कथा : बाजी

~मन्दिरा मधुश्री~

अप्रत्यासित रुपमा उसले सोध्यो, “यदि एउटा केटामान्छे र केटीमान्छे एउटै कोठामा रात बिताए भने के हुन्छ ?”

“केही पनि हुँदैन ।” मैले सजिलै उत्तर दिएँ ।

“किन हुँदैन…। सबैथोक हुन्छ । एक रात हैन मात्र दुई घण्टा सँगै बसेपनि रहनु पर्ने बाँकी केही पनि रहँदैन ।” दृढ बन्छ ऊ ।

“के को रहन्न ..? त्यो आइमाइमान्छे र लोग्नेमान्छे बृद्ध–बृद्ध र बालक–बालक पनि त हुन सक्छन्” मैले उडाइदिएँ हाँसेर ।

“मेरो मतलब जवान हो क्या… ।” ऊ स्पष्ट पार्छ ।

“जवान नै बसेपनि दुवैबीच केही नहुन पनि त सक्छ ।”

“अहँ यो कुरा पटक्कै हुँदैन । हुनै सक्दैन । आगोको अगाडि पनि घिउ नपग्लिरहन सक्छ र ?”

“त्यो आगोको शक्तिमा भर पर्छ. । आगोको ताप थोरै छ र बरफ भको घिऊ छ भने त घिऊले नै निभाउन सक्छ आगोलाई नै ।”

“घिउ बरफ र बाफ हुन सक्छ तर आगो त जुनसुकै परिस्थितिमा र ठाउँमा पनि कहिल्यै बरफ बन्न सक्दैन । आगो आगो नै रहन्छ ।”

“त्यो त हो तर पनि म पत्याउँदिन.. । जुनसुकै अवस्थामा र परिस्थितिमा पनि आगो तातै हुन्छ ।”

“आगोको धर्म तताउनु हो र घिउको बाध्यता हो पग्लनु.. । पग्लेपछि स्वभाविक रुपमा समर्पित भएर बिलिन हुन्छ आगोमा घिऊ ।”

“तिमीले आइमाइलाई घिऊ र लोग्नेमान्छेलाई आगो ठान्यौ । तर तिमीले सोचेजस्तो घिऊ जस्तो कमजोरचाहिँ हुन्नन् आइमाई । दुवैबीच एउटा मर्यादा र सीमा पनि त हुन्छ । त्यो नागेर मात्र समर्पणमा पुग्ने हो ।”

“एक अर्काको सामिप्यताबाट उत्पन्न हुने उत्तेजनाबाट त्यस्तो मर्यादाको सीमास्तम्भ चकनाचुर नभइरहन सक्ला र ?”

“स्पर्श नभइ उत्तेजना होला र ?”

“बोल्दा आँखा जुध्छ । आँखा जुधेपछि एउटा भाव संचार हुन्छ । त्यसपछि स्वभाविक रुपमा समर्पण, समर्पण पछि समागम हुन्छ र समागम पछि स्खलित…। अनि त सक्कि गो नि । आँखाको स्पर्श नै काफी.. ।”

“समर्पण भाव नभई समागम हुन असम्भव…। समर्पण भाव पनि त हुनुपर्या नि एकअर्कामा….।”

“चुम्बकका दुइटुक्रा भएपनि चुम्बकीय शक्तिले कसरी आफसे आफ टाँसिन्छन् । त्यस्तै हो नि मान्छे पनि..।”

“बिपरित ध्रुव भए भने पर.. पनि त भाग्न सक्छ चुम्बक त, झन मान्छेको त कुरै नगर.. ।”

“दुइ टुक्रा भएपनि मान्छे चुम्बक जस्तो बिपरित ध्रुवका हुँदै हुँदैनन् ।”

“अहँ पटक्कै हुन सक्दैन तिम्रो कुरा ।” मैले हारिनँ ।

निकै लामो बहस चल्यो यस बिषयमा । विभिन्न खालको तर्क बितर्क भए हामी बीच । दुवै जनाले आ–आफ्नो जाने जतिका तर्क पेश गर्या । दुवैजना हार्न नचाहने । अन्तमा ‘बाजी’ मार्ने निर्णय भयो । प्रयोगात्मक रुपमा प्रमाणित नगरि नचाहने भएर एक रात सँगै बिताउने सहमतिमा दिन तोकियो । दिन नभनौँ रात ।

ऊ र म नजिकका साथी थियौँ । भविष्यमा होला नहोला त्यो थाहा छैन तर अहिले एक अर्कालाई आफ्नो ठानिसकेका थियौँ । दुवै युवा जोशले भरिएका । दुवै ‘मै जान्ने’, ‘म सक्छु’, ‘म जित्छु’ यहि भावबाट ओतप्रोत ।

बिभिन्न बिषयमा यस्तै तर्क र बितर्क हुने गर्थे हामी बीच । कहिले कुनैमा ऊ जित्थ्यो भने कुनैमा म । धेरैजसो हामी हार्न नचाहने भएकोले कतिपय तर्क निस्कर्ष मै पुग्दैनथ्यो । वर्षा सम्म पनि । यस्तै क्रममा यसरी अप्रत्याशित रुपमा यस बिषयमा कुरा उठाएको थियो उसले र अन्तमा एक अर्कालाई हराउने उद्धेश्यले शर्त मन्जुर गर्या ।

तोकिएको दिन आउन बाँकी नै थियो । एक दिन करिब नौ बजे म उसको कोठामा पुगेर ढोका ढकढकाएँ । निष्पट्ट अँध्यारोमा राति हुँदो अप्रत्यासित रुपमा मलाई देख्दा ऊ झस्कियो ।

“के भयो ?” आत्तियो ऊ ।

“हेरन …मेरो त घरबाट बुबा आउनुभएको छ ।” मैले उसलाई गम्लंग अँगालो हाल्दै रुन्चे बोलीमा भनेँ । एकचोटि उसले पनि मलाई दह्रो गरि च्याप्यो अँगालोमा र मेरो जिउ थपथपाउँदै भन्यो, “बुबा आउँदै रुनुपर्छ त ? झन खुशी पो हुनु पर्ने हो…।”

“बुबा मलाई लिन आउनु भएको अरे । घरमा मेरो बिहेको कुरा चलेको छ रे । चलेको मात्र हैन लगभग पक्का नै भो रे बिहेको कुरा ..। म घर फर्कने तयारी गर्नु रे…।”

“झन राम्रो भएछ त । अब हामी सँधै सँगै बस्ने भएछौँ यो त झन खुशीको कुरा हैन र ..।”

“मैले उसलाई अँगालोबाट पर धकेल्दै भने, होला नि खुशीको कुरा । तिमीसँग हो र अर्कैसँग…।”

“हँ त्यसो पो ..?” झस्कियो ऊ ।

एउटा कोठा । एक छेऊमा एउटा सानो बाँसको र्याक । एउटा पढ्ने टेबल । झ्याल छेउको कुनामा किचेन टेबल । भित्र भान्साका खिच्रिङ मिच्रिङ होलान् तर माथि एउटा ग्याँस चुल्हो । एउटा बेड । सफा र चिटिक्क । केटा मान्छे भएर पनि जाँगरिलो भएको पुष्टि बेडमा ओच्छ्याइएको सेतो तन्ना र टलक्क टल्कने भाँडाकुँडाले पनि गथ्र्यो ।

बैठब, लिभिङ, बेडरुम, भान्सा सबै त्यहि एउटा कोठा थियो उसको ।

ओच्छ्यानको छेउमा खुट्टा झारेर ऊ गम्भीर भएर बस्यो । सायद मेरो कुरा सुनेर ऊ यति गम्भीर भएको थियो । म भने उसको अँगालोबाट फुत्कने बित्तिकै उसको ओच्छ्यानमा डंग्रंग पल्टिएकी थिएँ । उत्तानो परेर । सिलीङमा हेरेर टोल्हाइरहेँ निकैबेर । उ चुपचाप गालामा हात लगाएर बसिरह्यो ।

मैले घुँडाले घचेट्दै भनेँ, “हेइ के सोचेको ?”

झस्कँदै मसँग आँखा जुधाएर भन्यो, “केही हैन ।”

“केही नभए किन चूप त …।” म अझै लाडिएर मेरो खुट्टोको बूढी औलाले उसलाई कोट्याइदिएँ ।

“हामै्र बारेमा ..। तिम्रै बारेमा सोचेको नि ..।” म पटि फर्केर भन्यो ।

“के सोचिमात्रै रहने कि गर्ने पनि ..?”

“के गर्नु..?”

“प्रयास पनि त गर्नुपर्याे नि..। उपाय लगाउनु पर्याे ।”

“यस बारेमा मैले त केही पनि सोचेकै थिएन…। अब एक्कासी के उपाय लाउनु ?”

“मलाई भन्नु भन्दा पहिले सोच्नु पर्दैनथ्यो त । यसो गर्छु । यसरी गर्छु । भनेर… । खुबै फूर्ति लाउँथ्यौ त अस्ति त ..। तर खै त अहिले मौका पर्दाचाहिँ …?”

“मुखले भने जस्तै हुन्छ त गर्न….।”

“के गर्न…?” म जिल्याउन खोज्छु ।

“कुनै पनि काम गर्न नि ..। यो त झन…।” पुरा भनेन उसले ।

“जे सुकै गर अब मलाई.. । अब यो सबै तिम्रो जिम्मा । के गर्छाै.., कसरी गर्छाै…, कतिखेर गर्छाै..?”

“गरौँला न बिस्तारै….।” ऊ ढुक्क छ हुन्छ ।

“अँ अझै बिस्तारै…..। यति भइसक्दा पनि बिस्तारै भन्छौ..? समय त छैन त बाबु । समय बितेपछि अनि खालाउ न…..।” अलि झर्कँदै भनेँ मैले ।

“यस कुरामा म तयारी भाकै छैन के…।” मेरो आँखामा आँखा खप्ट्याउँदै भन्यो उसले ।

“केटा मान्छे सँधै तयारी नै त हो नि ..। अलिकति आँट मात्र त हो नि ..र केटीले जस्तो ‘पर’….पुगेर सोच्नु पर्दैन केरे केटालाई ..।

“आँट पनि त मनले सोचेपछि मात्र आउने हो क्यारे…।”

“तिमी खुब फूर्ति गथ्र्याै त लोग्नेमान्छे भनेको आगो हो । आगोले सबै दहन गर्न सक्छ । सबैलाई तताउन सक्छ ….। किन अहिले चाहीँ दहन गर्न नआँटेको त ..?

“हो हुन त र पनि …।” खुइय लामो सास काड्छ ऊ ।

म उठेर उसको सामुन्ने बस्छु र उसको हात खेलाउँदै भन्छु, “गर्छाै हैन ?”

“भनेँ त गर्छु ।”

“कहिले त ..?”

“भनेँत सोचेकै छैन ..।”

अहिले गर्दा हुन्न..?

अहिले ? यहाँ ? यतिबेला…?

“अनि के भो त ..?”

“कसरी हुन्छ अहिले ?

“किन नहुनु र ..? तिमी छौ । म छु । अनि दुवै राजी छौँ भने…?”

“घरमा सोध्नुपर्छ ।”

“किन ?”

“अनुमति लिन ..।”

“छि…। लाछी..। मर्द अरे यस्तो…।

“तिमी मर्द भए अनि थाहा पाउँथ्यौ..। कति गाह्रो हुन्छ ।”

“के गर्न ?”

“निर्णय गर्न…अरु के गर्न ..।”

“धत् डरछेरुवा ..। मैले त यी.. अब निर्णय गरिसकेँ..। अन्तिम निर्णय..।” फेरि उसलाई अंगालो हालेर उसका गालामा म्वाइँ खाइदिन्छु…।

हिजोसम्म उसले कति कोशिस गरेको थियो मलाई म्वाइँ खान र मैले पनि खाइदेओस भन्ने तर अहिले मौका मिल्दा बदलामा ऊ पनि मलाई म्वाइँ खाँदैन । पर घचेट्दै भन्छ, “तिमी त सिरियस नै हुन्नौ यार…।”

“अनि के को सिरियस त…।” पुनः उसको ओठमा म्वाइँ खाइदिएँ लाज शरम पचाएर ।

“ऊ ओच्छ्यानबाट उठ्छ र टेबलमाथि भएको बोटल झिकेर पानी खान्छ । म हेरिरहन्छु । माथिबाट पानी खाँदा उसको रुद्रघण्टी तल–माथि गर्छ । मलाई त्यो देख्दा कुरी–कुरी लाग्छ ।

मन अन्तै मोड्छु म । ऊ ढोका खोलेर बाहिर जान्छ । सायद बाथरुम होला ।

घडीमा आँखा पुर्याउँछु । एघार बीस भएको रहेछ । भोक पहिले नै लागिरहेको त थियो तर घडी हेरेपछि झन तेब्बर भयो भोक ।

उसको भान्सातिर हेरेँ । कुकरको बिर्काे लागिरहेको थियो र चुल्होमाथि नै थियो । अर्काे मुखमा कराही पनि छोपिराखेको ।

ऊ भित्र पस्यो ।

“खाना खायौ ?” म सोध्छु ।

“तिमीले खाको छैनौ ?” उल्टै प्रश्न गर्छ ।

“हेरन बाबालाई खाना पकाइदिएँ । अनि म त साथीको बर्थडे पार्टी छ नगई हुन्न भनेर निस्किएँ । बाको खबर सुनेर खान मनै लागेन अनि के…।”

“अँ मैले पनि खाकै थिइँन । तिमी आउँदा खाने बेला भाको थियोे । तर कुरा गर्दा गर्दै बिर्सिएछु भुसुक्कै । हेर त यति खेरसम्म मैले तिमीलाई पनि सोध्न नै पो बिर्सेछु । कस्तो सुद्धि होला मेरो…? तर अब त झन भोक पनि हरायो…।”

धत् ..। नखाएर पनि हुन्छ । भोकै बस्नु हुन्न क्या । आँखा अगाडि खानेकुरा हुँदा हुँदै पनि ।”

“खानेकुरा भएर मात्र हुन्न । मनैदेखि भोक पनि त हुनुपर्याै । खान त ।”

“खानेकुरा देखेपछि आपसे आप जागिहाल्छ नि भोक…।”

“मन नभएपछि जाग्दैन रहेछ…।”

“मन लगाएर जगाउन त ..।” म फेरि अँगालोमा च्यापेर आँखामा आँखा मिसाएर कुरा गर्छु ।

“जर्बजस्ती खाँदा अपच हुन्छ क्या..।” मेरो अँगालोबाट फुत्कँदै ऊ सिरियस हुन्छ । “तिमी खान्छौ ..? ऊ चुल्होपटि फर्कँदै मलाई हेर्दै सोध्छ ।

“अँ, मलाई त एकदमै भोक लागेको छ र त तिमीलाई तताउ न भनेको त ..।”

“ऊ चुल्हो पट्टि फर्केर दुवै मुखमा ग्याँस लाइटरले आगो बल्छ । तरकारी तताएको कराहीबाट ‘स्याँ’ आवाज आउँछ ।

म उठेर ऊ भएठाउँ जान्छु र पछाडिबाट उसको भुँडीमा दुवै हातको फेरो मार्छु र उसको डँडेल्नोमा टाउको राख्छु । ऊ मेरो कृयाकलापले फेरि झसँग हुन्छ र उसको भुँडीमा बेरिएको मेरो हात सुम्सुम्याउँदै भन्छ, “के हो, तिमी त एकदम खुशी देखिन्छ्यौ नि..।”

“हो त म त एकदम खुशि त छु नि ।”

“किन ..? बिहे हुन लाग्यो भनेर…?” ऊ व्यंग्य गर्छ मलाई ।

“हैन मेरो जित हुन्छ भनेर ढुक्क छु म त ।”

“कसरी…? कस्तो जित ..?” उसले नबुझेकै भावमा भन्छ ।

“किनकि तिमीसँग म छु त्यसैले ।”

“तर तिम्रो इच्छा पूरा गर्न सकिन भनेँ..?”

“किन नसक्नु नि ..? म आफैँ तिमीसँग समर्पित भइसकेँ ।”

“समर्पित हुन सजिलो छ । तर जिम्मेवारी निभाउन कति गाह्रो ..। तिमीलाई के थाहा ..?”

“ऊ मेरो हात खुस्काउँदै भन्छ “ल हिँड खाउँ ।”

“के खाने ?” म उसलाई जिस्काउन खोज्छु ।

“खाना…।” ऊ सजिलै र सरल भावमा भन्छ ।

“अरु नै केही तात्तातो…मीठो… केही खाउँ कि भनेर..।”

“के चिया खाने त ..?” ऊ सोध्छ ।

“मात्रै…?” म अरु नै सम्झ्योस भन्ने भावमा भन्छु ।

“नत्र कफी पनि छ । कि चिया र बिस्कुट खाने त ..?” ऊ बट्टा निकाल्दै भन्छ ।

“धत्..। छोड्देऊ ..। उल्लु रहेछौ तिमी त । कुरै नबुझ्ने…।” अलिकति म नखराको भाव देखाउँछु ।

“अनि के त ..?” ऊ आँखा ठूलो ठुलो पारेर सोध्छ ।

“केही पनि होइन…।” म अर्काेपटि मुख फर्काउँछु । झर्केजस्तो गरेर ।

“पहिले खाना खाउँ न त अनि खाउँला न है तिमीले चाहेको ..।” ऊ आस्वासन दिन्छ ।

म स्विकृतिमा टाउको हल्लाएर मुस्कुराउँछु ।

ऊ उदाश नै छ । जर्बजस्ती हाँस्न खोज्छ । मनले होइन मुखले मात्र ।

खाना खान बस्छौँ । ऊ एक जनालाई पकाएको भात दुइजनालाई बाँड्छ । भोकले सताएको छ । म गमगमी खान्छु । ऊ खानु भन्दा बढी खेलाउँछ । जबर्जस्ती मुखमा लान्छ र करले निल्छ ।

“खाने बेलामा केही नसोचन..। ह्या…, के पीर गरिरहेको होला ..?” म हकार्छु ।

“काँ गरेको छु र ? छैन ..। ऊ डिच्च गर्न खोज्छ । जर्बजस्ती हाँसेको अस्वभाविक लाग्छ ।

म उसको थालको भात हातले नै मुछमाछ पारेर उठाउँछु र भन्छु, “ल खै आँ गर त । म खुवाइदिन्छु के..।

ऊ क्वार क्वारती हेर्छ मलाई । हाम्रा आँखा चार हुन्छन् । आँखा जुधिरहँदा म एउटा आँखा झिम्काइदिन्छु र मुख चुच्चो पारेर इशारा मै चुम्मा गरिदिन्छु । ऊ अकमकिन्छ र भन्छ, “छोड म आफँै खान्छु ।”

“ल एक गाँस मात्र ..।” म कर गर्छु ।

ऊ एक गाँस खान्छ । रातो हुन्छ उसको अनुहार ।

“म भाँडा सफा गरिदिउँ..?” गर्ने हिसाबले हैन जिस्काउने पाराले भन्छु म ।

“छोड्देऊ यति राति..। बिहानै उठेर सफा गर्नुपर्ला ।”

जुठो भाँडा खत्राक खुत्रुक थन्काउँछ । म हेरिरहन्छु । ऊ तौलियाले मुख पुच्छ्दै आउँछ र खाटको छेउमा बस्छ ।

म त अघि नै आफ्नै ओच्छ्यानमा झैँ पल्टिसकेकी थिएँ उसको ओच्छ्यानमा ।

“अरु केही खान दिन्नौ..?” फेरि उसको आँखामा आँखा गाडेर नै सोध्छु म ।

“अघाइनौ….? थोरै भयो है खाना..?” ऊ हीनता देखाउँछ ।

“तलतल लागिरहेको छ क्या….।”

“के को तलतल..?”

“खै केको केको ..? केही नयाँ…चिजको..। तिमीसँग भको केही नया चिज खाउँ खाउँ लागेको….।”

“के छ र मसँग..? तिमीलाई दिने नया स्वादको र ?

“होला नि मसँग नभको ।”

“के सुपारी खाने त..?”

“नखाने… ।”

“कि गुट्का पनि खाने गरेकी छ्यौ कि के हो ?”

“धत्…। त्यस्तो पनि खान्छु होला..?”

“त्यसो भए के खाने त..?”

“केही हैन .. । छोड्देउ… ।” म झर्केर रिसाएको झँै गर्छु ।

त्यसो भए म चिया पकाउँछु है त..?

“तिमी खाली पकाउने र तताउने मात्र कि, आफू पनि तात्ने..?”

“तातेको त छु नि..। भन्ने बित्तिकै हुन्छ त ..?”

“मनैदेखि ताते किन नहुनु…?”

ऊ चिया पकाएर ल्याउँछ । हामी सुरुप–सुरुप पार्छाँै । कुरा मै उप्काउँछु, “के सोच्यौ त तिम्ले..?”
ऊ हडबडाउँदै भन्छ, “अप्रत्याशित रुपमा यस्तो कुरा गर्छाै । मैले त केही सोच्नै सकिँन ।”

“त्यसो भए तिम्रो प्रेम झुट्टा हो..।”

“हैन..। साँचो मनले प्रेम गरेको छु तिमीलाई..।”

“त्यसो भए किन हिम्मत गर्दैनौ त ..?”

“कसरी गरौँ त ..?” ऊ बल्ल मेरो आँखामा आँखा मिसाउँछ ।

“त्यसो भए म बिहे गरेर अर्कैसँग जाउँ त ? तिमी खुशी हुन्छौ हैन त ..?”

“मैले त्यसो भन्न खोजेको हैन..।”

“तिमी कायर हो । डरपोक हो । तिमीबाट केही पनि हुँदैन …। म झर्किन्छु र टाउको समाउँछु ।”

“ऊ बर्रर आँसु खसाउँछ मलाई अँगालो हाल्छ र सुम्सुम्याउँदै भन्छ, “हेर म त ठूलो सपना बोकेर आएको छु यो शहरमा । घरमा आमा एक्लै हुनुहुन्छ । मैले धेरै पढेर जागिर खानु छ र आमालाई सुखले पाल्नु छ । भविष्यको यही आशले आमाले मलाइ दुःख गरेर अहिलेसम्म पढाइरहनु भएको छ । अहिले मेरो पढाई पनि सकिएको छैन । झन जागिर खानु त कहाँ हो कहाँ । अब यस्तोमा अहिले नै तिमीसँग बिहे गरेर म कसरी, के गरि खर्च पुर्याउनु ? तिम्रो, मेरो पढाइखर्च, कोठाभाडा, खाना खर्च, म कहाँबाट पुर्याउनु ? तिमी नै भन त ? । बिहे पछि त तिम्रो लागिपनि तिम्रो घरबाट पनि खर्च बन्द हुन्छ नि ..। तिम्रो पनि त जागिर छैन..।”

“म उसको आँखा पुछिदिँदै भन्छु, त्यसो भए तिमी मेरो बाबासँग माग्न आऊ । अनि सबैको राजीखुशीमा बिहे गरौँला । यसो भयो भने खर्चको सहयोग पनि हुन्छ । समस्या नै खत्तम … । म समस्याको समाधान बताइदिन्छु ।”

“ज्यान जोखिममा पार्नु छ र ..? मेरो हैसियत पनि त हुनुपर्याे नि तिमीलाई माग्न जान त ..। मेरो यहि अनुहार वा नाक मात्र हेरेर त पककै पनि दिन्नन् होला छोरी… तिम्रा बाबुले ।”

“त्यसो भए हाम्रो सम्बन्ध खत्तम ..। तिमी आफ्नो बाटो लाग म बिहे गरेर आफ्नो बाटो लाग्छु । बिर्सीदेउ कि हामीले कुनै दिन सँगै मर्ने बाँच्ने कसम पनि खाका थियौँ ।”

“त्यसरी नरिसाउ न । बरु समस्याको समाधान खोज, सोच ।” अनुरोधको भावमा भन्छ ऊ ।

“त्यो तिम्रो कुरा हो । कसरी सोच्छौ, गर्छौ गर ।”

“कसरी मेरोमात्र हो र ? हाम्रो भनन यार ..। ऊ मलाई फकाउँदै भन्छ, बरु तिमी एकफेरा बाबासँग हाम्रो सम्बन्धको बारेमा सबै खुलेर भन । अहिले पढाइ गर्ने बेला हो आफ्नो भविष्य निर्माण गर्ने बेला हो । पढाइ सकेर मात्र बिहे गर्छु भनन । सम्झाउँदा सम्झिहाल्नुहुन्छ नि बाबा ..।”

आखिर अन्य कुनै उपाय नभएपछि यहि उपाय ठीकै लाग्यो । समर्थन जनाएँ मैले उसको यस कुरामा ।

मैले घडि हेरेँ । चार बजेको रहेछ । मैले उसलाई भनेँ, “हाम्रो समस्याको समाधाान भएको खुशीमा ‘अब तो कुछ मीठा हो जाए….।’ दंग पर्दै भनेँ ।

मेरो आशय उसलाई रोमान्टिक बनाएर अग्रसर गराउने थियो । तर ऊ पटक्कै बुझ्दैन मेरो आशय ।

“के खान्छ्यौ त …” फेरि अबुझ प्रश्न गर्छ ऊ ।

“किनकी जित त मेरो नै हुनेछ …।” म खासमा ‘बाजी’को कुरालाई लिएर अहिले नै व्यंग्य गर्छु । तर ऊ पटक्कै बुझ्दैन ।

“हार्याै भने नि..?” ऊ पनि मान्दैन सजिलै ।

“हुनेछ हैन मान, मैले जिती नै सकेँ ।” म संकेत गरिदिन्छु । ल ल अरु केही दिन्नौ भने मीठोको नाममा एक कप तात्तातो चिया नै खाउँ न त ..।”

ऊ उठ्छ र चिया पकाउँछ । म घरि घडि र घरि ऊतिर हेर्दै व्यंग्य मुस्कान मुस्कुराउँछु ।

ऊ मेरो कृयाकलाप देखेर भन्छ, “एकदम खुशी छ्यौ नि कुरा सम्झँदा मात्रै पनि..।”

“हो त आज त म खुशीले पानी पानी भएकी छु, र यो पानीमा छताछुल्ल भएर तिमीलाई पनि बगाइदिन चाहन्छु ..।” म पुन उसलाई अँगालोमा कस्दै भन्छु । ऊ पनि यतिखेर बल्ल आफ्नो हात मसँग लपेटेर कस्छ ।

यत्तिखेरै चिया उम्लेको आवाज आउँछ, अलिकति पोखियो पनि । ऊ अँगालोबाट मलाई छुटाएर पर धकेल्दै ग्याँस निभाउँदै भन्छ, “यी खाइ हाल्यौ नि चिया…।”

चियाको चुस्कीसँगै ऊ कतै गहिराईमा हराउँछ ।

म उसलाई सम्झाउँछु, “हेइ, साँच्ची तिमीले बिस्र्याै कि के हो हाम्रो बाजीको कुरा ।”

“कसरी बिर्सिन्छु र ? आखिर जित्ने त मैले नै हो क्यारे..।” ऊ बल्ल मनैदेखि हाँस्छ ।

“वा ..! यत्रो आत्म विस्वास…?” म व्यंग्य गर्छु ।

“हो ..। हेर न । त्यो दिन तिमी आफैँ मसँग….।”

“लु नखोक….। मनको लड्डु घिउसँग खानु…..।”

“त्यो दिन तिमीलाई हराउनकै लागि म यस्तो वातावरण बनाइदिन्छु कि तिमी आफैँलाई रोक्नै सक्दैनौ । अनि त जित मेरै हुँदैन र ..?”

“भन्नाले ..?”

“भन्नाले तिमी आफैँ समर्पित हुनेछौ मसँग । अनि ‘बाजी’ हार्छाै ।

“त्यो त हेर न..। कसले जित्दोरहेछ ।” म उसको नाक समाएर हल्लाइदिन्छु । ऊ मख्ख पर्छ ।

ऊ आङ तान्छ र भन्छ, “हे अब त सुत्नु पर्छ ..। निन्द्रा पनि लागिसक्यो । कति गफ मात्रै गर्ने होला..। सुतौँ है अब ..। हेर, तर तिमी कहाँ पो सुत्छ्यौ यार..? मेरो त एउटै मात्र ओच्छ्यान छ । यसो गर न, तिमी खाटमा नै सुत । म यो भुइँमा म्याट ओच्छ्याएर सुत्छु । एकै छिनमा ऊ हाँस्दै भन्छ, कि दुवै जना खाटैमा सुतौँ है । पछि सँधै सुत्ने नै हो केरे र अहिले पनि सुताँै टाँसिएर हुन्न…?”

म मनमनै दंग पर्छु र भन्छु,, “घडी हेरत उल्लु कति बज्यो ? सुत्छौ अब सँगै एउटै खाटमा टाँसिएर…।”

ऊ अत्तालिएर घडि हेर्छ । बिहानको पाँच बजेको छ घडीमा । बिस्वास नलागेर झ्यालको पर्दा उठाएर हेर्छ । बाहिरको उज्यालो भित्र छिर्छ । हँ…..। ऊ असमन्जसमा पर्छ । अरे उज्यालो पो भइसकेछ.. । कति छिटो त .? धत्तेरी… । ऊ बिस्वास गर्न चाहँदैन ।

चियाको कप राख्दै मैले भनेँ, “ल अब कलेज पनि जानु पर्ने बेला भो ..। तिमी तयार होऊ ।”

“रात भर सुतेको छैन । के जानु कलेज । म त जान्न ।” हाइ काड्दै भन्छ ऊ ।

“ल त्यसो भए म जान्छु । मेरो त साथीको नोट बुक लगिदिन पनि जानै पर्नेछ । तिमी जाँदैनौ भने म त हिँडे ।” म आफ्नो ब्याग टिपेर निस्कन खोज्छु । ऊ ढोकासम्म पु¥याउन आउँछ ।

म पुनः फरक्क उतिर फर्केर अंगालो मारेर उसको गालामा म्वाइ खाँदै भन्छु, “वाइ द वे, मिस्टर हाम्रो बाजी मैले सजिलै जितेको छु ….।”

ऊ अक्क न बक्क पर्छ र नबुझेको भावमा मलाई हेर्छ ।

“म हाँस्दै भन्छु, देख्यौ त…। तिम्रो र मेरो एउटै कोठामा एक रात सजिलैसँग बित्यो त ..। हाम्रा आँखा जुधेरै गफ भए । हामीबीच स्पर्श पनि भयो । आलिंगन पनि भयो । चुम्बन पनि भयो । मेरा हरेक भनाइमा र कृयाकलापमा समर्पण थियो । एक अर्काको भावमा दुवै रोयाँै यो समागम र आँसुको माध्यमबाट स्खलन पनि । तर खै त आखिर कुनै मर्यादा नागेर एउटी नारी र एउटा पुरुष बीच हुने कार्य भयो त तिमीले भनेजस्तो …? अनि जितिन त मैले बाजी……?

अलिक पर पुगेर हेरेँ ऊ हेरिरहेको थियो मलाई नै….।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *