कविता : बेपत्ता

~रमेश क्षितिज~

अझै मेटिएका छ्रैनन्
ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू
पढाइरहेको थियो ऊ विद्यार्थीहरूलाई नैतिक शिक्षा
अचानक आएर हतियारधारीले
बलजफ्ती घिसार्दै लगेपछि फर्केको छैन ऊ स्कुल
र कलिला आँखाहरूमा अझै व्याप्त छ त्रास

गाउँमा – चाडपर्व, उत्सवहरूमा
नाचगान, देउसी र भैलोहरूमा
आकर्षण हुन्थ्यो उसको स्वर र ख्यालठट्टा
अझै सम्झनामा छन्– उसले गाएका लोकगीतहरू
मध्यरातमा जङ्गलै – जङ्गल हिँडाइएको ऊ
फर्केको छैन कुनै समारोहमा
उदास छ दौंतरीहरूको अनुहार

हाजिर कपीमा अझै छन् उसका हस्ताक्षर
कोठामा छोडेर सरकारी सेवाको परिचयपत्र
कहाँ पुग्यो होला ऊ
कसले ढक्ढक्यायो होला उसको ढोका अघिल्लो रात
बेखबर कहाँ हरायो ऊ
कसले पा¥यो बेपत्ता उसलाई र गुमनाम छ ऊ
गुँड नफर्केको गौंथलीजस्तो

रुँदा रुँदा थाकेर ओभानिएका आँखाहरू
टोलारहेछन् शून्य शून्य
लाचार छन् अखबारहरू र मौन छ बहुमतको सरकार
बिना कुनै झन्डा
हिडिरहेछ साँझमा आफन्तका शोकमग्न मनहरूको जुलुस

उसको गोजीमा थियो सुनौलो रङ्गको कलम
हातमा खोपेको थियो अर्धाङ्गिनीको नाउँ
छातीमा थियो चोटको निसाना र ऊ बोल्थ्यो स्वाधीनताको उखान
उसलाई कसैले देख्यौ कि र?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.