नियात्रा : टाटा सुमो हाईवे

~प्रदीप नेपाल~

बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने निम्तो पाएको थिएँ मैले। पुग्नुपर्ने थियो हेटौँडा बजार। सिमराको पहिलो उडान गुण एयरवेजको रहेछ बिहान १० बजेको। काठमाडौं-सिमरा यात्राको समय १२-१५ मिनेटको मात्र हुने भएकाले जहाजबाटै जाने निश्चय पनि गरियो। बेलैमा उड्न पाए ढिलोमा पनि साढे ११ बजे त हेटौँडा पुग्ने टुंगै थियो। कार्यक्रम २८ मंसिर ०६७ को थियो।

तर, पाँच दिनदेखि सिमरा विमानस्थल १२ बजेअघि खुलेको छैन भन्ने जानकारी २८ गते बिहान मात्रै पाएँ मैले विमानस्थलबाट। एकपल्ट हेटौँडामा सम्पर्क गरेँ। आयोजकहरूले पनि ढुक्कको जवाफ दिन सकेनन्। सिमरा पनि सम्पर्क गर्न लगाएँ मैले। १२-१ नबजी आज पनि हवाईजहाज उत्रिन सक्दैन भन्ने जानकारी पाएपछि यात्राको विकल्प खोज्नुपर्ने देखियो। काठमाडौं-हेटौँडा धेरैपटक गरेको क्षितिजले दक्षिणकालीको बाटोबाट जाउँ, तीन घन्टामा आरामले पुगिन्छ भन्यो।

मैले गाडीबाट जाने मन बनाएँ। मैले आयोजकलाई फोन गरेर यात्रामार्ग परविर्तन गरिएको र ९ बजेतिर बल्खु चोकबाट दक्षिण लाग्ने योजना बनाएको जानकारी दिँदै भनँे, “बाटोका बारेमा मलाई प्रत्यक्ष जानकारी छैन। तर पनि तीन घन्टामा पुगिन्छ भन्ने ठहर भएको छ। म १२ बजेसम्ममा जसरी पनि आइपुग्नेछु। तपाईंहरूले पर्खिनुपर्ने भयो।”

“११ भनेको १२ त बजिहाल्छ नि !” उताबाट सन्तोकको स्वर आयो।

कुलेखानी खोलो तरेर जाने गाडीहरू तीनै घन्टामा हेटौँडा पुग्छन् भन्ने सुनेको थिएँ मैले। मैले मेरो कान्छो सालो क्षितिजलाई हेटौँडा जाऊ भनेँ। दाइलाई लिएर हिँड्न पाउँदा क्षितिज रमाउँछ नै। उसले सजिलै हुन्छ भन्यो।

कुरो त उत्पातै सुनेको थिएँ कुलेखानी मार्गको। कुलेखानीसम्म पुग्ने तीनवटा मोटरबाटा तयार भइसकेका छन्। कुलेखानी उता भने एउटा मात्रै बाटो छ पिच गरेको। चिसापानी गढीसम्म उकालो लाग्नुपर्छ। त्यहाँबाट ओरालो झरेर भीमफेदी पुग्नुपर्छ। भीमफेदीमा पुगेपछि बाटो तेर्सिन्छ। भैँसेमा पुगेपछि बाटो त्रिभुवन राजपथसँग जोडिन्छ भनेर मलाई साथीहरूले एकपल्ट त्यो बाटो हिडौँ न पनि भन्नुभएको थियो। योजना अनुरूप त्यो बाटो हिँड्ने औसर प्राप्त भयो।

एउटा बाटोको नाम मदन भण्डारी मार्ग रहेछ। दक्षिणकाली बजारबाट देब्रे लागेर ओरालो झर्ने त्यो बाटोलाई गाउँले भाषामा सिस्नेरीको बाटो भनिँदो रहेछ। बजारबाट दाहिने लागेर उकालो लाग्ने र हुमाने भन्ज्याङ हुँदै कुलेखानी पुग्ने अर्को बाटोलाई फाखेल मार्ग भनिँदो रहेछ। सबैभन्दा उत्तरको तेस्रो बाटोचाहिँ पुरानो पदमार्गको चिन्हमा बनाइएको रहेछ र त्यो थानकोटबाट चित्लाङ झरेर कुलेखानीतिर लाग्दो रहेछ।

बाटो राम्रो सिस्नेरीको भनेका थिए त्यताबाट हिँड्नेले तर मलाई भने फाखेलको बाटो जान मन लाग्यो। फाखेलसँग पुरानो स्मृति जोडिएको थियो मेरो। उहिले जेल विद्रोह गरेर जनताको काखमा पुग्दा मैले चोभारको पुल तरेर दक्षिणकाली हुँदै डाँडैडाँडा उकालो हिँड्नुपरेको थियो। दिनभर चन्द्रागिरिको बाक्लो जंगलमा लुकेर बसेपछि हामी साँझ खसेपछि फाखेलतिर ओरालो झरेका थियौँ।

“उहिले हातपाउ टेकेर अन्धकारमा हिँडेको बाटो यसपालि खुला उज्यालोमा गुडौँ न,” मैले मनमनै भनेँ।

फर्पिङ बजार पुगेपछि स्थानीय प्रहरीले हामीलाई सिस्नेरीको बाटोमा निर्माण कार्य चलिरहेको हुनाले फाखेलतिर लाग्दा यात्रा सजिलो हुने जानकारी दिए। तेर्पायाँतेर्पायाँ उकालो लागेर हामी साना खोल्सी, पातलो गाउँबस्ती पार गर्दै उकालो चढ्न थाल्यौँ।

“एई, त्यो बसका मान्छे खस्लान है, भाइ तँ अलिक भित्तातिर चेप्पिई,” मास्तिरबाट बेफिक्रीसँग छतमा समेत मान्छे राखेर ओरालो झर्दै गरेको बससँग झन्डै हामी चढेको टोयोटा फोर्चुनरको मुख जोतिन खोजेपछि मैले क्षितिजलाई सतर्क पार्दै अह्राएँ।

क्षितिज गाडी राम्रो हाँक्छ। मैले धेरैबाट सिफारिस पनि पाएको थिएँ। तर, बाटै ढाकेर ओरालो झरेको त्यो बसको मुखैमा पुगिसकेको फोर्चुनरको नाकलाई उसले कलात्मक ढंगले जोगायो।

सडक यात्रा गर्दा म जहिले पनि आफ्नो सुरक्षा अधिकृत रामकाजी थापालाई सँगै लाने गर्छु। बाटोघाटोमा पर्ने अवरोध र अप्ठ्याराहरूलाई राम्ररी उपचार गर्ने क्षमता भएको हुनाले रामकाजीलाई सकेसम्म सँगै राखिरहन मन लाग्छ मलाई।

“रामकाजी, यो काइदा त भएन,” मैले उसलाई सम्झाउँदै भनेँ, “बाटो कच्ची छ। साँघुरो पनि छ। साना जीप त दोहोरो हिँड्न नमिल्ने यो बाटोमा बस चलाउन दिनुहुँदैन। काठमाडौं फर्किएपछि यो कुरो सम्बन्धित निकायमा उठाउनुपर्छ। बसको नम्बर पनि नोट गर्नु है !”

रामकाजीले त हस् सर भन्यो। तर, क्षितिजले यस्ता बस त कति चल्छन् चल्छन् यतातिर भनेर मलाई हिस्रिक्क पारििदयो।

हुमाने भञ्ज्याङ पुगेपछि मैले लामो सास तानेँ। नढाँटी भन्ने हो भने त्यस्तो सुविधाजनक गाडी र एउटा कुशल गुरुजीको छेउमा बस्ता पनि उकालोमा झन्डैझन्डै मेरो खलाँती चलिरहेको थियो।

सुस्ताउन मन लाग्यो। त्यसैले मैले क्षितिजलाई भनेँ, “एकछिन गाडी रोकौँ। चिस्यान पनि छ। यसो एकपल्ट आफूले ३४ वर्षअगाडि फेरो मारेको जंगल र बाटोघाटोलाई नियालेर हेर्न मन लाग्यो।”

क्षितिजले गाडी रोक्यो। चिस्यान भरिएको थियो भञ्ज्याङको पश्चिमपट्टि। धेरैबेर मैले चन्द्रागिरि, फाखेल र उतिबेला हामी हराएको फाखेलमाथिको जंगललाई मायालु आँखाले मुसारेँ। त्यतिबेलाको रातमा त्यो जंगल चिताइनसक्नुको ठूलो लागेको थियो। अहिलेको उज्यालोमा त त्यो बूढो मान्छेको खुइलिएको कपालजस्तो पातलो पो देखियो।

भञ्ज्याङउताको सडक सजिलो लाग्यो मलाई। बिहानको घाम नपरेको ठाउँमा चिसो ओस थियो गाडी फिलिलिली चिप्लिएलाजस्तो लाग्ने। तेर्सो तर अलिक साँघुरो त्यो बाटोमा बल्ल मेरो मन रमायो।

गाडी कुलेखानी सरोबरको डिलमा पुग्यो। सुरक्षामा खटिएका भाइले एकछिन खै गरे। यस्तो बेलामा रामकाजीको सेटले सधँै काम गथ्र्यो। त्यहाँ पनि उसले सेट देखाएर ती भाइलाई बाटो छोडिदिन इसारा गरे। हामी बाँधको पश्चिमतिरबाट ओरालो झर्‍यौँ र झन्डै कुलेखानीको सतहमै ओर्लियौँ।

“सिस्नेरीको बाटो आएको भए हामी यहीँ जोडिन्थ्यौँ सर,” रामकाजीले दिएको जानकारीतिर आँखा डोलाउँदै मदन भण्डारी मार्ग नाम गरिएको त्यो फराकिलो बाटोलाई मनमनै सम्मान जनाएँ र फर्किंदाचाहिँ यही फराकिलो बाटो फर्किनुपर्ला भन्ने मन बनाएँ।

बाटो उकालो लाग्यो। तर, हेटौँडाबाट आउने टाटा सुमो गाडीहरू दोहोरीलत्ता भेटिन थाले। पिच गरेको भए पनि साँघुरो बाटो, कुइँक्क कुइँकिने मोडहरू, मोडमा समेत हर्न नबजाउने गुरुजीहरूको खराब बानीबेहोराका कारण कुन ठाउँमा दुइटा गाडीको मुख जोतिने हो भनेर म मनमनै पिरइिरहेँ।

टाटा सुमोका गुरुजीहरूभन्दा कुशल रहेछ हाम्रो क्षितिज। प्रत्येक मोडमा ट्याँ पारेर हर्न बजाइहाल्ने र साँघुरै बाटो भए पनि अर्काको साइड नमिच्ने उसको बानीले हामी सकुशल देउराली भन्ने स्थानमा पुग्यौँ।

हुमाने भञ्ज्याङमा एकपल्ट लामो सास तानेको थिएँ मैले। उता त झन्डैको जम्काभेट जम्माजम्मी एउटा बससँग मात्रै भएको थियो। कुलेखानी खोलाबाट उकालो लागेपछि त धेरै मोडहरूमा लौ ठोक्कियो, लौ ठोक्कियो जस्तो भइरहेको थियो। त्यसैले देउरालीको चिसो हावामा मैले धेरैपटक लामो सास तानेँ। धेरैपटक त्रिभुवन राजपथको बस यात्रा गरेको भए पनि मैले भीमफेदीलाई काखमा राखेर तेर्सिएको फाँट देख्न पाएको रहेनछु। लामो र अलिअलि तेर्पायाँ परेको मैदानबाट उकालो लाग्दै जाँदा मैले नाकै अगाडि ठिंग उभिएको हरयिालीमा लटरम्म फुलेको डाँडालाई नियालेर हेर्दै लामो सास तानेँ। काठमाडौंबाट बाहिरिएपछि हरयिाली भरिएका डाँडाहरूमा म लामोलामो सास तानेर सफा अक्सिजनले फोक्सो सफा गर्ने कोसिस गर्ने गर्छु।

छेउमा एउटा टाटा सुमो घचक्क रोकिएको आवाज सुनेपछि म मनको यात्राबाट बाहिरिएर देउरालीमा फर्किएँ। अकस्मात् मलाई श्रीकृष्ण यादवहरूको गाडी झरेको र गाडीमा बसेका सबै जनाको निधन भएको दुर्घटनाको सम्झना भयो।

हामी ओरालो झर्नै लागेका थियौँ, विद्यालयका विद्यार्थी बोकेको एउटा कोस्टर गाडी देउरालीको होटल अघि चुईंचुईं गर्दै रोकियो। यस्तो साँघुरो बाटोमा विद्यार्थी बोक्ने बस?

हामी ओरालो लाग्यौँ। चिसापानी काटेर ओरालो लागेपछि एउटा मोडमा तमलोपाका नेताहरू चढेको गाडी यहीँबाट तल झरेको हो भनेर क्षितिजले देखायो। उसको अनुहारमा कुनै डर थिएन। तर, तलतिरबाट आएका गाडीहरूले लगालग नाक जुधाउन खोज्दा मेरो मन थरथरी काम्थ्यो।

भनेकै समयमा कार्यक्रममा पुगियो। फर्किंदा मलाई कुलेखानीको बाटो आउन मन लागेन। तर, मेरा साथी कृष्णप्रसाद दाहालले अरू नजान्नेले गाडी झार्ने कुरो एउटा हो, अहिलेसम्म एउटा पनि टाटा सुमो दुर्घटनामा परेको छैन। छोटो बाटो छ, यतैबाट जाउँ भनेर बेस्सरी कर गर्नुभयो। एकातिर साथीको चित्त दुखाउन मन लागेन, अर्कोतिर केन्द्रीय कमिटीको बैठकमा भाग लिन ११ बजे बल्खु कार्यालय पुग्नुपर्ने हतारो पनि थियो।

भोलिपल्ट २९ मंसिर बिहानै हिँडियो हेटौँडाबाट। बिहानै हिँड्दा कम्तीमा पनि चिसापानी गढीसम्मको मन तर्साउने बाटामा गाडीहरूको नाक जुध्ने खतरा त हुँदैन भनेर मैले मनलाई थुम्थुम्याएँ। नभन्दै काठमाडौंबाट आएका टाटा सुमोहरूलाई हामीले देउरालीमा मात्रै भेट्यौँ।

देउरालीको दृश्यावलोकन अघिल्लै दिन गरसिकेको थिएँ। चिया खाँदै गर्दा टाटा सुमोको लर्को देख्दा मैले कृष्ण दाहालको ‘एउटा पनि टाटा सुमो दुर्घटनामा परेको छैन’ भन्ने वाक्य सम्भिएँ। सँगै बस्नुभएका साथीहरूलाई आफ्नो मनको निष्कर्ष सुनाउन मन लाग्यो मलाई। मैले अलि ठूलै स्वरमा भनेँ, “साथीहरू यो बाटोमा टाटा सुमो मात्र चलाउने र यसलाई टाटा सुमो हाई वे नामकरण गर्ने मेरो प्रस्तावप्रति तपाईंहरूको समर्थन हुन्छ कि हुँदैन?”

“सरको प्रस्ताव स्वागतम्। यहाँ टाटा सुमो मात्रै चलाउने हो भने दुर्घटनाको खतरा कहिल्यै भोग्नुपर्दैन।”

कुरो त गरियो आफू-आफूबीचमा। ठाउँठाउँमा छेउकुना बारेर हेटौँडा, भीमफेदी, चिसापानी गढी, कुलेखानी, दक्षिणकाली छिमल्दै काठमाडौं आउने बाटोलाई टाटा सुमो मात्रै चल्ने सडक नबनाउने हो भने त्यो बाटो हिम्मत बोक्ने मानिसको संख्या साह्रै बढ्लाजस्तो लाग्दैन मलाई।

तर, यसैबीचमा अर्को मन रमाउने खबर सुनिएको छ। हेटौँडा उद्योग वाणिज्य संघले आयोजन गरेको कुनै कार्यक्रममा नयाँ सुरुङ मार्गको चर्चा चलेछ। कुलेखानी खोलादेखि भीमफेदीको टाउकोमा रहेको फाँटसम्म साढे दुई-तीन किलोमिटर लामो सुरुङ खन्ने हो, काठमाडौं र हेटौँडाको दूरी साढे एक घन्टामा खुम्चिने रहेछ। बाटो छोटो हुनु उसैमा पनि खुसीको कुरा हो। त्यस खुसीसँगै विद्युत् प्राधिकरणले एकवार हुनेगरी बनाएको चिसापानी गढीको उकालो र ओरालो गर्नु नपर्दा तराई जोड्ने सबैभन्दा छोटा बाटाहरूमा काठमाडौं कुलेखानी हुँदै सुरुङ मार्गबाट हेटौँडा निस्िकने यो बाटो पनि एउटा पर्ने थियो ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४३२)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *