस्काएर धुरुक्कै पार्थें । उनी मलाई कुट्न भनी कहिले मकैको ढोड त कहिले वनमाराको सिर्कना लिएर लखेट्थी । तर म केटा मान्छे, उनले के भेटाउँथी र विचरी थकित हुन्थी । मलाई उनको त्यो पसिनाले ल्याफ्रक्कै भिजेको अनुहार देख्दा असिम माया उर्लेर आउँथ्यो । अनि भेटे नि भेटोस् भनेर बिस्तारै दौडिन्थेँ । भेटेपछि मेरो खुट्टामा दुख्छ कि भने जसरी मायाले बिस्तारै हान्थी । अनि पूर्णरूपमा सन्तुष्ट हुन्थिन् । सायद यहीँनेर हाम्रो माया अङ्कुराइ सकेको थियो । हामीबिचको झगडा र रिसमा नै प्रेमले अझ प्रगाढ हुने मौका पाउँदै थियो । मेरो व्यक्त प्रेम अनि उनको अव्यक्त प्रेम यहीँ नै हाम्रो प्रेमद्वन्द्व चलेको थियो । म उनीसँग प्रेमको काल्पनिक दुनियाँमा सयर गर्थें । उनको स्निग्ध मुहारमा आफ्नै प्रतिछायाँ भेट्थेँ । उनीविनाको संसार कल्पना नि गर्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ । हाम्रो सम्बन्ध खुला किताबजस्तै थियो । घर, परिवार, टोल, छर–छिमेक सबैलाई हाम्रो प्रेम सम्बन्धबारे थाहा थियो । सबैको स्वीकारोक्तिले झनै हाम्रो माया कसिलो बनेको थियो । हाम्रो मायाको डोरी कसैले पनि चुडाउन नसक्नेमा हामी ढुक्क थियौँ । कतै कुनै अवरोध थिएन । हाम्रो बाटो खुला थियो । हामी जहाँ जसरी चाहन्थ्यौँ, त्यसरी नै हिँड्न सक्थ्यौँ ।

हाम्रो यो पवित्र माया सायद विधातालाई स्वीकार थिएन वा कसैको नजर लाग्यो । अन्जानैमा गरिएको एउटा भूलले हामी बिच फाटो ल्याइदियो । हाम्रो सुखी संसारमाथि एसिड छरियो, जसको पोलाइले हामीलाई असह्य पीडा दियो । कुरा २०५३ साल तिरको हो । त्यतिवेला माओवादीको भुमिगत युद्ध चलिरहेको थियो । उनीहरू गाउँगाउँमा गएर जनविद्रोहको ज्वाला सल्काउँदै थिए । स्कुलस्कुलमा गएर विद्यार्थीबिच संगठन बिस्तार गर्दै थिए । हाम्रो स्कुलमा पनि तिनिहरू आएका थिए र क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यमा रोहिनीको पनि राखिदिएछन् । थाहै नभएको बाटोमा रोहिनीको यात्रा सुरु हुँदै थियो । मैले उनलाई नसम्झाएको पनि हैन तर खै कस्तो भूत सवार भएको थियो उनले मान्दै मानिनन् । केही दिनपछि नै कसैले सुराकी लगाइ दिएछ पुलिसले रोहिनीलाई समात्न उनको घर घेर्न पुगिहाल्यो । कसो कसो उनको बुवाले पछाडिको झ्यालबाट हामफाल्न लगाएर उनलाई भगाएछन् । उनी भागेर साहिँली फुपूको घरमा पुगिछिन् । त्यहाँ पनि पुलिसहरू पुगेछन् । भागाभागको खेलपछि उनी लडाकु साथीहरूको सम्पर्कमा पुगिछिन् । अन्जानमै परिस्थितिवस उनी माओवादीको सकृय युवा कार्यकर्ता बन्न पुगेकी थिइन् । त्यसैले उनको भूमिगत नाम पनि ‘अन्जना’ नै राखिदिएछन् । उनी चाहँदाचाहँदै पनि घर फर्किने वातावरण नै थिएन । गाउँमा रातोदिन आर्मीको सर्चले उनमा झन्झन् क्रान्तिको ज्वाला दन्किएको थियो ।

माओवादी के हो र केका लागि संघर्ष गर्दै छ भन्ने कुराबाटै बेखवर उनले लगभग दुई वर्षसम्म हुलाकीको काम गरिन् । आफ्नो शरीरभरि पर्चा, पम्पलेट बोकेर गन्तव्यस्थलसम्म पु¥याउने जिम्मेवारी बहन गरेकी थिइन् । यसरी साँच्चै नै उनी अन्जानमै माओवादी बनेकी थिइन् । यता म गाउँमा बसेर पढदै थिएँ । एस्. एल. सी.को परीक्षा चल्दै थियो । रोहिनी परीक्षा दिन आएकी थिइन् तर कसैले सुराकी गरेछ, तुरुन्तै सुरक्षाकर्मी आइपुगिहाले । हेडसरले उदारता देखाउनुभयो र पछाडिको झ्यालबाट रोहिनी लगाएत अन्य साथीहरूलाई पनि भगाउन सफल हुनु भयो ।

उनको पढाइले निरन्तरता पाउन सकेन । म भने झिरमा उनिएको माछाझैँ हुँदै थिएँ । मैले जसोतसो एस्. एल. सी. पास गरेँ । यति नै बेला दाजुको मृत्युको खबरले मेरो घरमा आगो लगाइदियो । सैनिक जवानको रूपमा कार्यरत् मेरो दाजुको माओवादीले राखेको एम्बुसमा परी निधन भएको खबरले म लगायत घरका सबै सदस्य स्तब्ध भयौँ । भाउजूको क्रन्दन र बच्चाहरूका रुवाइले मभित्र प्रतिशोधको ज्वाला दन्कदैँ थियो । किन किन माओवादी भनेपछि मारिहाल्ूँ जस्तै लाग्न थाल्यो । सायद त्यो मेरो दाजुको मृत्युले सल्काएको झिल्को थियो, जसले भयंकर आगलागी गराउने सपना बुन्दै थियो ।

मैले अठोट गरेँ नेपाली सेनामा भर्ती भएर माओवादीसँग बदला लिने । त्यतिखेर सेनामा हुनेहरूलाई माओवादीले तर्साएर, परिवारको करकापमा परेर वा आफ्नो ज्यानको मायाले जागिर छोड्दै थिए तर ममा भने एकहोरो बदला लिने को भूत चढेको थियो । मैले कसैको कुरा सुनिनँ ।

त्यसपछि हाम्रो न्यानो मायाको अनुभुतिमा पनि चिसोपन बढ्दै गयो । उनी भुमिगत योद्धा म नेपाली सेना, आगो र पानीको मिलन असम्भावी भइदियो । ममा संयमता हराइसकेको थियो । त्यस बेला मेरो पोष्टिङ सिंहदरबार भित्र भयो । उता रोहिनी माओवादीको होनाहोर कार्यकर्ता ‘अन्जना’ बनेकी थिइन् भने म राष्ट्रसेवकको भूमिकामा थिएँ । यसरी हामी नदीका दुई किनारा बन्न पुगेका थियौँ । सायद यही नै भाग्यको खेल थियो ।

अर्काे साल बल्लबल्ल बिदा मिलाएर दसैँमा घर हिँडेको थिएँ । मैले रोहिनीलाई भेट्ने सपना बन्द गरिसकेको थिएँ । किन किन जब उनी माओवादी हुन् भन्ने सत्य मेरो अगाडि आउँथ्यो तब रिस र घृणाको ज्वालामुखी फुट्थ्यो । उति विघ्न माया लाग्ने रोहिनीप्रति पनि अब म कुनै वास्ता गर्दिनँ भन्ने अठोट गरेको थिएँ । सदरमुकामसम्म मात्रै जान सकिन्थ्यो । घरमा पुग्ने वातावरण थिएन, त्यसैले बाआमालाई सदरमुकाममै भेट्न बोलाएको थिएँ ।

सदरमुकाम पुगेकै दिन मेरा जीवनको सबैभन्दा कठोर र दर्दनाक दिन हुन पुग्यो । यस्तै तेह्र, चौध जना नेपाली सेनाका दस्ता बन्दुकको नालमा महिलाको बस्त्र बेर्दै सदरमुकामभरि ‘आज अन्जना मरी ।’ भन्दै झ्याली पिट्दै हिँड्दै थिए । मलाई एकछिन त सपनाजस्तै लाग्यो । तर यथार्थमा त्यो विपना नै थियो । म खङ्रङ्ग भएँ । मेरालागि दिउँसै रात प¥यो । उनीहरू साँच्चै नै रोहिनीको झोला, कपडा, जुत्ता सबै बोकेर हिँड्दै थिए । यो खबरले म मा खुसी हुनु पर्ने थियो । किनकि मेरो दाजुको हत्यारामध्ये एउटा मरेको थियो । तर मेरो मन खुसी भएन । झन्झन् मुटु दुख्न थाल्यो । केही सोच्नै सकिन । यति पीडा भयो कि मलाई सहनै गाह्रो भयो । उनको मृत्युको खबरले म मर्माहत भएँ । पृथ्वी फनफनी घुमेभैmँ लाग्न थाल्यो ।

एक्लै कोठाभित्र बसेर भक्कानिएर रोएँ । उनको मृत्युसँगसँगै म पनि पलपल मर्दै थिएँ । यो संसार नै बिरानो लाग्न थाल्यो । बाँच्नुको कुनै तुक नै देखिनँ । सायद यो मेरो उनीप्रतिको अगाध माया थियो जुन त्यस दिन पोखिँदै थियो, आँसुको रूपमा अबिरल बग्दै थियो । दुई विपरित ध्रुवको आकर्षण अभैm बाँकी रहेछ । उनको मृत्युले मेरो जीवनमा केवल विषादका रङहरू दलिदिएको थियो जुन न पखालिन्थ्यो न मेटिन्थ्यो । सायद त्यो हाम्रो निस्वार्थ प्रेमको उपज थियो । कुनै दिन म उनको नाम पनि सुन्न चाहन्नथेँ । मैले भनेको नमान्ने घमण्डीभैmँ लाग्थ्यो । मैले उनको माया मारिसकेको थिएँ । म उनलाई माया हैन घृणा गर्छु भन्ठान्थेँ । तर यी सब झुट र भ्रम पो रहेछ, नत्र मलाई त्यसदिन त्यति धेरै पीडा हुन नपर्ने थियो । मलाई रोहिनीको यादले पलपल तड्पाइ रहेको थियो । म पलपल मरेर बाँच्दै थिएँ । मलाई अब जीवनप्रति कुनै मोह बाँकी थिएन । दोहोरो भिडन्त हुँदा पनि जथाभावी फायरिङ गर्थें । मलाई ज्यानको कुनै माया थिएन तर मानो सकिएको थिएन क्यारे हरेकपटक म बाँच्दथेँ ।

लगभग ७ महिनापछि मेरो डाँडागाँउमा पोष्टिङ्ग भएको थिए । नुवाकोटबाट इन्ट्री हुने र एक्जिट हुने यातायातका साधनहरू सर्च गर्नुपर्ने मेरो ड्युटी थियो । त्यो दिन पनि सधैँझैँ झिसमिसेमै सवारी साधनहरू चेकिङ सुरु गरियो । त्यो गाडी नुवाकोटबाट काठमाडौँको लागि हिँडेको थियो । चेकपोष्टमा आएर रोकियो । सबैलाई बाहिर निस्किनको लागि भनियो । सबै ह्वारह्वार्ती निस्किए । म गाडीभित्र कोही बाँकी छ कि भनेर एक्लै पसेँ । पछाडिको सिटमा केही हल्लिएजस्तो लाग्यो । बसभित्र अँध्यारो थियो । छाँया चलेजस्तो लाग्यो । केही शंकास्पद घट्नाको शरीर झनन्न भयो । तर फेरि शान्त देखेँ । अलिकति ढुक्क भएँ ।

मलाई कौतुहलता जाग्न थाल्यो । साँच्चै के रहेछ भनेर जान्न मन लाग्यो । बिस्तारै अगाडि बढेँ । हेर्छु त एउटा महिला पछ्यौराले पूरै शरीर ढाकेर गुजुल्टो परेर सुतिरहेको रहेछ । पछ्यौरा विस्तारै तानेँे । अज्ञात भयले मन काँप्दै थियो । तर सोचेभन्दा बिल्कुलै फरक शैलीमा रोहिनीलाई त्यहाँ देख्दा मेरो हातहरू काँप्न थाले । कपाल नकोरेको पनि महिनौँ भएजस्तो देखिन्थ्यो । कमजोरीले होला अनुहार सेतो रगतै नभएभैmँ देखिन्थ्यो । यस्तै अवस्थामा भए पनि मेरी प्रिय रोहिनीलाई पाएर म खुसीले गदगद् भएँ । मरिसकेकी मेरी मायालुलाई साक्षात आफ्नो अगाडि देख्दा एकैछिन त सपना हो कि भन्ने भ्रम पनि प¥यो । मैले आफूले आपैmँलाई चिमोटेँ । विपना नै रहेछ भन्ने यकिन भयो । तर उनीलाई यस्तो अवस्थामा भेट्दा मनमा छटपटी भयो । के गरूँ र कसो गरूँ भयो । उनले मलाई चिनिन् क्यारे एकोहोरो हेरिरहिन् । तत्कालै ‘भित्र कोही बाँकी छ ?’ भन्ने प्रश्नले मेरो मस्तिष्क नै खलबलाइ दियो ।

‘छैन सर ।’ एक्कासि मेरो मुखबाट निस्कियो । पहिलोपटक म आफ्नो कर्तव्यबाट चुक्दै थिएँ । मलाई थाहा थियो रोहिनीलाई उनीहरूले भेटे भने छाड्दैनन् । किन किन म आफ्नो प्रतिद्वन्दीलाई बचाउँदै थिएँ । म रोहिनीको मृत्यु हैन जीवन चाहन्थेँ । यसैले होला मलाई झुट बोल्न पनि किञ्चित अप्ठ्यारो लागेन । मैले उनको आँखामा गहिरिएर हेरेँ । साह्रै सिकिस्त देखिन्थिन् । सायद निकै दिनदेखि अन्नपानी पेटमा परेको थिएन होला । मन भित्रैबाट असिम माया पलाएर आयो । अँगालोमा बाँधेर क्वाँ–क्वाँ रून मन लाग्दै थियो । तर म विवस थिएँ । मेरा हातहरू परिबन्दको सिक्रीले बाँधिएका थिए । म चाहेर पनि उनीप्रतिको माया, स्नेहलाई त्यहाँ पोख्न सकिरहेको थिइनँ । सायद उनले पनि मलाई चिनिन् क्यारे पुर्लुक्क मतिर हेरिन् र क्षणभरमै शिर निहुराइन् । हामी बिच कुनै संवाद भएन मात्र आँखाहरू बोले । उनी मैले देखाएको सहानुभुतिप्रति कृतज्ञ भइन् क्यारे मायालु नजर मतिर फ्याँकिन् ।

म बसबाट भारी मन लिएर ओर्लिएँ । एक छिनपछि बस त्यहाँबाट गन्तव्यतिर रफ्तारका साथ गतिमान भयो । म अवाक् भएर उभिइरहेँ । बस जति टाढा पुग्दै थियो, मेरो मुटु पनि त्यति नै टाढा कसैले चुडाँलेर लगेझैँ भान भयो । बस गएतिरै दौडर जाने मन भयो । मुटु कट्कटी खान थाल्यो । तर म विवश थिएँ, त्यहीँ उभिएर बस्नुबाहेक अरू कुनै उपाय थिएन ।

भोलिपल्ट मैले आमा बिमारी हुनु भएकोले उपचारको लागि काठमाडौँ लैजाने बहानामा अफिसबाट बलजफ्ती बिदा लिएँ । मलाई आशा थियो रोहिनी उनकी कान्छी फुपुकोमा हुनुपर्छ । त्यसैले म सिधै फुपूकोमा पुगेँ । नभन्दै रोहिनी त्यहीँ रहिछिन् । म हर्षले विभोर भएँ । मेरो मन फुरुङ्ग भयो । मेरो मन निला निला गगन माथि उड्दै थिए । ओइलिन लागेको विरुवामा केही थोपा भए पनि पानी परेको अनुभूति गरेँ ।

उनी खाटमा पल्टिरहेकी थिइन् । मलाई देख्ने बित्तिकै मुसुक्क मुस्कुराइन् अनि इसाराले नजिकै बस्न अनुरोध गरिन्, नजिकै बस्न पाउनुको बेग्लै आनन्द थियो । सिरानी अलि ठाडो पारेर भित्तामा अडेस लागेर उनी बसिन् ।

मनले त भन्दै थियो – सिरानीको सहारामा हैन आफ्नै बाहुपाशमा राखूँ तर कताकता डर लाग्यो । तत्कालै मनलाई थुम्थुम्याएँ । अनि भनेँ, ‘तिमीलाई फेरि भेट्छु भन्ने दश मनमा एक मनले पनि सोचेको थिइनँ । तिम्रो मृत्युको खबरले आहत भएको थिएँ ।’ उनी फिक्का हाँसो हाँसिन् मानौँ कुनै रङ्ग थिएन उनमा । उनी बोल्न थालिन्, ‘साँच्चै मलाई पनि लागेकै थिएन अब यो जुनीमा तिमीसँग फेरि भेट्छु भन्ने । तर भाग्य बलियो रहेछ, हिजो तिमी त्यस ठाँउमा नहुँदो हौ त म आज यहाँ हुने थिइनँ । तिमीलाई लाखौँलाख धन्यवाद ।’

अरू कुराले भन्दा पनि मलाई त्यो ‘धन्यवाद’ पोल्यो । त्यो पोलाइ शान्त पार्न भनेँ, ‘किन त्यस्तो कुरा गर्छ्यौ ? मेरो तिमीप्रति प्रेम थियो र त छोडेँ । तिम्रो ठाँउमा अरू कोही हँुदो हो त म छाड्ने थिइनँ । तर तिमीमा खै कस्तो जादु थियो, मेरा हातहरू रोकिएका थिए ।’

मलाई उनको मृत्युको झुटा खबर कसले फिँजायो भन्ने कुरा जान्ने उत्सुकता थियो । त्यसैले मैले त्यो रहस्य खोतलेँ । उनले लामो श्वास फेरिन् र आफ्ना कथाव्यथा फुकाइन् ।

‘मलाई त्यो दिन आमाको साह्रै न्यास्रो लागेर साथीहरूलाई पनि नभनी भागेर सदरमुकाम पुगेको थिएँ । आमा मामाघरमा आउँदै हुनुहुन्छ भन्ने सुनेकी थिएँ । कसैले सुराकी लगाइदिएछन् । म पुग्नुअगावै प्रहरीहरू दलबलसहित तयारी अवस्थामा पुगेका रहेछन् । म त्यहाँ निहत्था पुगेकी थिएँ । सदरमुकाममै भएकोले उनीहरूको बोलवाला हुने नै भयो । हामी हम्मेसी त्यहाँ दिनमा जाँदैन थियौँ । उनीहरू मेरो फोटो लिएर सदरमुकाम भरि घुमेका रहेछन् । मामाघर नजिकै पुग्दा कताकता मलाई अनौठो दुश्मनी चालको गन्ध आयो । मेरा आँखाहरू सशंकित हुदै थिए । केही अप्रिय घटनाको पूर्वाभास गरेँ किनकि सदरमुकाममा अघि पछिको जस्तो चहलपहल थिएन । पसलहरू बन्द थिए । मेरो मष्तिष्कमा झट्का लाग्यो यो कतै कुनै युद्धको तयारी त हैन ?

मेरो अनुमान सही निस्कियो । मैले यति सोच्न पनि नभ्याउँदै म भएतिर फायरिङ सुरु भयो । लडाकु साथीहरूसँग बस्दा सिकेको केही युद्ध कौशल प्रयोग गरँे । बन्दुकका गोली छल्नु चानचुने कुरा थिएन, कसो कसो म ती गोलीका बर्षा छल्दै जङ्गलतिर भाग्न सफल भएँ । जङ्गलमा पुगेपछि मलाई दौड्न असहज भएकोले झोलाबाट ट्रयाक झिकेर लगाएँ अनि साथमा गोल्डेन जुत्ता पनि फेरेँ । चप्पल र कुर्थाचाँहि त्यहीँ छाडेर भागेँ । गोली कहिले मेरो कुम नजिकैबाट जान्थ्यो त कहिले टाङमुनिबाट ।

मृत्यु मेरो नजिकैबाट जाँदै थियो । अजङ्गको शरीर भएको कुरुप मृत्युरुपी दानवहरूले मलाई पछ्याएझैँ लाग्दै थियो । जङ्गलमा दौँड्दा ऐँसलु र चुत्राको झ्याङले शरीरभरि कोतरेर म रगताम्य भएकी थिएँ । तैपनि हार मानेकी थिइनँ । शरीरलाई सकेसम्मको बल प्रयोग गरेर अगाडि ठेल्दै थिएँ । मुसा र बिरालोको खेलजस्तै भएको थियो पुलिस र मेरो दौडाइ । आफ्नो जीवन रक्षार्थ म चुनौतिसँग जुध्दै थिएँ । म दौडिएको भुइँ रगतका थोपाहरूले बाटो बनाएको थियो । भाग्दाभाग्दै म ठूलो छाँगामा पुगेँ । अगाडिको बाटो समाप्त भएको थियो । कुनै अन्य बाटो नभएपछि दुश्मनका हात परेर पीडादायक जीवन बिताउनुभन्दा यही छाँगामा हेलिएर मरे पनि ठिकै छ भन्ने सोचाइले मेरो मनमा राम्रोसँग जरो गाड्यो र पानीमा झ्वाम्मै हाम फालेँ । संयोगले भनौँ या मेरो दिन नसकिएकाले हो कसै गरे पनि तर्नै नसकिने त्यो ठूलो छाँगो काटिएछ । म पारिपट्टिको खोँचमा पछारिन पुगेँ । सास नै रोकिएलाभैmँ भयो । एकछिन त उठ्न नसकेर घोप्ट्एिँ । त्यो ठूलो छाँगो तर्न नसकिने ठोकुवा गर्दै म पक्कै पनि त्यहीँ खसेर मरी भन्ठानेर उनीहरूले मेरो कपडा र चप्पल लिएर ‘आज अन्जना मरी’ भन्दै हर्षाेल्लाससहित जंगलभरि गुञ्जायमान पार्दै फर्किए । मैले केही राहत महसुस गरेँ । अब उनीहरूले मेरो खोजी नगर्ने कुरामा निश्चिन्त भएँ र बिस्तारै घायल शरीरलाई बलजफ्ती घिसार्दैघिसार्दै काउलेमा पु¥याएँ । दिन ढल्न लागिसकेको थियो । म अचेत अवस्थामा पुगिसकेको रहेछु । म परालको कुन्युभित्र पसेछु । भोलिपल्ट पराल झिक्दा गाउँको आमाले मलाई भेट्नु भएछ । घरमा लगेर उपचार गर्नु भएछ । मेरो होस आउन पुरै दुई दिन लागेछ । पछि मलाई ती आमाले भन्दै हुनुहुन्थ्यो ।

त्यसपछि म कहिले मल बोक्दै, कहिले डल्ला फोर्दै त्यही गाउँमा बसेँ । केही महिना त्यसरी नै विताएँ । तर मेरो स्वास्थ्यस्थिति झन्झन् बिगँ्रदै थियो । सबैले काठमाडौँ गएर उपचार गर्न सल्लाह दिए । हिजै हिँडेको त्यहाँबाट । हिँड्न सक्दो हुँ त जङ्गलकै बाटो भएर आउँथे तर शरीरले साथ नदिएर बाध्य भएर बसको यात्रा गर्नु प¥यो । तिमी नभएको भए मलाई हिजो भेट्थे । फेरि पनि तिमीलाई लाखौँलाख धन्यवाद ।’

उनले सबै घटना सकैचोटि सुनाइन् । मलाई लाग्यो म कुनै चलचित्रको डरलाग्दो दृृश्य हेर्दै थिएँ । द्वन्दमा मेरो नायकले विजय प्राप्त गरेभैmँ लाग्यो । साँच्चै नै मलाई रोहिनी वास्तविक जीवनको नायिका लाग्यो । उनको त्यो साहसिक यात्राको म एउटा पात्र हुना पाउँदा म अत्यन्तै खुसी थिएँ ।

उनको उपचार काठमाडौँमा बसेर पनि गर्न सम्भव थिएन । त्यतिबेला हररात खानतलासी हुन्थ्यो । सेनाले सर्चको क्रममा भेटाउने डर थियो । उनको फुपूको सल्लाह बमोजिम भारतको कश्मिरमा जाने बन्दोबस्त मिलाइयो । त्यहाँ उनको माइली फुपू हुनुहुन्थ्यो । थुपै्र विछोडको पीडा सहिसकेको मलाई यो यो विछोडले पनि पीडा दियो । तर पनि उनको जीवनको निमित्त म सबै चुपचाप सहन बाध्य थिएँ । मसँग अरू कुनै विकल्प पनि त थिएन । भोलिपल्ट बिदाइका हातहरू हल्लिँदै गर्दा मेरो मुटु पनि बेजोडसँग हल्ँिलदै थियो ।

त्यसपछि हाम्रो भेट हुन सकेन । म बेलाबेलामा फुपूकोमा पुगिराख्थंँ रोहिनीको हालखबर बुझ्न । उनी त्यता गएको दुई वर्षपछि मेरो मुटुको टुक्रा त अरू कसैको भइसकेकी रहेछिन् । फुपूकै सल्लाहबमोजिम फुपूको घरमा कति बोझ भएर बस्ने भन्ने ठानेर उतैको नेपाली केटासँग विवाह गरिछिन् । मेरो मुटुको टुक्रा त्यस दिनदेखि अरू कसैको भइसकेको थियो । प्रेमको यो खेलमा मेरो हार भइसकेको थियो । आज उनै रोहिनी मेरो अगाडि उभिरहेकी थिइन् । उनी आफ्नै छुट्टै संसारमा रमाउँदै थिइन् अनि जीवनदेखि सन्तुष्टि थिइन् । आपूmले प्राप्त गर्न नसके पनि म खुसी थिएँ । मेरो इच्छा अब उनी यतै बसे हुने भन्ने थियो । अब त द्वन्द पनि सकिएको थियो । भूमिगत भएकाहरू पनि सबै स्वतन्त्र जीवन बिताउन थालेका थिए । उनलाई कुनै खतरा थिएन त्यसैले भनेँ ‘अब यतै बसे हुन्छ नि ।’

म सकारात्मक जवाफको प्रतीक्षामा थिएँ । तर उनमा कुनै उमङ्ग देखिएन । मेरो सुझावप्रति कुनै लगाव पनि देखिन । मेरो आग्रहलाई वेवास्ता गर्दै भनिन्, ‘परिवर्तनका आशाले ज्यानै फालेर क्रान्तिमा आपूmलाई होमियो । त्यति ठूलो त्याग गरियो । तर खै सोचेजस्तो केही भएन । जसको लागि लडियो उनीहरू गरिबका गरिबै छन् । सम्पन्न झन् सम्पन्नशाली हुँदै गइरहेका छन् । क्रान्तिका नेतृत्व गर्नेहरूको जीवनमा नाटकीय परिवर्तन भएको छ । हामी आमजनताले सोचेभन्दा फरक भएको छ परिवर्तन । भै गो छाडिदेऊ यस्ता कुराहरू । मलाई त क्रान्ति र परिवर्तनलाई सम्झन मन पनि छैन । म उतै जान्छु बस्दिनँ नेपालमा । जहाँ गए पनि एउटा जीवन बाँच्नु पर्ने न हो । जसरी भए पनि एक पेट भर्ने न हो । वाक्क लागि सक्यो मलाई यो बेतुकको परिवर्तनले ।’ उनको यस्ता कुरा सुनेर मलाई उदेक लाग्यो । कुनै दिन उनै रोहिनी अन्जना बनेर कस्ताकस्ता परिवर्तनका भाषाहरू बोल्थिन् । आज उनै रोहिनीमा यस्तो निरशपन देख्दा खल्लो महसुस गर्न पुगेँ ।

साँझ पर्न थालिसकेको थियो । उनी उकालो चढ्न आतुर गर्दै थिइन् । रात पर्नु अगावै माइत पुग्न व्यग्र थिइन् । मैले उनलाई त्यहाँबाट बिदा गरेँ । उनी त्यो ठाडो उकालो विस्तारै चढ्दै थिइन् । म उनी हिँडेका पदचाप हेर्दै उनीमा आएको परिवर्तनलाई नियाँल्दै थिएँ । केहीबेर उनको कुरा सम्झेर घोत्लिएँ । साँच्चै नै नेपाली जनताले चाहेको परिवर्तन आएको छ त ? ती सहिदहरूको सपनामा हिँडिरहेको छ त देश ? गाँउ–गाउँमा अभैm उही टुकीकै सहारामा ती बूढी आमाहरू ढिँकी जाँतो गर्दैछन् । अनि पुलको अभावमा ज्यानै जोखिममा पारेर तुहिन चढेर गाउँलेहरू नदी तर्दैछन । नेपालीहरु विदेशी भूमिमा आफ्ना रगत बगाउँदै छन् । तातो मरुभूमिमा जल्दैछन् । माओवादी पक्षका हुन् वा सैनिक पक्षका वा सर्वसाधरण नै किन नहोस् जजसले आफ्नो ज्यान गुमाए ती सबै आखिर नेपाल आमाकै सन्तती थिए । १२ वर्षे जनयुद्धले के के परिवर्तन ल्यायो त आखिर ? म यसैमा घोत्लिइ रहेँ ।

धन्यवाद ।

बुढानिलकण्ठ—१ काठमाण्डौ

(स्रोत :The Pearl Street Journal)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *