पौराणिक बाल कथा : चित्रग्रीव परेवा

~उमाशङ्कर द्विवेदी~

कुनै ठाउँमा एउटा विशाल बटवृक्ष थियो । त्यसको फल खाएर नानाथरि चराहरू रमाउँथे तथा त्यसको टोड्कामा विभिन्न चराहरूले गुँड बनाई आफ्ना बचेराहरूका साथ सुखपूर्वक निवास गर्दथे । त्यसको शीतल छहारीमा बसेर टाढाबाट आउने बटुवाहरू आराम गर्दथे । त्यसै रूखको एउटा हाँगामाथि लघुपत्तनक नाम गरेको एउटा काग पनि बस्दथ्यो । एकदिन चाराको खोजीमा काग यताउती भौंतारिइरहेको थियो । त्यतिकैमा उसले एउटा कुरूप तथा यमदूत जस्तै मानिसलाई देख्यो, जसले हातमा चरा समात्ने पासो लिएर त्यसै रूखतिर आइरहेको थियो । त्यसको भयानक रूप देखेर काग मनमनै निकै भयभीत भएर सोच्न थाल्यो– हरे, यो यमदूत जस्तै सिकारी म बस्ने रूखनिर आएर आफ्नो पासो थाप्यो भने आज कति चराहरूको ज्यान बित्थामा नै जान्छ, अत: म छिटो गएर त्यस रूखमा बस्ने मेरा छिमेकीहरूलाई सावधान गरिदिन्छु ।

मैले आफ्ना छिमेकीहरूलाई सावधान गर्न सके, धेरैजनाको ज्यान बच्ने छ । यस्तो कुरा सोचेर काग हतार–हतार आफ्नो गुँडमा आएर बस्यो तथा कराउन थाल्यो– “हेर साथीहरू हो, दुष्ट व्याधा हातमा चरा समात्ने पासो लिएर यतैतिर आउँदै छ । ऊ आउने छ, पासो थाप्ने छ, दाना छर्नेछ । त्यो चारो देखेर कोही पनि लोभमा नपर्नु । त्यस चारोलाई कालकूट विष ठानी टाढै बस्नु है ।”

नभन्दै साँच्चिकै त्यो सिकारी त्यहाँ आएर आफ्नो पासो थाप्यो र कागले अघि भने जस्तै चारो छरेर नजिकैको झ्याङमा ढुकेर बस्यो । त्यस रूखका बासिन्दा चराहरू कागको कुरा सुनेर सावधान भएका हुनाले चारोको रूपमा छरिएका चामलका दानाहरूलाई थुक निल्दै टुलुटुलु हेरेर मात्र बसिरहे । कुनै पनि चरा चारो टिप्न रूखबाट ओर्लेन । यतिकैमा चित्रग्रीव नाम गरेको परेवाहरूको राजा आफ्ना हजारौं प्रजाहरूका साथ चाराको खोजीमा उड्दै आएर सिकारीले थापेको पासोको ख्यालै नगरी चारोको रूपमा छरेको चामलको सेतो दाना देखेर मन थाम्न नसकी झ्वाम्म आएर बस्यो । परेवाहरू यस प्रकारले त्यहाँ बसेर चारो टिप्न थाल्दा सबै परेवाहरू पासोभित्र अल्झिएर थुनिन पुगे । यस प्रकारले परेवाहरू पासोभित्र थुनिएको देखेर नजिकैको झ्याङमा ढुकेर बसेको सिकारी अत्यन्त खुशी भयो । आज थुप्रै परेवाहरू जालमा फसेको कुराले ऊ द·दास भयो ।

सिकारीले तिनीहरूलाई मार्नको लागि हातमा लौरो लिएर हान्न भनेर दगुरेर आइरहेको देखेर चित्रग्रीवले आफ्ना साथीहरूलाई सान्त्वना दिंदै भन्न थाल्यो– “सिकारी हामीहरूलाई मार्न भनेर आइरहेको देखेर तिमीहरू नआत्तिनू । सड्ढटको यस घडीमा अब हामीहरूले बुद्धिले काम लिनुपर्दछ । हामी सबैजना एकैचोटि यस सिकारीको पासोलाई आफ्नो चुच्चोले समातेर उड्दा सिकारीको आँखाबाट टाढा हुन सक्यौं भने सम्भवत: कुनै उपायले यस बन्धनबाट हाम्रो मुक्ति हुन सक्ने सम्भावना रहन्छ । तर यस घडीमा हरेस खाएर हामी हिस्स पर्‍यौं भने हाम्रो मृत्यु निश्चित छ ।” चित्रग्रीवको यस प्रकारको कुरा सुनेर सबै परेवा उत्साहित भई चुच्चोले जाल समातेर एकैचोटि उडे । जाल लिएर आकाशमा उड्दै गइरहेका परेवाहरूलाई देखेर सिकारी पनि उनीहरूलाई पछ्याउँदै दगुर्न थाल्यो । केही टाढा गइसकेपछि त्यस सिकारीले आकासतिर हेर्दै यो श्लोक पढ्न थाल्यो–

जालमादाय गच्छन्ति संहता: पक्षिणोऽप्यमी ।
यावच्च विवदिष्यन्ति पतिष्यन्ति न संशय: ।।

अर्थात् आपसमा स·ठनको कारण यी परेवाहरूले मेरो जाल बोकेर लगिरहेका भए पनि थकित भएपछि आपसमा विवाद गरेर यिनीहरू आखिरमा भुँइमा खस्छन् नै । लघुपत्तनक कागले उपर्युक्त घटनालाई आश्चर्य मानेर हेर्दै थियो । अझै अगाडि के हुने हो भन्ने उत्सुकतामा काग पनि उडिरहेका परेवाहरूको पछि–पछि लाग्यो । परेवाहरू आँखाबाट अदृश्य भइसकेपछि सिकारी निराशाको सुस्केरा हाल्दै निम्न श्लोक पढेर आफ्नो घर फर्कियो ।

नहि भवति यन्न भव्यं भवति च भाव्यं विनापि यत्नेन ।
करतलगतमपि नश्यति यस्य हि भवितव्यता नास्ति ।।

अर्थात् जे भाग्यमा छैन त्यो पाइँदैन तथा जे कुरा भाग्यमा हुन्छ, त्यो अनायास बिनाप्रयत्नले नै पाइन्छ । जुन पुरुषको भाग्य अनुकूल हुँदैन, त्यसको हातमा आएको वस्तु पनि नष्ट हुन्छ । चराको मासुको त कुरै छाडौं दुर्भाग्यले सिकारीको जीविकोपार्जन गर्ने साधनको रूपमा रहेको पासोलाई पनि चराहरूले लिएर गए ।

सिकारी फर्किसकेपछि चित्रग्रीव परेवाले आफ्ना साथीहरूसित भन्यो– “साथीहरू हो त्यो दुष्ट सिकारी फक्र्यो । अब हामीहरू निर्भय भएर इशान कोणमा जाऔं, त्यहाँ हिरण्यक नामको मुसो मेरो मित्र बस्दछ । त्यसले हाम्रो बन्धन काटिदिने छ र हामी यस बन्धनबाट स्वतन्त्र हुनेछौं ।” चित्रग्रीवको कुरा सुनेर जम्मै परेवाहरू हिरण्यक मुसो बस्ने दुलो अगाडि उत्रिए । चित्रग्रीवले दुलोको ढोकामा गएर आत्तिएको आवाजमा कराएर भन्यो–“मित्र हिरण्यक, तपाईं छिटो दुलोबाट बाहिर निस्कनुस्, ममाथि ठूलो आपत आइपरेको छ ।” चित्रग्रीवको कुरा सुनेर हिरण्यकले दुलोभित्रैबाट सोध्यो– “महाशय, तपाईं को हो ? यहाँ किन आउनुभयो ? तपाईंमाथि कस्तो किसिमको आपत आइपरेको छ ? स्पष्ट भन्नुस् ।” हिरण्यकको प्रश्नहरू सुनेर चित्रग्रीवले भन्यो– “मित्र, म परेवाहरूको राजा चित्रग्रीव हँु । कृपया तपाईं छिट्टै दुलोबाट बाहिर आउनुस् । तपाईंसित मेरो ठूलो काम छ । मित्रको आवाजलाई चिनेर त्यो मुसो खुशी हुँदै दुलो बाहिर निस्क्यो तथा आफ्नो प्रिय मित्रलाई कुटुम्बसहित पासोमा परेको देखेर सार्‍है दु:खी भयो । उसले आफ्ना सम्पूर्ण परिवारलाई डाकेर ल्याई परेवाहरूको बन्धन काटेर

उनीहरूलाई मुक्त गरायो । लघुपत्तनक काग भने यो जम्मै घटनालाई उत्सुकतापूर्वक हेरिरहेको थियो ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in पौराणिक कथा, बाल कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *