संस्कृति परिचय : नेपाली राजदरबारमा भोजपुरी भाषा

~उमाशङकर द्विवेदी~

बाइसे चौबीसे राज्यहरूलाई जितेर पृथ्वीनारायण शाहले वर्तमान नेपाल राज्यको स्थापना गर्दासम्म नेपालमा नेपाली जस्तो कुनै खास भाषाको जन्म भइसकेको थिएन भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पुराना कवि र कविता’ पुस्तकमा सकारेका छन् । त्यसै पुस्तकमा उनी अगाडि भन्छन्–कविता लेख्दा प्राय: संस्कृत भाषा नै व्यवहार हुन्थ्यो। यी कविताहरूबाट सर्वसाधारणलाई विशेष लाभ हुँदैन्थ्यो। कुनै ठूला मानिसको दिल बहलाउनाका लागि उनले बुझ्ने गरी लेखी दिनुपर्‍यो भने अवधि वा भोजपुरी बोलीमा लेखिदिन्थे। नमूनाका निम्ति उन्नाइसौं शताब्दीका नेपालका बडा पण्डित वाणीविलास पाण्डेलाई अघि सार्न सकिन्छ। तिनले काजी धौकल सिंहका बयानमा निजका महलको अगाडि जो शिलापत्र लेखिदिएका थिए, त्यसमा संस्कृत भाषा र भोजपुरी, अवधि मिसिएको खिचडी भाषा व्यवहार गरेका थिए। त्यसै पुस्तकमा इतिहास शिरोमणिले पाठकहरूको मनोरञ्जनको लागि त्यस शिलापत्रको लेखलाई उद्धृत पनि गरेका छन्–

मानसरोवरमो करत हंसी हंस विलास।
कही नाम सब देशकी करत सुरत परिहास।।
कहे हंस हंसी सुनो देषो दस दिगपाल।
अमर नगरतै आगरो सोहत सहर नेपाल।।
चक्रवर्ती भूपाल है रणबहादुर शाह।
धौकलसिंह वजीर है सबको करत निगाह।।

शिलापत्रको तिथि पनि त्यही उल्लेख छ–

शाके सत्र सौ दश पञ्च है साल अठारह सौ सौ आध।
जेठ शुक्ल दशमी दिन चन्द्रसुत कियो भव अगाध।।

अर्थात् शाके १७१५ तथा विसं १८५० जेठ शुक्ल पक्षको दशमी तिथि दिन सोमवार
(पुराना कवि र कविता पृ.१ देखि ५सम्म) ।

इतिहासका पृष्ठहरू पल्टाउँदै जाँदा नेपालमा भोजपुरी भाषाको उपस्थिति प्रताप मल्लको पालादेखि नै देखिन्छ। राजा प्रताप मल्लले शुभसेनलाई राजा बनाउनका लागि उद्योग गर्न दलशभ बानियाँलाइ लेखेको पत्रको भाषा भोजपुरी छ। सो पत्रको मूल लेख यस प्रकार छ–

स्वस्ति सर्वोपमायोग्यगंगाजलनिर्मलपवित्रपात्र दलषभवानित्ताकेषु आशीषपूर्वकपत्रमिदम् आगे इहाकुशल राउरकुशलचाही जेहितेपरमआनन्दहोइ आगे जे राउरेसाहुतिकैलरहल से परमेश्वर आनिकरवैआभैलही जेहिभाति शुभयसेन राजाहोहि से कैलजाओ हमहु दुइजना दरवारभेजिला एहिकामकंह रौरेसंदेह जनि राषीत्तु रौरेअपनेमने मन्त्रणा अर्थविचारतजाओ परिनामकह जहाहम ताहाराउर जहाराउर तहाहम एतनासे सबअर्थ बुझलजाओ जौनेउपायते शुभयसेन राजाहोहि सेकैलजाओ हम राउरसाहुतिभितरअ औरसमाचार जे माधओषत्री कहही से प्रणाम।

– फागुनवदी ९, मोकाम श्रीमत्कान्तिपुरममहानगरे (मधुपर्क, वर्ष ३, अङक ४, पृ. २५–२६)

यस पत्रले के बुझ्न सकिन्छ भने प्रताप मल्लको पालामा सरकारी लेखपढको भाषा भोजपुरी नै थियो। उपरलिखित पत्रमा राउर, हमर, राउरे, हम जहा, एतना तथा प्रणाम जस्ता ठेट भोजपुरी भाषाको प्रयोग हुनु सुखद आश्चर्यको कुरा हो। यस्तै एउटा पत्र परराष्ट्र मन्त्रालय, काठमाडौंमा खाम नं. ३६ मा सुरक्षित रहेको छ। त्यो पत्र मकवानपुरका राज्यका भारदारहरू रामेश्वर उपाध्याय र विश्वेश्वर उपाध्यायद्वारा भक्तपुरका तत्कालीन राजा भूपतिन्द्र मल्ललाई लेखिएको थियो । (मकवानपुरको ऐतिहासिक रूपरेखा। ले. वासुदेवलाल दास, परिशिष्ट ३४, पृ. १३२) यस पत्रमा पनि ठेट भोजपुरी भाषाको प्रयोग गरिएको छ।

नेपाली भाषाको आरम्भिकालका सुप्रसिद्ध गद्यहरूमा पनि भोजपुरी भाषाको उपस्थिति देखिन्छ। संवत् १७०० तिर लेखिएको बाजपरीक्षामा– बाजको प्रमाण कहु, नाकबाट पानी आवत ताकेउपाय कहु, निक रह, चिरइ, जाइ, हरदी, कुल्ला, गुलर, तौ भलो होइ, भिगाइ के, थुकिके, तथा पुंछ जस्ता ठेट भोजपुरी शब्दहरू पाइन्छन् । संवत् १७८० तिर प्रेमनिधि पन्तद्वारा लेखिएको प्रायश्चित प्रदीपमा अपना, लबरी, होइ, दरूवा, वकरा, एकावन, भइसा, बहुरिया, तेरवा, लडिका, लोहा, तित्तिर जस्ता भोजपुरी शब्दहरू फेला पर्दछन्। संवत् १८०९ तिर गङगाविष्णु द्विजद्वारा रचित अजीर्णमञ्जरीमा– गरी (नारियलको फल), संतोला, आम, सिंहारा, करूवातेल, लटिया, बथुवा, मोथा, खटाइ, विरा (पानको विरा) जस्ता भोजपुरी शब्दहरू देखा पर्दछन्। संवत् १८३३ तिर भानुदत्तद्वारा रचित हितोपदेश मित्रलाभमा– महतारी, कुपेडा, आजु, चावल, वटोही, इंहा, आव, कपडा, अथिर, सोचना जस्ता भोजपुरी शब्दहरू फेला पर्दछन्। संवत् १८५५ तिर भट्टाचार्यशक्तिवल्लभ अज्र्यालद्वारा रचित नेपाली भाषाको प्रसिद्ध ‘हास्यकदम्व’मा पनि– नेटुवा, ताँहा, बढिया, आजु, तन्का, कवन, पसेना, बहुतवेर, वस्त्रविनु, चावर, हावभाव, सरजाम, जुवान, कहु, वाँवा, दहिना, वेमना, गिरस, कचहरी, लतरी, रोंवा, तेरवाल, केजानि, मेही, चावल जस्ता ठेट भोजपुरी शब्दहरू फेला पर्दछन् । यस्तै संवत् १८९० तिर सुन्दरानन्द बाँडाद्वारा रचित ‘त्रिरत्न–सौन्दर्य–गाथा’मा पनि– जागो, फल्ना, भखारी, ढेर, फेरू, रंडा, खनति, आदमी, कचहरी, छठवा जस्ता भोजपुरी शब्दहरू देखा पर्दछन्।

यस प्रकार हामीले नेपालमा नेपाली भाषाको उदय हुनुभन्दा पहिलेदेखि नै भोजपुरी भाषा प्रचलनमा रहेको पाउँछौं । भारतीय भूमिमा सन्त कबीर, तुलसी दास, सुरदास प्रभृति भक्त कविहरूले भोजपुरी भाषामा व्यापक काव्य रचना सोर्‍हौं शताब्दीदेखि नै गर्दै रहेका हुँदा भोजपुरी भाषा प्राचीनकालदेखि नै लोक व्यवहारमा रहेको कुरा स्पष्ट छ। नेपालमा पनि उपरलिखित प्रसङगले भोजपुरी भाषा नेपाली भाषाभन्दा जेठो रहेको कुरा निर्विवाद सत्य देखिन आउँछ ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.