कथा : नग्नता

~विपुल सिजापति~

आर्ट ग्यालरीमा घुम्दाघुम्दै राजा साहेबको नजर एक नग्न नवयुवतीको आकर्षक पेन्टिङ्गमा पर्यो । पेन्टिङ्गमा नवयुवती निर्वस्त्र झरनामा पानीसँग खेल्दै गरेको देखाइएको थियो । पेन्टिङ्ग हेर्दा चित्रकार सिद्धहस्त नै प्रतीत हुन्थ्यो, जसले ले पेन्टिङ्गमा नवयुवतीको अनुहारको  भावभङ्गिमा बडो कुशलतापूर्वक उतार्न सफल थियो । नवयुवतीको अनुहारमा कतै कुनै लाज, संकोच या डर थिएन । उनी प्रकृतिवत् झर्दै गरेको पानीको प्रपातसँग स्वच्छन्द भएर जिस्किरहेकी थिइन्, मस्किरहेकी थिइन् ।

त्यहाँ प्रकृति थियो र प्रकृतिवत् सम्पूर्ण रूपमा चोखो एक जीव । प्रकृति र प्रेमको अनुपम संयोगलाई चित्रित गरिएको त्यो पेन्टिङ्गमा चित्रकारले पानीले भिजेका युवतीका लामा कपालका केही लछ्छीलाई ल्याएर वक्षको उभारमा थोरै छेलो मात्र पारेर यसरी चित्रित गरिदिएको थियो कि हेर्दा त्यसलाई कुनै कोणबाट पनि पोर्न भन्न सकिँदैन थियो । चित्रकारले प्रकृतिलाई आत्मसात् गरेर प्रकृतिमै आफूलाई समाहित गरिरहेकी त्यो पेन्टिङ्गकी नवयुवतीको शरीरमा कतै बग्दै गरेको पानीको धार त कतै अड्किएको पानीको थोपालाई समेत अत्यन्त्यै मिहीन रूपमा रङ्गहरूको संयोजनले हुबहु यसरी उतारेको थियो, मानौँ त्यहाँ कुनै चित्र नभएर वास्तवमै कुनै युवती नुहाइरहेझैँ लाग्थ्यो ।

सामान्यतया थुप्रै अवलोकनकर्ताहरूले त्यस पेन्टिङ्गलाई यसो एकनजर हेरेर तर्किएर जाँदै थिए, तर त्यो पेन्टिङ्गमुनि बसेर त्यसलाई नियाल्दै बसेका राजा साहेबको हृदयमा विभिन्न तर्कहरू एकपछि अर्को गर्दै उब्जिँदै थिए । उनी कहिले एक पुरुषको मानसिकता बोकेर पेन्टिङ्ग हेर्दै आफैसँग तर्क गर्दै थिए त कहिले भने केवल कलाको रूपमा पेन्टिङ्ग हेर्दै सोच्दै थिए । एक पुरुषको मानसिकताको आधारमा हेर्ने हो भने सोह्रश्रृङ्गारमा सजिएर दुलही बन्दाकी नारी बिछट्टै सुन्दरी देखिन्छे । दुलही बन्दको उमंग, लज्जा र मिलनको त्रिवेणी भावका आभा वा उसको स्वरूप अझ बढी खुल्छ । फेरि यही पुरुष मानसिकताले पानीमा भिजेकी नारी शरीरलाई अत्यन्तै कामुक देख्छ, कामाग्निका लप्काभित्रै कतै भर्भराउन पुग्छ ।

पेन्टिङ्गकी नग्न नवयुवतीलाई पुरुष जुन मानसिकताले हेर्दछ, जुन अवस्थामा हेर्दछ, त्यहीअनुसार धारणा बन्दछ । यदि पेन्टिङ्गकी नग्न नवयुवतीलाई पुरषले आफ्नो हृदयमा समाहित यौनलाई दबाउन नसकी यौनकै दृष्टिले हेर्दा भने अवश्य त्यसमा ‘भल्गारिटी’ देखिन्छ । संकुचित सोचले निर्देशित हुँदा त्यहाँ अझ थुप्रै धारणाहरूको प्रादुर्भाव हुनसक्छ । तर यसैलाई विश्वमय प्रकृति र कलाको रुपमा हेर्ने हो भने दृष्टिकोण र धारणा पृथक् हुन पुग्छ । एक कविले क्या खुब भनेका छन्, ‘नग्नता भनेको अश्लीलता हुँदै होइन । फूल विना पहिरन फुल्छे, हावा विना परिधान वहन्छ, नदी जन्मजात नाङ्गो दौडिन्छे भने किन चाहियो यिनलाई परिधान ?’ परिधानले छोपिदिए त यिनका प्राकृतिक सुन्दरता विलुप्त हुनपुग्छ ।

पेन्टिङ्गमा जलप्रपातसँग खेल्दै गरेकी नवयुवती पनि नग्न छे, पहिलो परतमा कामुकताको अपिल पनि देख्न सकिन्छ, जुन स्वाभाविक पनि हो, तर के यसलाई अशिष्ट मान्न सकिन्छ ? कामुकताको अपिल कसले कहाँ देख्छ, त्यो मान्छे मान्छेमा भर पर्छ, हेराइमा भर पर्छ । कसैले कसैको ओठमा त कसैको आँखामा पनि कामुकताको अपिल देख्दा हुन्, सारी अलिकति माथि सारेपछि देखिएको पिँडुलामा पनि कामुकताको अपिल हुनसक्छ । यसैले नग्नतामा मात्र कामुकताको अपिल हुन्छ भन्नु गलत हुन्छ ।

अन्ततः देश÷विदेश घुमेका अनि रोम र भ्याटिकन प्यालेसमा पनि माइकल एन्जेलोका त्यस्ता थुप्रै चित्रहरू देखेका र  रुचाएका राजासाहेबले त्यो पेन्टिङ्गलाई कहीँ कतै अश्लील देखेनन् । राजासाहेबलाई विदेशी पेन्टिङ्गभन्दा त्यो पेन्टिङ्ग कुनै कोणबाट कमसल पनि लागेन । चित्रकलाका पारखी राजासाहेबको मनमा वर्षौँदेखि त्यस्तै कुनै चित्रलाई आफ्नो बैठकमा सजाउने जुन ठूलो धोको थियो, त्यो पेन्टिङ्गले पूरा गरिदियो । उनलाई त्यो पेन्टिङ्ग खुबै मन पर्यो र आफ्नो बैठकमा सजाउने निर्णय गर्दै त्यसको मूल्य हेरे । पेन्टिङ्गको मुनि सानो कागजमा चित्रको मूल्य पाँच लाख लेखिएको थियो । ‘न त सुन्दरताको मूल्य लगाउन सकिन्छ, न त कलाकारको भावको गहिराइ, यसैले यो पेन्टिङ्ग अनमोल छ र दाम कलाकारको पारिश्रमिक मात्र हो’ भन्ने सोच्दै राजासाहबले पेन्टिङ्ग किने ।

पेन्टिङ्ग आएर राजासाहेबको विशाल बैठकको भित्तामा सजियो । राजासाहेबले पेन्टिङ्गलाई बैठकको पूर्वी भित्तामा सजाएर लगाए, जहाँ भित्र आउँदा होस् वा बाहिर जाँदा होस्, सबैको नजर पर्दथ्यो । पेन्टिङ्गको माथि राजासाहेबले सुहाउँदो वैजनी रङ्गको बत्ती पनि हाले जसको मधुरो प्रकाशमा पेन्टिङ्ग अझ सजीव देखिन थाल्यो । राजासाहेबले पेन्टिङ्ग भएको भित्तामुनि चार फुटको घेरो बनाएर काठको बार लगाए र काम गर्नेहरूलाई त्यो पेन्टिङ्ग छुन त के ! पेन्टिङ्गको नजिक जान सख्त निषेध पनि गरे । बैठक सफा गर्दा कुचो लगाउनुको सट्टा उनले भ्याकुम क्लिनर किनेर ल्याए र त्यही मात्र चलाउने निर्देश दिँदै  भुइँ पुछ्दा पनि होस पु¥याएर पुछ्न निर्देशन दिए, ता कि पानीको एक छिटो पनि कहीँ कतैबाट झुक्किएर पेन्टिङ्गमा नपरोस् !

राजासाहबलाई त्यो पेन्टिङ्ग खुबै मन परेको थियो । उनी हरेक दिन त्यो पेन्टिङ्गलाई हेर्दथे र विभोर हुन्थे । कलाको जानिफकार राजाघरमा आउने जाने पाहुनाहरूलाई त्यो पेन्टिङ्गको विशेषताको बारेमा भन्दथे र पाहुनाहरूको प्रशंसामा आत्मविभोर हुन्थे । राजासाहेबको घरमा आउने कोही पाहुनाहरू भने त्यो पेन्टिङ्गलाई देखेर सकसकाउँथे, पेन्टिङ्गमा देखाइएको नग्नतालाई लिएर अप्ठ्यारो मान्थे । तर राजासाहेब भने पेन्टिङ्गमा देखाइएको न्युडिटीका बारेमा गर्व गर्दै भन्थे, “यो सबै हेर्ने मान्छेको नजर, उसको विवेक र कलाको बारेमा भएको ज्ञानमा भर पर्छ । हो, पेन्टिंगमा भएकी युवती न्यूड छे, जसलाई साधारण मान्छे  खाली न्यूड युवती मात्र देख्छ । तर वास्तवमा त्यतिमात्र हेर्नु या देख्नुको कुनै अर्थ छैन, त्यो सतही देखाई या हेराई मात्र हो ।

अलि जानिफकार या कलाको पारखीले भने त्यो न्युडिटी मात्र नहेरेर त्यसमा अन्तरनिहित कला हेर्ने कोशिस गर्दछ, कलाको भाव बुझ्ने कोशिश गर्दछ । ।“ हुन पनि राजासाहेबको तर्कमा गहिराइ र वजन दुवै थियो, तर पछाडि कुरा काटे पनि आउने जति सबैले अगाडि भने ‘हो मा हो’ मिलाउँथे । राजासाहबको बैठक कोठामा पेन्टिङ्गको बराबरीका अरू किम्मती सजावटका सामानहरू पनि थिए, नभएका होइनन्, तर राजासाहेबको मन जितेको त्यो पेन्टिङ्ग नै त्यहाँ महत्वपूर्ण हुनपुग्यो ।

समय बित्दै गयो । राजासाहेबले पेन्टिङ्ग किनेर बैठकको भित्तामा सजाएको दुई वर्ष भइसकेको थियो । यी दुई वर्षमा राजासाहबको बैठकमा फेरबदलको नाममा पेन्टिङ्गमुनि लगाइएको चार फुटको काठको घेरो भने त्यहाँबाट हटाइएको थियो । राजासाहेब अझै पनि त्यो पेन्टिङ्ग बेलाबेलामा हेर्दथे र यदाकदा नयाँ आएका पाहुनाहरूलाई अझै पनि त्यसको बारेमा सुनाउन भने छोड्दैन थिए । अघिल्ला दुई वर्षदेखि राजासाहेबको आफन्तहरूका बीच पेन्टिङ्ग र राजासाहेबको बारेमा चर्चा चलिरह्यो । समय बित्दै जाँदा कतिपय आफन्तहरूले पेन्टिङ्गमा भएको नग्नताको खुलेरै निन्दा पनि गरे ।

उनीहरूले पेन्टिङ्गमा भएको सीमाहीन नग्नताको सार्थकता बारेमा राजासाहेबलाई धेरै पटक सोधे पनि । दुईचार जना अरू आफन्तहरूले पनि त्यो पेन्टिङ्गमा भएको नग्नतालाई लिएर नाक खुम्चाएको राजासाहेबले देखेका थिए । उनको पिठ्युँपछाडि ‘राजासाहेबको बहुलठ्ठीपन’ भन्ने गरेको गाइँगुइँ पनि राजासाहेबले सुनेका थिए । तर जब, ‘नग्नता सधैँ सुन्दर हुँदैन हजुर’ भन्दै राजासाहेबकै काकाससुराले तर्क गर्दै ‘कमसेकम मानिसहरूका बीचमा यो असुहाउँदो र भद्दा हुन्छ । अन्य जीवहरु प्रकृतिमय भएर बाँच्न सक्छन् किनभने उनीहरूमा ज्ञान भए पनि विवेक हुँदैन । यसैले अन्य जीवजस्तो मानिस प्रकृतिमय भएर बाँच्न सक्दैन, मानिसलाई प्रकृतिमय भएर बाँच्नलाई उसको विवेकले दिँदै दिँदैन’ भनेर राजासाहेबलाई भने, तब भने राजासाहेब पनि दुविधामा परे । काकाससुराको तर्क पनि जायज थियो । कलाको ज्ञान र हेर्ने दृष्टिकोण फरक भएका राजासाहेब पनि  काकाससुराको तर्कले विचलित भए ।

केही दिनपछि राजासाहेबको घरमा ठूलै जमघट भयो, थुप्रै पाहुनाहरू आए र आधा रातसम्म खानपिन चल्यो । पाहुनाहरू गएपछि राजासाहेब पनि सुत्न गए । बिहानैदेखि काम गरेर थकित भएका कामदारहरूले त्यो रात बैठकको झ्याल लगाउन बिर्सिएछन् । त्यसरात भोजमा पाहुना आएकी कुनै महिलाले ओढेर आएकी सिल्कको पातलो पछ्यौरी झ्याल नजिकै राखेर बिर्सिएर छोडेर गइछन् । राति कुनै बेला चलेको हुरीले त्यो पछ्यौरी उडाएर लगी पेन्टिङ्ग अल्झाएर छोडी दियो । बिहान राजासाहेब उठेर चिया पिउन भर्याङ्गबाट ओर्लिँदै गर्दा उनको नजर पेन्टिङ्गमा अल्झिन पुगेको पछ्यौरीमा पुग्यो । राजासाहेब भर्याङ्गको आधा खुड्किलोमै उभिएर भित्ताको पेन्टिङ्गलाई हेर्न थाले । त्यो पातलो अर्धपारदर्शी पछ्यौरी पेन्टिंगमा अल्झिएर पेन्टिङ्गको आधा भाग छोपिदिएको थियो । पछ्यौरीको एक भाग पेन्टिङ्गको बायाँ कुनाबाट झरेर पेन्टिङ्गमा चित्रित भएको उन्नत स्तनमाथि सप्कोजस्तो भएर दायाँखापमा गएर अल्झिएको थियो ।

राजासाहेबले पछ्यौरी अल्झिएको त्यो पेन्टिङ्गलाई धेरै बेरसम्म नियालिरहे । उनलाई त्यो पेन्टिङ्ग पहिलेभन्दा अहिले अझ आकर्षक र सुन्दर लाग्न थाल्यो ।

– हरिसिद्धि —२८, ललितपुर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *