लघुकथा : परिणाम

~रुमानी राई~rumani-rai

अरु केटाहरु भन्दा खाइलाग्दो,भाषा बुझ्ने,बोल्न पनि सक्ने,अलिक चलाख र चारैतिर राम्रो लिंक भएकोले केही फाइदाको माध्यम बन्न सक्ने विस्वासमा कम्पनीले रामबहादुरलाई पाँचजनाको समुह लिडर बनाई दियो ! उसै त केटाहरुसंग त्यति नबोल्ने,मै हु भन्ने खालको मान्छे-झन लिडर भएपछी त उसको रवाफ नै बेग्लै,बोलीचाली,बसाइ,उठाई र हिडाई नै बेग्लै !

विशेष सुत्रानुसार,रामबहादुरले नेपाल छोडेको दश/एघार बर्ष नै भईसकेको हो !बिचमा एक पटक पनि घर फर्केको होइन ! ” अर्को साल आउंछु ” भन्दाभन्दै पांच/छ साल बितिसक्ता पनि घर नफर्के पछि छोरीलाई भान्जीकोमा छोडेर उसकी श्रीमती जयकला मलेसिया छिरेको पनि दुई बर्ष नाघिसक्यो ! अहिले उनीहरु संगै छन् !

भर्खरै इलिगलबाट लिगल बनेको,त्यसमाथि कम्पनीले लिडरको जिम्मेवारी दिएको…रामबहादुरले खुट्टा घुमाउने नै भयो !हिजोसम्म सरसफाइको नाममा सिन्को नभाँच्नेले आज,कोठा,ट्वाइलेट,ड्युटीपोष्ट सरसफाई गर्ने कार्यतालिका नै तयार गरेको छ !अलिकति फोहोर,दाग देख्नु हुन्न-आज कसको पालो ?भनेर खोजीनिती गरिहाल्छ !गाली बर्साई हाल्छ

!बरु,गोलीको पिडा सहन सकिन्छ तर बचनको पिडा सहन गाह्रो हुन्छ !अत:जसको पालो हो उसले सफाई नगरे धरै छैन !

बिशेषत:धनबहादुर रामबहादुरको आँखाको तारो बनेको छ आजकल !किनकि,उनीहरुबीच सुरुका दिनहरुदेखी नैमनमुटाव झाँगिएको छ ! यतिसम्म कि,बोलचाल ठप्प भएको करीब एक बर्षै भईसकेको छ !

एकदिन,धनबहादुर बिहान पाँचबजेतिर ड्युटी पोष्टको कुर्सीमै झपक्क भएको क्षण उसको फोटो खिचेर कोठामा सुत्यो रामबहादुर !धनबहादुर पनि के कम,”म झपक्क हुँदा तँ मेरो फोटो खिच्ने अनि आफ्नो ड्युटी छोडेर कोठामा सुत्ने-तेरो फोटो कसले खिच्ने ?”कोठैमा गएर प्याच्च भनिहाल्यो धनबहादुरले !आफ्नो गल्तिको कारण रामबहादुरले केहि जवाफ दिनै सकेन !

वास्तवमा,अहिले रामबहादुरले जहाँ काम गरिरहेको छ-त्यहाँ पहिले धनबहादुरले नै गर्दै थियो ! उसैले अनेक जालझेल गरेर धनबहादुरको जागिर च्वाट पारेको थियो ! त्यो पनि प्राइवेट जागिर-रिमोट,चाबी आफ्नै हातमा ! अत:उसको रजाइ छ !जतिबेला पनि कोठामा आएर सुत्न सक्छ ऊ-कसैको रोकतोक छैन !औला दिदा डुडुलो निल्ने भने झैं मस्त कोठामा सुतेर पाँचबजेपछी ड्युटी-पोष्टमा देखा पर्यो,बस…जागिर पाक्यो !

अति भएपछी हुन्छ खति भनेको हो रहेछ ! आज बिहानै रामबहादुरले पाउनु पर्ने तलव-रकम हातमा थमाइदिदै घर मालिक्नी सिरीनले जानकारी गराइन्-“आजदेखि ड्युटी नआउनु…!”

होइन यो सपना हो कि बिपना हो ? रामबहादुर केहि बोल्ने सकेन !

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *