कविता : मलाई तिमीले

~निर्मोही व्यास~Nirmohi Vyas

कतै उर्लिँदो वेदनाको नदीमा
डुबी छट्पटाईरहेको थिएँ म
बनी स्नेहले जिन्दगीको किनारा
दियौ हात मीठो मलाई तिमीले

तिमीसङ्ग ‘यायावरी’ स्वप्न मेरो—
‘लगाऔंँ दुवै सृष्टिको लाख फेरो’
गरेँ याचना, भाग्यशाली रहेछु
दियौ साथ मीठो मलाई तिमीले

चलेको छ चौतर्फ तिम्रै सुवास
सँगै डुल्छ लोभी वसन्ती बतास
यतै रुन्झुनाई, उतै छम्छमाई
दियौ मात मीठो मलाई तिमीले

तिमी छ्यौ सँगै चन्द्रमैचन्द्र्रमा छ
जहाँ याद तिम्रो, त्यहीँ पूर्णिमा छ
अहा ! क्या उज्यालो भयो जिन्दगी नै
दियौ रात मीठो मलाई तिमीले

स्वयम्लाइ सत्ते ! म सक्नेछु भुल्न
तिमीलाइ भुल्नै नसक्ने भएँ म
प्रिया ! जिन्दगीमा अरू चाहियो के ?
दियौ याद मीठो मलाई तिमीले
०००

(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ १०४)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *