राजेन्द्र थापाका पाँच छोटा कविताहरु

~राजेन्द्र थापा~Rajendra Thapa

छिमेकी
छिमेकीहरू हाम्रो साँध आफूतिर तान्छन्
हामी चिया प्यूँदै चियापसलमा
छिमेकीलाई गाली गर्छौं
साथीहरू दिनरात हाम्रो खुट्टा तान्छन्

हामी रक्सी प्यूँदै रक्सी पसलमा
छिमेकीलाई ठोक्ने घोषणा गर्छौं र
दायाँबायाँ पलाकपुलुक हेर्छौं
अनि, कोही नदेख्दा राहत भेट्छौँ।

हात जोड्नेहरू
हात जोड्नेहरू पनि अडे
हाँसीहाँसी अघि बढे
हात नजोड्नेहरू पनि अडे
चिप्लीचिप्ली पछि लडे ।

सडक
सडक बन्द भन्छ मान्छे
तर, सडक बन्द हुँदैन
मान्छे मात्र बन्द हुन्छ ।

बाघ राजनीति
एउटा बाघ मर्छ, खबर बन्छ
त्यही बाघले दिनहुँ मृग मार्छ
खबर बन्दैन
थुक्क राजनीति !

साथी हुन् चुस्छन् नै
साथी हुन् रगत त चुस्छन् नै
तर, उपियाँ साथी नराख्नू
जीउमै लुक्छ, टोक्छ र उफ्रेर हराउँछ
बरु लामखुट्टे साथी राख्नु
कमसेकम चुस्नुअघि
भूँ गरेर खबर त गर्छ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अंक ४३६)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छोक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *