कथा : पैयुँको फूल

~सञ्जीवनी शर्मा~

सदा झैं यसपालीको हिउँदमा पनि पैंयुँ फुल्यो । आरुको फूल खेलुञ्जेल माइत बस्न आउने मैतालु चेली फर्कलान् र बाल्यकालका सम्झना मुर्झाउँला भनेको कोही देखा परेनन् । आहा, त्यो बेलाको बाल्यकाल ! हामी त्यहीं तलको बेंसीमा रहेको खहरेमा लुकिछिपी जान्थ्यौं र छेप्पा खेल्थ्यौं । अलि अलि पौडी खेल्न पनि जान्न लागेका थियौं । गट्टा त हाम्रो नियमित खेल जस्तै थियो । अनि हुतुतु सबैको प्रिय खेल । त्यहीं परको पाखामा गाई बाख्रा चराउँदा बिहे गरेको खेल खेल्थ्यौं । ढुङ्गोलाई छोराछोरी मान्थ्यौं । केटीहरूले छातीमा लगेर दूध चुसाएजस्तो गर्थे । खेल खेल्नेहरूमा केटाहरू थोरै हुँदा मैले धेरैपटक दुलाहा हुने अवसर पाउँथें र कहिले काहीं त यस्तो हुन्थ्यो मसँग बिहे गर्न तीन चारवटी केटी तँछाडमछाड गरेर आउँथे र एक पटकमा एउटी बाहेक बिहे गर्न मिल्दैन भन्दा ठुस्सिएर दुई तिन दिनसम्म पनि कट्टी गर्थे । अर्कोपटक म तिमीसँग बिहे गर्छु भनेपछि कोही खुशी हुन्थे तर मलाई पहिला गर्ने कि नगर्ने भनेर वाचा कसम खुवाउँथे । ‘भो बा गर्छु गर्छु’ भनेपछि उनीहरू मत्थर हुन्थे । त्यतिबेला बिहे खेलमा मेरा दुलही भएका गाउँका ति चमेली, खिनाउरी, पातली, चाँचरी, चिमरी, तिफुली, प्याकुली सबै दश वर्ष पुग्दा नपुग्दै डोली चढेर गए । म भन्दा तेब्बर चौबर उमेरका लक्का जवानले तिनलाई लगे । कोही कोहीले त आफ्ना बाबुका उमेरका मानिससँग बिहे गरेर गए । अझ कुन कुन चाहींका त सौता पनि छन् अरे । मसँग बिहे खेल्दा अर्की केटीलाई मसँग आउनै नदिने तिफुलीका दुईवटा सौता छन् भन्ने सुनेको छु । कस्तो विडम्बना !

आफ्ना टोल छिमेकका ति केटीहरूको एकएक गरेर साँच्चीको बिहे हुँदै गर्दा मेरा बालसखा सखी मबाट खोसिए । मलाई एक्लोपन महशुश भयो । हाम्रो खेल बिचैमा सकियो । छिमेकका राजु काका, बाटुली काकी, उजेली काकी, पिताम्बर काका, समशरे काका, जुनेली काकी सबै छोरी बिहे गरी सकेको र आफू अर्काको नासोबाट मुक्त भयौं भनेर मेलामा गफ गर्दै थिए । बिहे गरेर गएका ति मेरा तीन चार वर्ष त माइतै आएर बसे । उनीहरू आएपछि कहिलेकाहीं हामी फेरि बिहे खेल खेल्थ्यौं । त्यतिबेला उनीहरूले बिहे गरेर घर गएपछि त्यहाँ भएका सासु ससुरा, देवर जेठाजु, नन्द अमाजु, ज्वाईं, भान्जा भान्जी आदिसँगका व्यवहार पनि दोहोर्याउन थाल्थे । मलाई अचम्म लाग्थ्यो । श्रीमानको खुट्टाको जल खाने, उनको पूजा गर्ने, सासुको गोडामा सुत्ने बेलामा मालिस गर्ने, पँधेराबाट पानी ओसार्ने, दैलो लिपपोत गर्ने खेल खेल्न मलाई उक्साउँथे । म पनि उनीहरूले भने जस्तै गरिदिन्थेँ । आखिर रमाइलो न हो, गर्नैपर्‍यो । नत्र एक्ल्याइदिन्छन् ।

समयको चक्र घुम्दै जाँदा १२–१३ वर्षका मेरा ति बालसखीहरूका शरीरमा थुम्काथुम्की देखिन थाले । शरीरको उपल्लो भागमा आएका ति थुम्का दिन प्रतिदिन बढ्दै जाँदा उनीहरूका व्यवहारमा पनि परिवर्तन आउन थाले । कोही कोही त दाजुभाइले नदेख्ने ठाउँमा लुक्न गएको कुरा पनि सुनियो । दिन प्रतिदिन उनीहरूको शरीरमा लाली चढ्न थाल्यो । पहिले भन्दा उनीहरूका ति गाजलु आँखा, ति आँखाको हेराइ, उनीहरूका बोलीचाली सबै बदलिंदै जाँदा उनीहरू झनै सुन्दर हुँदै गएको मलाई भान हुन थाल्दै थियो । यसै पनि किशोरावस्थामा हुर्कँदै गरेको म आफूलाई उनीहरूसँग निकट हुन मन लागेका बेला उनीहरूले लाज मान्दा, नजिक पर्न आनाकानी गर्दा, पहिले जस्तै सहजै बोल्न, हिंड्न र खेल्न नचाहेको देख्दा स्व. लोकगायक सरोजगोपाल बज्राचार्यको ‘देउराली उकाली चढेर’ शीर्षक गीतमा भने जस्तै पीर पो पर्न थाल्यो । हिजो सम्म खोलाको तिरमा खेल्ने, ऐसेलु चुत्रो, मलो, कुबिडाइनो, भलायो, भतौरा, बयर, आदि टिपी खाने, गट्टा खेल्ने, लुकामारी, बिहेवारी जस्ता खेल खेलेका मेरा ति बालसखीका जीउमा रङ चढ्दा मलाई छुन पनि डर लाग्न थाल्यो । उनीहरू तरुनी बन्दै गएको र आफूबाट टाढा हुन थालेको भान हुन थाल्यो । यद्यपि कतिपय केटी त जवानीका संकेत देखा परे पनि मसँग निकट हुन छाडेका थिएनन् ।

एक दिन मैले चाँचरीसँग बिहे खेल्दै गर्दा आमाले देख्नु भयो र गाली गर्नुभयो । अर्काको जहानसँग के गरिराछस् हे सन्ते ? बिहे गरेर गएकी अर्काकी छोरी छुन हुन्न, बाबै । तँलाई डाम्लान् नि ! म आकाशबाट खसेजस्तो भएँ । मलाई डर लाग्यो । कतै यी पाँचैवटी केटीका श्रीमानलाई आमाले भनेको जस्तै जारी तिर्न पर्ने त होइन ? कतै यी पाँचै केटी सबै मैसँग बस्न आउने त होइनन् ? पहिले तँछाडमछाड गर्ने ति बालसखीहरू सबै मसँगै बिहे गर्छु भनेर हौसिए भने मैले के गर्ने होला ? मलाई त डर पो लाग्न थाल्यो । घरिघरि आए आउन्, बाबुको एउटै छोरो हुँ, खेतबारी प्रशस्त छ, सबै मिलेर कमाइ खान्छन् भन्ने लाग्थ्यो । त्यतिबेला म पनि १५ वर्ष पुगिसकेको थिएँ । मेरो उमेरका गाउँका अम्बरे, गोपाले, एकराज, गिरेन्द्र, सुर्यले त झ्यानकुटी पारिसकेका थिए । गिरेन्द्रले तिफुलीलाई ‘यहीं बस, म तिमीसँग पनि बिहे गर्छु’ भन्थ्यो । तर तिफुली मसँग पाए आफ्नो घर छाड्न परे पनि केही पर्वाह नभएको कुरा गर्थी । एकपटक गाउँका बिहे भएका सबै केटीहरूले आफ्नो घर जाने उमेर नपुग्दै गाउँकै आफ्ना साथीहरूसँगै बस्ने निर्णय गर्ने भनेर छलफल गरेको आफूले सुनेको भनेर गोविन्दले हामीहरूलाई भन्दै थियो । यो सुनेर बिहे गरेका केटा पनि केटीहरू त्यस्तो गर्न आँट्छन् भने आफूहरू पछि नहट्ने भनेर हौसिएका थिए । यसबाट आफ्नो घर परिवारमा के कस्तो असर पर्ला भन्ने उनीहरूलाई त्यति राम्रो ज्ञान थिएन । नत हामी नै । हामी कस्सिएका थियौं । घर परिवार, समाज, इष्ट मित्र जोसुकैले जे ठाने ठानून । जे गरे पनि हुन्न र गर्दै नगर मात्रै भनेर निषेधका गराला मात्र तेस्र्याउने ।

आमाको अनुशासन पाठ पछि मैले ति केटीहरूसँगको हिमचिम घटाउँदै गएँ । तर पनि चमेली र चाँचरीसँग त मलाई छुट्टिन मन लागेन । मौका पारी म उनीहरूलाई भेट्न जान्थेँ । उनीहरू पनि मलाई भेट्न नपाएर ब्यग्र भए जस्तो लाग्थ्यो । उनीहरूको अनुहार, आँखा र व्यवहार यस्तै झल्कन्थ्यो । सुनेको थिएँ चाँचरीका पतिले घरमा चार जना छोरी हुँदा हुँदै पनि छोरा पाउने आसमा चाँचरीलाई बिहे गरेका रहेछन् । ४५ वर्षका ति प्रौढसँग गएर मेरी चाँचरीले छोरा पाइदिनु पर्ने अरे । उ साह्रै चिन्तित थिई । हिजो मात्रै उनका पति अब एक डेढ महिनामा उनलाई लिन आउँदै छन् भन्ने खबर पठाएका रहेछन् । अब माइत यसरी बसिरहन नपाइने र साथीसँगीसँग मेलापात, गोठाले कर्म, घाँस दाउरा गर्दा दिनहुँ भेट नहुने भयो । घर जाने दिन आउँदै गर्दा मन खिन्न भएकाले आफूलाई चँदेरे खोलामा हेलिएर मरौं झैं लाग्थ्यो भन्थी ।

आरु फुल्दै थियो । मकै छर्न तयारी गर्नका लागि गोबर मल खेतमा बोकेर लाने काम हुँदै थियो । खेताला अर्मपर्म गरी एक अर्काका खेतमा मल बोकेर आफ्नो कर्म गरिराखेकै थियौं । अरु दिनको जस्तो हाँसो केही दिन यता चाँचरीको मुहारमा देखिन्नथ्यो । उ चिन्तामा रुमल्लिरहेकी थिइ । आफ्ना मनमिल्ने साथीहरूसँग पनि त्यति खुलेकी थिइन । मनमनै मलाई साह्रै मन पराए पनि आफ्ना भावना मसँग प्रकट गर्न सकिरहेकी थिइन न त मैले नै केही संकेत गर्न सकेको थिएँ । एक एक गरेर आफ्ना बालसखीहरू अर्कैले लैजाँदा म निरीह भएर बस्न बाध्य थिएँ । सायद सामाजिक बन्धन र परिवारको डरले होला । न त मेरा ति बाल्यकालका साथीहरू बिहे भएर गए पनि मसँगै बस्छु, दुलाहाको घर जान्न भनेर यतै बस्ने हिम्मत गर्थे न म नै उनीहरूलाई यहीं बस म तिमीहरूलाई बिहे गरेर राख्छु भन्ने हिम्मत नै गर्थें । गाउँका बिहे भएका केटीहरूसँगको मेरो नियमित हाँसखेल देखेर आमाले भन्नुहुन्थ्यो, ‘गाउँका केटीहरू आफ्ना दिदी बहिनी सरह हुन् । तिनीहरूसँग त्यस्तो व्यवहार गर्नु ।’ चाँचरीको मसँगको सम्बन्ध अलि फरक भएको प्याकुलीले आमालाई भनिसकेकी रहिछे । मनमनै मनपराए पनि चाँचरी, तिफुली, चमेली, प्याकुलीहरू त मेरा दिदी बहिनी जस्तै थिए । उनीहरू पनि मलाई आफ्नै दाजुभाइ जस्तै व्यवहार गर्थे ।

एक दिन चाँचरीका अधबैंसे पति आएर उनलाई लगे । पन्ध्र वर्षकी चाँचरी आफ्ना दुई बीस उमेर कटेका दुलाहाका पछि लागेर लुरुलुरु गई । अब उसले घर गरी खान सौता, उसका हुर्केकी छोरी, चर्की सासु, कडा मिजासका ससुरा र सौतासँग रत्तिएका पतिलाई विश्वासमा लिएर काम गर्नुपर्ने छ । विचरी चाँचरी के गर्ने होली ? मेरा मनमा धेरै खुल्दुली चलेका छन् ।

असारे पन्ध्रको रोपाईं थियो । चाँचरीका घरमा म लाठे गएको थिएँ । अम्बरे र गोपाले पनि मेलामा गएका थिए । तीन हल गोरु, पाँच जवान लाठे, डेड दर्जन रोपाहार गैरी खेतमा मानो रोपेर मुरी फलाउने उद्देश्य पूरा गर्न लागेका थियौं । सधैंको रोपाईंमा सँगै हिलो छ्यापाछ्याप खेल्ने मेरी चाँचरीको अभाव थियो । तैपनि प्याकुली र तिफुली सँग इत्रिँदा चाँचरीको न्यास्रो मेटेको थिएँ । जुनेली काकीले दुई बजेतिर खाजा लिएर आइन । बिहान ९ बजेदेखि लाठे काम गर्दा हत्तु भएका हामी बाउसे, हलि अनि ति खेताला ब्याडे गह्रामा बसेर खाजा खाँदै गर्दा भन्दै थिइन्, ‘हाम्री चाँचरी दुई जिउकी भएकी छ रे । चार पाँच महिना भयो भन्ने सुनेकी छु । यो बाली लगाई सक्न पाए, छोरी भेट्न जान हुन्थ्यो ।’

साउने सक्रान्तिको दिन हिलो मेटियो । त्यसको लगत्तै जुनेली काकी दुई हर्पे घ्यू, विरम्फूलका चामल, खाने मसला आदिको ठूलै पोको लिएर छोरीको घर गइन । छोरीले गाउँका सबैलाई सम्झेको कुरा जुनेली काकीले बताइरहँदा सौतामाथिको घर जान मन नलागेका भन्दै कसैलाई थाहै नदिई चँदेरे खोलामा हेलिएर मर्न जाँदा पछिबाट समातेर बचाएपछि मलाई उसले गरेको समर्पणको याद आयो । आफूले त्यसरी बचाएर फकाईफुल्याई घर पठाएकी चाँचरीसँगको त्यसै यादमा म बाँच्दै थिएँ । अझ उ दोजिया छे भन्दा मलाई कौतुहल लागिरहेको थियो । चाँचरीले छोेरा पाउली कि छोरी ! त्यो बच्चा कस्तो जन्मिएला ? उसले मलाई के भनेर बोलाउला ? यस्तै यस्तै कुरामा म सोचमग्न थिएँ ।

चाँचरीको भाइ केदारे तिजमा दिदी लिन गएको थियो तर उसका घरका जहानले माइत पठाएनछन् । जुनेली काकी, डिल्लीराम काका, केदारे जस्तै म पनि चाँचरीलाई देख्न नपाउँदा दुःखी भयौं । पछि एकैचोटी देख्ने आशमा उ सुत्केरी हुने दिन गन्न थालें । उसलाई पनि माइत आउन मन थियो होला तर आफ्नो शरीरको अस्वाभाविक रूप देखाउनु भन्दा उतै घरतिर बसिरहन खुशी मानेकी होली ।

यसपाली दसैं आयो । तर चाँचरी माइत आइन । तिहारताका एकको दुई हुन्छ कि भन्थिन जुनेली काकी । तिहारको भोलीपल्ट घरै सुत्केरी भइछे । छोरो जन्माउँदा धन्न मरिनछे मेरी चाँचरी । चार चारवटी छोरी पाएपछि आफ्नी माइली छोरीका उमेरकी कान्छी स्वास्नीका रूपमा चाँचरीलाई ६ वर्ष अघि भित्र्याएका चेतनाथलाई आफ्नो वंशको उत्तराधिकारी जन्मिएकोमा धेरै खुशी लागेछ । परिवारमा मात्र होइन टोल छिमेकमा हर्षोल्लास मनाउने तयारी भयो । एउटा घोर्ले खसी काटेर छोराको न्वारनको दिन गाउँले र इष्टमित्रलाई भोज खुवाउने तयारी भयो । न्वारानको दिन पण्डित आए । आफ्नो विधि शुरु गरे । केही बेरपछि उनले सुत्केरी र शिशुलाई आफूसमक्ष ल्याउन आग्रह गरे । चेतनाथले आफ्नी ठूली छोरी नन्दालाई भने, ‘जा त नानी, भाइ लिएर आइज । कान्छी आमालाई पनि यहाँ आउन भन है ।’ ‘हुन्छ, बा !’ भनेर घरभित्र नन्दा त आत्तिंदै आइ र भनी ‘बा, बा ! भाइ पनि छैन र कान्छी आमा पनि छैनन् ।’ ‘कता गइ होली त कान्छी ? कतै दिशा पिसाब गर्न त गएकी छैन, यताउति होली नि । हेर, हेर !’ परिवारका सबै सदस्य, न्वारन खान आएका परपाहुना सबै चाँचरी र उसको नवजात शिशुको खोजीमा लागे । सम्भावित सबै ठाउँमा हारगुहार गरे । तर न त आमा भेटिइ न उसले पाएको ११ दिनको बालख नै । विडम्बनै भयो । चेतनाथले उपस्थित सबैका सामु भने । ‘केही समस्या थिएन । राम्रै खाइपिएकी थिइ । एउटा चार धार्नीको खसीको मासु सिङगै खाएकी हो । उता एकपाथी घ्यू पनि सकेकी हो । छोरो पनि पोटिलो हुँदै गइरहेको थियो । स्याहार सुसार राम्रै पाएकी थिइ । छोरो चुप्रिने र आमालाई तेल लगाउने काममा कान्छीआमा र जेठी दुवै खटेका थिए । कुनै गुनासो थिएन । छोरीहरूसँग पनि राम्रै बोल्थी । सानी छोरीलाई त हुरुक्क गर्थी । सानी छोरीले त भाइको दूध धेरै भएकाले बेलाबखत खाएर कचौंडो गानिन दिंदैनथी । टोलका केटाकेटी सबैलाई भाइ हेर्ने रहर हाँसेरै पुर्‍याइदिन्थी । बोलेर कसैलाई पिरेकी थिइन न त कसैले यसो उसो भन्यो वा गर्‍यो भनेर गुनासो नै गर्थी । तर अनायासै यो के भयो ? म त दङ्ग परेको छु । कहाँ गई होली त चाँचरी ? आफू कतै गएपनि छोरा त घरमै हुनुपर्ने ।’

उता आफ्नो घरदेखि न्वारनको दिन बिहान सबेरै हराएकी चाँचरी आफ्नो ११ दिनको छोरो लिएर खाना खाने बेलातिर हाम्रोे घर आइ । पिंढीमा बिसाउन नपाउँदै उसले भनी, ‘सन्तु, तिमीले मसँग छोरो मागेका थियौ नि । ल लौ, मैले तिमीलाई मेरो छोरो ल्याइदिएकी छु । हेर न यो त नाटीकुटी तिमी जस्तो छ ।’ ‘यो के भन्दै छ है चाँचरी ? बहुलाउन न त बहुलाइनस् ?’ आमाले झर्किंदै सोध्नुभयो । ‘सन्तुले र मैले सानैमा बिहे गरी खेल खेल्दा मैले ढुङ्गोलाई छोरो भनेर उनलाई दिएकी थिएँ । आज साँच्चिको छोरो ल्याइदिएकी छु । मारे पाप, पाले पुन्य । जे गर्ने हो गर्नुहोस्, सुन्तली काकी । पैयुँ फुलेकै छ । मलाई बाँच्नु अर्नु छैन । लौ, म त गएँ चँदेरे खोलातिर । प्याकुली मलाई कुर्दैछे ।

पोखरा १७, बिरौटा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *