व्यङ्ग्य निबन्ध : सुब्बिनी बज्यै

~चूडामणि खनाल~

दम्पतीको शयनकक्ष एउटै भए पनि ओछ्यान भने छुट्टाछुट्टै छन् । एकले अर्काको घुरेको आवाज पनि सुन्छौँ अनि अन्टसन्ट बर्बराएको पनि थाहा पाउँछौँ । हाम्रो रात्रिकाजस्तो दैनिकी भने हुँदैन । उनी दिनभरि घरमै बस्छिन् र गृहिणी हुन्छिन् म भने दिनभरि कार्यालयको नोकर र रातभरि आफ्नै घरको मालिक हुन्छु । दिनभरिको कार्यव्यस्तताले गर्दा मैले घरमुलीले निर्वाह गर्नुपर्ने भूमिका रातको समयमै गर्नुपर्छ । मेरी गृहिणीले पनि दिनभरिको सारा वृत्तान्त सुनाउने समय बाँडेकी छन् खाने र सुत्ने बेलामा । त्यसैले होला मलाई अहोरात्रमा सबैभन्दा कष्टकर समय यही सुत्ने बेला हुन्छ । म सुब्बिनी बज्यैसँग दुई हात जोडेर बिन्ती गर्छु, “बज्यै ! मलाई सुतिन्जेल, पढिन्जेल, खाइन्जेल र कतै हिँड्ने साइत गरेको बेला कचकच र करकर नगर न ।” तर, मेरो यस करजोरी बिन्ती गराइको कुनै सुनुवाइ हुँदैन किनभने सुब्बिनी बज्यैलाई आफ्नो दुःख बिसाउने सबैभन्दा सजिलो समय यही सुत्ने बेला नै जुरेको हुँदोरहेछ ।

”ए बूढा ! बैङ्कको चेक काटिदिनुहोस् न,” निद्रामै सुब्बिनी बज्यै बोल्छिन्, ”बिन्दुको ब्याज तिर्नुपर्ने भयो, अर्को महिनामा त पूरै साँवा भनेकी छन् ।” निद्रामै सुब्बिनी बज्यै फतफताउँछिन् । ”ग्यास सकिनै लागेको छ, भरेभोलि भएको छ,” निद्रामै सुब्बिनी बज्यै दुःखेसो गर्छिन् । मेरी सुब्बिनीको बर्बराइ सुनेर मलाई लाग्छ- सपना भनेको पनि विपनाकै प्रतिविम्ब रहेछ । विपनामा नपुगेका कुरा नै सपनामा देखिँदोरहेछ । अनि म जुरुक्क उठ्छु र भन्छु- ए सुब्बिनी बज्यै ! निदाइन्जेल त आरामसँग निदाऊ न । त्यसरी बर्बराउन त भएन नि । तिमीले त बचेखुचेको इज्जत पनि बर्बराएर नै छारस्ट पारिदिँदी रहिछौ । बर्बराएको बेला त भए/नभएका कुरा पो फलाक्दी रहिछौ ।

‘होइन बूढा ! तपाईंको जागिरे पद र हर्षबहादुरको जागिर खाने ओहोदा एउटै सुब्बा होइन र ? जागिरको नियुक्ति पनि सँगसँगैजसो भएझैँ लाग्छ, होइन र ? किन हाम्रो कमाइ र उनको कमाइमा आकाश जमिनको फरक छ ?’ मैले भनेँ- हो, तर ‘रोटी पनि हेर्नाका लागि हुँदा रहेछन् नि’ । हर्षबहादुरले अर्थ मन्त्रालय छोड्नै परेन । मैले भने सञ्चार मन्त्रालयको हुलाकबाट मुक्ति नै पाइनँ । मैले यता यसरी स्पष्टीकरण दिँदै गर्दा उता भने सुब्बिनी बज्यैका आँखा रसिला हुन थालेछन् । सुब्बिनी बज्यै अवरुद्ध कण्ठले मसँग गुनासो गर्छिन्, “मैले सुब्बिनी बज्यैको इज्जत कसरी राख्ने हँ ? भोलिमात्र भतिजाको विवाहका लागि माइत जानु छ, आफ्नो भने नाक, कान, घाँटी सबै रित्तै छन् । कति वर्षअघिको आफ्नै बिहेमा लाएको मूल सारी लगाएर जाँदा माइतीले के भन्छन् हँ ? उही ‘छिः छि छिः’ र ‘घिनाएकी’ होइन ?” उनको आन्तरिक मर्मबाट मर्माहत भएपछि म लाज पचाएरै भन्छु- हामी भोलि बिहानै उठौँ र ‘यो सुन पसल होइन’मा जाऔँ अनि एकजोर गरगहना ल्याऔँ, हुँदैन र ? तिम्रा माइतीले तिम्रो छड्के तिलहरीमा कसी लाउने छैनन् क्यारे ।

“यो ‘सुब्बिनी’ को इज्जत पनि कति महँगो छ । सुब्बाङ्गी अहिले जेजस्तो अवस्थामा भए पनि अघिअघि त हालको मन्त्रीको जस्तै थियो रे, यो निकै सम्मानित पद थियो रे । सुब्बाको सन्तान भनेपछि सात पुस्तासम्म नै इज्जतदार मानिन्थ्यो रे । हो बूढा ?” सुब्बिनी बज्यै सुब्बिनी हुन पाएकीमा गौरवबोध गर्छिन् र भन्छिन्, “मलाई भने यही सुब्बिनी पद गह्रुँगो भएको छ । ‘सुब्बा साहेब’ भएका बूढालाई सधैँ एकाङ्गी बनाउनु भएन भनेर भरथेगका लागि दुईटा पाठा ल्याएर पाल्न थालेँ । अहिले भने यिनै पाठा झ्याउ भइसके ‘सुब्बा साहेब’को इज्जतले गर्दा । सुब्बिनी बज्यै घाँसको भारी बोकेर हिँड्न लाज लाग्दैन ? लोग्ने अड्डामा हाकिम, सुब्बा साहेब, सुब्बिनी बज्यै भने घाँस काट्तैमा बेहाल ।” सुब्बिनी बज्यैका हृदयदेखि नै आएको भक्कानोमा सान्त्वना दिँदै म भन्छु- काम गरेर खाँदा जाने इज्जत के इज्जत ? यदि तिमीलाई सुब्बिनीको इज्जत धान्न गाह्रो भयो भने भोलिदेखि हामी दम्पती बिहानै सँगसँगै उठेर घुम्न जाऔँ । हिजोआजको सभ्यताअनुसारको मर्निङवाक पनि हुने । यसै वाक्काका क्रममा उतैबाट एक/एक मुठा घाँस लिएर आएपछि पाठा पनि हुर्किने भए, तिम्रो इज्जत पनि यथास्थानमै रहने भयो, कसो हँ बज्यै ! म उनलाई थामथुम पार्छु ।

मेरी सुब्बिनी बज्यै मेरो देश नेपालजस्तै छन् । यस पहाडी मुलुकमा घुम्दै जाँदा एउटा डाँडो सकिएलगत्तै अर्को डाँडा अगाडि ठिङ ठिङ्गिएझैँ एउटा खोलो तरेपछि अर्को खोलो अगाडि तेर्सिएझैँ सुब्बिनी बज्यैका समस्या पनि एकपछि अर्को गर्दै अगाडि आउँछन् । मानुँ उनी समस्याको अजङ्गकी पोका हुन्, जुन पोकाको गाँठो जति फुकायो उति फुक्नै बाँकी रहन्छ झन् ।

यस महिनाको ३० गते पनि भोलि नै हो क्यारे । हाम्रो साझेदारीको बैठक पनि भोलि नै हो । भोलिसम्ममा मैले बाँकी रहेको तीन किस्ता बुझाइसक्नुपर्छ । साझेदारीको नियमानुसार ब्याज र हर्जना मैले तिर्नुपर्छ । उधारो खाएको बाँकी बक्यौता नतिरेकाले साहुजीले नराम्ररी आँखा तरेर हेरेका छन् । प्रत्येक मसहनाको अन्त्य/अन्त्यमा पाइने भएकाले तलबलाई महिनमारी भनिन्छ होइन त बूढा ? भोलि ३० गते हो, तलब बुझ्नासाथ घर आउनू नि नत्र ….।

म कम तलबी जागिरदार हुँ, त्यसैले होला मैले यस्ता नत्रहरू धेरै सुन्नुपर्छ । बिजुलीको महसुल नतिरे घरै अन्धकार हुन्छ, उसको नत्र ज्यादै धारिलो हुन्छ । केबुलको पैसा नतिरे सिङ्गै टेलिभिजन झ्यारझ्यार गर्छ । केबुलको नत्र…लाई पनि चानेचुने मान्नु भएन । टेलिफोनको लाइन काटियो भने सिङ्गै व्यवहार अवरुद्ध हुन्छ, सारा सम्बन्धसूत्र छुट्छ । यसको नत्र… कति धेरै पेचिलो हुन्छ स्वतः अनुमान गर्न सकिन्छ । सबैभन्दा भय त मलाई नर्सरी कक्षामा पढ्ने नातिनीसँग लागेको छ, किनभने उसले भनेकी छे, “भोलि बोर्डिङको ‘फी’ नतिरे कक्षामा प्रवेश गर्न नदिने रे हबा । फी तिरिदिनुहोस् है हबा ।”

यस्तैयस्तै ‘नत्र’ सुनेपछि म मेरी पत्नी सुब्बिनी बज्यैलाई बोलाउँछु र मन बहलाउन खोज्छु । जागिरेहरूको पदीय जिम्मेवारीअनुसार वेतनक्रम न्यून र अधिक हुन्छ । न्यून वैतनिक वा अधिक वैतनिक जेजस्तोसुकै भए पनि नोकरी भनेको अर्कैको अधीनमा रहेर गरिने काम हो । तिमीमा र ममा ठूलो भिन्नता यही छ । मैले तिमीले भन्दा धेरै पढेलेखेको छु, त्यसैले मैले नोकरी गर्छु, म नोकर हुँ । पढेलेखेपछि नोकर हुनुपर्दो रहेछ । तिमीले पनि सुख र दुःखका काम गछ्र्यौ जिउनेक्रममा यस्ता काम गर्नैपर्छ तर आजसम्म तिम्रा नामका अगाडि दन्डस्वरूपको रातो मसीको चिह्न कसैले लगाएको छ त ? छैन । तिमी आफ्नो मालिक आफँै हौ, तिमीलाई दाग लगाउने कसको तागत तर मेरो नामअगाडि राता चिह्न कति लगाइए कति गनिसाध्य छैन । त्यसैले सुब्बिनी बज्यै ! म नोकरभन्दा तिमी कति धेरै इज्जतदार छौ कति तुलना नै हुन सक्तैन । आत्मसम्मानभन्दा ठूलो सन्तुष्टि कहीँ पनि पाइँदो रहेनछ । ‘कहाँको राधाराम, कहाँको गने भण्डारी’ त्यसै भनिएको होइन रै’छ, गाँठे ।

– पोखरा, कास्की

(स्रोत : शनिबार, गोरखापत्र)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *