कविता : पश्चताप

~बिपना ढुङ्गाना~

अलि जिद्दी स्वभावकी थिएँ
धेरै जिद्दी गरेँ होला,
बाल्यकालको त्यो तोते बोलीले,
सायद कयौं कुराहरु प्रस्ट्याउन सकिन होला,
तर मैले केही नभनेपनि बुझ्थ्यौ तिमी ।

भर्खरभर्खर हिड्न सिक्दै गरेकी म
लर्वरलर्वर गरेर पाइला भुँईमा घिसरन्थे,
आफूलाई उठ्न सहारा चाहिँदा
धेरैपटक तिम्लाइ निहुर्‍याएँ होला,
तर सधैं मेरो हौसला बन्न तत्पर थियौ तिमी ।

जहाँ सम्म याद छ मलाई,
इच्छा र आकाङ्क्षाहरू त अथाह नै हुन्थे मेरा,
अभावको ज्ञान कहाँ थियो र मलाई?
कठिन परिस्थितिसँग जुधेर
तिमी मेरो चाहना पूरा गर्दै गयौ,
म भने एकपछि अर्को गर्दैे मागिरहेँ होला ।

मेरा ती ढिटहरू प्रति पछुतो छ मलाई आज,
अपरिपक्व थिएँ म,
तिम्रो आँसु पुछ्नै सकिनछु आमा,
आफू पछिपछि हिँडेर भएपनि,
मलाई सदा अगाडि बढ्न प्रोत्साहन गर्ने
तिम्रो संघर्ष बुझ्नै सकिनछु बाबा ।

सानोछँदा भुतसँग डराउने तिम्री छोरी,
आज भविष्यसँग तर्सिन थालेकी छु,
अन्जान मुलुकमा पठायौ मलाई,
तिम्रै न्यास्रोले छटपटिन थालेकी छु ।

यहाँ त खुलेर रुनलाई,
तिम्रो काख पनि छैन आमा,
दुख बिसाउने तिम्रो कॉंध पनि छैन बाबा,
त्यसैले तिम्रो खोजीमा,
आज हजारौं हजारको भीडमा बिलाउन थालेकी छु ।

तिम्रो संस्कारमा डुबुल्कीएर हुर्केकी म,
हार त अझै मान्दिन,
संसार रुझाउने मेरो प्रयास जारी छ,
संघर्ष गर्दैनैछु ।

आफू उठ्न र अरुलाई उठाउनका निम्ति,
निँहुरिन तिमीबाट नै सिकेकी हुँ,
त्यसैले झुकेर नै एक दिन ,
सबैको मन जित्ने छु,
तिम्रो शिर गर्वले आकाश चुम्नेछ अब,
किनकी तिमीबाट टाढिएपछि,
तिम्रो माया अझै धेरै बुझ्न थालेकी छु ।

बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.