कथा : कामरेड घाम र कमरेड ज्योति

~इस्माली~Ismali

पार्टीमा कामरेड घाम र कमरेड ज्योति भनेपछि कार्यकर्ताहरू हुरुक्कै हुन्थे । तिनलाई कोही माक्र्स र एङ्गेल्स  भन्थे त कोही लेनिन र स्तालिन भन्थे,  कोही माओ र चाओ पनि भन्थे । हुन त ती दुई पार्टीका कुनै पदमा पनि थिएनन् , केन्द्रीय सल्लाहकार बाहेक तर सिद्धान्तकार र नीतिकार मानिन्थे । घाम संस्थापक थिए भने ज्योति पश्चप्रवेशी । तर दुबैमा अनौठो मेल थियो । यो मेलप्रति पनि मान्छेहरू ताज्जुब मान्थे र कोहीकोही त ईष्या पनि गर्थे । हुन त पार्टीमा कामरेडको बेमेल कसैसँग पनि थिएन । विस्तारित बैठकहरूमा र महाधिवेशनहरूमा नेता र कार्यकर्ताहरूबाट कामरेड घामलाई महासचिवको नेतृत्व सम्हाल्न पटकपटक दबाब नपरेको होइन तर उनी सँधै पृष्ठभूमिमै रहन रुचाउँथे । र प्रायशः महासचिवसँगै हुन्थे , महासचिवको छायाजस्तो । एकाध पटक उनले कमरेड ज्योतिलाई सानोतिनो जिम्मेवारीमा सिफारिश नगरेका होइनन् तर उनी पदीय जिम्मेवारीमा नगएपछि ज्योति पनि गएनन् , भने, “घाम कामरेड नेतृत्वमा नबसेपछि म पनि बस्दिन ।”

घाम कामरेड असली सर्वहारा थिए,जेथाजिमिन—धनसम्पति भए नभएको उनैलाई पनि थाहा थिएन । पार्टीका नेता कार्यकर्ताहरू बाहेक  तिनका नातागोता, आफन्त, दरदियाद इत्यादि साह्रोगाह्रो बिरामी पर्दासम्म पनि अहिलेसम्म कोही देखिएका थिएनन् । उमेरमा क्रान्ति र समाजवादको सपना देखिरहे,अहिले पनि त्यो जारी नै छ । पार्टी भने ,आन्दोलन भने । कहिल्यै निजी जीवनलाई सुम्सुम्याउने फुर्सदै भएन । आजीवन अविवाहित । बास सँधै सेल्टरमै हुन्थ्यो । कलेज पढदापढदै विद्यार्थी आन्दोलनमा जेल परेका थिए । मनभित्र आगो छँदैथियो ,जेलमा क्रान्तिकारी नेताको सङ्गत पाएर त्यो झन भर्भराउँदो भयो । अनि बुर्जुवा शिक्षाको डिग्री स्याहार्नतिर नलागेर भूमिगत राजनीतिसँग मायाप्रिति गाँस्न पुगे । तदनुपरान्त न तिनले  कहिल्यै घर सम्झे न त घरले नै कहिल्यै तिनलाई सम्झिने धृष्टता ग¥यो । तिनका लागि पार्टी नै सबैथोक बन्यो । पार्टीमा देखावटी सर्वहाराकरण त छ तर असली सर्वहाराकरण हुन सकेको छैन भन्थे । यस कुराको तिनलाई साह्रै चिन्ता थियो ।

नेता र कार्यकर्ताहरू भन्ने गर्दथे— चन्द्रसँग चाँदनी र देहसँग छाया अलग हुन नसकेझैं घाम कामरेड र ज्योति कमरेड पनि कदापि अलग होवोइनन् । यो विषम मेलप्रति उनीहरू विष्मित पनि देखिन्थे । उनीहरूले कामरेड र कमरेड दुई विशिष्ट पदावली पनि प्रयोगमा ल्याउने गरेका थिए ।  सिद्धान्त र व्यवहारमा क्रान्तिकारीलाई कामरेड अर्थात् ‘काम रेड’ तर सिद्धान्तमा क्रान्तिकारी तर व्यवहारमा भ्रान्तिकारीलाई कमरेड अर्थात् ‘कम रेड’ भन्ने गर्दथे । पदावलीको यो भेदमा सबै जानिफकार थिएथिएनन् यकीन गर्न गाह्रो थियो ।  पटकपटकको पार्टी फुटमा पनि घाम र ज्योति सँधै एउटै पार्टीमा सँगै रहे । ती लगायत पार्टीका नेता र कार्यकर्ताहरूको आचार बिचार, निष्ठा व्यवहार,त्याग र सकृयताले पार्टी छोटो समयमै जनताका बीच लोकप्रिय भयो र नेतृत्वदायी पंक्तिमा पहिलो नम्बरमा आसिन हुन पुग्यो । पार्टी सत्तामा के पुगेथ्यो नेता कार्यकर्तालाई रेड लेबलको मात लागिहाल्यो ।

कमरेड ज्योति बम्के, “पार्टीमा कस्तो धमिरा लागिसक्यो । अब सांस्कृतिक आन्दोलन नगरी हुन्न,आपूmभित्र पनि एउटा जबर्जस्त आन्दोलन थाल्नुपर्छ । हाम्रा कामरेड घाम पशुपतिको मूर्तिझैं मौन छन् । खाओवादी र कमाउवादीहरूले पार्टी कब्जा गरिसके ।”

ज्योतिको बम्काइ पार्टीमा यत्रतत्र जोडतोडले घन्केजस्तो भयो ,पार्टीमा पनि खैलाबैला मच्चियो । हाम्रो पुरानो उखान अनुसार त तीन त्रिलोक र चौध भुवन नै हल्लिएजस्तो भयो । तर पार्टीका रैथानेहरूलाई कमरेड ज्योतिको बम्काइको तुक फेला पार्न हम्मेहम्मे प¥यो, तर पनि कमरेड बम्किरहे , ढाल बनिदिए कामरेड घाम । र कतिपय कार्यकर्ताको विरोध रहँदारहँदै पनि पार्टीले उनलाई एउटा गतिलो जिम्मेदारी दियो सरकारमा ।

दुनियाँलाई पाण्डित्य छाँटिबस्ने ज्योति कमरेड आफ्नो हकमा ती सूत्र लागु गर्न फिटिक्कै अघि सरेनन् । ‘परोपदेशे पाण्डित्यम् शिष्टा सर्वे भवन्ति हि, विष्मरन्तिः शिष्टत्वम् स्वकार्ये समुपस्थिते ।’ भन्ने नीतिशास्त्रको संस्कृत सूक्तिझैं भयो उनको व्यवहार । अनि त कार्यकर्ता र नेताहरूले तिनको बदख्वाइँ त गरे नै , त्यही मेसोमा घाम कामरेडको छाला काढन नि बाँकि राखेनन् । पछि कता के तलबितल प¥यो कुन्नि , कमरेडले  धेरै दिन थेग्न सकेनन् जिम्मेवारी । अनि त बने दुर्वासा , मुखमा बसिदियो तित्रा । सबैको तीन पुस्ते उडकिन थाले, “खूद महासचिव कमरेडको साँठगाँठ केकस्ता भ्रष्टाचारीसँग छ , हामीलाई थाहा नभएको हो र ? आफ्नो आङको भैंसी नदेख्ने ,अर्का आङको जुम्रो ।” र, आपूm सँगसँगै ज्योतिले कामरेड दिनकरलाई पनि सत्ताबाट ओराली छाडे,अझ यसो भन्दै , “ज्योति नभएपछि दिनकरको के महिमा ? न रहे बाँस , न बजे बाँसुरी !” अनि अट्टहासपूर्ण र उन्मुक्त हाँसोको फोहरा छाडे, ‘हिँहिँहिँहिँ…।’

“कामरेड,हुन त कमरेड ज्योतिका बारेमा केही भन्नु अनावश्यक र फजुलको फत्तुर हुन्छ होला । उनले पार्टीमा दिएको योगदानका तुलनामा एकाध नजाति जस्ता लाग्ने सानातिना कुरा क्षम्य हुन्छन् तर कुनै कुनै कुरा त्यस्तो हुन्छ जून सय्यौं  राम्रा कामकुराको तुलनामा एउटै नजाति कुरा साह्रै भारी हुन्छ , त्यसको क्षतिपूर्ति गर्न साह्रै गाह्रो पर्नसक्छ ..” भन्दै थिए प्रकाश तर कामरेड घामको धैर्यको बाँध भत्क्यो र सोधिहाले, “लामो र घुमाउरो भूमिका नबाँधिकन भन्नुस्न साथी,  गाँठी कुरो के हो ?”

“त्यही गाँठी कुरै भन्न लागेको हुँ , कामरेड ।” भन्दै प्रकाशले सोधे ,“कामरेड,कमरेड ज्योति किन तपाईंको अनावश्यक प्रशंसा गरिरहनु हुन्छ ? यो अतिशय प्रशंसाको अर्थ के होला ? कहिल्यै विचार गर्नुभएको छ कि ?”

“तपाईंले भन्न खोज्नु भएको के हो ? कोही कसैले कसैको प्रशंसा गर्दछ भने त्यसमा कसैले टाउको दुखाउनु पर्ने किन ?” घाम कामरेड आक्रोशमा आएजस्ता देखिए । यसको एउटा कारण थियो —उनी कसैको आलोचना र प्रशंसा मन पराउँदैनथे । त्यसैले थप प्रष्टीकरण अप्रियकर हुने ठानेर प्रकाश चुप लागे । तर पनि जाँदाजाँदै अनुरोधसाथ भने , “मैले भनेको कुरालाई अन्यथा नठानी गम्भिर भएर विचार गर्नुहोला कामरेड । घर बिग्रनु भनेको घरमा बस्ने सबैको नोक्सान हुनु हो र त्यो सबैको चिन्ता र चासोको विषय बन्नै पर्दछ ।”

घाम आवेशमै थिए, मनमा समुद्री छालझैं रोष छचल्किरहेको थियो । रौद्र मुद्रामै हेरिरहे जाँदै गरेको प्रकाशलाई । आँखाबाट ओझेल भइसकेपछि पनि उनको रिस साम्य हुन मानिरहेको थिएन तर पनि मनको  एउटा कुनोमा प्रश्न सलबलायो — के भनेको होला प्रकाशले ? कमरेड ज्योतिसँग प्रकाशको पनि राम्रै हिमचिम छ , ज्योतिले पनि प्रकाशलाई बडो सम्मान र कदर गर्दछन् तर पनि किन यसो भनिराछन् त ?

कतिपय साथीहरूको इच्छा विपरित घामले नै ज्योतिलाई पार्टीमा प्रवेश गराएका थिए । उनको प्रवेशका कारण कतिपय साथी चिढिए पनि । कतिपयले उनको संलग्नताका बारेमा नाना थरीका शंका गर्थे । कसैकसैले खुफीयाको  आरोप पनि नलगाएका होइनन् । तिनताका पार्टीमा यस्तो आरोप बडो निकृष्ट  आरोप मानिन्थ्यो । कसैलाई गिराउनु प¥यो भने यस्तो वा आइमाईको बात लाइदिए  पुग्थ्यो । त्यसपछि उसको राजनीतिक जीवन लगभग समाप्तै हुन्थ्यो । त्यसैले उनी जोडजोडले चिच्याउँदै सोध्थे,“को खुफीया ? आचारबिचार खल्तीमा लुकाएर विस्तारवादी, प्रभुत्ववादी, प्रतिक्रियावादी ,यथास्थितिवादीहरूसँग घाँटी जोडदै हिँडने तिमरु कि पार्टीपंक्तिमा विचार बोकेर दरोसँग उभिने ज्योति ? भ्रष्टाचारी र देशीविदेशी दलालहरूसँग दोस्ती गर्दै हिँडने अगुवा नेताहरू कि जनता र राष्ट्रका पक्षमा इस्पात भएर उभिने म ? ”

आरोप त थियो ज्योतिउपर तर खुफियाजस्तो कुरो उनले ज्योतिमा केही देखिरहेका थिएनन् । हुन त पार्टीमा सत्ताको घुसपैठ नहुने होइन , हुन्छ । लेनिनको वोल्सेविक पार्टीमा पनि जारका तीन सदस्य थिए र तिनमा पनि मलिनोवस्की त लेनिनको अत्यन्त विश्वासपात्र थियो ।  पार्टीमा काम गर्ने उनको उत्कट अभिलाषाका कारणले मात्र होइन, घामले तिनमा असीम ऊर्जाको पूञ्ज देखिरहेका थिए , त्यसैले लोभिए पनि र परीक्षणका रुपमा प्रवेश दिए । ज्योति पार्टीमा आएपछि काम नगरेका पनि होइनन् , अपेक्षा गरेभन्दा निकै धेरै काम पनि गरे । नयाँ ठाउँ र नयाँ क्षेत्रहरूमा पार्टीलाई पु¥याएर सबैको स्याबासी पनि पाए । तर पनि कतिपय साथीहरूको चित्त बुझिरहेको थिएन । तर ज्योतिभने आपूmलाई दिइएको जिम्मेवारीबाट सन्तुष्ट थिएनन् , सँधै उपल्लो जिम्मेवारी खोजिरहन्थे ।

कमरेड ज्योति मान्छे थिए लेनिनजस्ता होचाहोचा तर माओजस्ता मोटाघाटा र सुकिलामुकिला थिए , खासै औपचारिक शिक्षा पाएका पनि होइनन,कलेजको मुखसम्म त देखेका थिए कि, तर मान्छे थिए विद्वान — राजनीति,दर्शन, साहित्य, संस्कृतिका विशद् जानकार, परिआउँदा  सातआठवटा त भाषै बोल्दथे । पार्टीमा कतिपयलाई तिनको सुकिलोपन पनि चित्त बुझिरहेको थिएन । मान्छे मन नपरेपछि सास पनि गन्हाउँछ भन्छन् ,त्यस्तै अति सम्झेर घामले उनको प्रतिवाद पनि गर्थे  । तर एउटा कुरो भने उनीे आफैंले पनि बिचार गरेका थिए — ज्योति कमरेड पार्टीका साथीहरूको निकै खैखबर लिने गर्दथे । नयाँ मान्छे देख्नाभेट्नासाथ परिचय गरिहाल्नु पर्ने , तीनपुस्ते नामनामेसी लिई हाल्नुपर्ने ,गाउँवतन सोधिहाल्नु पर्नेमात्र होइन ,अरुसँग पनि चिनजान गराइदिई हाल्ने —उहाँ अमुक पार्टीको वरिष्ठ नेता वा सकृय कार्यकर्ता । यस्तो कुरो भूमिगत पार्टी जीवनको गोपनीयता सम्बन्धी नीतिको विपरित थियो । अनि रैरकम पनि तिनको कमजोरीभित्रै पर्दथ्यो । तीन छोरा , एक छोरी र पत्नी समेत सपरिवार राजधानीमा फ्ल्याट लिएर बसेका थिए । आपूm भए होलटाइमर अर्थात् पूर्णकालिक पार्टी कार्यकर्ता । त्यसैले परिवारजनको मानोदेखि शिक्षादीक्षा, जागीर,वरव्यवहार आदि पार्टीकै जिम्मामा थियो । त्यसमा अलिकति तलवितल भयो कि पार्टीले केही हेरेन , केही गरेन भनेर सप्तशती पाठ गर्न थालिहाल्दथे । तिनको यो आत्मपरक व्यवहारबाट पनि कतिपय साथीहरू खुशी थिएनन् ।

एक दिन महासचिव दिवाकरले चिन्ता जाहेर गर्दै भने, “पूर्वी क्षेत्रमा अधिकांश उपल्ला पंक्तिका साथीहरू गिरफ्तारीमा परिरहनु भाछ , कतै केही गडबड छ र धेरैजसो गिरफ्तारी खानतलासीमा पार्टी दस्तावेज भेटिएकोले भइरहेकोछ । त्यसैले केही साथीहरूको  जिम्मेवारी फेरफार गर्नुपर्ने भयो । ”

घामले नै दस्तावेज वितरणको जिम्मा ज्योतिलाई दिएका थिए र ज्योतिले दस्तावेज हुलाकबाट पठाउने गरेका थिए ,पहेंलो रङ्गको खाममा । घाम झस्के । गोप्य रुपमा घटनाको जाँचबुझ ग¥यो पार्टीले । आरोपित गर्ने पर्याप्त आधारको अभावमा त्यो घटना त्यतिकै संशयमै रहिरह्यो । त्यसैले उनलाई पूर्वी क्षेत्रको जिम्मेवारी दिइयो र गिरफ्तारीमा परेका साथीहरूको रिहाईको बन्दोवस्त मिलाउने कामको जिम्मा पनि दिइयो । कानूनी बाटो पनि अख्तियार गरियो । साथीहरू कोही तारिखमा ,कोही धरौटीमा त कोही त्यसै छुटे । साथीहरू चिनिए । पार्टीलाई केही घाटा त भयो नै । तर पछि थाहा भयो — त्यो काम सूर्य कमरेडबाट भएको रहेछ ।  सूर्य कमरेडले ज्योतिकै रायमा त्यसो गरेका रहेछन् ,उनले त्यो कुरो लुकाएर आत्मालोचना गरे । तर ज्योतिउपर उनको निगरानी रहिरह्यो । आन्दोलनका बेला पटकपटक जेल पनि परेको थिए ज्योति,कहिले रविसँग त कहिले आदित्यसँग । नक्खुमा रहँदा त दिनकरसँग नराम्रै प¥यो, आइत कमरेडले साला सुलसुले भनेर कठालै समाएका थिए रे । ज्योतिको वैयक्तिक जानकारीहरू बारे साथीहरू त्यति विज्ञ थिएनन्— न घर न नातागोता । कहिले झापा घर भन्थे त कसैलाई चितवन भन्थे । नेपालगञ्जको वसिर मियाँले हामी स्कूलमा सँगै पढेका हौं भनेपछि साथीहरू झन सशंकित भइरथे

केही वर्षपछि ज्योतिउपर हरहिसाब हिनामिना गरेको आरोप लाग्यो । त्यसबेला पनि तिनले केकसो गरेर त्यो हरहिसाब मिलाए । भर्खरै तिनले शहरको अति महँगो घर किनेका थिए । भन्न त उनी अमेरिकामा बसेका दिदीभिनाजुको घर भन्थे र आपूm त्यही घरमा बस्थे । त्यसपछिका वर्षहरूमा उनका विरुद्धमा खासै केही कुरो तिनले सुनेका थिएनन् । बरु उनले नै पछिल्ला वर्षहरूमा एक दर्जनजति कार्यकर्ताहरू सत्ताद्वारा घुसपैठ गरिएको जानकारी सप्रमाण पार्टीलाई गराए र बेलैमा पार्टी सचेत भयो । तीउपर सदस्यताबाट निलम्बन गरी कारवाही ग¥यो,कोहीकोही उपर त एक दशक पुरानो भाटे कारवाही पनि भयो ।

अचेल कमरेड ज्योति निकै आक्रामक भएका थिए । ती उपर फेरि पनि आर्थिक गडबडीको आरोप लागेको थियो । तिनले पार्टी कोषको दुरुपयोग गरेको आवाज धेरैतिरबाट उठेको थियो । तिनले प्रतिवाद गर्दै भने, “कोषको दुरुपयोग पार्टीमा कसले गरेको छैन ? महासचिव कमरेडको हिजोको हैसियत के थियो ? आजको के छ ? यस कुराको गम्भीर छानबीन हुनुपर्दछ । हिजो साइकल किन्न नसक्नेले आज तीतीनवटा पजेरो घरका सदस्यपिच्छेले चढने गरेको छ । आलिशान घरमा बास छ । शहरका नयाँ घरजति कमरेड महासचिवको । अनि ? त्याग बलिदान हाम्रो ,सम्पतिजति महासचिवको । अनि भएन त आर्थिक क्रान्ति ? घाम के भद्रो हेरेर बसेका हुन् कुन्नि ? घामको नियत पनि खोटो लाग्न थालेको छ मलाई त ।”

“ज्योति कमरेड,” भन्दै कामरेड घाम ज्योतिको अनुहारमा एकछिनसम्म हेरिरहे ।

त्यसरी हेरेकोमा ज्योतिपनि अचम्भ मानिरहेका थिए र सोधे,“हैन कामरेड , आज त उल्कै चालले हेर्नुभो नि ! के देख्नु भो ममा त्यस्तो ?”

“उल्कै देखेँ नि । पार्टीका सबैजसो साथीहरूलाई नानाथरी उडकिँदै हिडनुभाछ ,अनि आपूmले यतिञ्जेलसम्म केके त्याग बलिदान गरियो ? पार्टीले श्रीमतीलाई जागिर लाइदियो,छोरालाई छात्रवृत्तिमा डाक्टरी पढाइराछ,अर्को छोरा पनि जागिरमा छ , एउटालाई सुटुक्क अमेरिका पठाउनु भाछ  र पनि लेभि लिन छोडनु भाछैन । अझ एक दिन ढिलो हुनुहुन्न,पहाड उचाल्नुहुन्छ । प्रशंसा गरेजस्तोगरेर सबका नजरबाट मलाई खसाल्ने काम सिआइएको निर्देशनमा भइराछ ,हैन त ? ” क्रोधले कामरेड घामको आँखा बल्लाबल्लाजस्तो भएको थियो । अनुहार तामाझैं रातो भइसकेको थियो ।

“कल्लाई सिआइए भन्या ? कल्लाई ?” अचानक ज्योतिले बाघलेझैं झम्टे  र घामको कठालो समाए ।

रक्षक दलका युवाहरूले ज्योतिलाई लछारपछार पार्दै घामबाट अलग्याए र चलचित्रमा नायकलाई खलनायकहरूले भकुरेझैं क्रान्तिको खलनायकलाई उनीहरू पनि भकुर्दै थिए ,घाम कामरेडले भने,“साथी हो ,यो अमेरिकी साम्राज्यवादको औरस सन्तान हो । कमरेडको खोल भिरेर हाम्रो पार्टीमा छिरेको भाइरस हो यो । यसलाई मै ठिक पार्छु ।” र भकाभकी लातमुक्का वर्षाउन थाले ।

“कामरेड , मुक्काले यसलाई पुगोइन । यसलाई त एन्टिभाइरस नै चाहिन्छ ।” भन्दै युवा रक्षकहरूले खुँडे कारवाही गरेर एउटा घुँडा खुस्काइ दिए ।

भोलिपल्टको केही अखबारहरूमा ज्योतिलाई पार्टी सदस्यता खारेज गरी पार्टीबाट निष्कासन गरिएको खबर छापियो । एउटा अङ्ग्रेजी अखबारमा भने घाइते ज्योतिको चित्र सहित ‘पार्टीले क्रान्तिकारी चरित्र त्याग्दै गएको र आतङ्ककारी प्रवृत्ति बढाउँदै लगेकोले उक्त पार्टी परित्याग गरेको’ वक्तव्य पनि छापिएको रहेछ । सँगै एउटा सानो बाकसभित्र ‘त्यो पार्टीको आतङ्ककारी चरित्रमा अझै सुधार आइनसकेको हाम्रो निष्कर्ष छ । हामी पर्ख र हेरको अवस्थामा छौं’ भनी अमेरिकी कुटनीतिज्ञको प्रतिक्रिया पनि छापिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *