लघुकथा : पहिचानको यात्रा

~कृष्ण वस्ती~Krishna Wasti_1

प्रत्येक कार्यक्रमको शुरुमा ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ अनि एकै जात-जाति धर्म भएपनि धनीले गरीबको शोषण गर्छ भन्ने भावको गीतले छोयो ।त्यसैले बाहुनको जात जनाउने टुप्पी-जनै फालेर म अभियानको हिस्सा बन्नपुगें।पहिरोमा बारी तानिएजस्तै तानिएकामध्ये गाउँकै भाइ, सुदीप मगर र बहिनी,निरु तामाङ पनि थिए ।स्वरका धनी दुबैजना त्यस अभियानको साँस्कृतिक यात्राका ढुक्ढुकीझैं थिए ।

देश द्वन्द्वमा फसेको बेला अर्को विचारमात्र अघि आएन बरु युद्धस्वार्थका लागि चाँडो मात्रात्मक विकास गर्न जातिवादको हावा चलाइदियो ।जात-जाति र धर्मको अफिमले जतिसुकै बलियो विचारलाई पनि हल्लाउँछ ।यसको अपवाद सुदीप र निरु पनि भएनन् ।त्यसैले सोही कित्तामा बसाइँ सरे । युद्धले धेरैको सर्वनाश गरेपनि उनीहरुका लागि फलिफाप सिद्ध भयो ।शहरमा घरघरेडी जोड्न तिनीहरु सफल भए र विवाह पनि गरे । उही हातमुख जोर्ने हैसियतको म उत्पीडक र उनीहरु उत्पीडितमा प्रचारित हुन पुग्यौं। सन्तान जन्माउने कुरामा सहमत भए तर थर मगर राख्ने कि तामाङ भन्नेमा उनीहरुले लामो समय खर्च गरेपछि अन्ततः मगर र तामाङको संयुक्त थर ‘ताम्गर’राख्ने विचार गरी छोराछोरी जन्माए ।

जातीय पहिचानका पक्षधर तिनीहरु आन्दोलनमा लागेपनि घरबास भएको प्रदेशको नाम अर्कै हुनेभयो ।जातीय कित्तामा एकमत हुनु एउटा कुरा हो तर अर्काको बाच्छो चाट्नु भनेको मुखभरि रौं पार्नुमात्र हो ।अर्काको क्लस्टरको अधीनमा अहिले भएजस्तै भोलिपनि आफ्नो क्लस्टरमा बास हुन्न भने फरक के भयो र?तसर्थ उनीहरुले शहरको घरबार बेचेर आफ्नै क्लस्टरको यात्रामा लागे ।

दोबाटोमा पुगेपछि जोई-पोइको फेरि बहस शुरु भयो ।सुदीपले आफ्नै पहिचानको प्रस्तावित राज्य मगरात जाने कुरा गर्यो भने निरुले ताम्सालिङ जानुपर्छ भनेर जिद्दी कसी ।अन्तः दुबै छुट्टिएर पहिचानका लागि सुदीप रोल्पातिर र निरू सिन्धुपाल्चोकतिर लागि ।ताम्गर बनेर पहिचान गुमाएका अबोध नानीहरु के भए ?सोध्न मैले बिर्सिएछु ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *