लघुकथा : बिचरा नियति

~कृष्ण वस्ती~Krishna Wasti_1

साँझ छ बजेभित्र गन्तव्यमा नपुगे यात्रुहरु अलपत्र पर्छन् भन्ने कुरालाई हेक्का राखेर बस निर्धारित समयमा सखारै बाटो लाग्यो ।यात्रीहरु मध्ये झ्यालतिरको १५ नं० सिटको पुरुष यात्रीले १४ नं०की नारीको अनुरोध स्वीकार्यो र उनीहरुले सिट साटासाट गरे ।यसबाट उनीहरुको बोलचाल शुरु भयो र परिचय गर्न पुगे ।दुबैका बीचमा औपचारिकबाहेक कुरो गहिरिएन ।अल्लारे र अविवाहित भए पो एकअर्कासँग नजिकिन र एकअर्कालाई बुझ्ने जिज्ञासा हुन्छ ।दुबैले त्यो चरण पार गरेका हुनाले सामान्य अवस्थामा रहन गाह्रो भएन ।

भित्रको अवस्था सामान्य भएपनि बाहिर चाहिं असामान्य रूपले बिहानैदेखि मुसलधारे पानी पर्यो ।गन्तव्यमा पुग्न तीन घन्टाजति समय बाँकी हुँदा बस एउटा सानो बजारमा रोकियो र के थाहा भयो भने ‘पहिरोले अगाडि जाने बाटो भत्काएको हुनाले बाटो भोलिपल्ट बिहानमात्र खुल्न सक्छ ।’ बजारमा होटल र लजहरु थोरै थिए भने रोकिएका बस र यात्री धेरै थिए ।१४ र १५ नं०का नारी र पुरुषले मिलेरै अलग-अलग कोठा खोजे तर भेटिएन । बल्लतल्ल संयोगले दुई बेडको एक कोठा मिल्यो ।शिकारीले लखेटेको बेला बाघ र मिर्गले त एकै ओडारमा शरण लिन्छन् भने उनीहरु त मानिस थिए तसर्थ दुबैले त्यही कोठा लिए र बास बस्ने निधो गरे ।

बेलुका पुरुषले भन्यो “तपाईको मान-सम्मान इज्तत-अस्मिता र मर्यादालाई रक्षा-सुरक्षा गर्नुलाई यो घडीमा म आफ्नो कर्तव्य ठान्छु तसर्थ निश्चिन्त हुनुहोला ।”स्वीकृतिमा नारीले शिर हल्लाई ।दुबैजना आआफ्ना ओछ्यानमा पल्टिए । ओछ्यान सजिलै थिए तरपनि दुबैले असजिलो अनुभव गर्दैथिए । ओछ्यानमा उडुस-उपियाँ थिएनन् तर मनका उडुस-उपियाँले दुबैलाई टोकेर हैरान पारेको कारणले दुबै निदाउन सकेनन् तर यो मनोवैज्ञानिक पीडाको मर्मलाई दुबैले एकअर्कासँग लुकाए र अनिंदोमै रात कट्यो ।

भोलिपल्ट बिहानै बाटो खुल्यो र केही घन्टामै उनीहरु अन्तिम बसपार्कमा पुगेर आआफ्नो ठेगानातिर लाग्नुअघि नारीले पुरुषलाई भनी “तपाईले मप्रति गर्नुभएको हिजोको संयमपूर्ण व्यवहारका लागि म आभारी छु ।अरुले जस्तो नारीलाई गिद्दे नजर नलाउने तपाई धन्य हुनुहुन्छ । तर तपाईं पनि अरु पुरुषजस्तै स्वार्थी-निर्विवेकी र दमनकारी हुनुहँदो रहेछ ।जसका कारणले मेरो मर्ममा ठूलो घाउ लाग्यो ।”नारीबाट धन्यवादको आशा पालेको पुरुष यस्तो अपल्पनीय कुराले तर्सियो र भन्यो ” मैले नजानी गरेका व्यवहारले के चोट पर्यो? भन्नुहोस् न । “

नारीले सहज भावमा भनी ” तपाईबाट पाउने मान-सम्मान इज्तत-अस्मिता- मर्यादा र रक्षा-सुरक्षालाई तपाईले एकतर्फीरूपले परिभाषित गर्नुभयो ।त्यो रक्षा-सुरक्षा भयो कि भएन वा कसरी परिभाषित हुने भन्ने कुरा त मैले गर्ने अनुभवमा पो भर पर्छ त ।तपाईले भनेका कुरालाई म कसरी परिभाषित गर्न र अनुभूत गर्न चाहन्छु भन्ने कुरै नबुझी आफ्नो निर्णय तपाईले पनि लाद्नुभयो ।महाशय !एकबचन मलाई सोधेको भए अनिंदो रातको शिकार हुनुपर्ने थिएन सायद ।बाई…..

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *